अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलन घोषणा, लकडाउनकै बीच मोदी र वलीको पुतला जलाइयो


काठमाडौँ : अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिची भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सङ्घर्ष घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा वलीको पुतला जलाउनेसहितका सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाली भूमि मिची भारतले सडक निमाण गरेकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपाली भूमि मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेर नाङ्गो हस्तक्षेप गरेको बताए ।

‘कोरोना महामारीका कारण विश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप अरू बढाएको छ । गत कात्तिक महिनामा भारतले लिपुलेकको ३७२ वर्गकिलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरू आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उक्त सडक उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथिको नाङ्गो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको. छ । विकले भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्दा पनि नेपाली दलाल शासकहरूले आफूलाई थाहै नभएको भन्दै निर्लज्जता प्रदर्शन गरिरहेको बताए ।

भारतले नेपाली भूमि मिचेर चीनसम्म जोड्ने सडक निर्माण गर्दा पनि नेपाली शासकहरूले चालै नपाएको बताउनु र नागरिक सडकमा आइसक्दा पनि सरकार औपचारिकतामा मात्र सीमित भएको विकले बताएका छन् । उनले समस्या समाधानको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा वलीको राष्ट्रवादी मुकुन्डो पूरै च्यातिएको बताए ।

‘भारतीय अतिक्रमणका विरुद्ध चौतर्फी जनदबाब बढ्न थालेपछि परराष्ट्र मन्त्रालयमार्फत हस्ताक्षरबिनाको काइते विज्ञप्ति निकालेर झारा टार्ने काम भएको छ । यसले नेपाली शासकहरूको असली हैसियत देखाएको छ । नागरिकहरू लकडाउनलाई तोडेर सडकमा आइसक्दा पनि केपी सरकारले औपचारिकताबाहेक समस्या समाधान हुने गरी कुनै पहल गरेको छैन । यसले वलीको राष्ट्रवादी मुकुन्डो च्यातिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक क्षेत्रमाथिको हस्तक्षेपविरुद्ध कात्तिक २४ गते काठमाडौँमा विरोध गर्दा ४२ जना नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा खेपिरहेको बेला अतिक्रमण बढेकाले पुनः आन्दोलनमा जान बाध्य भएको बताएको छ । विज्ञप्तिमा वैशाख ३१ गतेसम्मका सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरिएको छ ।

यस्ता छन् सङ्घर्षका कार्यक्रम :
वैशाख २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा वलीको पुतला जलाउने
वैशाख २८ गते लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने
वैशाख २९ गते देशभक्त तथा राष्ट्रवादीहरूसहितको संयुक्त विरोध प्रदर्शन
वैशाख ३० गते मशाल जुलुस
वैशाख ३१ देखि भारतीय नम्बर प्लेटका गाडीहरू सञ्चालनमा प्रतिबन्ध लगाउने ।

विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :