प्रहरीलाई पार्टीका सूचना बेच्ने र आर्थिक अराजकता मच्चाउने सागर मैनालीलाई गर्यो नेकपाले कारबाही


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले सरकारी सुरक्षा निकायलाई पार्टीका आन्तरिक सूचना बेच्ने, पार्टीका नाममा आर्थिक अराजकता मच्चाउने, जनताको सम्पत्ति लुट्दै पार्टीको बदनाम गर्ने काभ्रेका युवा नेता सागर मैनालीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीका ताम्सालिङ ब्युरो इन्चार्ज आधारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सूचना बेचेकोमा अनुसन्धान गरी थप कारबाही गर्ने र आर्थिक अराजकता मच्चाउँदै जनतालाई दुःख दिएको र पार्टीको बदनाम गरेकोमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।

ब्युरो इन्चार्ज आधारको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका विषयमा अत्यन्त गम्भीरतापूर्वक लागिरहेको छ र जनतामा अत्यन्त लोकप्रिय बनिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणले विश्व तहसनहस बनिरहेको अवस्था र नेपालमा पनि कोरोना प्रकोपले सबैभन्दा बढी निम्न आय भएको वर्गका श्रमिकहरूलाई गाँजिरहेको अवस्थामा हाम्रो पार्टी जनतामा जागरुकता जगाउनुका साथै सहायतामा जुटिरहेको अवस्था छ । देश र जनताका पक्षमा काम गरेकै आरोपमा दलाल फासिवादी केपी वली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको सवा एक वर्ष भइसकेको छ । यस्तो प्रतिकूल अवस्थामा देश र जनताको सेवामा खटिरहेका पार्टीका कयौँ नेता–कार्यकर्तालाई जेल र हिरासतमा बन्द गरिएको छ । केपी वली सरकारका सबै फासिवादी हर्कतहरूलाई परास्त गर्दै पार्टी एकीकृत जनक्रान्तिको यात्रामा निरन्तर अघि बढिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सिलसिलामा काभ्रे जिल्ला रोशी गापा ६, सिपाली घर भएका हाम्रो पार्टीका काभ्रे जिल्लाका युवा नेता सागर मैनाली (रामकृष्ण मैनाली) पार्टी नीतिविरोधी गतिविधिमा संलग्न भएको पाइएपछि एक वर्षअघि नै निलम्बित गरी रूपान्तरणको प्रयास गरिएको थियो । सुध्रिनका लागि गरिएको निलम्बनको अवधिमा पनि अवैध रूपमा पार्टीका नाममा चन्दा उठाउने, आर्थिक भ्रष्टाचार गर्ने, सरकारी सुरक्षा निकायसमक्ष पार्टीका सूचना पुर्याउने, धाकधम्की लगाएर जनताको सम्पत्ति लुटेर पार्टीको बदनाम गर्ने, गुन्डागर्दी गर्ने गरेको पाइएकाले निज सागर मैनालीलाई सरकारी सुरक्षा निकायसँग मिलोमतो गरेकोमा अनुसन्धान गरी थप कारबाही गर्ने र जनताको सम्पत्ति लुटपाट गरेर क्षति पुर्याएकोमा क्षतिपूर्ति भराउने निर्णय गरिएको छ । पार्टी नीतिविपरीत हर्कत गरेकाले निज सागर मैनालीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :