जनयुद्धकालीन महिला प्रतिरोधको ऐतिहासिक मोर्चा चैत २६

कालीकोटको माल्कोट

भूमिका

जहाँ मानव समाज हुन्छ, त्यहाँ वर्ग हुन्छ । जहाँ वर्ग हुन्छ, त्यहाँ वर्गीय शोषण, असमानता र वर्गीय उत्पीडन हुन्छ । वर्गीय उत्पीडनले वर्गसङ्घर्षको जन्म गराउँछ । वर्गसङ्घर्षले मात्र वर्गीय उत्पीडनबाट हुने सबैखाले विभेदको अन्त्यका लागि ढोका खोलिदिन्छ । यो समाज विकासको सामान्य तथा सार्वभौम माक्र्सवादी मान्यता हो । सबैभन्दा उपेक्षित, उत्पीडित वर्गले आफ्नो मुक्तिको मालेमावादी हतियार प्राप्त गर्यो भने त्यही वर्ग बहादुर, अग्रगामी, क्रान्तिकारी वर्गमा रूपान्तरित हुन्छ । अर्धसामन्ती, अर्धऔपनिवेशिक उत्पीडनमा परेको नेपाल र नेपाली जनतालाई मुक्त गर्नु जनताको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न थालिएको महान् जनयुद्धको ऐतिहासिक प्रभावमा सिङ्गो उत्पीडित वर्ग सगौरव सहभागी भइरहेको अवस्था थियो । केन्द्रीकृत सामान्तवादबाट भौगोलिक उत्पीडनमा पारिएको सिङ्गो कर्णाली प्रदेशको कान्छो जिल्लाका रूपमा चिनिएको कालीकोट विशेषतः वर्गीय, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक भेदभाव, शोषण, दमन र उत्पीडनको सिकार बनाइएको दलित समुदाय र दोस्रो दर्जाको नागरिकका रूपमा अपहेलित भएको महिला जो सामन्ती पुरुषप्रधान समाजको अत्याचारको बन्धनमा बाँधिएको थियो । तिनै माल्कोटबासी दलित बहादुर महिलाहरूद्वारा जनयुद्धकै इतिहासमा सबभन्दा पहिलो ऐतिहासिक साहसिक प्रतिरोधको आवाज बुलन्द कालीकोट माल्कोटको बिथलडाँडामा भएको थियो । २०५४ साल चैत २६ गते एक करिश्मामय युगान्तकारी महिला प्रतिरोधको दिन रगतले इतिहास लेखिएको दिन थियो जो युगौँयुगसम्म बाँचिरहनेछ । यही युगान्तकारी महिला विद्रोहको वीरताको इतिहासलाई एकीकृत जनक्रान्तिको मर्मसँग जोड्न वीरता र बलिदानको गौरवपूर्ण मार्गलाई उच्च कदर गर्दै आगामी क्रान्तिमा त्यसबाट लिनुपर्ने शिक्षालाई क्रान्तिको ऊर्जाका रूपमा पक्रिन त्यो ऐतिहासिक दिनको उच्च मूल्याङ्कन तथा स्मरणः गर्नु एक क्रान्तिकारी सिपाहीको कर्तव्य रहन जान्छ । त्यही क्रान्तिकारी वीरगाथाको चर्चा गर्न सान्दर्भिक ठान्दछु ।

दमित आत्माहरूको विस्फोट

तल्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपालमा सामन्ती राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्न अर्धऔपनिवेशिक, अर्धसामन्ती, अविकसित देशमा दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि महान् जनयुद्धको थालनी गरेको ठीक २ वर्ष पूरा हुँदै थियो । जनयुद्धको कार्यदिशा गाँउबाट सहर घर्ने रणनीतिमा आधारित थियो । महान् जनयुद्धको तयारी थालनीदेखि गाउँ केन्द्रित गतिविधि भइरहेका थिए । ग्रामीण वर्गसङ्घर्षका विविध रूपहरूमार्फत स्थानीय सूदखोर, सामन्त, जालीफटाहाका विरुद्धमा धावा बोल्दै जनतामा राजनीतिक प्रचार, सङ्गठन निर्माणलगायत सशस्त्रीकरणका कार्यक्रमहरू बढिरहेका थिए । महान् जनयुद्धमा नेपाली उत्पीडित जनसमुदायमा सकरात्मक ऊर्जा र आशासहितको सहभागिता बढिरहेको थियो । दुस्मनको लूटको स्वर्गमा भुइँचालो आउँदै थियो । त्यही क्रमसँगै राज्यबाट सौतेनी व्यवहार गरिएको भौगोलिक रूपमा उत्पीडनमा पारिएको कर्णाली प्रदेशका जनसमुदायको सहभागिता बढ्दै थियो । दलित समुदायको बाहुल्य रहेको कालीकोट जिल्लाको माल्कोट गाविसका दलित समुदायलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ‘सबैखाले उत्पीडनबाट मुक्त हुन विद्रोह गर्नु जनताको अधिकार हो, राज्यसत्ताबाहेक सबै भ्रम हो । नखोसे अधिकार पाइँदैन । सबैखाले अत्याचारको बन्धन तोड्न जनयुद्ध उत्तम विकल्प हो’ भन्ने मान्यतामा दह्रो ढङ्गले प्रशिक्षित र सङ्गठित गरेको थियो । सोही क्रमसँगै सामन्ती राज्यव्यवस्थाका स्थानीय मतियार र रक्षक प्रहरीद्वारा जनदमनको शृङ्खला झूट्टा मुद्दा, धरपकड, जालझेल, गिरफ्तारी, खानतलासीलगायत दमनचक्र जारी थियो ।

२०५४ साल चैत २६ गते बिहान ११ बजेको समय थियो । कुमालगाउँ इलाका प्रहरी कार्यालयबाट सामन्ती सत्ताका भाडाका सिपाहीहरू गस्ती र खानतलासी गर्दै माओवादी खोज्दै जनदमनका लागि माल्कोट बिथलडाँडाको प्याउकली विश्वकर्माको घरमा पुगे र जङ्गिँदै ‘घरमा को छ ? आतङ्ककारी छन् कि !’ भन्दै ढोका फोड्न थाले । घर खानतलासी अघि बढाए । घरमा आतङ्कित पार्दै ‘ए रण्डी ! माओवादी पाल्छेस् ? खाना दिन्छेस्’ भन्दै वृद्धा आमालाई हप्काए । घरमा खानतलासी गर्दा अरू केही भेटिएन । गाउँको कामकै लागि राखिएको एउटा हाते माइक फेलापर्यो । माइक घरकै हो भन्दै आमाले समात्नुभयो । ‘यो माओवादीको हो । आतङ्ककारी पाल्छे रे !’ भन्दै गाली गर्दै लछारपछार गर्न थाल्यो । स्थिति चर्को हुँदै जाँदा हत्यारा दानवहरूले एक्कासि आमाको टाउकोमै ताकेर गोली प्रहार गरे । गोलीले वृद्धा प्याउकली विकको निधार छेड्दै बाहिर गयो । आमा मूर्छा परी ढलिन् । घरआँगन रक्तामे भयो । गाउँघरमा रुवाबासी र हल्लाखल्ली भयो । त्यस्तो अवस्था देखेपछि गाउँका सबै दिदीबहिनी, केटाकेटी, वृद्धवृद्धा आक्रोशित हुँदै ढुङ्गा, मुडा, लाठी, हँसिया, बन्चरा, भाला र खुकुरी लिएर बिनाकारण गरिएको हत्या र दमनको चर्को प्रतिवाद गर्दै हत्यारा प्रहरीमाथि घेरा हाली असिनाझैँ बर्सिए । जनताको आक्रोशको सीमा थिएन । साहसिक बहादुर महिलाहरू सशक्त प्रतिवादमा उत्रिएपछि भिडन्त भयो । त्यस क्रममा हत्याराहरूले निहत्था, निर्दोष महिलामाथि अन्धाधुन्ध दर्जनौँ राउन्ड गोली बर्साए । प्रतिरोधमा सहभागी थप ४ जना क्रान्तिकारी महिलाहरू पुना विश्वकर्मा, मङ्गला विश्वकर्मा, बिजा विश्वकर्मा र गोरीकला विश्वकर्मा गम्भीर घाइते भए । त्यो अवस्था देखेपछि झनै आक्रोशित माल्कोटबासी जनताले घाइते बाघसरि हत्याराहरूमाथि आक्रमण सुरु गरे । माल्कोट बिथलडाँडा युद्धमैदानमा परिणत भयो । निःशस्त्र जनताले सशस्त्र हतियारधारीसँग सशक्त प्रतिवाद जारी राखे । दुस्मन आतङ्कित हुँदै भाग्न बाध्य भयो । जनताले दसैँको राँगो लखेटाइ गरे । दुस्मन रहगाड हुँदै कोटवाडातिर भाग्न थाल्यो ।

जनता जागे भने घमण्डी पहाडहरू पनि झुक्छन् भनेझैँ जनताले छोड्ने कुरै आएन । उता कोटवाडाबाट पनि जनताले भागिरहेका दुस्मनलाई घेराबन्दी गरिरहेका थिए । थप कुमालगाउँ र लालुबाट पनि सयौँ जनता दुस्मनसँग बदला लिन रहगाड र कोटवाडामा जम्मा भए । जनआक्रामक प्रतिरोधबाट निकै आतङ्कित भएको दुस्मन कोटवाडाको अमनाको भिरपाखोमा भएको ओढारमा स्यालझैँ लुक्यो । जनताले नजिकैबाट घेरा कस्दै गए । बदलाभावले ओतप्रोत बहादुर जनताले आक्रमण जारी राखे । अनाहक गाउँलाई युद्धस्थलमा परिणत गर्ने, निर्दोष र निहत्था जनतालाई गोलीको सिकार बनाउने हत्याराहरूलाई जनताले ओढारमै खर र पराल लगी दुम्सी पोलेझैँ खरमा आगो लगाउँदै ओढारभित्रै कैद गरे । घन्टौँसम्म भएको जनसङ्घर्षको ज्वाला आगोको रापमा बदलियो ।

हत्याराहरूले ओढारभित्रैबाट एक्कासि फायरिङ गर्दा कोटवाडा निवासी कालीबहादुर विकको छातीमा गोली लाग्यो । उहाँले वीरगति प्राप्त गर्नुभयो । आक्रोशित जनताले ओढारमा तीनजना हत्यारा प्रहरीलाई भष्म पारे । एक थान राइफल र गोलीहरू कब्जा गर्न सफल भए । बाँकी प्रहरी कता बेपत्ता भए, पत्तो भएन ।

घटना सुन्दा र हेर्दा जति बयान गर्दा पनि नपुग हुन्छ । माल्कोटी दलित महिला र जनसमुदायले साहसिक, वीरतापूर्ण र ऐतिहासिक प्रतिरोध गर्न सफल भए । यसले सिङ्गो क्रान्तिकारीलाई पे्ररणा, ऊर्जा र आशाको दीप प्रज्वलन गरेको छ । जनताका वैरी जसले इतिहासको प्रवाहलाई रोक्ने, न्यायको आवाजलाई बन्दुकको भाषा बोल्दै दबाउने धृष्टता गर्छन्, तिनलाई खबरदारी गर्दै हाँक दिएको छ । यो वीरतापूर्ण सङ्घर्ष अजर र अमर रहनेछ । यसको उद्देश्य अझै पूरा भएको छैन । प्रतिक्रान्तिकारी गद्दारहरूले धोका दिएका छन् । कायरहरूले घुँडा टेकेका छन् । बहादुरहरू एकीकृत जनक्रान्तिमा दृढतापूर्वक लागिरहेका छन् । ती महान् सहिदहरूको सपना पूरा गर्न घाइते, अपाङ्ग योद्धा, मुक्तिकामी, न्यायप्रेमी जनसमुदायको सपना पूरा गरिछाड्ने सङ्कल्प गरिरहेका छन् ।

आगामी क्रान्तिका लागि शिक्षा

आजको सापेक्षतामा मालेमाको रक्षा, प्रयोग र विकास गर्दै अधुरो क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्तिमा होमिएको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले महान् जनयुद्ध र जनसङ्घर्षका सकारात्मक शिक्षा लिनै पर्दछ । क्रान्तिकारी पार्टी नेतृत्व र सबै जनसङ्गठनलाई सुदृढ विकास गर्दै जनमुक्ति सेनाको आवश्यकताको स्तरमा गठन र विस्तार गर्नु आजको क्रान्तिका लागि झन् अपरिहार्य बन्न गएको छ । विशेषतः उत्पीडित, उपेक्षित जनसमुदाय, मध्यम वर्ग, प्रतिक्रान्ति भोगिरहेका नेपाली जनता र देशभक्त शक्तिलाई शिक्षित तुल्याउने, सङ्गठित गर्ने र सङ्घर्षमा सहभागी बनाउने ठोस नीति तथा कार्याक्रम नयाँ चरणमा उठाउनुपर्दछ । आज हामीले एकदुईवटा थबाङ र माल्कोट मात्र बनाएर पुग्दैन । गाउँ, सहर सबैतिर विशाल जनसङ्गठनको घेरा तयार गर्नुपर्दछ । साथै समग्र रूपमा सामाजिक फासिवाद र दलालहरूका विरुद्ध चौतर्फी आक्रमण केन्द्रित गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

यसका लागि दलाल तथा सामाजिक फासिवादी शक्तिको समूल रूपले अन्त्य गर्ने स्पष्ट विचार, राजनीतिसहित सुदृढ सङ्गठनबाहेकको अर्को अचुक अस्त्र हुनै सक्दैन । आज हामीले यही कुरामा विशेष जोड दिनुपर्छ । साथै दुस्मनबाट हुने आकस्मिक हमलाका लागि आकस्मिक प्रतिरोध र योजनाबद्ध प्रतिरोधका लागि तयारी अवस्थामा एकीकृत जनक्रान्तिका ज्यावललाई धार लगाइरहनुपर्छ । एकीकृत जनक्रान्तिमा यसको महत्व निकै बढेको छ । ढिलो नगरी यो मोर्चामा हिम्मत र साहसका साथ लाग्नुपर्छ । सङ्गठनको रूपलाई सेनामा र सङ्घर्षको रूपलाई समग्र युद्धमा बदल्नुपर्छ । बिथलडाँडामा भएको महिला प्रतिरोध हेर्दा जनताले कुशलतापूर्वक जनसङ्घर्षको मोर्चाबद्ध शैली अपनाएर मोर्चा सम्पन्न गरेको छ । जनप्रविधिको पनि भरपूर प्रयोग भएको छ । गम्भीरतापूर्वक यो शिक्षा एकीकृत जनक्रान्तिमा जोड्नु पर्दछ ।

रगत, पसिना र आँसुले क्रान्तिको मूल्य चुक्ता गर्न बलिदानलाई क्रान्तिको ऊर्जाका रूपामा लिन माल्कोटी दिदीबहिनी र जनसमुदायले दृढतापूर्वक अवलम्बन गरे । सहिद भए, घाइते भए, रगत बगाए तर पनि बदला लिइछाडे । चुनौतीमा घुँडा टेक्ने, ज्यानको भिक माग्ने, पद र पैसाको स्वार्थमा लिप्त भएर जनयुद्धको उपलब्धिलाई लिलाममा बिक्री गर्ने प्रतिक्रान्तिकारी गद्दारहरूलाई माल्कोटबासी दिदीहिनीहरूले मुखैभरिको जबाफ दिएका छन् । सचेत जनता इतिहासका निर्माता हुन् भन्ने कुरा पुष्टि गरेका छन् । जनता उठे भने, जनसङ्गठनद्वारा प्रतिवाद भयो भने प्रतिक्रियावादीहरूका हतियार र प्रविधि निष्काम साबितत हुने कुरा पुष्टि गरेका छन् । यो शिक्षालाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । साथै वास्तविक जीवन र बलिदानीको उच्चतालाई नयाँ ढङ्गले कीर्तिमानी कायम गरेका छन् । एकीकृत जनक्रान्तिमा रहेको हाम्रो पार्टीलाई २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताहमा सहिद परिवारले भनेका यी कुरा विशेष स्मरणयोग्य छन्, ‘जेल जानू, नेल खानू । पर्दा बलिदानी गर्नु तर प्रचण्डको जस्तै जुत्ता नखानू । हामी तिम्रो साथमा छौँ ।’ उहाँहरुले यो सन्देश नेतृत्वसम्म पु¥याइदिनू भन्नुभएको थियो । यो कम मार्मिक सन्देश होइन । यो सामान्य जिम्मेवारीको अभिव्यक्ति पनि होइन । यसको उच्च मूल्यबोध गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । प्रतिक्रान्तिका मतियार, जनयुद्धका उपलब्धिलाई कौडीको भाउमा बिक्री गर्ने नवदलालहरूलाई जनताले क्रान्ति र सहिदको सपना, जनता बिर्सिंदा के हुन्छ ? भन्ने चुनौती दिएका छन् । यो हाम्रो पार्टीका लागि निकै ओजनदार शिक्षा र सन्देश हो ।

जुन बेला पार्टीसँग जनप्रविधिबाहेक अरू केही थिएन । त्यही बेला माल्कोटबासी महिला र समग्रमा भन्दा त्यस क्षेत्रका जनता आधुनिक हतियार राइफल र गोली कब्जा गरी पार्टीलाई बुझाउन सफल भए । धन्य छ ती बहादुर महिला तथा क्रान्तिकारी जनसमुदायलाई । पार्टीले पनि तत्काल नगरेको साहसिक कार्य गरे जसको जगमा पार्टीले आफूलाई सशस्त्र पार्दै लगेको थियो । आजका नवदलालले जनतालाई निःशस्त्र पार्न जनयुद्धमा कब्जा गरिएका हतियार र प्रविधि लिलाममा बिक्री गरी खाने, दुस्मनलाई बुझाउने काम गरेका छन् । उचित बेलामा जनताले त्यसको जबाफ दिनेछन् । यसको मर्म र शिक्षालाई हाम्रो पार्टीले गम्भीरतापूर्वक ग्रहण गरिरहेको छ ।

राष्ट्र र जनताको मुक्ति, न्याय, स्वाधीनता, समानताविरुद्ध जाने, अत्याचारी लूटको शासन व्यवस्था कायम गर्न खोज्ने, जनआवाजलाई बन्दुक, कानुन र शासनसत्ताको दुरुपयोग गरी कैद गर्ने, संसारका कुनै पनि प्रतिक्रियावादी सत्ता टिकेको एउटा पनि उदाहरण छैन । आज हाम्रो पार्टीमाथि प्रतिवन्ध लगाउने, नेता–कार्यकर्ताको हत्या गर्ने, सयाैँलाई हिरासत, जेल र नेलको चरम यातना दिने, कानुनको हवाला दिने, वाक्स्वतन्त्रताको बकबास गर्ने, त्यसको बुई चढेर खिल्ली उडाउँदै धोती लगाउने यो देशका नवदलाल र तानाशाही राज्य व्यवस्था कदापि टिक्नेछैन । प्रतिरोध मोर्चामा आफू घाइते हुँदा पनि ती महान् क्रान्तिकारी महिला र जनताले अदम्य साहस, शौर्य र कीर्तिमानी कायम गरे । आफ्नो अभिभावक कालीबहादुर विकलाई भौतिक रूपमै बिदाइ गरे पनि बलिदानलाई ऊर्जामा, शोकलाई शक्तिमा बदले र दुस्मनसँग बदला लिएरै छाडे । दुस्मनको सफाया गरिदिए । सचेत जनताको शक्ति के हो ? चिनाउन सफल भए । यो क्रान्तिकारी शिक्षालाई एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अवलम्बन गर्दै स्थापित गर्नुपर्छ ।

आज हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी समकालीन परिवेशको वैकल्पिक उदीयमान राजनीतिक शक्ति हो । यसले सामाजिक दलाल फासिवादी सत्ता र यसको कुनै पनि दमनचक्रलाई स्वीकार गर्दैन । यसको विकल्पमा वैज्ञानिक समाजवाद चाहन्छ जसका लागि पार्टी एकीकृत जनक्रान्तिमा अहोरात्र खटिरहेको छ । साथै एकीकृत जनक्रान्तिका पाँच जादुगरी हतियारको तयारीमा दृढतापूर्वक अघि बढेको छ । योभन्दा अर्को विकल्प पनि छैन । नेपालमा अधुरो क्रान्ति पूरा गरिछाड्ने प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छ । भेरी–कर्णाली क्षेत्रमा पनि यसले आफ्नो मोर्चा सुदृढ गर्दै लगेको छ ।

अन्त्यमा २०५४ साल चैत २६ गेतको ऐतिहासिक महिला प्रतिरोधका दिन क्रान्तिकारी महिलाहरूको मोर्चामा सहभागी भई आफ्नो अमूल्य प्राणको आहुति दिने महान् सहिद कालीबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै साहसिक प्रतिराधका क्रममा घाइते महान् क्रान्तिकारी महिला योद्धा गोरीकला विश्वकर्मा (जसलाई पछि हत्याराहरूले किलो सेरा टुनामक अप्रेसनमा हत्या गरे) उहाँप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

घाइते अन्य महिलाहरू पुना विश्वकर्मा, बिजा विश्वकर्मा, मङ्गला विश्वकर्मा र प्याउकली विश्वकर्माको साहसिक कामको उच्च मूल्याङ्कन गर्दै विशेष स्मरणसहित धन्यवाद ज्ञापन गर्दछु । त्यो प्रतिरोध सङ्घर्षमा विभिन्न क्षेत्रबाट सशक्त भूमिका निर्वाह गर्ने महान् क्रान्तिकारी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछु । तपाईंहरूले देख्नुभएको सपना हाम्रो पार्टीले कुनै पनि मूल्यमा पूरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्दछ । एकीकृत जनक्रान्तिको मोर्चा अझै कठिन र चुनौतीपूर्ण हुनेछ । नयाँ तथा निर्णायक क्रान्तिमा एकरत्ति पनि पछि नहटी साथ र सहयोगको पूर्ण आशासहित सम्पूर्ण क्रान्तिकारी जनसमुदायहरूलाई एकीकृत जनक्रान्तिको मोर्चामा दृढतापूर्वक सहभागी हुन आह्वान गर्दछु । महान् सहिदहरू, घाइते, अपाङ्ग योद्धा, क्रान्तिकारी जनसमुदायको सपना साकार हुनेछ । दुष्टहरूको खुनी सत्ता ध्वस्त हुनेछ । जनता विजयी हुनेछन् । देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना भइछाड्नेछ । यसको दृढतापूर्वक हाम्रो पार्टीले नेतृत्व गर्नेछ ।

(लेखक नेकपाका नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :