भ्रष्टाचारी नेता र चोर कर्मचारीलाई तत्काल कारबाही गर्न नेकपाको कडा चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले चितवन कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोर्ने चोर कर्मचारीलाई तत्काल कारबाही गर्न, राहत वितरणमा पक्षपात नगर्न, जनताको स्वास्थ्यमा खेलवाड नगरी र्यापिड र पीसीआर टेस्टमा जिम्मेवार बन्न, कमिसनखोरी, भ्रष्टाचारी र कालोबजारिया गर्नेलाई कारबाही गर्न सरकारलाई आह्वान गर्दै अन्यथा पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीको नारायणी ब्युरोका इन्चार्ज शितलले बिहीबार विज्ञप्ति जारी चार र भ्रष्टहरूलाई सरकारले कारबाही नगरेमा पार्टीले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

ब्युरो इन्चार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ज शितलको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गत डिसेम्बरमा चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस (कोभिड १९) ले गर्दा आज विश्वका अर्बौं जनसमुदायले त्रासदीपूर्ण जीवन जिउनुपरेको छ । कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वमा लगभग ३२ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । यो क्रम पढ्दो गतिमा छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान विश्वमा शासन सत्ता सञ्चालन गरिरहेका शासकहरूको चरम लापरबाही, मुनाफावादी सोचाइ, पद र सत्ताको दुरुपयोगका कारण २ लाख २८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको खबर सार्वजनिक भएका छन् । लाखौँलाख जनता अस्पतालको शैयामा सङ्क्रमित भई छट्पटाइरहेका छन् । दोस्रो विश्वयुद्धपछिको हाल कोभिड १९ भाइरसका कारण विश्वको अर्थतन्त्र, मानिसको सामाजिक जीवनपद्धति र सामाजिक सम्बन्धमा ठूलो हेरफेर हुने निश्चित छ । आज संसारका अर्बौं जनता लकडाउनमा छन् । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीबाट नेपाल अछुतो हुने कुरा भएन । चिकित्सकका अनुसार नेपालमा कोरोना भाइरसबाट ५७ जना सङ्क्रमित भएको तथ्य सार्वजनिक भएको छ । यो महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र निर्मूल गर्ने विषयमा दलाल समाजिक फासिवादी सरकार चरम लापरबाह र गैरजिम्मेवार देखिएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सबै नेपाली एक भई कोरोना नियन्त्रण र निर्मूल गर्न लाग्ने समय हो तर सत्ताको नेतृत्व गर्ने पार्टी र दलाल सामाजिक फासिवादी सरकार पद, पैसा र कुर्सीका लागि छिनाझपटी गरिरहेका छन् । दलाल पुँजीवादी सत्ता र सरकारमा बसेकाहरू अकुत सम्पत्ति कमाउन, भ्रष्टाचार गर्न हानथाप गरिरहेका छन् । चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको तथ्य सबैका अगाडि छर्लङ्गै छ । विपन्न समुदाय जो श्रममा बाँचेका छन् उनीहरूको घरमा आज चुलो बल्ने अवस्था छैन । सामाजिक दलाल फासिवादी सरकारका तीनवटै निकाय राहत वितरणमा आस्थाका आधारमा पक्षपात गरिरहेका छन् । सरकारको संरक्षणमा स्वास्थ्य सामग्री, खाद्यान्य र दैनिक उपभोग्य वस्तुमा कालोबजारी र कमिसन खाने गरेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । कोरोना अस्पताल बनाउने नाममा सरकारका प्रतिनिधिहरूले ठूलो रकम भ्रष्टाचार गरेका छन् । केही दिनअघि चितवन कोरोना अस्पतालबाट सरकारी कर्मचारीले स्वास्थ्य सामग्री चोरी गरेका छन् । स्वास्थ्य सामग्री चोर्ने चोरलाई कारबाही गर्नुको सट्टा सरकारको नेतृत्व गरेको पार्टी चोरको बचाउमा लागेका छन् । सिमानामा हजारौँ जनता अलपत्र अवस्थामा घर आउन नपाई तड्पिएर बसेका छन् ।’

ब्युरो इन्चार्ज शितलले विज्ञप्तिमा भनेका छन्, ‘दलाल फासिवादी सरकारलाई जनताले पाएको दुःख, कष्ट र पीडाप्रति कुनै जिम्मेवारीबोध छैन । जनताको दुःख र पीडालाई हल गर्नुको सट्टा पैसा, पद र कुर्सीका लागि विभिन्न अध्यादेश ल्याउने, फिर्ता गर्ने, आफ्ना हुक्के–चम्चेलाई सरकारी सेवाका पदमा नियुक्त गर्ने, आन्तरिक किचलोको नाटक गरी कोरोना भाइरसको नियन्त्रण र निर्मूल गर्नबाट पछि हटेको देखिन्छ । व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै आपराधिक काम गर्न सरकार तत्पर रहेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डविपरीत स्वास्थ्य सामग्री लगातार र्यापिड र पीसीआर टेस्टमा चरम लापरबाही गरेको देखिन्छ । हाम्रो पार्टी चितवन कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोर्ने चोर कर्मचारीलाई कारबाही गर्न, राहत वितरणमा पक्षपात नगर्न, जनताको स्वास्थ्यमा खेलवाड नगरी र्यापिड र पीसीआर टेस्टमा जिम्मेवार बन्न, कमिसनखोरी, भ्रष्टाचारी र कालोबजारिया गर्नेलाई कारबाही गर्नुपर्छ । कारबाही नगरेको खण्डमा हाम्रो पार्टी चोर, कमिसनखोर, कालाबजारिया र भ्रष्टाचारीलाई कारबाही गर्न बाध्य हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :