नेकपाले जनताका बीचमा मनायो १३१ औँ मे दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले जनताको उत्साहजनक सहभागितामा १३१ आँै मे दिवस मनाएको समाचार प्राप्त भएको छ । कोरोना सङ्क्रमणको महामारीका बीचमा सचेतना जगाउँदै र व्यक्तिगत दूरी कायम गर्दै मे दिवस मनाइएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार नेकपाका नेता अभयको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ थिए । प्रमुख अतिथि नेता कञ्चनले कोरोना सङ्क्रमणका कारण विश्वभर करोडौँ मजदुर श्रमकार्यबाट वञ्चित भएको र पुँजीपतिहरूले कोरोनाको कारण देखाउँदै श्रमिकलाई कामबाट वञ्चित गर्दा श्रमिकको जीवन अत्यन्त जोखिमपूर्ण बनेको बताए । कोरोना सङ्क्रमणको समयमा पुँजीवाद अत्यन्त क्रूर, स्वार्थी र मृत्युन्मुख रहेको प्रमाणित भएको भन्दै नेता कञ्चनले वैज्ञानिक समाजवादले मात्रै श्रमिकहरूलाई सम्मानजनक जीवन प्रदान गर्ने भएकाले एकीकृत जनक्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्न सम्पूर्ण श्रमिक–उत्पीडित वर्गलाई आह्वान पनि गरे ।

नेता कञ्चनले भने, ‘मानवताविरोधी साम्राज्यवाद, पुँजीवाद र दलाल पुँजीवादका विरुद्ध लड्न कोरोना सङ्क्रमण र महामारीलाई क्रान्तिकारीहरूले एउटा अवसरका रूपमा उपयोग गर्नुपर्छ ।’

केपी वली नेतृत्वको दलाल पुँजीवादी सरकार र सरकार सञ्चालन गरिरहेका सामाजिक दलाल पुँजीवादी पार्टीहरू कोरोना सङ्क्रमणको त्रासमा रहेका जनताका समस्यालाई बेवास्ता गर्दै भ्रष्टाचार, कमिसन र लूटमा व्यस्त रहेको र कुर्सीस्वार्थका कारण सत्ता लुछाचुँडीमा लागेर ताण्डव नृत्य देखाइरहेकाले जनता आक्रोशित बनेको नेता कञ्चनको भनाइ थियो ।

नेकपा नेता धनवीरले सञ्चालन गरेको कार्यक्रमका अतिथिका रूपमा नेकपाका नेता विजयलगायतको उपस्थिति थियो । कार्यक्रममा शिखरले जनवादी देउडा गीत प्रस्तुत गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :