सिङ्गो मानव समाजको गौरव बनेको एउटा महान् जीवन

सन्दर्भ : कार्ल माक्र्सको २०३ औँ जन्मोत्सव

कठिनाइहरूले शून्य जीवन
मेरा लागि होइन
अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन
मलाई त चाहिन्छ एक महान् उच्च लक्ष्य
र त्यसका लागि जीवनभर सङ्घर्षको अटुट क्रम ।

ओ कला ! तँ खोल्
मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका
मेरा लागि खोल् ।
आफ्नो प्रज्ञा अनि संवेगहरूको अँगालोमा
सारा संसारलाई बाँध्नेछु म ।
आऊ
हामी विकट अनि कठिन सुदूर यात्रामा निस्कौँ
किनकि
निरुद्देश्य र लक्ष्यहीन जीवन
हामीलाई स्वीकार हुँदैन ।
हामी झुलिरहेको कलम घिस्दै
उत्पीडन र लाचारीमा बाँच्नेछैनौँ
हामी आकाङ्क्षा, आक्रोश, आवेग र अभिमानले बाँच्नेछौँ
असल मानिस भएर बाँच्नेछौँ ।
– कार्ल माक्र्स

प्रस्तुत ‘जीवन लक्ष्य’ कविता कार्ल माक्र्सले १८ वर्षको उमेरमा लेख्नुभएको थियो । कवितामा कार्ल माक्र्सले कठिनाइहरूले भरिएको, सुनसान र निरस जीवन आफ्ना लागि स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले उच्च जीवन आफूलाई चाहिएको भन्दै प्राकृतिलाई आफ्नो ज्ञानका सूक्ष्मातिसूक्ष्म ढोका खोल् भन्नुभएको छ । माक्र्सले आफ्नो जीवनमा जेजति विकास गर्नुभयो, अर्थशास्त्र, राजनीतिशास्त्र र दर्शनशास्त्रमा गरेको अध्ययन, अनुसान्धन र सम्पूर्ण अद्वितीय विकास प्रस्तुत कवितामा प्रतिबिम्बित भएको देखिन्छ ।

विश्व नै कोरोना भाइरसको भयानक महामारीले थलिएको बेला संसारका सारा श्रमजीवी वर्गले संसारलाई नै हल्लाउने उनै कार्ल माक्र्सलाई सम्झिरहेका छन् किनभने हतियारको कारोबार गर्ने र विश्वलाई नै आफ्नो इसारामा चलाउने मुलुक अमेरिकाले पनि जीवनलाई जोगाउन सकिराखेको छैन । मानवताका लागि कसैले लगानी गरेका छैनन् । पुँजीवादी मुलुकहरू मुनाफा कमाउनका लागि जे पनि गर्न तयार छन् । यस्तो मानवताविरोधी पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादी र साम्यवादी समाज निर्माण गर्न कार्ल माक्र्सले १७२ वर्षअघि सन् १८४८ मा आफ्ना अनन्य मित्र फ्रेडरिक एङ्गेल्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो जुन घोषणापत्रले सारा युरोपभरि र संसारभर नै ठूलै हलचल ल्याइदियो । घोषणापत्रले चलिरहेको सांसारिक व्यवस्थाको निरन्तरतामाथि एउटा ऐतिहासिक क्रमभङ्ग गरिदिएको थियो । उक्त घोषणापत्रले पुँजीवादी शोषण र पूँजीको वास्तविक चरित्रलाई पहिलोपटक औपचारिक रूपले उद्घाटित गरिदिएको थियो । हो तिनै सर्वराहा वर्गका महान् नेता कार्ल माक्र्सको जन्म २०२ वर्षअगाडि सन् १८१८ मे ५ का दिन जर्मनीको राइन प्रान्तको ट्रिर सहरमा भएको थियो । कार्ल माक्र्सको जन्म त्यतिबेलाको एक वकिल परिवारमा भएको थियो । कार्ल माक्र्सका पिताको नाम हेनरिख माक्र्स हो भने आमाको नाम हेनरियेट्टा हो । उहाँको जन्म हालको नेदरल्यान्ड (हल्यान्ड) मा भएको थियो । आमा हेनरियेट्टा भने सामान्य नारी हुनुहुन्थ्यो । माक्र्स लेवी कार्ल माक्र्सका हजुरबुबा हुनुहुन्थ्यो । पछि नामको पछाडिको लेवी हट्यो र माक्र्स मात्रै बाँकी रहेको हुनाले नै अरू परिवारको नामको पछाडि माक्र्स मात्र रहन पुग्यो ।

सन् १८३८ मा कार्ल माक्र्सका पिताको निधन भयो । त्यतिबेला कार्ल माक्र्स २० वर्षको मात्रै हुनुहुन्थ्यो । उहाँकी आमाको निधन भने सन् १८६३ मा भएको थियो । त्यतिबेला माक्र्स ४५ वर्षको भैसक्नुभएको थियो । माक्र्सका चार दाजुभाइ र पाँच दिदीबहिनी हुनुहुन्थ्यो । छोराहरूमध्ये कार्ल माक्र्स माइला हुनुहुन्थ्यो । उहाँभन्दा जेठा दाजु मोरिच डेभिड हुनुहुन्थ्यो । उहाँका जेठा दाजु मोरिच डेभिडको निधन भएपछि कार्ल माक्र्स नै परिवारको जेठोबाठो बन्नुभयो ।

कार्ल माक्र्स आफ्ना बुबाभन्दा एकजना अर्का व्यक्तिसँग निकै प्रभावित हुनुहुन्थ्यो जसबाट उहाँमा ज्ञानको भोक जागेको थियो । ती व्यक्ति थिए वेरन लुडविक फोन वेस्टफालेन । वेरन लुडविक फोन वेस्टफालेन कार्ल माक्र्सका स्कुले साथी एड्गार र जेनीफोन वेस्टफालेनका पिता थिए । उनी खानदानी परीवारका मानिस थिए । उनलाई होमरका कविताहरू र सेक्सपियरका अधिकांश नाटक कण्ठस्थ थिए । लुडविकका दुई छोरा थिए त्यसमध्ये एकजना त प्रसियाका गृहमन्त्री थिए । कार्ल माक्र्सले उनै वेरन लुडविक फोन वेस्टफालेनबाट महान् कल्पनावादी समाजवादी सेनसिमोनका बारेमा पहिलोपटक थाहा पाउनुभएको थियो ।

सत्र वर्षको उमेरमा आफ्नै गृह सहरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका माक्र्स अक्टोबर १८३५ मा बोन विश्वविद्यालयको कानुन सङ्कायमा भर्ना हुनुभयो । त्यहाँ माक्र्सले कानुनका साथै साहित्य, सौन्दर्यशास्त्र, नवीनतम् कला एवम् इतिहासको पनि अध्ययन गर्नुभयो । माक्र्सको ज्ञानको प्यासलाई बोन विश्वविद्यालयले तृप्त पार्न सकेन । त्यसैले माक्र्स बर्लिन विश्वविद्यालयतर्फ हानिनुभयो । बर्लिन विश्वविद्यालयमै हुनुहुन्थ्यो आफ्नो समयका प्रभावशाली दार्शनिक हेगेल । त्यहाँ माक्र्सले हेगेलको दर्शनशास्त्र सुरुदेखि अन्त्यसम्म अध्ययन गर्नुभयो ।

उसो त १९ औँ शताब्दीको जर्मनीको आदर्शवादी दर्शन, हेगेल र फायरबाखको दर्शन नै माक्र्सवादी दर्शनका मुख्य सैद्धान्तिक स्रोतहरू हुन् । शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र, फ्रान्सेली काल्पनिक समाजवाद माक्र्सवादी दर्शनका तीन स्रोत र सङ्घटक अङ्ग हुन् ।

कार्ल माक्र्स र एङ्गेल्स युवा अवस्थामा हेगेलवादी हुनुहुन्थ्यो । त्यस समय जर्मनीमा हेगेलकै अध्यात्मवादी दर्शन व्यापक प्रचलनमा थियो । हेगेल वस्तुगत अध्यात्मवादी थिए । हेगेलको द्वन्द्ववादले वस्तुमा परिवर्तन हुन्छ भन्ने कुरा त मानेको थियो तर हेगेलको विचारमा समाजलाई परिवर्तन गरिदिने कतै त्यस्तो कुनै शक्ति छ भन्ने मान्यता राख्थ्यो । त्यसैले हेगेलले घुमिफिरी रुम्जाटार भनेझैँ उही अध्यात्मवादलाई नै टेवा पुर्याएका थिए । त्यसैले जर्ज विलियम फ्रेडरिक हेगेल द्वन्द्ववादी त थिए तर उनको द्वन्द्ववाद आदर्शवादी थियो । त्यसैले कार्ल माक्र्सले हेगेलको दर्शनलाई टाउकाले टेकेर उभिएको दर्शन भन्नुभयो । उहाँ भौतिकवादी हुनुभयो । त्यस्तै लुडभिक फायरबाखको भौतिकवाद त थियो तर त्यो निक्कै यान्त्रिक थियो । अन्ततः त्यो पनि अभिधूतवाद र आदर्शवाद नै थियो । उनी समाजको गतिशील चरित्र बुझ्न असमर्थ थिए । फायरबाख पदार्थको गतिशीलतालाई बुझ्न असमर्थ थिए ।

त्यसैले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादभित्र रहेको आदर्शवाद र अभिधूतवादलाई हटाएर त्यहाँको द्वन्द्ववाद र भौतिकवादलाई अँगाल्नुभयो । उहाँहरूले त्यसबाट द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो ।

यसरी माक्र्स र एङ्गेल्सले पहिलोपटक दुनियाँलाई हेर्ने एउटा विश्व–दृष्टिकोण निर्माण गर्नुभयो जुन पहिलेको भन्दा बिल्कुलै फरक थियो ।

कार्ल माक्र्सले ‘हरेक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो’ भन्नुभएको छ । माक्र्स र एङ्गेल्सले दर्शनका आधारभूत प्रश्नहरूको समाधान गर्दै यो संसारको प्राथमिक (आदि तत्व) पदार्थ भएको प्रमाणित गर्नुभयो । उहाँहरूले चेतना पदार्थको विकासको उच्चतम रूप (पदार्थले चेतनालाई जन्म दिएको) बताउँदै सबै अलौकिक र परलौकिक शक्तिहरूलाई खारेज गरिदिनुभयो ।

उहाँहरूले यो विश्व–ब्रह्माण्डलाई जान्न सकिन्छ कि सकिँदैन अथवा यो जगत् बोधगम्य छ कि छैन भन्ने प्रश्नमा यो विश्वब्रह्माण्डलाई जान्न सकिन्छ, बुझ्न सकिन्छ अथवा यो जगत् बोधगम्य छ भन्ने निष्कर्ष निकाल्नुभयो । मानिसले यसमा हुने घटना र परिघटनालाई बुझ्न सकिन्छ र त्यसको विकासका नियमहरूलाई बुझ्न सकिन्छ भनेर प्रमाणित गर्नुभयो ।

यसैगरी राजनीतिक अर्थशास्त्रमा निकै ठूलो अनुसन्धान गर्नुभयो र अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो । यसरी कार्ल माक्र्सले कसरी पुँजीपति वर्गले श्रमिकको श्रमको शोषण गर्दछ भन्ने कुरा खोलेर दुनियाँका सामु प्रस्टसँग देखाइदिनुभयो । कार्ल माक्र्सले उत्पादनमा सामूहिक स्वामित्व र सञ्चयमा व्यक्तिगत स्वामित्व रहेको छ भन्ने स्पष्ट गर्नुभयो जुन पुँजीवादी समाजका लागि शोषणको साधन बनेको थियो । त्यही वैज्ञानिक अनुसन्धानको निचोडका रूपमा महान् कृति पुँजीको रचना गर्नुभयो ।

कार्ल माक्र्सले मानवजातिको इतिहासमा पहिलोपटक समाजलाई नयाँ ढङ्गले व्याख्या गर्नुभयो । उहाँले समाजको हामीसम्म आइपुगेको लिपिबद्ध इतिहास वर्गसङ्घर्षको इतिहास हो भनी व्याख्या गर्नुभयो । दुई विपरीत वर्गहरू शोषक वर्ग र शोषित वर्गका बीचमा समाजमा सङ्घर्ष चलिरहेको छ भनेर प्रमाणित गर्नुभयो ।

कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा एक घोषणापत्र लेख्नुभयो । त्यही घोषणापत्रमार्फत कल्पनामा सीमित रहेको समाजवादी–साम्यवादी समाजलाई अब मानिसको कल्पनाभन्दा बाहिर ल्याएर यथार्थको दुनियाँमा राखिदिनुभयो जसले पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको वास्तविक विजयको खाका कोरिदियो ।
यसरी संसारलाई योगदान गर्ने महान् जीवन भने १४ मार्च १८८३ का दिन चिरनिद्रामा सुत्यो ।

माक्र्सलाई गुमाएपछि एङ्गेल्सले लेख्नुभएको थियो, ‘मानवजाति नै टुहुरो बन्न पुगेको छ किनभने उसले सबैभन्दा प्रतिभावान् त्यो मस्तिष्क गुमाएको छ जसको अभावमा उसको उच्चता नै बुच्चो भएको छ ।’

कार्ल माक्र्स आफ्नो कृतिले सदासर्वदा जीवित रहिरहनुहुनेछ जसको जीवन सिङ्गो मानव समाजका लागि एक गौरव बनेर रहिरहनेछ ।

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :