कोरोना कहर : कात्रोमा पनि भ्रष्टाचार

नोबल कोरोना भाइरस (कोभिड १९) हामी नेपालीको मात्र महामारी होइन, विश्व–समुदायको साझा प्रकोप हो । यसलाई परास्त गर्न हामी विश्वभरिका देश, जनता र तिनै जनताको सरकारले सामूहिक रूपमा लड्नुपर्ने छ । लड्ने मात्र होइन, लडाइँमा विजय हासिल गर्नैपर्ने छ । हामी विश्वास गरौँ निकट भविष्यमा वैज्ञानिकहरूले सफलता हात पार्नेछन् । त्यो सफलतामा हामी विश्वभरिका जनता सँगै हुनेछौँ ।

चीनको वुहानमा देखिएको कोरोना प्रकोप आज युरोप हुँदै अमेरिका र अस्ट्रेलिया हुँदै एसियाली महादेशमा मडारिएर मानवजातिको विनाश गर्दैछ । यसले विश्व–समुदायलाई हायलकायल त पार्यो नै, शक्ति सम्पन्नताका आधारमा विश्वसाम्राज्य खडा गरेका महाशक्ति राष्ट्र र शासक वर्गलाई पनि हायलकायल बनाएको छ । यो बेला कोभिड १९ को प्रकोपबाट आतङ्कित नभएको विश्वको कुनै देश छैन । कुनै नागरिक छैन त्रसित नभएको । यो अवस्थामा संसारभरका नागरिकहरूमा सतही रूपमा भए पनि ‘अस्थायी एकता’ देखिएको छ । विश्वभर मेडिकल क्षेत्रका डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, सुरक्षा निकाय, विश्व स्वास्थ्य सङ्गठनलगायत सामाजिक सङ्घसंस्था र तमाम नागरिक एकत्रित भएर यो प्रकोपसँग लडिरहेका छन् ।

विश्वमा पछिल्लो अवस्था हेर्दा अमेरिका र युरोपेली मुलुकहरूको अवस्था दयनीय भएको छ । अमेरिका, इटाली, स्पेन र फ्रान्सको अवस्था सबैभन्दा दर्दनाक र भयावह छ । अन्य मुलुकहरूको यसै भन्न सकिने अवस्था छैन । अहिले सङ्क्रमित र मृत्युदर कम भए पनि आउँदा दिनहरू अझ कष्टकर बन्न पनि सक्ने सम्भावनालाई नकार्न सकिँदैन । उता अमेरिका सङ्क्रमितहरूको विश्वकै एक नम्बरमा छ । मृत्युदर दिनमा एक गुणा रातमा दुई गुणाका हिसाबले बड्दैछ । अमेरिकी राष्ट्रप्रमुख ट्रम्प देशको स्थिति हाम्रो नियन्त्रणभित्र छ र यो विपत्तिसँग लड्न हामी आफैँ सक्षम छौँ भन्दैछन् । अनुसन्धानकर्ता, विज्ञहरू, विस्व स्वास्थ्य सङ्गठनलगायतको आकलन र सञ्चारमाध्यमहरूमा आएको खबर हेर्दा र सुन्दा अमेरिकाले ठूलो विपत्तिको सामना गर्नुपर्ने देखिन्छ । यद्यपि अमेरिकी र युरोपेली मुलुकहरूले चीन सरकारले जुन विधिबाट कोभिड १९ नियन्त्रणको अभ्यास गर्यो, त्यसलाई मानवअधिकारविरोधी र तानाशाहको बिल्ला भिराइदिएर विश्वव्यापी महमारीलाई राजनीतिक र कूटनीतिक दाउपेचको मामिला बनाइदिने कोसिस गरे ।

यता एसियाली मुलुक जहाँबाट कोरोना भाइरसको जन्म भयो भनिएको छ, चीनमा यो प्रकोपबाट तीन हजारभन्दा बढीले ज्यान गुमाए भने पचासौँ हजार मानिस सङ्क्रमित भए । यद्यपि अहिलेसम्म आउँदा मृत्युदर शून्यमा झरेको छ भने सङ्क्रमितहरू ठीक भएर घर फर्किएका छन् । विदेशबाट चीन भित्रिएका सङ्क्रमितबाहेक चीनभित्रका नागरिक भने कोभिड १९ बाट मुक्त हुँदैछन् । चिनियाँ जनता र चीन सरकारले नागरिकको दैनिकी सामान्य अवस्थातर्फ उन्मुख भएको भनी खुसियाली मनाइरहेका छन् । यो विश्वव्यापी महामारी जसको अहिलेसम्म कुनै स्थायी निराकरणको औषधि छैन र जसले गर्दा महामारीबाट मुक्त देशका नागरिकहरूमा फेरि पनि सङ्क्रमण नहोला भन्न सकिन्न । सावधानीपूर्वक आफ्नो दैनिकीतर्फ फर्किनु र हिजो महामारीका बेला जति सोचविचार र सुरक्षा सतर्कता अपनाइएको थियो त्योभन्दा माथि उठेर सोच्नुपर्ने छ, त्योभन्दा अझ बढी सतर्कता अपनाउनुपर्ने छ । यो नै सफलता हासिल गरेका देशहरूका लागि उचित हुनेछ ।

दुनियाँमा कोभिड १९ को संत्रास छँदैछ तर दक्षिणएसियाली मुलुक भारत जहाँ अर्बौं मानिसहरू लकडाउनमा छन् र सङ्क्रमितहरूको सङ्ख्या बढ्दैछ । मृत्युदर पनि बढिरहेको छ तर पनि सरकारी नियमको अवज्ञा गरी दसौँ हजार मानिस सडकमा देख्न सकिन्छ । यसको अर्थ ‘रोग त्यति ठूलो होइन, भोक जति ठूलो छ ।’ भारत सरकारले रोगको त्रास देखाएर भोकलाई कैद गर्न खोज्यो भने शासक वर्गलाई नै प्रत्युत्पादक हुनसक्छ । यसको उदारहण एक गर्भवती महिला जसले नौ सय किलोमिटर दूरी पैदल यात्रा तय गरिन् तर सबैले यो कष्टसाध्य दुःख उठाउने छैनन्, बरु विद्रोह रोज्नेछन् जसको नारा ‘खाएर मर्न देऊ’ भन्ने हुन सक्छ । विश्व महाशक्तिका रूपमा आफूलाई उभ्याउन अगाडि लम्किरहेको भारत र भारतीय सत्ताको नेतृत्व गरिरहेको मोदी सरकार आफैँमा जनतामा प्रिय थिएन र छैन । आन्तरिक रूपमा धार्मिक अतिवादबाट ग्रस्त छ । कथित पपुलर राष्ट्रवाद, दलाल पुँजीवादमा पतन हुँदै थियो भने बाह्य कोणबाट हेर्दा निगम पुँजीवाद हुँदै विस्तारवादी नीति लिएको भारत आज यहाँसम्म आइपुग्दा साम्राज्यवादी देशका रूपमा स्थपित भैसकेको छ । तर यस्ता मुलुकको लागि यो कोभिड १९ आज यस्तो भएर उभिएको छ जसरी ससाना मुलुकहरूलाई बाध्यतामा पारेर सम्झौता गराएजस्तो सजिलो पनि भएन, रातारात सीमास्तम्भहरू सारेर देशको भूगोल विस्तार गरेजस्तो सजिलो पनि भएन । लडाकु विमान, अत्याधुनिक हतियार प्रदर्शन गरेर छिमेकी गरिब राष्ट्रहरूलाई तर्साएजस्तो सजिलो पनि भएन । अझ भन्ने हो भने गरिब देशका शासक किनेर जनतालाई दास बनाएजस्तो पनि भएन ।

अब के गर्ने ? आज भारत, युरोप र अमेरिकाको साझा प्रश्न खडा भएको छ । पहिला त यिनीहरू यो भाइरसलाई राजनीतीकरण गरेर लाभ लिनपट्टि लागे । जतिबेला चिनियाँहरू जीवनमरणको लडाइँमा थिए, ऊ बेला साम्राज्यवादीहरूले चिनियाँ भाइरस भन्न पनि भ्याए । कतै वुहान भाइरस पनि भने । अझ चिनियाँ सेनाले जैविक हतियार परीक्षण गर्दाको असर पनि भने । यो बेलासम्ममा उनीहरूलाई यो कोभिड १९ ले सखाप पारिसकेको थियो । वास्तवमा यो प्रकोप जैविक हो वा प्राकृतिक, इतिहासमा तथ्यसहित प्रमाणित होला ।

तथापि विगतमा अमेरिकी सरकारको नेतृत्व र युरोपेली मुलुकको सहयोगमा इराक, लिबिया, अफगानिस्तानलगायत मुलुकमा बम बर्साइयो, अहिलेसम्म सिरिया दोहोरो युद्धको मैदान भएको छ । पछिल्ला यी लडाइँमा दसौँ लाख मानिसको ज्यान गएको छ । यसको कारण अमेरिकी साम्राज्यवाद र उसका सहयोगी राष्ट्रहरूको नीति नै हो । लाखौँ मानिसको विनाश गरेर खडा भएको साम्राज्य आज एउटा प्रकोपमा किन निरीह र रक्षात्मक बन्यो ? गहिरिएर सोच्नुपर्ने बेला भएको छ । दुनियाँलाई खरानी बनाउने तागत भएका अमेरिकी बम र बारुदको अगाडि कोराना झुकेन, सबैभन्दा बढी सङ्क्रमित त्यहीँ छन् । मृत्युदर बढ्दैछ । शक्तिशाली देशहरू अमेरिका, भारत र युरोपका बम र बारुदले होइन, जनताको धैर्य र वैज्ञानिकहरूको सफलताले मात्र यो महामारीबाट मुक्त हुन सक्ला, हामी आशा गरौँ ।

नेपालको सन्दर्भ भने फरक छ । नेपाली जनता कोरोना भाइरसबाट प्रताडित छन् । नेपाली नपुगेको संसारको कुनै देश सायदै होला । तसर्थ नेपालमा कोभिड १९ भित्रिने सम्भावना छँदै थियो । छिमेकी मुलुक चीनमा पहिले देखिएको महामारी नेपाल भित्रिने मुख्य तीनवटा कारणले निश्चितप्रायः थियो । हाम्रो देशबाट हजारौँ विद्यार्थी अध्ययनका लागि चीनमा छन् । हाम्रो व्यापारको मुख्य बजार चीन नै हो । हाम्रो देशको पर्यटनको मुख्य स्रोत पनि चीन नै हो । यो अवस्थामा नेपाल–चीनबीच मानिसहरूको आवागमन अत्यधिक हुने हुनाले, बिनासावधानी गरिने यात्रामा रोगको सङ्क्रमण अनिवार्यजस्तै थियो । अन्ततः विश्वव्यापी महामारी नेपाली नागरिकमा पनि सङ्क्रमित भएको देखियो । अहिले हामी नेपाली विश्वजगत्मा नै मानवजातिको विनाश गर्दै महामारीको रूप लिएको भाइरस र यसले निम्त्याएको कठिन परिस्थितिसँग जुधिरहेका छौँ । पर्याप्त समय छँदाछँदै पनि सरकार त्यसको तयारीमा लागेन । आफ्नै धन्दामा व्यस्त भयो । वास्तवमा नेपालको सत्ता दलाल पुँजीवादको एउटा असली झुन्ड हो । यसले बन्दुकको बलमा भ्रष्टाचार, कमिसन, कालोबजारीमार्फत जनतमा लुटपाट मच्चाउनुलाई आफ्नो असली कर्म ठान्छ । यो विपत्तिलाई नेपालका मन्त्रीदेखि सत्तासीन पार्टीहरूले कालो धन जम्मा गर्ने एउटा सुनौलो अवसरका रूपमा लिएका छन् ।

सरकारले लकडाउन घोषणा गरेको छ । जनता भोकभोकै सडककिनारदेखि सुकुमबासीका छाप्रासम्म अनि महलका कुनादेखि दूरदराजका गाउँबस्तीसम्म छट्पटाइरहेका छन् । बिनातयारी गरिएको लकडाउनमा आफ्नो देश छिर्नु नागरिकका लागि दुस्मनको बारबन्देज तोडेर विजय हासिल गर्नुबराबर भएको छ । दुनियाँले देख्यो– एउटा नागरिक आफ्नै देशमा मर्ने अठोट गरी महाकाली नदीमा हामफाल्यो र नदी पार गरी नेपाल छिर्यो तर सरकारी मान्छेहरूले दुस्मनलाई जसरी पक्राउ गरी नाङ्गै बजार घुमाए र बहादुरी प्रदर्शन गरे मानौँ योभन्दा ठूलो अरू काम केही हुन सक्दैन । सिमानापारिबाट साता दिनअघिकी सुत्केरीसहित भोकभोकै नारा लगाउँदैछन्– हामीलाई हाम्रो देश टेक्न देऊ । यता निर्दयी शासकहरू गिद्दले फूल हेर्दैन भन्दै मजाकमा उडाइरहेका छन् । जनप्रतिनिधि भनिएकाहरूको आइसोलेसन वार्ड र अस्थायी अस्पताल बनाउने होड नै चल्यो तर अव्यवस्थित तरिकाले नेपाल भित्रिएका नागरिकहरू जताततै घुमफिर गरिरहेका छन् । यता कथित अस्थायी अस्पताल चैतमासको हुरीले उडाइसक्यो । जब तिनीहरूको कथित अस्पतालको योग्यता मापन भयो सामान्य रुघाखोकी लागेको मान्छे त्यही अस्पतालभित्र उपचार नपाएर अनाहकमा मर्नुपर्यो । विश्वमा ९० हजारको मृत्यु र १५ औँ लाख मानिस सङ्क्रमित भैसक्दा नेपालमा घरभित्र बन्दी बनाउनेबाहेक कुनै अरू उल्लेखनीय विधि छैन । यहाँ कतिसम्म लापरबाही छ भने एउटा नागरिकलाई सङ्क्रमित भनी अस्पतालमा भर्ना गरिन्छ । तीन दिनपछि जब उसको मृत्यु हुन्छ अनि भनिन्छ– मेडिकल चेकका लागि स्वाब पठाइएको छ, रिपोर्ट आउन बाँकी छ । लास बेवारिसे हुन्छ । परिवार भावविह्वल हुन्छन् । अनि सरकारी मान्छेहरू भन्छन्– सबै मृत्युलाई कोरोना भाइरससँग नजोडौँ ।

भरपर्दो मेडिकल सामग्री छैन । डाक्टर र स्वास्थ्यकर्मीहरूका लागि सङ्क्रमित हुनबाट बच्ने सामान्य सुरक्षा व्यवस्थासमेत हुनसकेको छैन । निजी अस्पतालहरू कोरोना भाइरसका बिमारीको उपचार गर्न सक्दैनौँ भनेर अस्पतालको ढोकामा चाबी लगाएर घरमा बसेका छन् । कतिले रुघाखोकीका बिरामीलाईसमेत भर्ना नलिएर नागरिकको जीवनमाथि खेलबाड गरिरहेका छन् । निजी अस्पतालका बारेमा सम्झिनुपर्ने कुरा के छ भने केही दिनअगाडिसम्म मन्त्रीहरूलाई कमिसन खुवाएर पचासौँ करोड भन्सार छूट गराई विदेशबाट औषधीउपकरण भित्र्याएका छन् । सरकारकै मान्छेको संलग्नतामा कालोबजारी भैरहेको छ । सरकार आफैँले ल्याएको मेडिकल सामग्रीमा बजारमूल्यभन्दा सात गुणा बढी महँगो परेको छ । खुलेआम जनतालाई चुनौती दिँदै सीधै भ्रष्टाचार गरिएको छ । सरकारका मन्त्रीहरूको तर्क छ, ‘सङ्कटको बेला पैसाको कुरा नगरौँ, सामानको आवश्यकता छ । सस्तोमा ल्याउनेले ल्याए भैगो नि ।’ सरकारी तर्क सुन्दा लाग्छ घाम र जून रहँदासम्म सरकारमा हामी नै रहने हो । हाम्रो कर्म भनेको जसरी पनि जनता लुट्नु हो, सात पुस्तालाई पुग्नेगरी अकुत सम्पत्ति थुपार्नु नै हो ।

यो यिस्थितिमा सरकार नागरिकहरूप्रति जिम्मेवार छैन । फरक मत राख्नेहरूप्रति कति पूर्वाग्रह छ भने हजारौँ मानिसहरू झूट्टा मुद्दामा जेल हालिएको छ । सरकार आफ्ना चाटुकारबाहेक कसैप्रति सहानुभूति राख्दैन । यस्तो सरकार छ, नागरिकहरूको हालत यो छ । यस्तो बेला संसारलाई हल्लाउने गरी महामारी आउँदा नागरिकहरूको अवस्था कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ । इमानदार शासक हुने हो भने बिपत्ति बाजा बजाएर आउँदैन । जति बेला जुनसुकै अवस्थामा पनि आउन सक्छ । बिपत्ति निम्तियो भने देश र जनताको जिम्मेवारी लिएर सत्ताको नेतृत्व गरेर बसेको सरकार जिम्मेवार बनेर जनताको सेवा गर्ने हो । अचानक देश र जनताप्रति भयावह परिस्थिति निम्तिँदा शासक वर्गले जनता र राष्ट्रका निम्ति सक्षमता प्रदर्शन गरी जनतालाई विश्वास दिलाएर आफ्नो योग्यता साबित गर्ने अवसर पनि हो ।

यो मामिला उनीहरूको कल्पनाभित्र पनि पर्दैन । त्यसैले यो लकडाउनको बेला नागरिकहरू आफैँ सचेत भएर, भोकभोकै भए पनि आफ्नो सुरक्षा आफैँ गरिरहेका छन्, सरकारको नियम पालना गरेर होइन ।

सारा संसारमा मानवजातिको विनाश हुने गरी द्रुतगतिमा फैलिएको प्रकोप कसरी नियन्त्रण होला ? मानवताको रक्षा कसरी गर्न सकिएला ? यो प्रकोपबाट जन्मिएका समस्याको हल विश्व–जगत्ले कसरी गर्न सक्ला, यी यक्ष प्रश्न हाम्रासामु छन् । त्योभन्दा पहिला जीवन रहे जगत् चलाउँला । भरपूर कोसिस गरौँ । सावधानी अपनाऔँ । देशको पहिलो र जिम्मेवार निकाय भनेको नगरिक नै हो । शासकहरू भ्रममा छन् । जनताको एकता र धैर्यले मात्र जस्तोसुकै विपत्तिको सामना गर्न सकिन्छ । यस्तैयस्तै बेथिति र बिपत्तिलाई पराजित गरेर एक दिन गरिखाने वर्गको सत्ता स्थापित हुने हो । अर्थात् वैज्ञानिक समजवादी व्यवस्था स्थापित हुन्छ । आज नेपालीहरूको अवस्था विश्वभरका नगरिकलाई थाहा होस् । हामीसँग भरपर्दो मास्क र थर्मामिटरसमेत छैन । सरकार त्यसैमा पनि कमिसनको बार्गेनिङ गर्छ । लासहरू छोप्ने कात्रोमा पनि भ्रष्टाचार भैरहेको छ । गरिब र असहायहरूका लागि त्योभन्दा माथिको कुरा एउटा आस्था मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :