लकडाउन प्रभावित विद्यार्थी र मजदुरलाई खाद्यान्न वितरण

काठमाडौँ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस र त्यसपछि करिब डेढ महिनादेखि गरिएको लकडाउनका कारण कोठा भाडा लिएर अध्ययन गरिरहेका विद्यार्थी र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमजीवी मजदुरहरूको दैनिकी कमजोर बन्दै गएपछि अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीले खाद्यान्न वितरण गरेको छ ।

सरकारी प्रतिबन्ध, दमन, गिरफ्तारी र धरपकड चिर्दै मङ्गलबार बुटवललगायत स्थानमा खाद्यान्न वितरण गरिएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले बताए । उनले लकडाउनका कारण सबैभन्दा प्रभावित कोठा भाडा लिएर अध्ययन गरिरहेका विद्यार्थी र श्रमिक मजदुर वर्गलाई पारेकाले सङ्गठनका तर्फबाट अत्यावश्यक खाद्यान्न वितरण गरिएको बताए । उनले राज्यले राहत वितरणका नाममा सत्ताधारी दलका आसेपासेहरूलाई मात्र वितरण गरेर आधारभूत वर्गलाई ध्यान नदिएको बताए ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गोपाल रोकाले सङ्कटको घडीमा सरकारले आमविद्यार्थीको मर्म बुझ्न नसके पनि अखिल (क्रान्तिकारी) भने विद्यार्थीहरूका पक्षमा सदैब साथमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :