भूमि अतिक्रमणविरुद्ध भारतीय दूतावासअगाडि प्रदशर्नमा उत्रिएका ३३ विद्यार्थी गिरफ्तार


काठमाडौँ : नेपालको लिपुलेकलगायत भूमि भारतले अतिक्रमण गरी बाटो खनेको विरोधमा भारतीय दूतावास अगाडि प्रदशर्नमा उत्रिएका ३३ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार दिउँसो १ बजे विरोध प्रदर्शनमा उत्रिएका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न विद्यार्थी सङ्गठनले संयुक्त रूपमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिइएको पुष्टि महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले पनि गरे । भारतले लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएर उद्घाटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।

भारतले एकतर्फी रूपमा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार सार्वजनिक भएपछि नेपालमा आक्रोश चुलिएको छ । यो घटनाले लिपुलेक–कालापानी विवाद फेरि सतहमा आएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा गाभेकोमा नेपाली जनस्तरबाट विरोध भइरहे पनि भारतले विभिन्न सैनिक असैनिक गतिविधि गर्दै आएको छ । यो सडककाण्डपछि नेपालका देशभक्तहरू भारतीय अतिक्रमणकारी नीति र नेपाल सरकारको लाचारीविरुद्ध फेरि सडकमा निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :