कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी

नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) को उत्पत्ति कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा राजनीतिक र चिकित्सकीय कोणबाट बहस चलिरहेको छ । चीन र अमेरिकाका अधिकारीबीच चलेको पछिल्लो जुहारीको अन्तर्यलाई अर्थराजनीतिक दृष्टिले हेर्नेहरूको पनि कमी छैन । चीनको परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले कोरोना जिवाणु रोग अमेरिकी सेनाले सर्वप्रथम चीनमा ल्याएको आरोप लगाएका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ लाई ‘चिनियाँ कोरोना’ भनेका छन् र त्यही नाम स्थापित गराउन ‘लबिङ’ गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका एकजना अधिकारीले ट्रम्पको बयानले एसियाली नागरिक हिंसाको चपेटामा पर्नसक्ने चिन्ता व्यक्त गरे । अधिकारकर्मीहरूले ट्रम्पको त्यसप्रकारको भनाइलाई ‘घृणाको राजनीति’ भनेका छन् भने कानुनविद्हरूले ‘घृणा अपराध’ भनेका छन् । अरूको लागि हिंसा र घृणा राजनीति (कसैका विरुद्ध घृणा फैलाएर जनमत आफ्नो पक्षमा पार्न खोज्ने) बर्जित गर्ने पुँजीवादी प्रजातन्त्र ठेकेदारहरू नै घृणा र हिंसाको सहारामा अस्तित्व धान्न खोजिरहेका छन् । कोभिड १९ महामारीका सन्दर्भमा पनि त्यही नै सत्य भएको छ ।

अमेरिकी धनाढ्यहरूले चीनसहित एसियाली जनताका विरुद्ध घृणाको राजनीतिमार्फत ध्रुवीकरण गराउन चाहेको देखिन्छ । चीनको बुहानमा सर्वप्रथम देखिएको भनिएको कोभिड १९ चीनमा नियन्त्रणमा आएको छ । जापान, दक्षिणकोरियाका अनुभव पनि सकारात्मक देखिन्छन् । युरोप र अमेरिका सबैभन्दा बढी प्रभावित छन् । उनीहरूको वैभवप्रति नै गम्भीर प्रश्न उठेको छ ।

कोभिड १९ का विषयमा अनुमान, तर्क र अनुसन्धानहरू जारी छन् । अन्तिम निष्कर्ष कहिले आउला, भन्न छिटो हुनेछ अहिले । चिकित्सा विज्ञानका अनुसार शरीरमा बाहिरी जीवाणु (शत्रु जीवाणु) प्रवेश गर्नु र त्यसलाई रैथाने जीवाणु (मित्र जीवाणु) ले प्रतिरोध गर्न नसक्नाले लाग्ने रोग हो । प्राचीनकालदेखि नै मलेरिया, हैजा, झाडापखाला, रुघाखोकी, प्लेग, रुबेला, बिफरजस्ता महामारीहरूले मानवजातिलाई आक्रमण गर्दै आएका छन् । सन् १७२० मा प्लेग, सन् १८२० मा हैजा, सन् १९२० मा स्पेनिस फ्लु र २०२० मा कोभिड १९ को महामारी फैलिएको देखिन्छ । चिकित्सा विज्ञानमा धेरै प्रगति नभएको अवस्थामा परम्परागत चिकित्सा प्रणालीको सहारामा मानव अस्तित्व रक्षा भएको थियो । तर अहिले प्रविधिमा यत्रो विकास हुँदा पनि मानव जाति तत्कालका लागि निरीह भएको छ । मानवसभ्यताको मुखिया युरोप र अमेरिका नै सबैभन्दा बढी निरीह भएका छन् । यसले मानवसभ्यता, चिन्तन र प्रणालीमा नै नयाँ प्रश्नहरू उठेका छन् ।

शरीरको प्रतिरोध प्रणाली सबल भएको कारणले मानव अस्तित्व कायम रहिआएको छ । औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने (बुस्ट गर्ने) हो । जब शरीरको प्रतिरक्षा प्रणाली नै कमजोर हुन्छ तब चिकित्सा विज्ञान असफल हुन जान्छ । पुँजीवादले नाफा कुम्ल्याउन पर्यावरणमाथि बलात्कार गरेको छ । अजैविक बिउ, खाद्यान्न, विषादी, प्रदूषण, फलफूल, माछा, मासु, पक्षीको बिगबिगी छ । मान्छेको प्रतिरक्षा प्रणाली सक्रिय पार्ने गरी प्रकृतिले दिएका खाने कुरा विस्थापित गराएर पत्तुर खानेकुराले बजार कब्जा गरेको छ । हावा, पानी, बासस्थान, सूर्यको किरण, वर्षा, नदी, समुद्र, बन्दोबस्तीका सामान सबै प्रदूषित र मानव स्वास्थ्यको प्रतिकूल छन् । ‘जे नाफा, त्यही सत्य’ पुँजीवादको नारा हो र हरेक क्षेत्रमा नाफाखोरी छ । कृष्णविवर (ब्याल्क होल) मा भ्वाङ परेका कारण सूर्यको विकिरण पृथ्वीमा सोझै परेको छ । कार्बन उत्सर्जन घटाउनुपर्ने आवाजलाई गत पेरिस सम्मेलनमा संयुक्त राज्य अमेरिकाले ठाडै अस्वीकार ग¥यो । रैथाने बिउ नष्ट गरेर पत्तुर बिउ बेच्ने अभियान बहुराष्ट्रिय निगमले तीव्र पारेका छन् । आणविक बमको होडबाजीका कारण त्यसको विकिरणले जीवको अस्तित्व नै खतरामा पारेको छ । प्रतिरक्षा प्रणाली कमजोर भएका तथा अस्तित्वका लागि सङ्घर्षमा असफल भएका (यथार्थमा अप्राकृतिक रूपले असफल पारिएका) कैयौँ प्राणीहरू लोप भइसकेका वा लोपोन्मुख छन् । त्यसैकारण प्रसिद्ध वैज्ञानिक जोन हकिन्सले युवा वैज्ञानिकहरूलाई आगामी १ सय वर्षभित्र मानवजाति बस्नयोग्य अर्को ग्रह खोजी गर्न अपिल गरेका थिए ।

मान्छे आफैँ प्रकृतिको एक सदस्य हो । यसले आफ्ना अरू सदस्यसँग भ्रातृत्व कायम गरेर मात्रै आफ्नो रक्षा गर्न सक्छ । प्रकृतिसँगको भयानक शत्रुताले मान्छेमा प्रतिरक्षा प्रणाली कमजोर भएको छ र चिकित्साप्रणालीको यत्रोविधि उपलब्धि अगाडि मान्छे निरीह बनेको छ । प्रकृतिमाथि अत्याचार गर्ने, मान्छे र प्रकृतिलाई अलगथलग पार्ने पुँजीवादी विश्वव्यवस्था नै कोभिड १९ महामारीको अभियुक्त हो । त्यसकारण प्रकृति र मान्छेबीचको द्वन्द्व हटाउनु, उदारवादको अन्त्य गर्नु र सामाजिक न्यायमा आधारित समाजवादी व्यवस्था स्थापना गरेर मात्रै कोभिड १९ जस्ता महामारीबाट मानव अस्तित्वको रक्षा सम्भव हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :