स्वास्थ्यमन्त्री ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल कारबाही गर : अखिल क्रान्तिकारी

‘दुई महिनाको शुल्क र दुई महिनाको घरभाडा छूट गर’


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले कोरोना सङ्क्रमणविरुद्ध स्वास्थ्य सामग्री खरिदप्रक्रियामा भ्रष्टाचारमा संलग्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको छ । सङ्ठनका अध्यक्ष चिरञ्जीवी ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना सङ्क्रमणको त्रास र लकडाउनको अवस्थाका कारण सबै निजी तथा सरकारी स्कुल–क्याम्पसहरूले चैत र वैशाख दुई महिनाको शुल्क विद्यार्थीहरूलाई फिर्ता, समायोजन वा लिन नपाउने गर्न र कोठामा बस्ने विद्यार्थीलाई दुई महिनाको घरभाडा मिनाहाको व्यवस्था गर्न पनि माग गरेको छ ।

ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरि नै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (COVID- 19) नेपालमा पनि धेरै ठूलो जोखिमका रूपमा देखा परिरहेको छ । हाल नेपालमा केपी वली सरकारका तर्फबाट बन्दाबन्दी (Lockdown) बाहेक यस महामारीसँग लड्न कुनै प्रकारको प्रभावकारी कदम चालिएको छैन । जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अझैसम्म भरपर्दो सुरक्षा सामग्री उपलब्ध गराइएको छैन । एकातिर कोरोनाको महामारीले जनता त्रासदीमा छन् भने अर्कोतिर दलालहरूको वली सरकारका मन्त्रीहरूले एकपछि अर्को भ्रष्टाचारको महामारी मच्चाइरहेका छन् जसले सिङ्गो राष्ट्र र जनताको नुर गिरेको छ ।’

विज्ञप्तिमा सङ्गठनले कम्युनिस्टको खोल ओढेर सच्चा कम्युनिस्टहरूलाई तीव्र दमन गर्नमा उत्रिएको फासिवादी वली सरकारलाई विभिन्न नौ विषयमा गम्भीरताका साथ सम्बोधन गर्न जोडदार माग गरेको छ । सङ्गठनले सम्बोधन गर्न माग गरेका नौ विषय यसप्रकार रहेका छन् :

(१) हालै स्वास्थ्य सामग्री खरिदप्रक्रियामा भ्रष्टाचारमा संलग्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सल्लाहकारलगायत भ्रष्टहरूलाई तत्काल निलम्बन गरी कारबाही गरियोस् ।
(२) कोरोना सङ्क्रमणको त्रास र बन्दाबन्दी (Lockdown) को अवस्थाका कारण सबै निजी तथा सरकारी स्कुल–क्याम्पसहरूले चैत र वैशाख दुई महिना (सेमेस्टर भए सोसरह) को शुल्क विद्यार्थीहरूलाई फिर्ता वा समायोजन वा लिन नपाउने र कोठा भाडामा लिई बस्ने विद्यार्थीलाई दुई महिनाको घरभाडा मिनाहाको व्यवस्था गरियोस् ।
(३) अस्ट्रेलिया, अमेरिका, भारत, बङ्गलादेश, जापानलगायत देशहरूमा समस्यामा रहेका नेपाली विद्यार्थी र नागरिकहरूलाई तत्काल ल्याई क्वारेन्टाइनमा राखी घर पठाउने व्यवस्था गरियोस् ।
(४) नेपाल–भारत सिमानामा अलपत्र परेका नेपाली नागरिकहरूलाई तत्काल देशभित्र ल्याई क्वारेन्टाइनमा राखी घर पठाउने व्यवस्था गरियोस् ।
(५) दैनिक ज्यालादारी र श्रममा निर्भर गरिब, मजदुर, किसान, सुकुमबासीलगायतका लागि तत्काल राहत प्याकेज घोषणा गरी कार्यान्वयन गरियोस् ।
(६) राष्ट्र र जनतालाई सङ्कट परेको वर्तमान अवस्थामा बिरामीहरूको उपचार नगर्ने निजी अस्पतालका सञ्चालकहरूलाई जेल हालियोस् साथै त्यस्ता अस्पतालहरूको सम्बन्धन खारेज गरी राष्ट्रियकरण गरियोस् ।
(७) राजनीतिक विचार र आस्थाका आधारमा गैरकानुनी ढङ्गले हिरासत र जेलमा राखिएका सम्पूर्ण आस्थाका बन्दीहरूलाई तत्काल रिहा गरियोस् ।
(८) लोकतन्त्रको हवाला दिइरहेको वली सरकारका केही लठैतहरूले बालुवाटारबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने, पत्रकारहरूलाई धम्क्याउने, अनलाइनहरू ह्याक गर्ने र बन्द गर्ने, राज्यका सूचनाहरू ह्याक गर्नेलगायत अपराधहरू गरिरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई तत्काल कारबाही गरियोस् ।
(९) औषधी, रगत, खाद्यान्न, ग्याँस, पेट्रोल, पानीलगायत अत्यावश्यक सामग्रीहरूको सहज आपूर्तिको व्यवस्था गरियोस् ।
विज्ञप्तिमा अध्यक्ष ढकालले आफू सुरक्षित रहँदै कोरोना भाइरसका कारण समस्यामा परेका हरेक देशबासीको सेवामा समर्पित भएर लाग्न सम्पूर्ण मातहतका समितिहरूलाई निर्देशन पनि गरेका छन् । विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :