कोरोना भाइरसको सङ्क्रमण र दलाल सत्ताको स्वेच्छाचारिता

विश्व समुदायले कोरोना भाइरसको भीषण सङ्क्रमण र आतङ्कको सामना गरिरहको छ । त्यसका विरुद्ध प्रतिरोधमा सहभागी कैयौँ देशका मोर्चाहरू निष्प्रभावी जस्तै बनेका छन् । कतिपय देशले प्रतिरोध मोर्चाहरूमा विजय हासिल गरिरहेका छन् । संसारका दुई सयभन्दा बढी राष्ट्रहरूमा कोरोना भाइरसले आफ्नो प्रभाव विश्वयुद्धकै शैलीमा तीव्र रूपमा विस्तार गरिरहेको छ । एक लाखको हाराहारीमा नागरिकले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिसहरू कोभिड १९ को लडाइँमा मृत्युसँग सङ्घर्ष गरिरहेका छन् । जसरी साम्राज्यवादी शक्ति केन्द्रहरू पुँजी, सैन्य शक्ति र आणविक अस्त्रको बलमा प्राकृतिक स्रोत–साधनमाथिको अतिक्रमण दोहनमा होड गर्दथे । त्यस्तै अविकसित, उत्पीडित मुलुक र विश्वका श्रमिक वर्गलाई लुट्नमा अस्वस्थ र घृणित प्रतिस्पर्धाको भाइरस फैलाइरहेका छन् । आजको कोरोना भाइरस त्यही प्रतिकूलताको प्रभाव र अतिक्रमणले मानव समाजमा उत्पन्न भएका महासङ्कट हो भन्न सकिन्छ । यो महासङ्कटको समाधानका लागि विश्वले औषधी खोजी गरिरहेको छ । यसमा ढिलो–चाँडो सफलता मिल्नेमा आशावादी हुनैपर्छ । जुन चीजको जन्म भयो मृत्यु पनि अवश्यम्भावी छ । विश्व समुदायले यसमा विजय हासिल गर्नु नै छ । त्यसपछि पनि यसको समग्र प्रभावसहित यसले विश्व–शक्ति सन्तुलनमा असन्तुलन भने पक्कै ल्याइदिनेछ । साम्राज्यवादी पुँजीवादको केन्द्र अमेरिकालाई यसले थला पारिरहेको छ । चीनले सफल ढङ्गले यसको निराकरण गर्दछ भन्नैपर्छ । यो निकै रोचक विषय हो । यसले पुँजीवादको सङ्कट र समाजवादको अपरिहार्यताको सङ्केत दिएको छ ।

हाम्रोजस्तो अविकसित, विपन्न मुलुक जहाँ सामाजिक दलाल फासिवादी राज्यव्यवस्था सञ्चालन भइरहेको छ । यो देशका दलाल भाइरसको आक्रमणमा राष्ट्रियता, जनतन्त्र, जनजीविका, मानवअधिकारलगायत क्षेत्र थिलथिलो भएका छन् । साथै आजको कोरोना भाइरसविरुद्ध सङ्घर्षको तयारी पनि प्रचारमा मात्र सीमित छ । नेपालमा नागरिक स्तरबाटै यी दुवैखाले भाइरसको सशक्त प्रतिवादको तयारी अगाडि बढाउनुपर्ने हुन्छ ।

पहिलोखालको दलाल फासिवादी कोरोना भाइरसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी, देशभक्त, परिवर्तनकामी नागरिक लामो समयदेखि युद्ध मोर्चामै छन् । फासिवादी दलाल सत्ताले यसलाई लकडाउनमै राखेको छ । देशभक्त र जनप्रेमी शक्ति एक प्रकारको कोरोनामा नै छ । पार्टीले ढिलोचाँडो एकीकृत जनक्रान्तिको मोचाबाट विजय हासिल गर्नेछ किनकि यो मोर्चा राष्ट्र, जनता, र न्यायको मोर्चामा छ । यसले वैज्ञानिक समाजवाद चाहन्छ । सिङ्गो जनसमुदायको सहभागिता, समर्थन र भरोसा यो मोर्चामा छ । मुख्य मोर्चा सफलतामा पु¥याइयो भने दोस्रो सहायक मोर्चा बेलाबखत खुल्छन् । त्यसको वैज्ञानिक तवरबाट समाधान गर्नुपर्छ ।

जब देशमा सङ्कट आउँछ दलाल शासन सत्ताको काम भनेको फेरि लुट्नु, कमिसन खानु र भ्रष्टाचार गर्नु हो । दलाल चरित्र भनेको ठूल्ठूला आदर्शको कुरा गर्नु तर व्यवहारमा सिन्को नभाँच्नु हो । यसको कुनै राष्ट्र, वर्ग, धर्म हुँदैन । आफ्नो पद र पैसाशिवाय केही हुँदैन । निरन्तर राष्ट्रघात र जनघात भइरहेकै छन् । विशेष सङ्कटको कुरा गर्दा ०७२ सालको विनाशकारी भूकम्पमा र हालकै कोभिड १९ का विरुद्धमा जुट्न औषधीउपकरण खरिदको कुरालाई मात्र हेरे पुग्छ । त्यसैले बेलैमा यसको समाधान ननिकाल्ने हो भने सङ्कटको भुमरीमा देश समाप्त हुने खतरा छ ।

सरकारी कदम र कोरोना भाइरस

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यले लकडाउनलाई मात्र अचुक हतियारका रूपमा लिएको पाइन्छ । प्रचारको विभिन्न ढङ्गले वर्षा भइरहेको भए पनि अझै आमजनतामा पुग्न सकेको छैन । ठोस तयारी केही देखिँदैन जसले नागरिकहरूमा ‘गाँस आतङ्क’ बढी देखिन्छ । लकडाउन भाइरसको प्रकोप नियन्त्रणका लागि उत्तम हतियार हुन सक्छ । यतिले मात्र के सबै समस्या समाधान हुन्छन् त ? आपत्कालीन अवस्थामा आपत्कालीन निर्णय लिनु पर्दछ । चीनको वुहान प्रान्तमा डिसेम्बरमा नै फैलिएको महामारीबाट विश्वव्यापी हुन सक्ने प्रकोप, अपनाउनुपर्ने तयारी र सावधानी खोइ ? यो त हदै दर्जाको उदासीनताबाहेक के हुनसक्छ ? ‘जब पर्यो राती तब बूढी ताती’ भनेझैँ जब प्रकोपले विश्वव्यापी रूप लियो लकडाउनको निर्णय आयो । यसले जनजीवनमा निकै ठूलो प्रभाव पारेको छ । यसलाई यसरी प्रस्तुत गर्न सकिन्छ :

१) कोरोना भाइरस नियन्त्रणका लागि भएको आवश्यक उपकरण र औषधि खरिदमा नै पूर्वसेटिङका आधारमा भएको करोडौँ कमिसनको खेलको जनस्तरबाट चर्को विरोध भएपछि रद्द गर्नु, पुनः ल्याउने कुरा आएको छ । यो अपराधमा संलग्न भाइरसलाई केही गर्नु पर्दैन ? राज्य नै तैँ चुप, मै चुपको अवस्थामा छ । यो त राष्ट्रकै बेइज्जत भएन र ! हुनत इज्जत नभएकाहरूलाई केको बेइज्जत हुन्छ ? कोरोनाविरुद्धको मोर्चामा सहभागी बनाउने सिपाही स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवकहरू हतियारविहीन छन । आधारभूत औषधी र उपकरण छैन । जोसँग एक थान मास्क छैन । अग्रमोर्चामा खटिनेहरूकै त्यो हालत छ । कसरी सङ्क्रमणको पहिचान र उपचार गर्दछ ? यो केवल दुस्साहस मात्र हुनेछ । कोरोनाको नियन्त्रण होइन, कोरोना भाइरसले भष्म पार्ने खतरा हुन्छ । यो अवस्थाबाट के बुझ्न सकिन्छ भने राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने तहको दरिद्रता मात्र छ । ढलै भए पनि लिएका कतिपय पहलकदमीलाई भने सकारात्मक रूपमा लिनु पर्दछ । जनस्तरबाटै सबै क्षेत्रमा सावधानी अपनाउने, कोरोनाको प्रकोप नियन्त्रणका लागि हातेमालो गर्दै मोर्चा कस्नु पर्दछ ।

२) लकडाउनले हजाराैँ नागरिक अलपत्र परेका छन् । चीनमा रहेका नागरिकलाई हवाईजहाज चार्टर गरेर ल्याउने तर भारतको सिमानामा रहेका कुल्ली, भरियालाई भातै खान नपाएर भोकभोकै मर्ने अवस्था निर्माण गर्नु ठूलो अपराध हुनेछ । उपयुक्त विधि अवलम्बन गरी उचित व्यवस्थापन गर्नु पर्दछ । विपद्को बेला आफ्नै देशमा प्रवेश गर्न नपाइने, भोकभोकै बस्नुपर्ने अवस्थाले नदीमा हामफाल्नुपर्ने, झुन्डिएर मर्नुपर्ने अवस्था आउन दिनु हुँदैन । यसमा प्रस्ट वर्गीयता झल्किन्छ । सङ्कटको बेला अभिभावकत्व प्रदान गर्न राज्यव्यवस्था यसकारण पनि जरुरी छ । यति मात्र होइन, देशभित्रको अध्यागमन निकै कष्टसाध्य छ । कोरोनाको व्यापार गर्दै कोही पनि हिँडेको छैन होला नि ! हो भने पहिचान र उचित ढङ्गले नियन्त्रण गर्नुपर्छ । विशेष कामका लागि सहज वातावरण बनाउनु पर्दछ । आजको नागरिक १६ औँ शताब्दीका जस्ता छैनन् भन्ने कुरा बुझ्नु पर्दछ ।

३) कोरोना भाइरसको प्रकोपको त्रासमा निजी अस्पताल बन्द हुनु, विभिन्न प्रकारका दीर्घरोगी, दुर्घटनामा परेका घाइतेले उपचार नपाउनु, सुत्केरी अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्था उत्पन्न हुनु अझै गम्भीर विषय हो । स्वास्थ्य क्षेत्रका विशालबजार जो जनतालाई लुट्न मात्र जानेका छन् विपद्को बेला साथ दिएका छैनन् भन्ने जनगुनासो निकै बढिरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगार, गाँस र बास राज्यको दायित्व हो । नागरिकहरूको हक हो । त्यो त जनताको राज्यव्यवस्थामा हुन्छ, दलालहरूको राज्यव्यवस्थामा होइन । निजी क्षेत्रमा क्रियाशील स्वास्थ्य क्षेत्रलाई नियमन, नियन्त्रण, राष्ट्रियकरणको आवाज उठिरहेको छ । तर राज्यलाई कमिसन भए पुग्छ । यिनकै लगानीमा ती स्वास्थ्य क्षेत्रका विशालबजार छन् । सङ्कटका बेला जनतालाई साथ नदिने स्वास्थ्य क्षेत्रका माफियाहरूलाई जनस्तरबाटै सशक्त कारबाही गर्नुपर्ने माग आइरहेको छ । निश्चित कलस्टरमा हेल्थ डेस्कको स्थापना, जो औषधी उपकरण, दक्ष जनशक्तिसहितको यथाशीघ्र व्यवस्थापन गर्नु पर्दछ नत्र भने स्थितिले अझै भयावह रूप लिन सक्दछ ।

४) राज्यले सुखी नेपाली समृद्ध नेपाल र आर्थिक क्रान्तिको नारा दिइरहेको छ । आजको लकडाउनको अवस्थामा जनता रोगले भन्दा पहिले भोकमरीले मर्ने अवस्था आउँदैछ । दैनिक ज्यालादारी गर्ने मजदुर, सुकुमबासी, भूकम्पपीडित र गरिब किसानहरूको बेलैमा उपयुक्त व्यवस्थापन गर्र्नुपर्छ । थोरै पैसा हुनेले पनि किन्नसक्ने अवस्था छैन । राज्यले केही सुविधा सम्पन्न ठाउँबाहेक अन्य क्षेत्रमा केही व्यवस्थापन गर्न सकिरहेको छैन । नुन, तेल, खाद्यान्न, तरकारी, ग्याँस, औषधीलगायतको हाहाकार हुँदैछ । उपयुक्त ढङ्गले सप्लाई र वितरणको प्रबन्ध मिलाउन जरुरी छ । यतिबेलै कालोबजारी, तस्करी खुलेआम मौलाउँदैछ । पहुँचवालाको सेटिङमा कमिसनको खेल चल्दैछ । यस्तो अवस्थामा नागरिकहरूकै पहलमा गोदाम फोड अभियान चलाउनुपर्ने हुनसक्छ । कालोबजारीलाई नियन्त्रणको प्रभावकारी कदम उठाउन जरुरी छ । कारबाही गर्नुपर्छ ।

५) आज नागरिकहरूमा निकै ठूलो तनाव र चिन्ता उत्पन्न भएको छ । भोकले मरिने हो कि रोगले भन्ने त्रास छ । आवश्यकताभन्दा बढी अनावश्यक, गलत र भ्रमपूर्ण प्रचारलाई पनि प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्छ । सहयोगी हातहरू मिलेर काम गर्नुपर्छ । उच्च मनोबल, साहस र विवेकले सबै प्रकारको चुनौती सामना गर्न हिक्मत गर्नुपर्छ ।

अन्त्यमा विश्वभरि, विशेषतः हाम्रो देशमा दुईखाले भाइरसको प्रकोपले चर्को रूप लिइरहेको छ । राज्यप्रणाली र शासन शक्तिमा देखिएको राजनीतिक शक्तिभित्रको भाइरसलाई एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गरी समाधान गर्नुपर्छ । राजनीतिक भाइरस यो सबैभन्दा बढी विनासकारी भाइरस हो । यो दीर्घकालीन खालको छ । दोस्रो भाइरस सापेक्षिक छ जो अग्रमोर्चामा लडिरहेका देशको अनुभव, स्वास्थ्य विज्ञानको सहारा लिँदै आआफ्नो क्षेत्रमा सतर्कतापूर्वक तयारी र साहसका साथ लड्नुपर्ने हाम्रो बाध्यकारी अवस्था छ । जनता, राष्ट्र र न्यायका पक्षमा लडिरहेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि दलाल सत्ताले लामो समयदेखि प्रतिबन्ध लगाएपछि क्रान्तिकारी, परिवर्तनप्रेमी, देशभक्त शक्तिलाई लकडाउनमा बस्न बाध्य बनाएको छ । सयाैँ योद्धा दुस्मनको कालकोठरीको क्वारेन्टाइनमा छन् । हजारौँ योद्धाहरूले जनताको घरमा दलाल सत्ताको लकडाउन र कोरोना भाइरसको क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता छ । यो स्थितिमा पनि पार्टीले जनचेतना, जनश्रम र जनसेवासँग सम्बन्धित तमाम कामहरू गरिरहेको छ । अबको मोर्चा कोरोना भाइरसको अन्त्य मात्र होइन, समाजिक फासिवादी दलाल सत्ताले लगाएको लकडाउन, दलाल सत्ताको अन्त्य र विजयको मोर्चामा बदल्नुपर्छ । आजको सङ्कटलाई समग्र राष्ट्र र कोरोना भाइरसबाट निकास र समाधानमा बदल्नुपर्छ ।

६) दलाल पुजीवादी विशेषता भनेको नातावाद कृपावादलगायत सङ्कीर्ण गुटगत समस्याबाट ग्रसित विशेषता हो । कोरोना महामारीको प्रकोप कुनै जाति, वर्ग, समुदाय र पार्टीविशेष हुने होइन । साथै लकडाउनको प्रतिकूल प्रभाव सबै क्षेत्रमा परेको छ । राहत वितरण, स्वास्थ्य उपचार, दैनिक आवश्यकताको परिपर्ति, आवागमनलगायत क्षेत्रमा निकै पक्षपात, नातावाद, कृपावाद र पार्टीवाद हाबी भएको चर्को जनगुनासो छ । विभिन्न क्षेत्रबाट आउने जनगुनासो समस्याको विशिष्टीकरण गरी अति विपन्न, समस्याग्रस्त तल्लो वर्गलाई प्रमुख प्राथमिकतामा राखी काम गर्नुपर्छ । यस्तो गम्भीर अवस्थामा विभिन्न ढङ्गले भेदभाव गर्ने, जनताको जीवनमा परेको सङ्कटमाथि थप ब्रजपात गर्ने जुनसुकै प्रवृत्ति र पात्रमाथि यथाशीघ्र नियन्त्रण र कारबाही गर्नुपर्छ । यसका लागि हाम्रो पार्टीले सूक्ष्म अध्ययन, निगरानी र आवश्यकताअनुसार जनअनुमोदित कारबाहीको प्रक्रिया अवलम्बन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :