राहत वितरणमा राजनीतिक भेदभाव बन्द गर : युवा सङ्गठन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले विश्वभरि कोरोना भाइरस (COVID-19) ले मानवजातिलाई नै सङ्कटमा पारिरहेको समयमा व्यापारीले कालोबजारीको बिगबिगी बढाउने र स्थानीय सरकारले राहत सामग्रीमा राजनीतिक भेदभाव गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

युवा सङ्गठन नेपाल बाँकेका अध्यक्ष दीपेशले बुधबार प्रेस विज्ञप्ति जारी गरी बन्दाबन्दी (lockdown) को फाइदा उठाएर स्थानीय सरकार र व्यापारीहरूले जिल्लामा कालोबजारीको बिगबिगी बढाएको र स्थानीय सरकारले राहत सामग्रीमा राजनीतिक भेदभाव गरी आमजनसमुदायलाई आलो घाउमाथि नुनचुक छर्किने कार्य भइरहेको भन्दै स्थानीय सरकारद्वारा वितरण हुने राहत प्याकेज जातीय, भेगीय र राजनीतिक पूर्वाग्रहबिना वितरण गर्न र अत्यावश्यक सामग्री खाद्यान्न, औषधी, रगत, ग्याँस, पानीलगायत सामानको सहज आपूर्ति गर्न माग गरेका छन् ।

अध्यक्ष दीपेशले विज्ञप्तिमा भनेका छन्, ‘अहिले विश्वभरि फैलिएको कोरोना भाइरस (COVID-19) ले मानवजातिलाई नै सङ्कटमा पारिरहेको समयमा नेपाल पनि अछुतो नरहेको हजूरहरू सबैलाई थाहा नै छ । यस घडीमा सामाजिक फासिवादी सरकारले यसको रोकथामका निमित्त बन्दाबन्दी (lockdown) बाहेक अरू कुनै पनि जरुरी काम गर्न नसकेकोमा युवा सङ्गठन नेपाल बाँकेको ध्यानाकर्षण भएको छ ।’

दीपेशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यस दुःखको घडीमा आमजनसमुदायलाई आआफ्नो ठाउँमा सजग भएर बसिदिनका लागि अनुरोध गर्दै भ्रष्टाचारयुक्त फासिवादी दलाल सरकारबाट भएको अनियमितता र बन्दाबन्दी (lockdown) को फाइदा उठाएर केही व्यापारीहरूले यस बाँके जिल्लामा कालोबजारीको बिगबिगी बढाउने र स्थानीय सरकारले राहत सामग्रीमा राजनीतिक भेदभावलाई बढावा दिएकाले आमजनसमुदायलाई आलो घाउमाथि नुनचुक छर्किने कार्य भइरहेको हुँदा युवा सङ्गठन नेपाल बाँकेले स्थानीय सरकार र व्यापारीहरूलाई चेतावनीस्वरूप निम्न कुराहरू राख्न चाहन्छ ।’

अध्यक्षले विज्ञप्तिमा सात बुँदा अघि सार्दै भनेका छन्, ‘(१) स्थानीय सरकारद्वारा वितरण हुने राहत प्याकेज जातीय, भेगीय र राजनीतिक पूर्वाग्रहबिना वितरण होस् (२) अत्यावश्यक सामग्री खाद्यान्न, औषधी, रगत, ग्याँस, पानी इत्यादिको सहज आपूर्तिको व्यवस्था गरियोस् (३) विश्व मानवजातिलाई सङ्कट परेको वर्तमानमा अवस्थामा बिरामीहरूको उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरूलाई आवश्यकताअनुसार कारबाही गरियोस् (४) विश्व सङ्कटको घडीमा हिँडिरहेको बेला सहयोग गर्नुको सट्टा उल्टै कालोबाजारी गर्ने व्यापारीहरूमाथि छ्ड्के निरीक्षण गरी दोषीलाई उचित कारबाही गरियोस् अन्यथा युवा सङ्गठन नेपालले आफँैले आवश्यक कारबाहीको प्रक्रिया चलाउनेछ । (५) गाउँ तथा टोलहरूमा जुन प्रकारले बन्दाबन्दी (lockdown) को अवज्ञा गरिएको छ यसको तुरुन्तै निरीक्षण गरी बन्दाबन्दीलाई शतप्रतिशत सफल पारियोस् (६) सामाजिक सञ्जाल र रूढिवादी कुराबाट जसरी आमजनसमुदायलाई त्रसित पार्ने काम भएको छ, यसको रोकथाम गरियोस् (७) गैरकानुनी रूपले जेलमा राखिएका राजनीतिक आस्थाका बन्दीहरूलाई तत्काल रिहा गरियोस अन्यथा राजबन्दीहरूलाई केही भैपरी आएमा यसको मूल्य दलाल फासिवादी सरकारले ठूलो रूपमा चुकाउनु पर्नेछ ।’

दीपेशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस सङ्कटको घडीमा कोहीकसैले कालोबजारी गरे या सेवाग्राहीलाई सेवा दिन अटेर गरेमा युवा सङ्गठन नेपाल बाँकेको फेसबुक आईडीमा सूचना दिनुहुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :