बाँकेमा ९ सहित एकै दिन १० जनामा कोरोना सङ्क्रमण भेटियो


काठमाडौँ : बाँकेको नेपालगन्जमा एकै दिन ९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ ।

नेपालगन्जमा भेटिएका सङ्क्रमितमध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि १९ वैशाखमा त्यहाँ एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा रिपोर्ट पोजेटिभ देखिएको हो ।

आइतबार नै पर्साको वीरगन्जमा एकजना सङ्क्रमित भेटिएका छन् । नेपालगन्ज र वीरगन्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।

यसैबीच नेपालमा कोरोना सङ्क्रमणको सङ्ख्या बढिरहेको भए पनि आमरूपमा परीक्षणको दर नबढाएको भन्दै स्वास्थ्यविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

उता एकजना कोरोना सङ्क्रमित भेटिएको रूपन्देहीमा शङ्कास्पदहरूको परीक्षण गर्ने काम रोकिएको बताइएको छ । नेपालसहित विश्वका ३४ लाख ४६ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये ११ लाख उपचारपछि निको भएका छन् भने २ लाख ४४ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :