मजदुरमाथिको शोषण–दमन र श्रमिक कटौती स्वीकार्य छैन : ट्रेड युनियन महासङ्घ


काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र महामारीका बीच सबैभन्दा बढी श्रमिक वर्ग पीडित भएको भन्दै मजदुरमाथिको शोषण–दमन र श्रमिक कटौती अस्वीकार्य रहेको जनाएको छ । १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) का अवसरमा महासङ्घको केन्द्रीय समितिका तर्फबाट प्रेस वक्तव्य जारी गर्दै केन्द्रीय कार्यालय सदस्य विनोद थापाले महामारी, विपद् विश्व–जनसमुदायमा भैरहेको अस्वाभाविक श्रमिक कटौती, श्रमशक्तिमाथिको आधुनिक एवम् पछिल्लो प्रकारको शोषण र विकसित घटनाक्रमलाई वास्ता नगरी अघि बढ्नसक्ने अवस्थामा नरहेको पनि जनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा पनि महामारीपछिको अनिश्चितकालीन लकडाउनयता श्रमिक मजदुरमाथि भैरहेको यस्तो अन्यायपूर्ण शोषण–दमनमा आधारित श्रमिक कटौती, पारिश्रमिकका सन्दर्भमा असमानता, असहजता, मनोमानीलगायत जारी हर्कत जोकोही मजदुरलाई कदापि स्वीकार्य हुन सक्दैन ।’

थापाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘विश्व–समुदायमा प्राणघातक कोरोना भाइरस (कोभिड १९) महामारी प्रवेश भएयता जनजीवन नसोचिएको अनुपातमा अस्तव्यस्त र अत्यन्त कष्टकर बनेको तथ्य घटनाक्रममार्फत सचित्र पेस भैसकेको सबैमाझ अवगत छ । दिनहुँजसो सङ्क्रमितको सङ्ख्यामा थप हुने, मृत्युदर फेरबदल हुने, सङ्क्रमणको आशङ्कामा केही थुप्रैमा परीक्षण भैरहने, मुलुकैपिच्छे सरकारद्वारा जारी गरिएको लकडाउनको मारमा श्रमिक जनसमुदायले आफूलाई पट्यारलाग्दो एकान्तबासमा कैद गर्नुपर्नेलगायतको दैनिकीसँगै हुँदा खाने, श्रमिक, गरिखाने श्रमजीवी वर्गको जीवन थप सन्त्रासको भुमरीमा धकेलिन पुगेको छ भने यो सवाल नेपाली जनसमुदायका बीचमा, लाखौँ श्रमिक मजदुरहरूको सन्दर्भ र स्थितिमा पनि उस्तै र सापेक्ष रहेको देखिन्छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘परिस्थिति हुर्कंदै र यसरी विकास हुँदै जाँदा समस्त श्रम बजारमा झन्डै ७१ लाख श्रमिक रोजगारमध्येमा करिब २० लाख श्रमिक कटौटी हुने देखिन्छ । साथै राज्यको घोषणाबमोजिम लकडाउन अवधिमा पारिश्रमिक, उचित राहत एवम् न्यूनतम् वेतनसमेत सहज रूपमा नपाउँदा मजदुर श्रमिकहरूको जीवन झन् कष्टकर बन्दै गएको छ । रोजगारदाताका तर्फबाट विपद् महामारीको मौका छोपी श्रमिकहरू निष्कासन गर्ने, सरकारले प्रचलित कानुनी प्रावधानअनुरूप तय गरेको न्यूनतम् पारिश्रमिक एवम् राहत वितरण नगर्ने गरेका उदाहरण प्रसस्तै भेटिएका छन् । असङ्गठित क्षेत्रमा लाखौँ अनौपचारिक क्षेत्रका श्रमिक मजदुरहरू, दैनिक ज्यालादारी विपन्न श्रमिकहरू, निर्माणअन्तर्गत ठेकेदारहरूद्वारा र यातायात तथा अन्य क्षेत्रमा त्यसरी नै मारमा परेका छन् भने सरकारको कथित श्रमिक राहत योजना कैयौँपटक विवादित र असफल भैसकेको छ । श्रमिक श्रमजीवी वर्गको सरकार, कम्युनिस्ट पार्टीको सरकार, दुई तिहाइको भारी मतका साथ सत्ताको बागडोर सञ्चालनको हैसियतमा पुगेको यो ऐतिहासिक संयोग, श्रमिकहरूमाथि नै गलत रूपले पेस भै जनसमुदायको मनस्थितिमा दलाल र फासिवादउन्मुख सामाजिक दलाल सरकारका रूपमा परिचित बनेको छ । श्रमिक मजदुरहरूको विशाल सङ्गठन र मोर्चाको जगमा टेकेर सत्तामा पुगिसकेका केही ट्रेड युनियन सम्बद्ध चर्चित नेतृत्वहरूको दृष्टि परिस्थितिको विषमतालाई हल गर्ने रूपमा न्यायपूर्ण तवरमा त्यतातिर पुगेको रत्तिभर देखिन्न ।’

वक्तव्यमा भनिएको छ, ‘मुलुकको अवस्था विभिन्न तह र रूपमा सोचनीय बनेको छ । जुनसुकै विषयमा समालिनसक्नु बनिरहेको छ । सरोकारवाला ट्रेड युनियनहरूका तर्फबाट उपरोक्त सम्बन्धमा पहलकदमी जेजति भएको छ त्यो मात्रात्मक रूपमा कम भएको वस्तुस्थितिले बताएको छ । आफ्नो ऐतिहासिक सार्थक इतिहासलाई गौरवमय रूपमा स्मरण गर्दै यतिबेला विश्व–श्रमिक समुदायमा फेरि एकपटक अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । विद्यमान परिस्थिति र असरल्ल वस्तुस्थितिका बीचमा हामी रक्तरञ्जित इतिहासको उक्त सन्दर्भमा आजको प्रतिबद्धता कायम गर्दै श्रमिक दिवस मनाउँदैछौँ । तर पनि महामारी, विपद् वा जुनकुनै मानेमा विश्व–जनसमुदायमा भैरहेको अस्वाभाविक श्रमिक कटौती, श्रमशक्तिमाथिको आधुनिक एवम् पछिल्लो प्रकारको शोषण र विकसित घटनाक्रमलाई भने हामी वास्ता नगरी अघि बढ्नसक्ने अवस्थाम पक्कै पनि छैनौँ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘नेपालमा पनि महामारीपछिको अनिश्चितकालीन लकडाउनयता श्रमिक मजदुरमाथि भैरहेको यस्तो अन्यायपूर्ण शोषण–दमनमा आधारित श्रमिक कटौती, पारिश्रमिकका सन्दर्भमा असमानता, असहजता, मनोमानीलगायत जारी हर्कत जोकोही मजदुरलाई कदापि स्वीकार्य हुन सक्दैन । न्यायपूर्ण आठ घन्टा काम आन्दोलनको इतिहास, विगत, भलै केही अविस्मरणीय सङ्घर्ष र बलिदानको पाटोमा एकाकार भएर इतिहासमा जोडिन्छन् तर पनि तत्कालीन अमानवीय पुँजीपति शासकहरूको कहालीलाग्दो अन्त्यको प्रसङ्गविहीनता पक्कै भेटिन । इतिहास त्यसै साक्षी छ । श्रमिक श्रमजीवी वर्गको जित तसर्थ पनि न्यायोचित एवम् सुनिश्चित र सम्भव छ । स्वाधीन राष्ट्रियताको सर्वोच्च मनोबलको अर्को त्यस्तै इतिहास बोकेको नेपाली मुलुकबाट आदरणीय श्रमिक जनसमुदायसँगै न्यायप्रेमी आमश्रमिक मजदुरहरूमा श्रमिक अन्तर्राष्ट्रिय १३१ औँ मे दिवसको हार्दिक शुभकामना । मे दिवसको सार्थक इतिहास र उपरोक्त ऐतिहासिक तथ्यमा निःसङ्कोच ध्यान केन्द्रित गरौँ । सार्थक बहसका साथ श्रमिक आन्दोलनलाई न्यायिक नेतृत्व प्रदान गरौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :