असहाय, वृद्धवृद्धा, एकल महिला र मजदुर परिवारलाई युवा सङ्गठनद्वारा राहत वितरण

‘कुनै पनि जनतालाई भोक र रोगले मर्न दिँदैनौँ’

काठमाडौँ : दाङ तुलसीपुर बसपार्क तल्लो दलित बस्तीमा असहाय, वृद्धवृद्धा, एकल महिला र अत्यन्त निम्न स्तरका गिट्टी मजदुर परिवारलाई नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजना र युवा सङ्गठन नेपाल राप्ती ब्युरोको समन्वयमा राहत बिहीबार वितरण गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण भइरहेको लामो समयको लकडाउनले दैनिक मजदुरी गर्न नपाएर समस्यामा रहेका ती बस्तीमा प्रतिघर एक हजार र तुलसीपुरकै मैनाबगरमा गिट्टी मजदुर घरपरिवारलाई प्रतिपरिवार २५ किलोग्राम चामल वितरण गरिएको बताइएको छ । १५ घरपरिवारलाई नगद र १५ घरपरिवारलाई चामल गरी ३० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

युवा सङ्गठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले राहत हस्तान्तरण कार्यक्रममा कोरोना भाइरस (कोभिड १९) महामारीबाट सचेत हुन यसमा अपनाउनुपर्ने सावधानीका विषयमा मन्तव्य राखेका थिए । उनले दलाल पुँजीवादीहरू सत्तामोहमा आपसमा होडबाजीमा लागेको, जनताको दैनिक जनजीवन अझ कष्टकर बन्दै गएको, यसको हल गर्न रत्तिभर चेष्टा नभएको भन्दै यसको एक मात्र समाधान पुँजीवादी व्यवस्थाबाट नभई समाजवादी व्यवस्थाबाट मात्र हुने धारणा राखे ।

राहत वितरण कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्रले महामारी र सङ्कटको बेला राज्यले बेवास्ता गरेको समयमा कुनै पनि जनता भोक र रोेगले मर्न दिने स्थिति आफूहरूले आउन नदिने भन्दै त्यस्तो समस्या आएमा नेपाल कम्युनिस्ट पार्टीलाई सम्झिन पनि अपिल गरे । राहत वितरण कार्यक्रमको सहजीकरण युवा सङ्गठन दाङका जिल्ला अध्यक्ष विराटले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका तुलसीपुर नगर सेक्रेटरी अमरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :