चुनावमा पैसा र रक्सी बाँड्ने तर जनता समस्यामा पर्दा भ्रष्टाचार गर्नेहरूमाथि मौकामा कारबाही हुन्छ : जनसरकार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीअन्तर्गत सेती–महाकाली स्वायत्त जनपरिषद्, जिल्ला जनपरिषद् अछामले प्रेस विज्ञप्ति जारी गरी कथित चुनावहरूमा पैसा र रक्सी लिएर आउने तर कोरोना सन्त्रासको समयमा भ्रष्टाचार गर्नेहरूलाई समय आएपछि कारबाही गर्ने चेतावनी दिएको छ । परिषद्का प्रमुख निरक शाहीले विज्ञप्ति जारी गर्दै सातबुँदे ध्यानाकर्षणपत्रमार्फत सम्बन्धित निकायलाई जनसेवामा लाग्न सुझाव पनि दिएका छन् ।

अछाम जनपरिषद् प्रमुख निरकले जरी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व यतिबेला कोरोना महामारीको प्रकोपले असाध्यै थलापरेको छ । पुँजीवादी विश्व–व्यवस्थासमेतले घुँडा टेकेको छ र सबैतिर श्रमजीवी वर्गले समाजवादी व्यवस्था र सत्ताको आवश्यकता अनुभूति गरिरहेका छन् । अहिले विश्वभरि नै लकडाउनको अवस्था छ र नेपालमा पनि लकडाउनको समयावधि चलिरहेको छ । विडम्बना ! यस्तो अवस्थामा समेत नेपाल सरकारका सम्बन्धित जिम्मेवारी पाएका मन्त्रीहरूदेखि तल्लो तहसम्मका जनप्रतिनिधिहरू जो चुनावताका करोडौँ रकम खर्च गर्ने, नगद वितरण गर्ने, टिसर्ट वितरण गर्ने, युवाहरूलाई जाँडरक्सी खुवाउने तर अहिले आएर स्वास्थ्य सामग्री खरिदलगायत विभिन्न राहत वितरणका नाममा घूस खाने, कमिसन बचाउने, भ्रष्टाचार गर्ने र निजी सम्पत्ति जोड्ने ध्याउन्नमा मरिमेटी लागिपरेका छन् ।’

जिल्ला जनसरकारले जारी गरेको विज्ञप्तिमा निम्नविषयमा सम्बन्धित निकायको ध्यानाकर्षणसहित सचेत गराइएको छ : 

१) विदेश र छिमेकी मुलुक भारतबाट आएका दाजुभाइ–दिदीबहिनीहरूको लगत सङ्कलन गरी सबैको स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछौँ ।
२) सबै तहका स्थानीय निकायहरूसम्म क्वारेन्टाइनको व्यवस्था गरी भारतबाट आएका नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनुपर्ने ।
३) सबै स्वास्थ्य संस्थाहरूमा आइसोलेसन वार्ड तयार गर्ने, आवश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्था गर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई सङ्क्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने ।
४) स्थानीय तहमा भैरहेको राहत वितरण आवश्यकताको ठीक पहिचान गरी वितरण गर्न आग्रह गर्दछौँ ।
५) अछाम जिल्ला पनि उच्च जोखिममा रहेको हुँदा कोरोना रोगको परीक्षणका लागि जिल्ला अस्पताल वा बयलपाटा अस्पतालमध्ये एक ठाउँमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।
६) लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मजदुरहरूको जीवन कष्टकर बन्दै गएकाले अति विपन्न समुदायहरूलाई दैनिक उपभोग्य वस्तु र कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा राज्य पक्षले उचित व्यवस्था गर्नेतिर ध्यान दिनुपर्छ ।
७) यस्तो सङ्कटको घडीमा समेत गाउँ–बस्तीहरूमा जाँडरक्सी बेचबिखन गर्ने, कालोबजारी र कृत्रिम अभाव उत्पन्न गर्ने दोषीहरूलाई छानबिन गरी उचित समयमा जनकारबाही गर्ने चेतावनी दिन चाहन्छौँ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :