सङ्कटको दर्शन र दर्शनको सङ्कट

कोरोना भाइरसको महाव्याधिले यतिबेला मानव–विश्व थिलथिलो भएको छ । आजका दिनसम्म यसको सङ्क्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या सवा दुई लाखभन्दा माथि पुगिसकेको छ । विश्वभरि रोकथामको प्रयास हुँदाहुँदै पनि यसको प्रकोप अझैँ नियन्त्रणमा आइसकेको छैन । ज्यान गुमाउनेहरूको सङ्ख्या हरपल बढिरहेको छ । सिङ्गो मानवजाति र मानवसभ्यतामाथि नै चुनौती खडा गरेको यो सङ्कट सामान्य सङ्कट नभएर एक महासङ्कट बनेको छ । हालसम्मको अनुसन्धानले बताएअनुसार यो मानव निर्मित भाइरस नभएर प्राकृतिक भाइरस नै हो । यसर्थ यो प्राकृतिक सङ्कट हो । विशिष्ट अर्थमा भन्नुपर्दा यो मानवसिर्जित प्रकृतिले थोपरेको मानव क्रियाकलापविरुद्धको प्रतिजबाफ पनि हो ।

समयको लामो अवधिपछि प्रकृतिमा बेलाबखत ठूल्ठूला जैविक तथा भौतिक उथलपुथलहरू पैदा हुने गरेको इतिहास रहेको छ । प्राणी जगत् र विशेषतः मानवजातिका लागि तिनै उथलपुथलहरू विनाशक र महाविनाशक सङ्कट भएर आउने गरेको परिघटना मानव चेतनाका लागि अनौठो विषय होइन । त्यसखाले उथलपुथललाई सङ्कटका रूपमा केवल मानवजातिले मात्र बोध गर्न र अथ्र्याउन सक्छ । वस्तुगत रूपमा ती सङ्कटहरू वास्तवमा समग्र प्राणीका लागि जैविक र भौतिक परीक्षाहरू हुन् जहाँ हरप्राणीले त्यो परीक्षामा आफूलाई उत्तीर्ण गर्नैपर्छ । मानिस त्यसबाट अछुतो रहने कुरै भएन ।

हरेक वस्तुको अस्तित्व निरन्तर रूपान्तरणको एक अनिवार्य शृङ्खला हो । भौतिक र जैविक प्रत्येक वस्तु तथा तत्वहरू निरन्तर रूपान्तरणको यो अनन्त सिक्रीमा उनिएका छन् । ती हिजो जे थिए आजभन्दा कैयौँ गुणा बेग्लै थिए । आज जे छन् भोलि योभन्दा बेग्लै हुनु अनिवार्य छ । जो बेग्लै हुन सक्दैनन् ती अस्तित्वबाट हराउँछन् । सदाका लागि समाप्त भएर जान्छन् । तसर्थ रूपान्तरण मानिस, प्राणी जगत् वा सम्पूर्ण ब्रह्माण्डकै अस्तित्वको एक अनिवार्य साधना हो । तर रूपान्तरणको यो प्रक्रिया सधैँ एकनासको भने हुँदैन । रूपान्तरणको सामान्य अवस्था सहज, स्वाभाविक र सरल हुन्छ । विशिष्ट रूपान्तरण भने केही असहज, अस्वाभाविक र असामान्य हुन्छ । सामान्य रूपान्तरण अर्थात् मात्रात्मक रूपान्तरण हरपल, प्रत्येक घन्टा र दिनदिनैजसो भइरहेको हुन्छ । विशिष्ट रूपान्तरण अर्थात् गुणात्मक रूपान्तरण भने समयको केही लामो अवधिपछि पैदा हुन्छ तर रूपान्तरणको यो गति प्रत्येक वस्तुको आआफ्नै सापेक्षतामा लागू हुने गर्छ । यही गुणात्मक रूपान्तरण मानवजातिका लागि सङ्कट र कहिलेकहीँ महासङ्कटका रूपमा व्यक्त हुन आउँछ । यो गुणात्मक रूपान्तरण क्रमभङ्गताको त्यस्तो अवस्था हो जुन बिन्दुबाट वस्तुको नवीन अस्तित्व सुरुआत हुन्छ । यसर्थ सङ्कट अस्तित्वको दर्शन हो । नवीनताको अनिवार्य सर्त हो ।

समयको निकै लामो अवधिपछि पैदा हुने महासङ्कटहरूले जैविक र अजैविक वस्तुको आन्तरिक पद्धतिलाईसमेत व्यापक फेरबदल गरिदिन्छन् । यसो किन हुने गर्दछ भने वस्तुगत संसार मानवीय चिन्तनको आधारमा चल्दैन । अस्तित्व र रूपान्तरणसम्बन्धी यसको आफ्नै आन्तरिक पद्धति रहेको छ । मानवचेतना त त्यो वस्तुगत दुनियाँमा भएको उक्त रूपान्तरणकारी परिघटनाको प्रतिबिम्ब मात्र हो जुन प्रतिबिम्ब नै मानव ज्ञानका रूपमा संश्लेषित हुने गर्दछ । त्यसैले नै भन्ने गरिन्छ– समस्या नै समाधानको जननी हो, आवश्यकता नै ज्ञानको स्रोत हो ।

आज कोरोना महासङ्कट पैदा हुनुको प्राकृतिक आवश्यकता भनेको आजको मानवले प्रकृतिसँगको जुधाइमा जैविक प्रतिरोधको त्यो स्तर विकास गर्नु हो जहाँ प्रकृतिमा विकसित कोरोना र अरू थुप्रै महामारीजन्य ब्याक्टेरिया र भाइरसहरूसँग जुधेर त्यसमाथि विजय हासिल गर्न सकियोस् । प्रकृतिमा भएको निरन्तरको फेरबदलसँगै प्रत्येक प्राणी र वनस्पतिले आफूलाई जैविक र भौतिक अनुकूलन गर्नै पर्दछ । प्रकृतिका अन्य प्राणीहरूभन्दा मानिस उच्च चेतनशील प्रजाति भएकाले त्यो अनुकूलनलाई उसले प्राकृतिक रूपमा मात्र नभएर विविध कृत्रिम वस्तुहरू (औषधी तथा उपकरणहरू) को सहायताले समेत आपूर्ति गर्ने गर्दछ । कृत्रिमताको सहारा मानवजातिका लागि अनिवार्य आवश्यकता हो । त्योबिना मानवअस्तित्व सम्भव छैन । अर्को अर्थमा यही कृत्रिमता नै मानवीय श्रेष्ठता पनि हो । तर कृत्रिमताको सहारा लिने नाममा आजको मानिसले प्रकृतिमाथि एकपछि अर्को ज्यादती बढाइरहेको छ । आजको मानवीय क्रियाकलाप प्रकृतिमैत्री छैन भन्नेमा विश्वभरिकै सचेत बौद्धिक तप्काको एक मत छ । यसको मुख्य कारक भनेको पुँजीवादी अस्तित्वको विश्वव्यापी होडबाजीले प्राकृतिक स्रोतहरूको दोहन र उपकरणहरूको अनियन्त्रित प्रयोग हो । त्यसले नै प्रकृति र मानिसको दीर्घकलीन हितविरुद्ध जटिलतम् चुनौतीहरू खडा गरिरहेको छ । केही सीमित मानिसहरूले अकूत सम्पत्ति आर्जन गर्ने उद्देश्यद्वारा सत्ता र शक्तिको आडमा प्रकृतिमाथि निकै ज्यादती मच्चाइरहेका छन्, चरम दोहन गरिरहेका छन् । यही स्वेच्छाचारिता नै आजको मानवनिर्मित प्रकृति बन्न गएको छ जसको परिणाम नै सम्पूर्ण प्राणी जगत्का लागि जैविक सङ्कटहरू एकपछि अर्को थोपरिँदै गएका छन् । अतः जैविक सङ्कटकै एउटा परिघटना आजको यो कोरोना महामारी हो भन्नेमा किञ्चित पनि अस्वीकार गर्नु हुँदैन ।

हुनत जतिसुकै प्रकृतिमैत्री व्यवहार गरे पनि समयको एउटा लामो अवधिपछि पैदा हुने प्राकृतिक उथलपुथलहरू (सङ्कट अर्थात् चुनौतीहरू) त अवश्यम्भाबी नै छन् । त्यसो भए प्रकृतिमैत्री व्यवहारको के जरुरत ? साँचो कुरा हो– प्रकृतिमैत्री व्यवहारको यो विषय केवल मानिससँग मात्र जोडिन्छ किनकि मानवीय क्रियाकलाप अरू प्राणीको भन्दा फरक छ । मानवबाहेकका प्राणीहरू प्रकृतिमा जे उपलब्ध हुन्छ त्यसलाई सोझै उपयोग गरेर बाँच्छन् । मानिस त्यसबाट धेरै हदसम्म स्वतन्त्र छ । उसले प्रकृतिबाट उपलब्ध वस्तुलाई जस्ताको तस्तै उपयोग गर्दैन । बरु आफ्ना विभिन्न आवश्यकताहरू परिपूर्तिका लागि त्यसको परिमार्जनसहित उपयोग गर्दछ । त्यो उसको ज्ञान र चेतनाको कारणले नै हो ।

मानिसले आफ्नो अस्तित्वका लागि प्रकृतिसँगको निरन्तर सङ्घर्षमा आफूलाई श्रेष्ठतम् साबित गर्दै आइरहेको छ । अझ त आजको अत्याधुनिक मानव प्रकृतिअनुकूल आफू जाने होइन, बरु प्रकृतिलाई नै आफूअनुकूल प्रयोग गरिरहेको छ जो अन्य प्राणीहरूको तुलनामा अकल्पनीय कुरा हो । यो यात्रामा मानिसको अन्तिम गन्तव्य कस्तो होला ? प्रकृतिमाथि मानवको अन्तिम विजय कस्तो होला ? यी केही अनन्त जिज्ञासापूर्ण प्रश्नहरू पनि उठिरहेका छन् तर आजको तत्कालिक आवश्यकता के हो भने मानवजातिको यो सङ्घर्षपूर्ण यात्रालाई प्रकृतिका विरुद्ध शत्रुतापूर्ण सङ्घर्षका रूपमा होइन, बरु प्रकृतिसँग अनुकूलनको मित्रतापूर्ण सङ्घर्षको यात्राका रूपमा अघि बढाउन जरुरी छ । त्यो नै प्रकृतिमैत्री व्यवहारको प्रसङ्ग हो । त्यो किन आवश्यक छ भने प्रथमतः यो पृथ्वी एउटा मात्र छ । अझ त यसको आयु पनि निश्चित छ । भलै त्यो मान्छेको जस्तो पचास वा सय वर्षको नभएर लाखौँ र करोडौँ वर्षको छ । वैज्ञानिकहरूको सुझाव यो पनि छ– अबको मानवका लागि एउटा गन्तव्य भनेको नयाँ पृथ्वीको खोजी हो । अनगिन्ती प्रयासहरू हुँदाहुँदै नयाँ पृथ्वीको खोजी वैज्ञानिकहरूले अझै मूर्त गर्न सकिरहेका छैनन् । यो स्थितिमा भएकै जम्माजम्मी एउटा पृथ्वीको समेत आयु छोट्ट्याउने मानव क्रियाकलाप स्वयम्का लागि अति विनाशकारी हुन जान्छ । दोस्रो, अस्तित्वको निरन्तरताका लागि उसको प्रतिरोधी क्षमतालाई विकास गर्न जरुरी छ । तब मात्र उसले जैविक सङ्कटहरू सामना गर्न सक्छ । अन्यथा मानिस कुनै दिन यति धेरै कमजोर हुनेवाला छ, उसको अस्तित्व छिनभरमै खल्र्याप्प जान बेर हुनेछैन ।

प्रतिरोधी क्षमता विकासको अर्थ केवल ‘जैविक मानव’ को निर्माण भन्ने मात्रैले अब पर्याप्त हुँदैन । हो, मानिसले अधिकाधिक जैविक प्रतिरोधी क्षमता आर्जनको बाटोमै ध्यान दिनु पर्दछ । अबको स्वाथ्यपद्धतिको आधारभूत बाटो त्यही हुनु पर्दछ । तर त्यसका साथै मानिसले त्यस्ता औषधी र प्रविधिको विकास पनि गर्नु आवश्यक छ जसले अबको मानिस ‘एन्टी सेफ्टिक मानव’ पनि होओस् ।

तत्कालीन आवश्यकताको दृष्टिबाट भन्ने हो भने कोरोना महासङ्कटबाट मानवजातिलाई जोगाउनु आजको सर्वाधिक पहिलो कार्यभार हो । हरेक राज्य र प्रत्येक मानिसले त्यसबारे आफूलाई केन्द्रित गर्नैपर्छ । तर यो महासङ्कटले जुनप्रकारको मानव भविष्यको पूर्वसङ्केत गरिरहेको छ त्यसका बारेमा बेलैमा बहस गर्नु मानवीय अस्तित्वको अर्को एक अनिवार्य आवश्यकता बन्न गएको छ किनकि कोरोनाको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा भए पनि यसको अप्रत्यक्ष असर अर्थव्यवस्थालगायत विविध मानवीय क्षेत्रमा निकै दीर्घकालिक भएर उद्घाटित भएका छन् । त्यसका लागि विद्यमान सामाजिक प्रणाली र चिन्तन–दृष्टिहरूमाथि समेत व्यापक बहस र समीक्षा जरुरी छ ।

मानवीय आवश्यकताको कुनै सीमा छैन । असीमित इच्छाको तृष्णाले नै मानिस अस्तित्वको दौडमा कुदिरहेको छ । यो दौडको समाप्ति सम्भवतः मानव ज्ञान र अस्तित्वकै समाप्ति हुनेछ । त्यसैले अस्तित्वको यो दौड निरन्तर कायम हुन जरुरी छ । तर यो दौडमा आजको मान्छे उसले रचना गरेको सामाजिक प्रणाली र चिन्तन–दृष्टिका हिसाबले निजत्वको विमान चढेर जसरी कुदिरहेको छ जसको गन्तव्य भने निकै असुरक्षित र भयावह मात्र होइन, आत्मघाती दृष्टिगोचर भइरहेको छ । केही सीमित मानिसहरूको इच्छा नै सम्पूर्ण मानिसहरूको इच्छा, तिनीहरूको स्वतन्त्रता नै सम्पूर्ण मानिसहरूको स्वतन्त्रता, उनीहरूको सत्ता नै सम्पूर्ण मानिसहरूको सत्ताको परिभाषा भइरहेको छ । यसले समग्र मानवजातिको अस्तित्वलाई विनाशको खाल्डोतिर निरन्तर धकेलिरहेको छ । कोरोना महामारीको विश्वव्यापी सङ्कटले आज निजत्वमा आधारित यही सामाजिक प्रणाली र चिन्तन–दृष्टिमाथि निकै मर्मस्पर्शी व्यङ्ग्य गरेको छ । गम्भीर चेतावनी दिएको छ ।

सामाजिक दृष्टिबाट विश्लेषण गर्ने हो भने महासङ्कटहरूले समकालीन समाजको चिन्तन–दृष्टि, सामाजिक प्रणाली र ज्ञानको सीमालाई समेत तोडेर नवीन मूल्य र मान्यताहरूको रचना गर्ने गर्छन् । ज्ञानका नयाँ र अझै नयाँ ढोकाहरू खोल्ने गर्छन् । कोरोना महाव्याधिको सर्वाधिक महत्वपूर्ण शिक्षा हो– प्रतिरक्षाप्रणालीको विकास । यो प्रतिरक्षाप्रणालीका दुईखाले प्रकृति रहेका छन् : एउटा हो प्राकृतिक प्रतिरक्षा र अर्को हो कृत्रिम प्रतिरक्षा । प्राकृतिक प्रतिरक्षाको अर्थ हो– मानवमा जैविक प्रतिरोधी क्षमताको विकास । कृत्रिम प्रतिरक्षाको अर्थ हो– एउटा त्यस्तो सामाजिक प्रणालीको विकास, त्यस्तो सामाजिक मुल्यको रचना, त्यस्तो प्रविधिको विकास जसले सम्भावित प्राकृतिक सङ्कटको प्रतिरक्षा गर्न मानवीय सक्षता हासिल गरोस् । मानवजीवनको सन्दर्भमा यी दुई एकअर्कासँग घनिष्ट रूपले जोडिएका विषय हुन् । यी दुईलाई अलगथलग पार्नु वा विपरीत्वको रूपमा व्याख्या गर्नु अबुझपना ठहर्छ ।

प्राकृतिक विपत्तिहरूको सामना गर्न मानिस एक्लैले कदापि सक्दैन । त्यसका लागि सिङ्गो मानव समाजको ऐक्यबद्धता चाहिन्छ । यो ऐक्यबद्धता समुदाय स्तरमा, राष्ट्रको स्तरमा र विश्व स्तरमा गर्नु आवश्यक हुन्छ । हिजोका दार्शनिक र ऋषिहरूले कल्पना गरेको ‘आदर्श राज्य’ र ‘राम राज्य’ सम्भवतः यस्तैखाले मानवीय र प्राकृतिक विपत्तिको एउटा जबाफ थियो । आजको पुँजीवाद उदारीकरण र खुला बजारको पखेटा जोडिएको प्रविधिको ‘बज्रठिङ्गा’ मा चढेर जसरी संसारको विचरण र दोहन गरिरहेको छ, त्यसले हुँदा खाने र हुने खाने, साना राष्ट्र र ठूला राष्ट्र, रङभेद, जातिभेद, धर्म र संस्कृतिको सीमारेखा व्यापक बढाउँदै लगेको छ ।

कोरोना महासङ्कटले सामन्ती ‘अलौकिक जडता’ र पुँजीवादी ‘लौकिक प्राविधिक घमण्ड’ लाई एकसाथ धुलो चटाइदिएको छ । यो बेला संसारभरका मन्दिर, चर्च र मस्जिदका देवता, प्रभु र अल्लाहहरू कोरोना दैत्य र सैतानसामु शिर झुकाएर निरीहता प्रकट गरिरहेका छन् । सम्पूर्ण पृथ्वी र मानवजातिको रक्षा स्वयम् ‘मनुष्य’ माथि नै छोडिदिएका छन् । उता प्रविधिको आडमा डुक्रिँदै संसार चहारिरहेको नवउदारवादी पुँजीवाद लकडाउनमा कुँजिएर डल्लो परेको छ ।

वैकल्पिक चिन्तन र सामाजिक प्रणालीको बहस चलिरहेको यो बेला विश्वभरि एकपटक फेरि साम्यवादी चिन्तन र सामाजिक प्रणालीको चर्चा बढेर गएको छ । खासगरी चीनको वुहानबाट सुरु भएको मानिने कोरोना सङ्कट जब विश्वव्यापी भयो तब यसले महासङ्कटको रूप धारण गर्न पुग्यो तर यो फैलावटका क्रममा चीनले जसरी यो सङ्कटलाई नियन्त्रणमा लिन सक्षमता प्रकट गर्यो, त्यसैगरी उत्तरकोरिया, भियतनाम, क्युबालगायत पूर्वसमाजवादी देशहरूमा कोरोनाको महामारी जसरी नियन्त्रित स्तरमा रहन गयो, यसले मानिसहरूमा साम्यवादप्रति नवीन आकर्षण पैदा गरेको छ ।

हुनत पूर्वसमाजवादी देशहरूमा कोरोना नियन्त्रणमा देखिएको हालसम्मको सफलता समाजवादकै सफलताका रूपमा चर्चा गर्नु तर्कपूर्ण हुँदैन तर ती देशहरूमा समाजवादको विरासतका रूपमा कायम रहेको जनताको संयम, शिक्षा, स्वास्थ्यजस्ता अधिकांश सार्वजनिक क्षेत्रमा कायम गरिएको राज्यको नेतृत्व कोरोना नियन्त्रणका लागि निकै फलदायी भएको यथार्थलाई जोकसैले पनि नकार गर्न सक्दैन । सुरुआती दिनहरूमा कोरोनालाई चिनियाँ भाइरस भनेर व्यङ्ग्य गर्दै हिँड्ने अमेरिकी ट्रम्प प्रशासन जब कोरोना आफ्नै देशमा भित्रियो र त्यसले संसारकै सबभन्दा धेरै मानवीय क्षतिमा अमेरिकालाई दर्ता गर्यो तब ऊ चीनलाई नै समयमै सूचना नदिएको आरोप लगाएर आफ्ना कमजोरी ढाकछोप गर्ने दाउमा लागिरहेको छ । आखिर महामारीको सङ्कटपूर्ण घडीमा २४ घण्टाभित्रै हजारौँ शैय्याको अस्पताल चीनले नै निर्माण गर्न सक्यो । देशभरिबाट हजारौँ डाक्टरहरूको केन्द्रीकरण गर्न चीनले नै सक्यो । जनताका घरघरमा दैनिक आवश्यकताका वस्तुहरू सहज आपूर्ति गर्न चीनले नै सक्यो जब कि अमेरिकामा त्यसको ठीक उल्टो भयो । ट्रम्प र उसको प्रशासनका विरुद्ध जनता नाराबाजीमा उत्रिए । बेरोजगारीको फाराममा नाम लेखाउने अमेरिकीहरूको सङ्ख्या करोडमा पुग्यो । कोरोनाका बिरामीहरू घरघरमै मरेका तथ्यहरूसमेत अमेरिकामा देखिए । यो तथ्यले साम्यवादको बहस एकपटक फेरि मानिसहरूको दिल–दिमागमा पसेको छ र त्यसको आकर्षणले विश्वलाई नयाँ रक्तसञ्चार गरेको छ ।

अबको मानवविकल्प के हो त ? पुँजीवाद किन अबको विकल्प हुन सक्दैन ? साम्यवाद नै अबको विकल्प कसरी हुनसक्छ ? कि साम्यवाद र पुँजीवाद दुवैभन्दा नयाँ कुनै सामाजिक प्रणाली पनि सम्भव छ ? यसका बारे थप छलफल केन्द्रित गरौँ ।

कोरोना प्रसङ्गबाटै विषयको उठान गर्नुपर्दा आजको मानवीय आवश्यकता के हो भने ‘सुदृढ प्रतिरक्षाप्रणालीको विकास गर्नु ।’ प्रतिरक्षाप्रणालीका दुईवटा आयाम– प्राकृतिक प्रतिरक्षा र कृत्रिम प्रतिरक्षाबारे माथि नै भनिसकिएको छ । यी दुईबीचको अन्तरसम्बन्ध र परिपूरकताबारे अलिकति थप चर्चा गरौँ । मानिस आधारभूत रूपले प्राकृतिक भए पनि ऊ केही हदसम्म कृत्रिम पनि हो । यही कृत्रिमता नै मानवीय स्वत्व र अस्तित्व हो । मानवजातिको भविष्यको स्वास्थ्यप्रणाली आधारभूत रूपले प्राकृतिक अर्थात् जैविक प्रतिरोधी नै हुनु जरुरी मात्र होइन, अत्यावश्यक छ । त्यसका साथै उसको ज्ञानले विकास गर्नसक्ने त्यस्तो जैविक पुनर्संरचना पनि सम्भव छ जसले प्रतिरोधी क्षमताको विशेष विकास गर्न सकोस् । यो नै एकअर्काबीचको अन्तरनिर्भरता हो ।

जैविक प्रतिरोध र जैविक पुनर्संरचना आजको पुँजीवादभित्र जति धेरै सम्भव छ त्योभन्दा धेरै आत्मघाती छ । कोरोना भाइरस मानव निर्मित पनि हुनसक्छ भन्ने आशङ्कालाई एकछिन सत्य मान्ने हो भने त्यसका पछाडि जोडिएको कारणबारे पनि बहस गर्नुपर्ने हुन्छ । कोरोना मानव निर्मित भाइरस हो भने त्यो कथित महाशक्ति राष्ट्रहरूबीच व्यापार युद्धको अस्त्र हो भन्ने अधिकांश मानिसहरूको विश्लेषण रहेको छ । त्यो किन ? त्यसको पनि झन्डै तयारी जबाफ छ– संसारभर एकछत्र व्यापारिक साम्राज्य कायम गर्न । यसरी सम्पत्ति आर्जनको होडबाजीका लागि लाखौँलाख मानिसहरूको ज्यान लिने कार्य घोर आपराधिक भएन र ? त्यसो त विगत युद्धको इतिहास हेर्दा जैविक हतियार प्रयोग गरिएका प्रसस्तै प्रमाणहरू छन् । हिजो तरबार र बन्दुकले लडिने युद्ध आज जैविक हतियारले लड्न थालियो । फरक यत्ति त हो ? अनि यस्तो पुँजीवादी सामाजिक व्यवस्थाले कसरी मानवजातिको रक्षा गर्न सक्छ ? त्यति मात्रै होइन, पुँजीवाद अझ त आजको नवउदारवादी, दलाल पुँजीवादको उद्देश्य भनेको हरक्षेत्रमा निजीकरण गर्नु र मुनाफा कमाउनु हो । त्यसको मारमा परेको छ स्वाथ्य क्षेत्र पनि । हाम्रोजस्तो अल्पविकसित र साना राष्ट्रका जनता स्वास्थ्यको आधारभूत अधिकारबाट पूर्ण रूपले वञ्चित छन् । अस्पताल पुँजीपतिहरूको पैसा उत्पादन गर्ने उद्योग बनेका छन् । ती देशका सरकारहरू पुँजीपतिहरूका एजेन्ट बनेका छन् । अर्को अर्थमा पुँजीपतिहरू नै सरकारमा छन् र सरकारमा भएका व्यक्तिहरूले नै अस्पतालरूपी उद्योगहरू सञ्चालन गरिरहेका छन् । यो पुँजीवादी विश्वको नाङ्गो तथ्य हो ।

पुँजीवादमा यसो किन हुन्छ त ? कैयौँ मानिसहरू बडो भ्रम पालेर बसेका छन् पुँजीवादी व्यवस्था त ठिकै हो तर यसको सञ्चालन गर्ने मानिसहरू बेइमान भए । कुरो त्यसो होइन, बरु सत्य कुरा के हो भने निजी पुँजी आर्जनको चुचुरोमा उभिएको पुँजीवादी प्रणालीको विकार ती व्यक्तिहरूमार्फत व्यक्त भएको मात्र हो किनकि पुँजीवादी इमानदारी नाफाको ‘लक्ष्मणरेखा’ ले घेरिएको हुन्छ । त्यसलाई नाघ्न खोज्नु बिल्कुल असम्भव छ ।

त्यसो भए साम्यवाद कसरी अग्रगामी विकल्प हुनसक्छ त ? साम्यवाद मानवसमाजको सर्वोत्तम विकल्प यसर्थ हुनसक्छ– यसको आधारभूत विशेषता भनेको निजत्वको उन्मूलन हो । निजत्व नै मानवसमाजको त्यस्तो ‘भष्मासुरी’ तत्व हो जसको अन्त्यबिना मानवजातिको अन्तिम भविष्य सुरक्षित छैन । साम्यवाद पुँजीवादी सर्वविनाशकारी युद्धको सदाका लागि अन्त्य हो जहाँ मानिसले मानिसलाई मार्नका लागि न आणविक अस्त्र निर्माण गर्नेछ, न त ब्याक्टिेरिया र भाइरसहरू नै । आखिर चीन, उत्तरकोरिया कोरिया र अरू पूर्वसमाजवादी देशहरूमा कोरोना नियन्त्रणका लागि प्राप्त सफलता समाजवादको अति सामान्य उदाहरण मात्र हो किनकि ती देशहरूसमेत विश्व–पुँजीवादको लपेटाबाट आज अछुतो छैनन् । यो कुरा निश्चित हो– साम्यवादको सफलता एक देश र केही निश्चित मानिसहरूको सफलता अवश्य होइन । यो त सिङ्गै मानवजातिको सफलता हो । सिङ्गो विश्वको सफलता हो तर एकादुई वा सम्भव भएजति देशहरूमा वास्तविक समाजवादी सत्ताको पुनस्र्थापनासहित साम्यवादी अभियानको आरम्भ अबको विश्व र मानवजातिको अनिवार्य सर्त हो ।

साम्यवादी सामाजिक प्रणालीको पूर्वचरणका रूपमा स्थापित समाजवादी देशहरूको असफलतालाई लिएर कैयौँ मानिसहरूले साम्यवादको असफलताबारे तर्क गरिरहेका छन् । उनीहरूको अर्थमा समाजवाद पनि असफल राजनीतिक प्रणाली नै हो । यिनै तर्कलाई आधार बनाएर एकथरी मानिसहरूले पुँजीवाद र समाजवाद (साम्यवाद) दुवै असफल प्रणाली हुन्, ती दुवैबाट मानवजातिको आगामी भविष्यको नेतृत्व सम्भव छैन भनिरहेका छन् । रोचक कुरा त के भने उनीहरूको तर्कअनुसार निजत्व र सामाजिक स्वामित्वलाई मिलाएर लिनुपर्छ । विज्ञान र अध्यात्मलाई मिलाएर लिनुपर्छ इत्यादि । यो नै उनीहरूको ‘वैकल्पिक प्याराडाइम’ हो ।

साँचो कुरा के हो भने मानवअस्तित्व र आगामी भविष्यका बारेमा बहस गर्दा विविध तर्क र तर्कनाहरूबीच व्यापक बहस जरुरी छ । तर आजसम्मको वास्तविकताबाट हेर्दा निजत्व र सामाजिक स्वामित्व तथा विज्ञान र अध्यात्म दुई भिन्न चिन्तनपद्धति, दुई भिन्न सामाजिक प्रणाली, दुई भिन्न अस्तित्व हुन् तर यी दुईमा निजत्व र अध्यात्म शाश्वत विषय होइनन्, बरु विज्ञान र सामूहिकता नै शाश्वत् विषय हुन् । मानिसको अज्ञानताबाट पैदा भएको अध्यात्म र स्वार्थबाट पैदा भएको निजत्वलाई शाश्वत् तत्व मान्नु भयङ्कर भ्रम वा भ्रमपूर्ण नियत मात्र हो, बरु समाजवादी देशहरूको असफलता अर्को अर्थमा नक्कली समाजवादको असफलता भने पक्कै हो । यो सामूहिक प्रणालीको असफलता कदापि होइन ।

आजको सामाजिक मूल्य सङ्कटको दर्शनबाट ज्यादा निर्देशित छ । उसको वास्तविक समस्या भनेको दर्शनको सङ्कट हो । उसले सङ्कटको ज्यादाभन्दा ज्यादा विश्लेषण त गर्न सक्छ तर त्यो सङ्कटको स्रोतका बारे अनुत्तरित रहन्छ वा भ्रामक जबाफ दिन बाध्य हुन्छ । ऊ कतै अज्ञानताको सिकार भएको छ त कतै निजी स्वार्थको सिकारी ! विज्ञानलाई आत्मसात गर्नु र निजी स्वार्थलाई तिलाञ्जली गर्नु मानवजातिको आगामी भविष्य हो । अबको अस्तित्व– जैविक र एन्टिसेफ्टिक मानव तथा विश्वको निर्माण हो । साम्यवादको निर्विकल्प यात्रा हो ।

१९ वैशाख, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :