हिरासतबाट थुनुवाहरूको पुकार : सरकार ! हामीलाई कोरोनाबाट बचाऊ

चितवन : विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड १९ को सङ्क्रमणले नेपालमा पनि महामारीको रूप लिनसक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले सचेत रहन अग्राह गरेको छ । त्यही कारण सरकारले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ ! यो एकअर्काबाट सर्ने भएकाले मानिसलाई एकअर्काबाट अलग रहन सरकारले निर्देशन दिएको छ र सोहीअनुरूप लकडाउन गरेको छ ! तर आज हामी हिरासतमा सयौँको सङ्ख्यामा छौँ ! नेपालका अधिकांश हिरासतको स्थिति दयनीय छ ! सानासाना कोठामा सयौँको सङ्ख्यामा कोचिएर बस्नुपर्ने, बोतलमा पिसाब फेर्नुपर्ने, हात धुन र नुहाउन समस्या, व्यक्तिगत सामानहरू पनि धेरैले बाँडेर प्रयोग गर्नुपर्ने, उडुस र जुम्राको टोकाइजस्ता कयौँ समस्याहरू रहेकाले सङ्क्रमण फैलिने जोखिम उच्च छ ।

हिरासतको दयनीय स्थितिका कारण यसै पनि विभिन्न किसिमका रोगहरूले सताउने हुन्छ । झन् कोरोना भाइरसको त्रासका कारण मनोवैज्ञानिक रूपमा सबैभन्दा बढी त्रसित र आतङ्कित जेल र हिरासतमा थुनुवाहरू छन् । हिरासतमा जब कुनै नयाँ थुनुवा ल्याइन्छ उसलाई स्वास्थ्य जाँच नै नगरीकन अन्य थुनुवाहरूमाझ राखिन्छ । स्वास्थ्य परीक्षणका नाममा हिरासतभित्र ल्याएको कयौँ घन्टापछि मादक पदार्थ सेवन गरेको वा नगरेकोबाहेक अन्य कुनै पनि किसिमको परीक्षण गरिँदैन । त्यसो हुँदा सङ्क्रमित नयाँ थुनुवा आएमा हिरासतभित्रका सबै थुनुवाहरू सङ्क्रमित हुने कुरा निश्चित छ ।

हिरासतमा न सूचना–सञ्चारको पहुँच छ, न त परिवारसँग सम्पर्क छ । मुद्दामामिलाको तनावजस्ता कारणले निराश र चिन्तित थुनुवा कोरोना सङ्क्रमण रोक्न राज्यले गरेको लकडाउनका कारण अदालत बन्द भएकाले प्रहरी अनुसन्धानको म्याद सकिएपछि पनि थुनुवाहरूलाई अदालत पेस गराउन नमिलेका कारण कयौँ थुनुवाहरू हिरासतमा बसिरहेका छन् । यो अवस्थामा केही पहल गर्न र थुनुवाहरूको जीवनरक्षाका लागि सरोकारवाला, मानवअधिकारकर्मी, नागरिक समाज, मिडियाकर्मी, बुद्धिजीवी र आमनागरिकलाई चितवन हिरासतका बन्दीहरूले हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :