कोरोना भाइरस र संवेदनहीन सरकार

अहिले कोरोना भाइरसको उच्च जोखिममा छ नेपाल । सुदूरपश्चिमका कैलाली, अछाम, दार्चुलालगायत जिल्लाबाट जोखिम बढेको अवस्था छ । करिब एक हजार मानिस भारतबाट आएर यत्रतत्र फैलिएका छन् । सुरुमा सरकार मौन बस्यो । पछि लकडाउन त गर्यो । ठीक छ गर्नु नै पथ्र्यो, गर्यो, यसका लागि धन्यवाद छ तर लकडाउन गरेपछि सबै खेल समाप्त भयो भनेझैँ ग¥यो । सहरमा लाठी चलायो । गाउँगाउँमा भने चहलपहल बढ्यो । मानौँ दसैँ आएको छ ।

काम गर्न र पढ्न थालेका मानिसहरू गाउँगाउँ पसे । त्यस्तै भयो भारतबाट आएका श्रमिकहरूको कथा । यस अवसरमा दाङ, प्युठान, अर्घाखाँची र कपिलवस्तुसम्म पुगे श्रमिकहरू । आफ्नो घर, गाउँ, बाबा–आमा तथा परिवार खोज्दै गए । नेपालको मायाले तानेर गए । उसबेला सरकार चूप बस्यो । ‘जसै प¥यो राती उसै बूढी ताती’ भनेझैँ सङ्क्रमण देखिएपछि मात्र सरकारले उनीहरूको खोजतलास सुरु गरेको छ । ती यात्रीहरू कहाँकहाँ गए ? कोकोसँग भेटघाट गरे ? विषय गम्भीर छ । विदेशबाट आए त ठीकै गरे तर उनीहरूलाई क्वारेन्टाइनमा राखेर चेक अप गर्नुपथ्र्यो । आवश्यकताअनुसार उपचार गर्नुपथ्र्यो ।

अब केपी वली सरकारले दुई तिहाईको दम्भ देखाएर एक्लै गर्छु भनेर हुँदैन । परिस्थितिअनुसार चल्नुपर्छ । प्रधानमन्त्रीले सबै कुरा आफ्नै हातमा लिएर पनि हुँदैन । आफ्नै पार्टीभित्र चरम असन्तुष्टि बढेको छ । खिचातानी छ । एमसीसीले नै सरकार अल्पमतमा परिसकेको देखाएको छ । यस अवस्थामा ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ गरेर हुुँदैन । एकातिर कोरोनाले व्याप्त हुँदैछ देश, अर्कोतिर अदालतबाट सफाइ पाएकाहरूलाई पनि जेलमा कोचिरहेको छ सरकार । फेरि रिहा हुन्छन्, फेरि जेलैमा कोच्छ । कस्तो पूर्वाग्रह हो ? सत्ता–राजनीतिभन्दा फरक विचार र आस्था भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र माइला लामाहरुलाई बन्दी बनाएर शान्तिको समस्या समाधान हुन्छ कि एजेन्डासहित वार्तामा डाकेर दिगो शान्ति होला ? ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हुँदैन । यस पङ्क्तिकारको चाहना अरू कुनै नभएर शान्ति र सुशासन हो ।

अहिले विश्व कोरोना भाइरसका कारण उच्च जोखिमको अवस्थामा छ । आजको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्या १०,९८,००६ र मृतुकको सङ्ख्या भन्डै असी हजार रहेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस (Covid 19) करिब संसारभरि फैलिसकेको अवस्था छ । यसले विश्वलाई तरङ्गित र अतङ्कित पारेको छ । साम्राज्यबादी देश अमेरिका पनि अहिले महामारीको संत्रासमा छ । अवस्था विकराल छ । दिनको हजारौँ मानिसको मृत्युले मानिसमा मनोमनोवैज्ञानिक संत्रास उत्पन्न भएको छ । आज मरिने हो कि भोलि, केही ठेगान छैन भनेजस्तो भएको छ । मानौँ यो प्रथम र दोस्रो विश्वयुद्धपछिको महायुद्ध हो ।

कोरोना भाइरस सबभन्दा पहिला चीनमा देखियो । चीनको बुहानमा करिब तीन हजार मानिसको मृत्यु भयो । एक लाखजति मानिस सङ्क्रमित भए । सयौँ डाक्टर परिचालित भए । डाक्टरहरू मैदानमा जाँदा परिवारमा रुवाबासी चल्यो । डाक्टरहरु पनि मरे । उनीहरुलाई सहिद घोषणा गरिएको छ । ४ अप्रिलमा कोरोनाबाट मुक्ति पाएको भनेर चीनमा ठूलो समारोह भयो । हुनत दिनमा केही मानिसको अझै पनि मृत्यु भएको छ तर सयौँको सङ्ख्यामा भएको छैन । नियन्त्रण भएको छ । यो चीनका लागि ठूलो विजय हो । चीनको राजनीति, सक्षम प्रशासन र सुरक्षाले गर्दा विश्व–महामारीबाट बच्न सक्षम भएको छ । यो सबैलाई खुसीको कुरा हो तर अमेरिकाले चिनियाँ भाइरस भनेर माओको मुखमा मास्क लगाइदिएको थियो । यो भद्दा मजाक थियो । एउटा प्रहसन तर अहिले अमेरिकामा नमीठो परिस्थिति देखापरेको छ । अहिले अमेरिकामा दुई लाखभन्दा बढी कोरोनाबाट सङ्क्रमित छन् । अहिले अमेरिकामा हजारौँको मृत्यु भैसकेको छ । दिन–प्रतिदिन बढ्दै गएको छ ।

अहिले कोरोना भाइरस विश्वमै फैलिएको छ । युरोपमा यो बुलेट रेलको गतिमा दौडिरहेको छ । अहिले इटाली यसबाट बढी आक्रान्त छ । ४ अप्रिलसम्म इटालीमा १६ हजारको मृत्यु भइसकेको छ । सहरका सडकहरू शवहरूले ढाकिएका छन् । हृदयविदारक छ अवस्था । जीवनको माया मारेर होला नोटहरू सडकमा फालिएका छन् । आज को मर्छ, भोलि कुन मर्छ केही थाहा छैन । शव सठाउने मानिस पाइँदैन । यस्तै स्पेनमा पनि बेहाल छ । १० हजारभन्दा बढी मानिस मरिसकेको अवस्था छ । फिलिपिन्समा त लक डाउन तोड्नेलाई गोली हान्ने आदेश दिइएको छ । दक्षिणकोरिया र रुसमा पनि कोरेनाले बेहाल गराएको छ । उत्तरकोरियामा भने आजको दिनसम्म सङ्क्रमित भएको देखिएको छैन । अस्ट्रेलियामा १०८ भन्दा बढीको ज्यान गैसकेको छ । प्रधानमन्त्रीले गाह्रो भएमा विद्यार्थीहरू घरमा जान सक्छन् भनेर सन्देश दिएका छन् । यस्तै नेपालको छिमेकी देश भारतमा पनि ठूलो महामारी लिएको छ । भारतमा २१ दिन लकडाउन गरिएको छ । नेपालले नेपाली कामदारहरूलाई सीमापार गर्न दिएको छैन । ४०–५० जनाको समूह दिल्लीबाट पैदल यात्रा गरी ६–७ दिन लगाएर दसगजा सीमामा आएर बसेको अवस्था छ । कोही महाकालीमा हेलिएका छन् । नेपाल सरकारले मानवीयताको काम पनि गरेन । मानौँ मानवता छैन । नेपालीहरू खुला आकाशमा सुतिरहेछन् । यता घर आउन लागेका रोइरहेछन्, अर्कोतिर घरपरिवार रोइरहेछन् । नेपाल सरकारले उनीहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्न सक्नुपर्छ । नेपालमा लकडाउन छ । ठीक छ । डब्लूएचओको निर्देशन पनि पालना गर्नुपर्छ । पहिले तयारी भएन । भारतबाट लसलस हूल आएर नेपालका विभिन्न भूभागमा गएर बसेको अवस्था छ । तिनीहरूको पहिचान गरेर क्वारेन्टाइनमा राख्ने थालनी त भएको छ तर सबैको पहिचान गरेर ल्याउने काम भएको छैन । सुदूरपश्चिम र मध्यपश्चिम तथा मधेसमा धेरैको समागम छ । यसले विकराल अवस्था नल्याउला भन्न सकिँदैन । यो ज्यानमारा भाइरसविरुद्ध सजग र सतर्क हुनुपर्ने अवस्था छ । यसले ठूलोसानो केही भन्दैन । प्रधानमन्त्री, राजकुमार र मन्त्रीहरू पनि सङ्क्रमित भएका खबरहरू आइरहेका छन् ।

अहिलेको संवेदनशील अवस्थामा पनि नेपालमा थुनछेक छ । यसले नागरिकलाई ठूलो असर पारेको छ । एकातिर विद्रोही नेपाल कम्युनिस्ट पार्टीले कोरोनाविरुद्ध सचेतना र सहायता कार्यक्रम सञ्चालन गर्ने, अर्कोतिर सरकारले दमन गर्ने तरिकाले ज्यानमारा कोरोना भाइरस ओझेलमा पर्ने त होइन भन्ने आशङ्का छ नागरिकहरूमा । अब सबै एकजुट भएर कोभिड १९ लाई परास्त गर्नुको विकल्प छैन तर सरकारले घाउमा नुनचुक लगाइदिएको आभास हुन्छ । यस्तो विकराल घडीमा पनि बिनाटेन्डर बिल बढाएर चीनबाट नक्कली सामान ल्याइएको छ । पछिबाट विरोधका स्वरहरू आएपछि उक्त सम्झौता रद्द त गरिएको छ तर जोगिने आशयले सेनालाई दिने कुरा भएको छ । किन जनताको सवालमा पन्छिन खोज्छ सरकार ? यसबारेमा स्वास्थ्यमन्त्रीले जनतालाई जबाफ दिने मात्र होइन, एकएक हिसाब दिनुपर्छ । चीनमा हेर्ने हो भने राष्ट्र«पति सी जिन पिङ मानिसहरू छट्पटाइरहेको ठाउँमा गएर अवलोकन गरेका थिए । चीनले तीनवटा विमान र सयौँको सङ्ख्यामा डाक्टरहरू पठाएको छ । सहयोगका लागि चीनले रसियासँग संवाद गरेको छ । जी २० को भिडियो सम्मेलनमा सी जिन पिङले भाइरसपीडित देशहरूलाई सहयोग गर्ने वचन दिएका छन् । नेपाललाई पनि आवश्यक चीजको सहयोग गर्ने आश्वासन दिएका छन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस विकराल अवस्थामा चीनको सहयोग आवश्यक छ भनेका छन् । यसरी विश्वको ठूलो शक्ति भनेर अहम् गर्ने अमेरिकाले चीनसँग सहयोगको अपेक्षा गरेको छ । यसअनुसार चीनले एउटा विमान अमेरिकामा पठाइसकेको छ । आफूलाई शक्तिमान ठान्ने अमेरिकाले पनि हार स्वीकार गर्नुपरेको यो पहिलो अवस्था हो । हुन पनि एउटा देशलाई अछुतो राख्ने हो भने यो महामारीका रूपमा विश्वभरि फैलिएको छ । यसकारण संयुक्त राष्ट्रसङ्घले पनि विश्वभर चलिरहेको लडाइँको युद्धविराम गर्नुपर्छ भनेको छ । नेपालमा पनि विद्रोही शक्ति र सरकार मिलेर यस भाइरसलाई नियन्त्रणमा लिनुको विकल्प छैन ।

सरकारले समुचित तरिकाले राहत वितरण गर्नुपर्छ । आफ्नो गीत गाउनेलाई मात्र नभएर गरिब, उत्पीडित, श्रमिक मजदुरलाई राहत वितरण गर्नुपर्छ । अझै ग्याँसको अभाव छ । खाद्यान्न टोलटोलमा लगेर वितरण गर्नुपर्छ । लकडाउन सकिँदा पनि एक महिनाजति सिनेमा हल र सभासम्मेलनमा सामाजिक दूरी कायम गर्नुपर्छ । औषधी नगरेर फिर्ता गर्ने स्वस्थ्य संस्थाको लाइसेन्स खारेज गर्नुपर्छ । सत्तासीन पार्टीका ठूला नेताहरू धेरैजसो अस्पतालमा संलग्न रहेकाले यो काम कठिन छ । यसका लागि नागरिक समाज, मानवअधिकारकर्मी र पार्टीका नेताहरूको संयुक्त संयन्त्र बनाउनुपर्छ । यी सबै जनतासँग सरोकार राख्ने सर्त हुन् । कोरोना भाइरसका लागि उठेको रकमको सही सदुपयोग हुनुपर्छ । नेपालमा यो छिटै नियन्त्रित हुनेछ ।

२२ चैत, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :