नेकपा कपिलवस्तुले दुई स्थानमा जलायो मोदीको पुतला


काठमाडौँ : भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा नेकपा कपिलवस्तुले जिल्लाका दुई स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ ।

पुतला दहनपछि आयोजित कार्यक्रममा नेकपा कपिलवस्तु सेक्रेटरी अडानले नेपाली भूमिमा सडक खनेर भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको बताए । उनले नेपाली शासकहरूको भारतप्रतिको दलाल मानसिकताका कारण भारतले नेपाली भूमि मिच्दै आएको धारणा राखे । सेक्रेटरी अडानले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल कायम गर्न तथा अतिक्रमित भूमिबारे सप्रमाण अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग पनि गरे ।

यस्तै सोही विषयलाई लिएर जिल्लाको शिवराज नगरपालिकामा पनि नेकपाले मोदीको पुतलादहन गरेको छ । पुतलादहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा शिवराज नगरपालिकाका सेक्रेटरी पावेलले भारतलाई नेपाली सार्वभौम भूमिमाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका थिए ।

भारतले हालै मानसरोवर यात्राको लिङ्क रोड उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । भारतीय बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) ले निर्माण गरेको धार्चुलादेखि लिपुलेकसम्मको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेका थिए ।

भारतीय कदमको नेपालमा कडा विरोध भइरहेको छ भने नेकपाले यो घटनाको विरोध गर्दै सङ्घर्ष नै सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :