प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टीमाथि होइन, दलाल सरकारमाथि

१. भूमिका

विश्वमा दासयुगबाट सुरु भएको शोषण र उत्पीडनको प्रक्रिया मुट्ठीभर शोषक वर्गले बहुसङ्ख्यामा रहेका जनतामाथि वर्तमानसम्म लाद्दै आएकोमा दुईमत छैन । जब आदिम साम्यवादको उत्तराद्र्धबाट वर्ग जन्मिन्छ र दास, किसान र मजदुरसम्म दासप्रथा, सामन्तीप्रथा र पुँजीवादी प्रथा हुँदै क्रमशः फरक चरित्रका राज्यव्यवस्थाहरू स्थापना भए । तिनले आफ्नो चरित्र र हैसियतअनुसारको शोषण–उत्पीडन, दमन र प्रतिरोध पनि गर्दै आएका छन् । दास, किसान र मजदुरले पनि आफ्नो मुक्तिका लागि प्रतिरोध, आन्दोलन र सङ्घर्षहरू गर्दै आएको इतिहास छ । राज्यसत्ताको नेतृत्व गरिरहेका शासकहरूले जनतामाथि लादेका अनेकौँ उत्पीडनको प्रतिरोधले गर्दा राज्यसत्ताको चरित्र पनि फेरबदल हुँदै आएका छन् । सामान्य सुधार गरेर राज्यव्यवस्था र सरकारका प्रतिनिधि फेरेर शान्ति, समृद्धि र समानताको भ्रम दिइरहेका छन् । जनतालाई पुरानै शोषण–उत्पीडनको नयाँ खोल ओढाएर जनतामाथि हैकम चलाउने प्रक्रियालाई निरन्तरता दिएका छन् । वर्तमानमा व्यवस्था फेरिएको छ, सरकार फेरिएको छ, संविधान र राज्यको संरचना फेरिएको छ तर प्रणाली (सिस्टम) फेरिएको छैन । यसको अर्थ हो राज्यव्यवस्थाको रूप फेरिएको छ, सार फेरिएको छैन । बोलीमा शान्ति, स्वतन्त्रता, समानता र समृद्धि छ, व्यवहारमा जनतामाथि अशान्ति, सत्यमाथि प्रतिबन्ध, असमानता, अनेकता, अभाव, समस्या झन्झन् बढेका छन् । यो दलाल सरकारले ‘शान्ति, स्वतन्त्रता, समानता र समृद्धि’ को नारा दिएझैँ दासयुगमा मालिकले, सामन्ती युगमा राजा–महाराजाहरूले, पुँजीवादी युगमा पुँजीवादी, दलाल पुँजीवादी र साम्राज्यवादीहरूले इतिहासदेखि वर्तमानसम्म जनतामाथि थोपर्दै आएका जनविरोधी व्यवहारहरू हुन् ।

आजको दिन जनतालाई सोध्नुस्, राष्ट्रवादी देशभक्त, महिला, किसान, मजदुरलाई सोध्नुस्– शान्ति, स्वतन्त्रता र समृद्धि कसका लागि रहेछ । हिजो पनि राणा शासन र पञ्चायती व्यवस्था सञ्चालकहरूको शान्ति, समृद्धि र स्वतन्त्रता थियो, आज पनि कम्युनिस्ट खोलभित्रका सामाजिक दलाल पुँजीवादीहरूको शान्ति, समृद्धि, स्वतन्त्रता र समानता छ तर जनताका लागि छैन । जनताका लागि सामान्य सुधारहरू भएका छन् भन्ने जबाफ आउँछ तर जनतालाई चाहिएको जनताकै समृद्धि,, शान्ति, समानता र स्वाधीनता हो । यसका लागि नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाबाट जस्तोसुकै रङरोगन लगाएका पार्टी र व्यक्ति परिवर्तन गरेर मात्र जनताको सुख–सुविधा, शान्ति–समृद्धि हुँदैन । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद प्राप्त गर्न एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र सुखी नेपाली, समृद्ध नेपाल र स्वाधीन राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने मार्ग तयार गरेको छ । संसदीय व्यवस्थाको ध्वंश र वैज्ञानिक समाजवादको निर्माण, शान्ति, समृद्धि, समानता र स्वाधीनता निर्माणका लागि जनक्रान्तिको बाटोमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई २०७५ फागुन २८ गतेदेखि प्रचण्ड–केपी वली कम्पनी सरकारले प्रतिबन्ध लगाएको छ । यससम्बन्धमा जानकारी दिने यो आलेखको उद्देश्य रहेकोे छ ।

२. गत २०७५ फागुन २८ गते यो सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । अहिले हाम्रो पार्टीमाथि प्रतिबन्ध लागेको पनि दुई वर्ष लागिसकेको छ । उनीहरूले प्रतिबन्धको एक महिनामै सिध्याउँछौँ भनेर घोषणा पनि गरे तर यो एक वर्षमा आउँदा हाम्रो पार्टी अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित मात्र बनेन, देशको एक मात्र वैकल्पिक पार्टीका रूपमा स्थापित भएको छ । जनताको दृष्टिमा एक जनप्रिय पार्टी पनि बन्न सफल भएको छ । यसका साथै देश र जनताका पक्षमा बोल्ने र लड्ने यही पार्टी हो भन्ने पनि स्थापित भएको छ । यति हुँदाहुँदै पनि किन हाम्रो पार्टीमाथि यिनले प्रतिबन्ध लगाउने धृष्टता गरे त ? यस विषयमा निम्न पाँच कारणहरूका बारेमा सङ्क्षिप्तमा चर्चा गर्न चाहन्छु :

क) माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रोसँग पकड्नु

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक/निर्देशक सिद्धान्तलाई आत्मसात गरेको छ । माक्र्सवादको सार्वभौम नियमलाई नेपालको विशेषता, मौलिकता, सिर्जनशीलतालाई विकसित र संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढेको छ । हाम्रो पार्टी जड पनि छैन । सिर्जनशीलताका नाममा संसदीय आचरणमा पतन र आत्मसमर्पण पनि गरेको छैन । माक्र्सवादी विज्ञान भनेको सिर्जनशीलताको बखान गर्ने र माक्र्सवादकै जरा काट्ने, आत्मसमर्पण गर्ने, संसदीय व्यवस्थाको रक्षाका लागि सक्रिय सहभागी हुने विज्ञान होइन, बरु यो त संशोधनवादी, दलाल, कायरहरूका कामहरूलाई माक्र्सवादको कसीमा हालेर राष्ट्रविरोधी, जनविरोधी र कम्युनिस्टविरोधी ‘मुर्दार’ हरूको पहिचान र परिचित बनाउने विज्ञान हो । यसले माक्र्सवादको व्याख्या र संश्लेषणसँगै क्रान्तिकारी कार्ययोजना, कार्यनीति र कार्यक्रमहरूलाई नयाँ ढङ्गले लागू गर्दछ । संशोधनवादले सिर्जनशीलताका नाममा पुँजीवाद लागू गर्छ र दलालीका लागि राष्ट्रको दोहन गर्दै जनतामाथि पुँजीवादी शोषणको अधिनायकत्व लागू गर्दछ । जनतामा जनताको सेवा गर्छु भन्ने भ्रम फिँजाउँछ । दलाल प्रवृत्ति, तस्करी प्रवृत्ति, हेपाहा प्रवृत्ति र म र मेरो पार्टीबिना संसार चल्दैन भन्ने अहमताको प्रदर्शन गर्दछ । यो प्रवृत्तिले समाज बदल्न खोज्ने, जनताको मुक्ति चाहने र संसार बदल्न खोज्ने क्रान्तिकारी सिद्धान्त, मालेमावाद अँगाल्ने असली कम्युनिस्टहरूलाई देखिसहँदैन किनकि माक्र्सवाद भनेको संसार बदल्ने विज्ञान हो । यही मालेमावादी विचार, सिद्धान्तबाट उनीहरू निकै त्रसित, आतङ्कित र भयभीत, छन् । त्यसैकारणले संशोधनवादका विभिन्नखाले भ्रमहरूबाट राष्ट्र र जनतालाई मुक्त गर्न मुक्तिको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने धृष्टता गरेका छन् । यो कुनै अनौठो, अस्वाभाविक र नयाँ कुरा पनि होइन । यो संसारभरिका प्रतिक्रियावादी दलाल सत्ताहरूले गर्दै आएको जानेमानेको नियम हो । नेपालका सन्दर्भमा राणाकालीन, पञ्चायतकालीन, बहुदलवादी संसद्वादी (राजा, काङ्ग्रेस र एमाले) शासकहरूले विगत वर्षको जनयुद्धकालदेखि नै गर्दै आएका छन् । कुनै नयाँ पनि होइन । फरक यति मात्र हो– विगतमा प्रतिबन्ध लगाउने सरकारहरू प्रतिक्रियावादीका रूपमा थिए भने अहिलेको सरकार आफैँ राष्ट्रघात गर्ने र कम्युनिस्ट खोल ओढेका छन्, फरक यत्ति हो । यो कुरा सत्य हो– प्रचण्ड–केपीहरूले कथित कम्युनिस्ट र माक्र्सवादलाई हल्का र छिपछिपे ढङ्गले पकडे, संशोधनवाद र बर्नस्टिनवादलाई दह्रोसँग पकडे । त्यसकारण उनीहरू संसद्वाद र साम्राज्यवादको घोर दलालमा परिणत हुन पुगे । हाम्रो पार्टी जनप्रिय भएको र जनताका पक्षमा दरिलोसँग उभिएका कारण र माक्र्सवादलाई दह्रोसँग पकडेका कारण जनतामा जान नदिन र जनता सचेत नहोऊन् भन्ने र यो सरकारका बदमासीहरूको उजागर र भन्डाफोर हुने डरले यो प्रतिबन्ध लगाउन पुगेका हुन् । यो भनेको कम्युनिस्ट खोलभित्रबाट भएको जनविरोधी र क्रान्तिविरोधी क्रियाकलाप हो । यो राष्ट्रिय स्वाधीनता, जनताको सार्वभौमिकता र कम्युनिस्ट सिद्धान्तमाथिको प्रतिबन्ध हो । तर कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ भनेझैँ उनीहरू प्रतिबन्धको हल्ला गरिरहेकै छन् र एकीकृत जनक्रान्ति हात्तीझैँ लम्कँदै निरन्तर परिवर्तनको दिशामा अगाडि बढिरहेको छ ।

ख) वर्गीय पक्षधरतालाई दह्रोसँग पकड्नु

नेपाल कम्युनिस्ट पार्टी मालेमावादको अनुयायी हुनुको कारण नेपालको सार्वभौमिकता, स्वाधीनता र उत्पीडित वर्गका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको अजेय शक्ति हो । संशोधनवादकोे जन्मदाता बर्नस्टिनको गर्भबाट जन्मिएको नेपाली संशोधनवाद तथा सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउनुको दोस्रो कारण हाम्रो पार्टीले सर्वहारा वर्गीय पक्षधरतालाई दह्रोसँग पकड्नु रहेको छ । जब जनयुद्ध तथा झापा आन्दोलनका नेता भनाउँदाहरू सर्वहारा वर्गीय सिद्धान्तबाट चिप्लिए, पुँजीवादी (दलाल पुँजीवादी) बुर्जुवा वर्गको बाटो तताए र प्रतिक्रियावादी संसद्वादी राज्यसत्तालाई अँगालो मार्न पुगे तब विरोधी वर्गमाथि प्रतिबन्ध लगाउन पुगे । यो पनि अस्वाभाविक होइन किनकि माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएको छ, ‘जुन हतियारद्वारा बुर्जुवा वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो अहिले बुर्जुवा वर्गका विरुद्ध मोडिएको छ ।’ आज केपी–प्रचण्डहरूले हिजो झापा विद्रोह र जनयुद्धमा जुन हतियार उठाए, आज उनीहरू बुर्जुवा वर्गको प्रतिनिधिको रूपमा सामाजिक दलाल पुँजीवादी वर्गमा पतन भएर सत्तासीन बन्न पुगेपछि त्यही हतियार आज उनीहरूका विरुद्ध मोडिएको छ । माक्र्स–एङ्गेल्स अझ अगाडि लेख्नुहुन्छ, ‘किन्तु बुर्जुवा वर्गले त्यस्तो साधनको मात्रै निर्माण गरेको होइन जसले उसको अन्त्य गर्नेछ । उसले त्यस्ता मानिसहरू पनि उत्पन्न गरेको छ जसले उसका विरुद्ध यस हतियारको प्रयोग गर्नेछन् । ती हुन्– आजका मजदुरहरू, सर्वहाराहरू ।
–(माक्र्स–एङ्गेल्स सङ्कलित रचना भाग १, घोषणापत्र खण्ड, नेपाली अनुवाद पेज ५५)

निश्चय नै आज यो बुर्जुवा वर्गमा दर्ता भएको सामाजिक दलाल पुँजीपति वर्गले आफ्नाविरुद्ध मात्र हतियार चलाउने मान्छे जन्माएका छैनन्, बरु सिङ्गो राज्यसत्ताका विरुद्ध हतियार उठाउने वर्ग पैदा गरेका छन् । यो वर्ग भनेको आजको सर्वहारा वर्ग अर्थात् आजको श्रमिक वर्ग हो । यसको नेतृत्व हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ । त्यसैकारण उनीहरूले हाम्रो पार्टी र नेपाली जनताको स्वतन्त्रताको चाहना र मुक्तिको मार्गलाई अवरुद्ध गर्न यो प्रतिबन्ध लगाएका हुन् । खुसीको कुरा के छ भने यो प्रतिबन्धले उनीहरूका विरुद्ध र उनीहरूको राज्यसत्ताका विरुद्ध हतियार उठाउने वर्ग र वर्ग पक्षधरतालाई जन्म दिएको छ ।

दलाल प्रथाको अन्त्य गर, राष्ट्रघाती सम्झौता नगर । दासत्व नस्वीकार र सहयोग नलेऊ । जनतामाथि युद्ध नथोपर, महँगी र चर्को कर असुलेर ऐसआराम नगर । यो सामाजिक दलाल राज्यसत्ताको अन्त्य गर, वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर भनेर नेपाल राष्ट्र र नेपाली जनतालाई आह्वान गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनुको कारण वर्गीय पक्षधरताबाट र जनताबाट च्यूत भएका ती दलालहरूको आतङ्कित र कमजोर मानसिकताको उपज हो ।

ग) वास्तविक कम्युनिस्टको पहिचान दिनु

नेपाली जनताले अहिलेसम्म कम्युनिस्ट नेतृत्वको वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा लामो समयदेखि लगानी गर्दै आएका छन् । बलिदान, त्याग र तपस्या गरेका छन् तर ७० वर्ष उमेर पुगेको कम्युनिस्ट पार्टीलाई बचाइराख्न र नेपाली जनताको जनवाद ‘वैज्ञानिक समाजवाद’ को अपेक्षालाई नेतृत्वबाटै पटकपटक विश्वासघात, जनघात र वर्गीय आत्मसमर्पण गर्दै आएको इतिहास साक्षी छ । तर नेपाली जनता महान् छन् । नेपाली जनताले जहिले पनि क्रान्ति र परिवर्तनलाई साथ दिँदै आएको इतिहास पनि छ र अहिले पनि नेपाली जनता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिका पक्षमा आशावादी छन् । हाम्रो पार्टीले २०७१ सालको चर्चित धरान बैठकमा केही महत्वपूर्ण सङ्गठनात्मक निर्णयहरू गरेको थियो । त्यसको पहिलो विषय कम्युनिस्ट पार्टीको निर्माण गर्ने प्रश्न थियो । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी पटकपटक पुनर्गठन भयो तर नेताहरू कम्युनिस्ट हुन सकेनन् । अहिलेसम्म नेताहरू धेरै फेरिए र सङ्घर्षहरू पनि भए तर मुख्य नेतृत्व कम्युनिस्ट हुन नसक्नुकै कारण जनताले धोका खाँदै आए । इतिहासको त्यो कमीलाई सच्याउँदै साँच्चैको वास्तविक कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रतिबद्धतासहित हाम्रो पार्टी अगाडि बढेपछि यसबाट अत्तालिएका प्रचण्ड–केपीहरू कथित कम्युनिस्टको भ्रम दिँदै हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउन पुगे ।

थोरै इतिहासतिर फर्कंदा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट चुनिएका महासचिव मनमोहन अधिकारीबाट बर्नस्टिनपन्थको जन्म हुन्छ । २०२८ सालको झापा विद्रोहबाट एउटा नयाँ क्रान्तिको उद्घोष हुन्छ तर विडम्बना ! विद्रोह सफल हुन पाएन । पञ्चायती व्यवस्थाले घोर दमन गर्यो । यो असफलताले नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को सुधारवाद जन्मायो । यसले सिर्जनशीलताका नाममा माक्र्सवादको कुरा गर्ने, कम्युनिस्टको आवरणमा जनता झुक्याउनका लागि चुनावबाट दुई तिहाइ बहुमत ल्याई जनवाद ल्याउने जनताको ‘बहुदलीय जनवाद’ को कार्यदिशाको भ्रम दियो । अर्कोतर्फ नौलो जनवादको कार्यदिशा हुँदै २०४६ सालको जनआन्दोलनपछि नेकपा (माओवादी) को नेतृत्वमा आन्दोलन र सङ्घर्ष गर्दै २०५२ फागुन १ गतेबाट जनयुद्धको सुरुआत भयो । दस वर्षसम्म सञ्चालित जनयुद्धले ८० प्रतिशत भूभाग जनताको अधीनमा ल्याउन र तीव्र राजनीतिक हस्तक्षेप गर्न सफल भए पनि जनयुद्धको मुख्य नेतृत्व प्रचण्ड भनिने छविलाल दहालले कम्युनिस्टको छवि बिगारेर साम्राज्यवादसामु आत्मसमर्पण, राष्ट्रिय आत्मसमर्पण र मालेमावादको परित्याग गरेर शान्तिपूर्ण रूपले संविधानसभाबाट जनवाद ल्याउने भ्रम दिँदै चुनावी कार्यदिशा लिन पुगे । मुख्य नेतृत्वले जनयुद्धको बिट मार्न नसकेर बीच बाटोबाट जनयुद्धका सबै एजेन्डा छोडेर भाग्दा नेपाली जनतालाई कस्तो भयो होला ? सफलताको नजिक पुगेको जनयुद्धको एजेन्डा, हजारौँ सहिदहरूको लक्ष्य र जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जनताको अपेक्षालाई लत्याउँदै ठगिखाने वर्गसँग प्रचण्ड हिमचिम गर्न पुगे । यसरी झापा विद्रोहबाट जन्मिएको सुधारवाद र जनयुद्धबाट जन्मिएको विचलनवादी आत्मसमर्पणवादी अवसरवादको गठजोडमा नेपालमा कथित कम्युनिस्ट सत्ताको भ्रम दिन उनीहरूले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाए । उनीहरूले डबल कम्युनिस्ट पार्टीको नामबाट, कम्युनिस्ट सत्ताको नामबाट, नेपालमा जनवाद आएको र कथित समाजवादउन्मुख राजनीतिक कार्यक्रम अगाडि सारेर नेपाली जनतालाई भ्रम दिने माात्र गरेका छैनन्, कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादकै बदनाम गरिरहेका छन् । हिजो एमालेलाई सुधारवादी, प्रतिक्रियावादी भनेर गाली गर्ने, भन्डाफोर गर्ने प्रचण्ड उनै बर्नस्टिनपन्थीहरूको पुच्छर बनेर एमालेकरण हुन पुगेको इतिहास पनि बडो ढोङ्गी र पाखण्डी छ । आज कम्युनिस्टको खोलभित्रबाट हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउनुको कारण वास्तविक कम्युनिस्ट हुनु नै हो । तर यो प्रस्ट छ– यो उनीहरूको ‘मुतको तातो’ बाट न्यानो लिनुभन्दा अरू केही हुनेछैन ।

घ) वैज्ञानिक समाजवादलाई आत्मसात गर्नु

केपी–प्रचण्डको दलाल सरकारले आफ्नो दलाल सत्तालाई कथित समाजवादउन्मुख व्यवस्था भनेर प्रचार गरेको छ जब कि समाजवादउन्मुख भन्ने समाजवाद नै हुँदैन । यस्ता समाजवादलाई माक्र्स–एङ्गेल्सले प्रतिक्रियावादी समाजवादको संज्ञा दिनुभएको छ । यसै सन्दर्भमा उहाँहरूले आफ्नो रचनामा भन्नुभएको छ–

‘सामन्ती समाजवादको उत्पत्ति यसप्रकारले भयो– केही विलापको गीत त केही हास्यव्यङ्ग्य, केही अतीतको संस्मरण त केही भविष्यको सङ्कटप्रति सङ्केत– यिनै थिए त्यसका तत्वहरू । कहिलेकहीँ आफ्नो तीतो व्यङ्ग्यपूर्ण र तीक्ष्ण आलोचनाद्वारा ऊ बुर्जुवा वर्गको मर्मस्थलमा तीव्र चोट पुर्याउन पनि सफल हुन्थ्यो तर यसको असर सधैँ नै हास्यास्पद हुन्थ्यो किनभने आधुनिक इतिहासको गतिलाई बुझ्न ऊ पूर्णतः असमर्थ थियो । जनतालाई आफ्ना पक्षमा ल्याउन अभिजात वर्गले सर्वहारा वर्गको मगन्ते झोलालाई आफ्नो झन्डा बनायो तर जनता जति उसको पछि लाग्यो त्यतिपल्ट नै उसले त्यसको ‘पुत्था’ मा त्यही पुरानो सामन्ती निशानाको छाप देख्यो र जनताले तिरस्कारपूर्ण अट्टाहससहित उसको परित्याग गर्यो ।’
–(माक्र्स–एङ्गेल्स सङ्कलित रचना, नेपाली अनुवाद, घोषणापत्र खण्ड, पेज ७२)

केपी–प्रचण्डहरूको कथित समाजवादको जबाफ आजभन्दा १७० वर्षभन्दा अगाडि माक्र्स–एङ्गेल्सले सानदार ढङ्गले दिनुभएको छ । जनताका सामु उनीहरू राम्रो प्रहसनका पात्रका रूपमा खडा छन् । उनीहरू कहिलेकहीँ विलापको गीत गाउँछन्, कहिले अतीतको संस्मरणबाट झस्किन्छन्, कहिले अट्ठाहसपूर्ण हास्यव्यङ्ग्य गर्छन् । जतिजति सर्वहारा वर्गको झन्डा, नारा र नामलाई आफ्नो मगन्ते झोला बनाएर जनतालाई भ्रम पार्न खोज्छन् जनताले उनीहरूको पुत्थामा उही पुरानो सामन्ती ब्राह्मणवादी छाप देख्छन् र उनीहरूलाई परित्याग गर्दै जान्छन् जसका कारण कहिले उनीहरू आफूलाई असुरक्षित देख्छन्, मृत्यु झलझली देख्छन् । अनि सपना–विपनामा चिच्याउन पुग्छन्– आतङ्ककारी, विध्वंशकारी, धुन्धुकारी । तर यी सब उनीहरू आफ्नो अपराधबाट तर्सिएका मात्र हुन् किनकि उनीहरूले नेपाली जनतालाई धोका दिएका छन् र ढाँटिरहेका छन् । दलाल बुर्जुवा पुँजीवादी सत्तालाई समाजवाद भनेर ढाँटेका छन् । जनयुद्ध भनेर संसदीय व्यवस्थामा पुर्याएका छन् । यसको भन्डाफोर गर्दै वास्तविक साम्यवाद र वैज्ञानिक समाजवादको शिक्षा दिने नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनुको विकल्प देखेनन् । यो नै असली साम्राज्यवादी, पुँजीवादीहरूका नोकरहरूको कर्तव्य हो । हाम्रो पार्र्टीले पहिलो यो दलाल पुँजीवादको पहिचान गरेर जनताका अगाडि वैज्ञानिक समाजवादको राजनीतिक कार्यक्रम पस्केको छ । त्यो आतङ्कका कारण उनीहरू हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेका हुन् । तर यो धु्रवसत्य हो– सत्य छोपेर छोपिँदैन । एक दिन सत्यकै जित हुन्छ । सर्वहारा वर्ग र कम्युनिस्टकै जित हुन्छ र वैज्ञानिक समाजवाद साक्षात् हुनेछ ।

ङ) सामाजिक दलाल पुँजीवादको घोर दलालीकरणको नमुना

भनिन्छ– नयाँ जोगीले बढी खरानी घस्छ रे । बल्लबल्ल माक्र्सवादप्रति घोर गद्दारी गरी साम्राज्यवादी योजनामा सत्तामा पुगेका कथित कम्युनिस्टहरूले सत्ता खोसिन्छ कि भन्ने डरले मालिकलाई खुसी पार्न हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको कुरा स्पष्ट नै छ । यसले दुईटा कुरालाई उजागर र प्रमाणित गर्दछ : पहिलो, हाम्रो पार्टीले सामाजिक दलाल पुँजीवादी भनेर भनेको कुरा प्रमाणित गर्दछ । यो दलालीकरण त्यसैको भद्दा नमुना हो । दोस्रो, यी कम्युनिस्ट होइनन् भन्ने कुरा प्रमाणित गर्दछ किनभने कम्युनिस्टको सरकारले कम्युनिस्टहरूलाई प्रतिबन्ध लगाउने र कम्युनिस्टहरूमाथि दमन र हत्या गर्ने हुन सक्दैन । यसले उनीहरू कथित कम्युनिस्टका नाममा कम्युनिस्टहरूको बदनाम गर्ने र कम्युनिस्टहरूलाई सिध्याउने साम्राज्यवादी रणनीतिलाई भद्दा ढङ्गले प्रयोग गरिरहेका छन् । यी दुई कुरालाई पुष्टि गर्न उनीहरूले वैज्ञानिक समाजवादी कार्यक्रम बिथोल्न र असफल पार्न यो प्रतिबन्ध लगाएका हुन् । यसले उनीहरूको दलाल प्रवृत्तिलाई उजागर गर्दछ । यो उनीहरूका लागि घुँडामा बन्चरो हानेसरह भएको छ ।

यो भद्दा दलालीकरणलाई ढाकछोप गर्न उनीहरूले विकास र समृद्धिको नारा दिएका छन् । कथित समाजवादउन्मुख व्यवस्थाको भ्रम दिएका छन् । विकासको नाउँमा विदेशी ऋण सहयोग, रेमिट्यान्स र चर्को कर लगाएर बजेट निर्माण गरिरहेका छन् । यी नै दलाल सरकारको बजेटका मुख्य स्रोतहरू हुन् । बजेटको स्रोत र वितरण आत्मनिर्भर छैन । परनिर्भर बजेटले देश स्वाधीन राष्ट्र बन्नबाट बन्धित र बन्धक बनेको छ । बजेटको वितरणलाई हेर्दा चालू बजेटभन्दा पुँजीगत बजेट निकै थोरै देखिन्छ । उनीहरू जहिले पनि घाटा बजेट प्रस्तुत गरिरहेका छन् । चालू बजेटको भार हेर्दा नेपाल र नेपाली जनताले थेग्नै नसक्ने गरी बढाइएको छ । यो बजेटबाट मन्त्रीमण्डल, प्रतिनिधिसभा, राष्ट्रिय सभा, सैन्य विभाग र प्रहरी विभाग, कर्मचारीहरू र केन्द्रदेखि स्थानीय तहसम्मका कथित प्रतिनिधिहरू पालिन्छन् वा तलबभत्ता वितरण गरिन्छ । यसका लागि केन्द्रीय संसद्देखि स्थानीय तहसम्मका सत्ताका अङ्गहरूमा व्यवस्थापिका, कार्यपालिकालगायत सबै तहका पालिकाहरूमा जनताको सेवाका नाममा भ्रष्टाचार गर्नेहरूको तँछाड–मछाड छ । भागबन्डा र लूटतन्त्रले पञ्चायतलाई उछिनेको छ । देश लुट्न पञ्चायतकालीन राष्ट्रिय पञ्चायत र संसदीय विधायक सङ्ख्या दोब्बर बढाइएको छ । जनता र देश कङ्गाल बनाउन, देशको स्रोतसाधनको दोहन गर्न कम्युनिस्ट पार्टीको सरकार भएको वाहियात बखान गरिरहेका छन् । यो घोर दलालीको नमुना हो । जनता लुट्नका लागि मन्त्रीमण्डल र प्रतिनिधिसभाको सङ्ख्या बढाउँछन् । देशले धान्नै नसक्ने गरी सेना–प्रहरीको सङ्ख्या बढाउँछन् । दमन र लूट मच्चाउँछन् । देशलाई कसाईखानामा परिणत गर्छन् । आपूmहरू साम्राज्यवादसामु भिक मागेर देशका महारथी बन्छन् । यसलाई उनीहरू ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिन्छन् । वास्तवमा ठीक यसको उल्टो देश ‘कङ्गाल नेपाल र दुःखी नेपाली’ बनाइरहेका छन् । उनीहरू संविधानमा जो लेख्छन् त्यो गर्दैनन् र जो संविधानमै उल्लेख छैन त्यो गर्छन् । उनीहरू जे बोल्छन् त्यो गर्दैनन् । जे लेख्दैनन् र बोल्दैनन् त्यही काम गरिहेका छन् । जनताबाट चर्को कर उठाउने एनसेल कम्पनीले कर नतिरेको विषयमा सरकार बोल्दैन । उल्टो व्यक्तिले अर्बौं घूस खाएर पचासौँ अर्ब कर मिनाहाको घोषणा गर्दछन् । त्यही एनसेल कम्पनीलाई बक्यौता कर असुल गर, जनतालाई गरिब बनाउने गरी कर नउठाऊ भनी आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि दमन र प्रतिबन्ध लगाइन्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचिँदा सरकार चुपचाप छ । निर्मला पन्तजस्ता हजारौँ चेलीहरूको बलात्कार गरी हत्या गरिँदा सरकार चुप छ, बोल्दैन । वाइडबडी जहाजकाण्ड, सुनकाण्ड, एमसीसी, अपर कर्णाली, अरुण तेस्रो, उच्च कोसी बाँधजस्ता राष्ट्रघाती परियोजनाहरूबारे सरकारमा आसीन पक्ष, प्रतिपक्षका नेताहरूले अर्बौं घूस र कमिसन खाएर नेपाललाई विदेशीहरूको क्रीडास्थल बनाइरहेको बारे सरकार कि त चुप छ कि त पास गर्न मरिमेटी लागिरहेको छ । यसलाई के भन्ने ?

अतः यसलाई घोर दलालीकरण मात्र नभनेर यो गम्भीर देशद्रोही कार्य पनि हो । त्यसैले यी देशद्रोहीहरूलाई एक मिनेट पनि यो देशमा शासक त के सामान्य नागरिक भएर बस्नेसम्मको अधिकार छैन । यो सम्पूर्ण स्वाभिमान नेपाली जनताले बुझ्नुपर्ने गम्भीर विषय बनेको छ ।

अन्त्यमा प्रतिबन्ध जनताका पक्षमा ज्यानको बाजी लाएर लडिरहेको नेकपामाथि होइन, प्रतिबन्ध सरकारमा बसेर देशद्रोही काम गरिरहेका दलालहरूलाई गर्नुपर्ने छ । एक दिन जनताले यो प्रतिबन्ध लगाइछाड्नेछन् । त्यो एक दिन अवश्य आउनेछ ।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :