१३१ औँ विश्व मजदुर दिवसको अवसरमा नेकपाका प्रवक्ता प्रकाण्डको शुभकामना सन्देश

‘मजदुरहरुको रोजीरोटीको सवाल जटिल तर सरकार सत्ता संघर्षमा लिप्त’

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले १३१ औँ विश्व मजुदर दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । शुक्रबार एक शुभकामना सन्देश ब्यक्त गर्दै प्रकाण्डले विश्व मजदुर आन्दोलनमा सहादत प्राप्त गर्ने एवं कोरोना संक्रमणबाट आफ्नो जीवन गुमाउन पुगेका सबै मजदुरहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित मजदुरहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शुभकामना सन्देशमा प्रकाण्डले भनेका छन् –‘वर्तमान पूँजीवादी विश्वले पूँजीको उत्पादन र विस्तारको मुख्य उत्पादक शक्ति मजदुरवर्गलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, संचार र यातायात लगायतका आधारभूत आवश्यकताबाट बञ्चित गराएर पासविक शोषण गरि राखेको छ । विश्वभरीका मजदुरहरुको आधारभूत आवश्यकता परिपुर्तिको प्रश्न जल्दो बल्दो मानव अधिकारको प्रश्न बन्न पुगेको छ । मजदुरहरुको रोजगारी पूँजीपतिहरुको स्वइच्छाचारिताको शिकार भएको छ । विगत पाँच महिना देखि विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाईरसका कारण संसारभरि लाखाैँ लाख मजदुरहरुले रोजगारी गुमाईरहेका छन् । यसर्थ विश्वभरिका मजदुरहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।’

यस्तै प्रकाण्डले बन्दाबन्दी पछि नेपालमा मजदुरहरुको अवस्था निकै दयनिय भएको भन्दै सरकार भने सत्ता संघर्ष र गुटबन्दीको खेलमा लिप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन–‘नेपालमा त मजदुरको अवस्था झन् दयनिय छ । दलाल पूँजीपति वर्ग र त्यसको संसदीय व्यवस्था चल्न थालेपछि त नेपालका मजुदरहरुको रोजगारी एकपछि अर्कोगरि धरापमा पर्दै गएको छ । कोरोना भाईरसको संक्रमणले देश बन्दावन्दीको अवस्थामा रहेकाले हजारौँ हजार मजदुरहरु बेरोजगार भएका छन् । तिनको दैनिक रोजीरोटीको सवाल असाध्यै जटिल भएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने असंगठित क्षेत्रका मजदुरहरुको त चुलो बल्न नै छाडेको छ । सरकारी पार्टी र सरकार भने सत्ता संघर्ष र गुटबन्दीको बौलठ्ठीपूर्ण खेलमा लिप्त छ । राहत वितरणमा सरकार राजनैतिक र पक्षपाति खेल खेलीराखेको छ । पाउनुपर्ने पिडित र मजदुरहरुले पाईरहेका छैनन् भने नपाउनुपर्ने मान्छेले गोदाम खडा गर्ने धृष्टता गरिरहेका छन् । सरकार भने राहत वितरणको गित गाइरहेको छ ।’

यस्तै विश्वभरीनै लाखौँ करोडौँ मजदुरहरु पुँजीवादी ब्यवस्थाले सिर्जना गरेको समस्याको चपेटामा परेको भन्दै नयाँ विश्वव्यवस्था बैज्ञानिक समाजवादी ब्यवस्था नै विश्वभरीका मजदुरहरुका समस्याको समाधानको उत्तम ब्यवस्था भएको उल्लेख गरेका छन । शुभकामना सन्देशमा भनिएको छ–‘विश्वभरी र नेपालका मजदुरहरुका समस्या आफ्नो सारतत्वमा राजनैतिक अधिकार र आर्थिक व्यवस्थापनसंग सम्वन्धित छन् । मजदुरवर्गको समस्या राज्य व्यवस्थाले हल गर्नुपर्ने समस्या हो । विश्वभरिका मजदुरहरुको अवस्थालाई हेर्दा पूँजीवादी विश्व व्यवस्थाले सृजना गरेको समस्याको चपेटामा मजदुरहरु पारिराखेको कुरा निर्विवाद छ । मजदुरहरुको समस्या समाधान र अधिकार स्थापनाको सवाल अव पूँजीवादी व्यवस्थाबाट संभव छैन भन्ने कुरा अकाट्य भएको छ । मजदुरवर्गको अधिकार र समस्या समाधानको निम्ति मजदुरवर्गकै राज्य व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको छ । यसर्थ १३१ औँ विश्व मजदुर दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुरहरुलाई आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति समाजवादी क्रान्तिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :