भोकमरी र पानीको चपेटामा ब्रोसबाङबासी


काठमाडौँ : रोराड गापा २ (साबिक महादेवस्थान ३) धादिङको शतप्रतिशत चेपाङ जातिको बसोबास भएको ब्रोसबाङ गाउँका बासिन्दा हरेक वर्षझैँ यो वर्ष पनि खानेपानीको अभावमा काकाकूल झैँ आकास हेरेर बस्न बाध्य छन् । एक गाग्री पानीका लागि ४ घन्टा उकालीओराली धाउनुपर्ने पुस्तैनी बाध्यता झेल्दै आएका ब्रोसबाङबासीहरू आकासे पानी बलेसीमा थापेर प्रयोग गर्छन् । गाउँमा खेतीयोग्य जमिन पनि छैन र वर्षमा मुस्किलले ४ महिना खान पुग्छ । अरू समय उनीहरू खानीखोला, महादेवबेसी, गल्छी, त्रिशूली नदीकिनारमा गिटी कुटेर जीविका चलाउँछन् । धादिङ, चितवन र मकवानपुरको त्रिकोणात्मक बिन्दुमा रहेको ब्रोसबाङ भण्डारा–थाकलटार–मलेखु सडकखण्डको बीच भागमा रहेको छ । ब्रोसबाङ गाउँ ब्रोसबाङ शिखरको उत्तर जिल्लाका ब्रोसबाङ शिखरको वरपर चेपाङ समुदायको बसोबास रहेको छ । राजा महेन्द्रले चेपाङ समुदायलाई ‘प्रजा’ थर प्रदान गरेको बताइन्छ । कतिपयले आजभोलि प्रजा भनाउँछन् । चेपाङ भाषामा ‘ब्रोस’ को अर्थ ‘चुचुरो’ र ‘बाङ’ शब्दको अर्थ ‘ढुङ्गा’ हो । सबैभन्दा चुचुरो ढुङ्गा अर्थबोध हुनेगरी उक्त शिखरको नाम ‘ब्रोसबाङ’ भएको छ । सदाझैँ यो बस्ती स्थानान्तरण गर्ने कुरा गएको चुनावमा पनि उठ्यो र चुनाव सकिएपछि हराएको छ । तत्कालीन एमालेका स्थानीय नेता टङ्क थापाले पनि गएको निर्वाचनमा आफू विजयी भएमा उक्त बस्ती स्थानान्तरण गर्ने नारा दिएर वडा अध्यक्ष जिते । तर चुनावपछि एकपटक पनि ब्रोसबाङ नफर्केको गुनासो स्थानीय अमर प्रजा गर्छन् । स्वास्थ्य सुविधा, यातायात, शिक्षा कुनै पनि आधारभूत आवश्यकता उपलब्ध नभएको ब्रोसबाङमा कोरोना जीवाणुका कारण ज्यामी कामसमेत नपाउँदा भोकमरी लागेको छ । तर सरोकारवालाहरूको ध्यान पुगेको छैन । ‘जङ्गलका गिठा र भ्याकुर पनि सकिए, अब के खाएर ज्यान बचाउने होला ?’, बुद्धिराम प्रजा चिन्ता व्यक्त गर्दै भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :