लकडाउनकै बीच नेकपाका पूर्वकेन्द्रीय सदस्य हिमाल गिरफ्तार

‘चौतर्फी प्रतिरोध गर्दै फासिवादी सत्ताको अन्त्यका लागि सङ्घर्ष गरौँ’

काठमाडौँ : सरकारले कोरोना सङ्क्रमणविरुद्ध लकडाउन घोषणा गरेर नेकपाका नेता, कार्यकर्ता र पूर्वकेन्द्रीय सदस्यलाईसमेत छानीछानी गिरफ्तार गर्न थालेपछि नेकपा आक्रोशित बनेको छ । नेपाल कम्युनिस्ट पार्टी भरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले आफ्नो घरमा बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य बालराम सुनार ‘हिमाल’ लाई बिहीबार गिरफ्तार गरेको भन्दै सरकारी कदमको चौतर्फी प्रतिरोध गर्दै फासिवादी सत्ताको अन्त्यका लागि सङ्घर्ष गर्नसमेत आह्वान गरेको छ । ब्युरो इन्चार्ज रविले विज्ञप्तिमार्फत उक्त आह्वान गरेका हुन् ।

विज्ञप्तिमा रविले भनेका छन्, ‘विश्वयुद्धकै शैलीमा विश्वव्यापी रूपमा कोभिड १९ को भीषण महामारी फैलिरहेको छ । लाखौँको मानवीय क्षति र करोडौँको सङ्ख्यामा प्रभावित भइराखेको जगजाहेरै छ । यतिबेला विश्व–समुदाय लकडाउनसँगै कोभिड १९ प्रतिवादको रणनीतिमा छ ।’

उनले अगाडि भनेका छन्, ‘विश्व–समुदायले विपत्ति झेलिरहेको अवस्थामा केपी वली नेतृत्वको सामाजिक फासिवादी सत्ताले हदैसम्मको निरङ्कुशतावादी रबैया अख्तियार गरिरहेको छ । यस्तो महाविपत्ति र सङ्कटको घडीमा लकडाउनको सामना गर्दै आफ्नो घरमा बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य बालराम सुनार ‘हिमाल’ लाई आज बिहान सुर्खेत वीरेन्द्रनगरबाट बिनाकारण फासिवादी दानवीय शैलीमा गिरफ्तार गरेकोमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी भेरी–कणाली ब्युरो घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

इन्चार्ज रविको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, कमिसन र राष्ट्रघातमा चुर्लुम्म डुबेको, पद र पैसाका लागि चरम सङ्कटसहित आन्तरिक द्वन्द्वको भुमरीमा फसेको वली नेतृत्वको फासिवादी सत्ताले देशभक्त, जनवादी, परिवर्तनप्रेमी शक्तिहरूलाई हदैसम्मको तानाशाही दमनशैली अख्तियार गरिरहेको छ । मौलिक हक–अधिकारमाथि पूर्ण बन्देज लगाइएको छ । यसको चौतर्फी प्रतिरोध गर्दै फासिवादी सत्ताको अन्त्यका लागि सङ्घर्ष गर्न आह्वान गरिन्छ । निरङ्कुश फासिवादी सत्ताले के पनि हेक्का राखे हुन्छ भने हालसम्म कुनै पनि शक्तिशाली सेना–प्रहरी–शस्त्रास्त्रको बलमा विश्वका तानाशाहहरू टिकेका छैनन् । जनताको तागत, परिवर्तनकारी विचारका अगाडि खरानी भएका छन् । अतः कमरेड हिमालको यथाशीघ्र रिहाइको माग गरिन्छ । न्याय र परिवर्तनको आवाज बन्दुकको बलमा रोक्ने कुचेष्टा गरिए त्यसको परिणाम गम्भीर हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :