कोरोना महामारीको सन्देश

मानव सर्वोच्चतामाथि हाँक दिँदै कोरोना भाइरसले यतिबेला मानव विश्वमाथि एकछत्र आतङ्क मच्चाइरहेको छ । कोरोनाको एकतर्फी युद्धउन्मादबाट विश्व महाशक्ति राष्ट्रहरूनतमस्तक बनिरहेको बेला कमजोर देशहरूको गणना हुने कुरै छैन । कोरोना आतङ्कबाट पैदा भएको चित्कारले यतिबेला विश्व स्तब्ध बनेको छ । संसारभरिका मानिसहरूको जीवनचर्या नै जबर्जस्ती फेरिएको छ । कोरोनाको आतङ्क रोक्न विविध रक्षात्मक उपायहरू लगाइए पनि कोरोनाको भयानक आक्रमण निरन्तर जारी छ । मानिसले मानिसमाथि युद्ध गर्न निर्मित महाशक्तिशाली आणविक अस्त्रहरू यतिबेला कोरोनाविरुद्ध निष्काम भएका छन् । प्राविधिक चमत्कारको निकै ठूलो उचाइमा पुगेको मानवका लागि उसको श्रेष्ठतामाथि नराम्ररी धक्का लागेको छ । कुनै एक देश, एक जाति, एक धर्म सम्प्रदाय वा वर्गविशेष नभएर सिङ्गो मानव जातिका विरुद्धको यो एकतर्फी युद्धमा हालसम्म संसारभर ६० हजारभन्दा माथिको ज्यान गइसकेको छ । लाखौँ सङ्क्रमणको कस्टडी झेलिरहेका छन् । अर्बौं मानिसहरूलाई कोरोनाले घरघरमा र कोठाकोठामा बन्दी बनाइदिएको छ । ‘लकडाउन’ अर्थात् आफूले आफैँलाई गरिएको तालाबन्दीको तरिकाले मानिसहरू कोरोनाविरुद्ध प्रतिरक्षाको युद्ध लडिरहेका छन् । यो लकडाउन कति दिनसम्म टिकाउन सकिने हो ? यो निकै कठिन कार्य भइरहेको छ । दिन–प्रतिदिन फैलिँदो सङ्क्रमणले भयावह रूप लिइरहेको छ । यसको उद्गम थलो भनिएको वुहान र चीनमा भने सङ्क्रमण घटेको समाचारले संसारलाई थोरै भए पनि सहानुभूति प्रदान गरेको छ ।

हुनत मानवजातिको उत्पत्तिपूर्वदेखि नै प्राणीजगत्का विरुद्ध यसखाले महाविनाशका घटनाहरू बेलाबखत हुँदै आइरहेका देखिन्छन् । कुनै बेला त्यो अतिवृष्टि, अनावृष्टि, महाहिमपात, महाभूकम्प, सुनामी तथा बेलाबखतमा प्रकट हुने ज्यानमारा भाइरस र ब्याक्टेरियाहरूको महामारी बनेर प्रकट हुने गरेका तथ्यहरू आजको मानवका लागि अनौठा घटना भने होइनन् । यो तमाम कुराको जानकारी हुँदाहुँदै पनि वर्तमान विश्वका लागि चुनौतीपूर्ण कुरा के हो भने आफूलाई प्रविधि र चेतनाका दृष्टिले सर्वोच्च प्राणी ठान्ने मानवजाति र त्यसको पनि ठूलो ठेक्का लिएका महाशक्तिहरू कोरोनासमक्ष अति कमजोर र निरीह बनेका छन् । उनीहरूको घमण्ड चुरचुर भएको छ । यो निरीहताले उनीहरूको चिन्तन दृष्टि र शासन प्रणालीको समेत टिठलाग्दो र उदेकलाग्दो अवस्थालाई उजागर गरिदिएको छ ।

कोरोना आक्रमणले विश्वभरिकै अर्थतन्त्र तहसनहस हुने स्थितिमा छ । संसारभरको राजनीतिले यतिबेला जाम खाएको छ । सैनिक प्रभुत्वहरू तेजोबध भएका छन् । आखिर प्रकृतिसामु मानवीय क्रियाकलाप अझ भनौँ अनावश्यक चुरीफुरी लाखको एक अंश पनि होइन भन्ने प्रमाणित भयो । यो महासङ्कटको बेला कुनै पनि व्यक्ति वा राष्ट्रले अरूमाथि दोष थोपरेर आफू उन्मुक्त हुने प्रयास आकाशतिर मुख फर्काएर थुक्नुजस्तै हो, बरु यो महासङ्कटले मानवजातिलाई आगामी दिनमा हुनसक्ने यस्तै अरू सङ्कटसँग जुध्न ठूलो शिक्षा प्रदान गरेको छ । यो कुरालाई गम्भीरताका साथ आत्मसात गर्दै कोरोनाविरुद्धको युद्धमा आफूलाई होम्नु प्रत्येक राष्ट्र र हरमानवको कर्तव्य बन्न गएको छ ।

१) पर्यावरणीय सुरक्षा

पृथ्वीको तापमानमा निरन्तर भइरहेको फेरबदलले यसको वातावरण र भौगोलिक संरचनामा समेत केही लाख र हजार वर्षहरूमा ठूला उथलपुथलहरू आउने गर्दछन् । ती उथलपुथलहरू प्राणीजगत्का लागि प्राकृतिक प्रकोप तथा जैविक र वातावरणीय चुनौतीका रूपमा समेत व्यक्त हुने गर्दछन् । त्यसलाई झेल्दै आउने क्रममा आजका समस्त प्राणीहरू र त्यसको सर्वोच्च प्रतिनिधि मानवको अस्तित्व कायम रहेको हो । मानिसले प्रकृतिको यो आन्तरिक संरचनामा हुने फेरबदल र त्यसबाट पैदा हुनसक्ने दुर्घटनाहरूलाई रोक्न कदापि सक्दैन, बरु आजको मानवका लागि सम्भव र आवश्यक कुरा भनेको त्यसखाले महासङ्कटको पूर्वानुमान गर्दै त्यसको प्रतिरक्षाको शक्तिशाली तयारी गर्नु हो । विडम्बना, आजको मानव यो जिम्मेवारीभन्दा निकै टाढा छ, बरु उल्टो मानव–क्रियाकलापकै कारण पृथ्वीको तापमानमा अनपेक्षित वृद्धि हुनुले वातावरणीय र जैविक प्रतिकूलताहरू झन् बढिरहेको विज्ञहरूले बेलाबखत बताउदै आएका छन् । चेतावनी दिइरहेका छन् । विज्ञहरूबाट पर्यावरणीय चुनौतीको जोखिमबारे सचेत गराउँदागराउँदै पनि सबैजसो राष्ट्रहरूले यसलाई कम आँकिरहेका छन् वा बेवास्ता गरिरहेका छन् ।

आजको कोरोना मात्र होइन, केही समयअघि देखापरेका इबोला, स्वाइन फ्लु, सार्सजस्ता भाइरस र ब्याक्टेरियाहरूको उत्पत्ति यही पर्यावरणीय चुनौतीकै एउटा परिणाम हो भन्नेमा कुनै विमति हुँदैन । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङ्कटबाट बच्ने अति उत्तम विधि हो ।

२) मानवीय मूल्यको विकास

जबजब मानवजाति विकसित हुँदै अघि बढ्यो मानवीय मूल्यमाथि चुनौतीहरू त्यत्तिकै बढ्दै गएका तथ्यहरू सबैका सामु छर्लङ्ग छन् । हुनत आजको मानव हिजोको झैँ फलामका साङ्लाहरूले बाँधिएको प्रत्यक्ष दास त छैन तर जुन प्रकारको उत्पादनप्रणाली आज संसारमा व्याप्त छ यसले मानवीय मूल्यलाई निरन्तर क्षयीकरणतिर धकेलिरहेको छ । मानिसको निकै ठूलो सङ्ख्या निश्चित पहुँचवाला व्यक्ति र समूहको अप्रत्यक्ष दास बनिरहेको छ । जुन व्यक्ति र समूहसँग उत्पादनका साधनहरूमाथिको ठूलो पहुँच कायम छ उनीहरू स्वतन्त्र र निर्भीक छन् । उत्पादनका साधनहरूबाट वञ्चित निकै ठूलो सङ्ख्या भने अभाव र अपमानबाट पैदा हुने विकार र सन्त्रासको ‘स्वतन्त्रता’ झेलिरहेको छ । आजको मानवीय मूल्य व्यक्ति–सर्वोच्चता (Individual supermacy) को पुँजीवादी सिद्धान्तमा चलिरहेको छ । सक्नेले बाँच्ने, नसक्ने मर्ने यही सिद्धान्तले संसारमा राज गरिरहेको छ । यो सिद्धान्तको केन्द्रस्थलमा रहेको छ– निजत्व । आफ्ना सम्पूर्ण भौतिक र बौद्धिक सम्पत्तिलाई अँठ्याएर राख्नु र तिनको रक्षाका लागि अरूको सम्पत्ति हडप गर्नु, त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार हुनु र उस्तै परे विश्वयुद्धसमेत थोपर्नु यो सिद्धान्तको अनिवार्य विशेषता हो । संसारमा ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई निषेध गर्नु र समाजमा हुनेखानेहरूले गरिब श्रमजीवीहरूलाई निचोर्नु त्यसकै परिणाम हो । यो मानवीय मूल्य समग्र मानवजातिको उन्मुक्त भविष्यका लागि विनाशक साबित भइरहेको छ ।

संसारभरका मानिसहरू कोरोना महासङ्कटमाथि विजय प्राप्त गर्न एक ढिक्का भएर लड्नुपर्ने आजको आवश्यकता त हुँदै हो भोलिको आवश्यकतालाई समेत ध्यानमा राखेर उच्च मानवीय एकता कायम राख्न जरुरी छ । तर त्यो एकताको मुख्य बाधक तत्व त्यही ‘व्यक्ति सर्वोच्चता’ को भाइरस रहेको छ । त्यसले समग्र मानवएकतालाई भताभुङ्ग पारिरहेको छ । देश–देशका बीच, जाति–जातिका बीच, क्षेत्र–क्षेत्रका बीच, धर्म–सम्प्रदाय र लिङ्गका बीचको एकता र सहअस्तित्वलाई ध्वस्त बनाइरहेको छ । आदिम दासत्वको नकारात्मक विरासतका रूपमा बाँचिरहेको आधुनिक दासत्वको यो मूल्यप्रणालीलाई ध्वस्त पारेर नयाँ मानवीय मूल्यको विकास कोरोना महासङ्कटको शिक्षा हो ।

३) नयाँ राजनीतिक प्रणालीको रचना

जसरी आजको मानवीय मूल्यको नेतृत्वदायी स्थानमा व्यक्ति सर्वोच्चताको सिद्धान्त कायम रहेको छ ठीक त्यसैगरी आजको दुनियाँको राजनीतिक प्रणाली निजी पुँजी थुपार्ने होडबाजीमा केन्द्रित रहेको छ । आजको राजनीतिक प्रणालीले पुँजीवादी मुनाफाको अर्थनीतिलाई बलियोसँग समातेको छ । प्रत्येक वस्तुलाई ‘माल’ मा परिणत गर्नु र हरसङ्कटमा नाफाको व्यापार गर्नु उसको नीतिशास्त्र हो । आज एकातिर कोरोनाको आक्रमणले दैनिक हजारौँ मानिसको ज्यान गइरहेको छ भने अर्कोतिर पुँजीवादी व्यापारीहरू सत्ता–राजनीतिको आडमा ठूलाठूला कमिसनको योजना बुनिरहेका छन् । बजारमा सामान्यभन्दा सामान्य वस्तु मास्क र हातमा लगाउने पन्जाको समेत अभाव छ । यही बेला औषधीमुलोको अभाव उत्पन्न गराइएको छ । दैनिक उपभोगका वस्तुहरूको निरन्तर अभाव बढिरहेको छ । उता यही मौकामा निकै नाफा कमाउने उद्देश्यका साथ गुणस्तरहीन सामानको उत्पादन र बिक्रीवितरण भइरहेको छ । बजारमा बढिरहेको कृत्रिम अभाव, मूल्यवृद्धि र अराजकता त्यसकै परिणामहरू हुन् ।

भनिन्छ– जनताका हकहित र अधिकारको रक्षा राजनीतिक प्रणालीको आधारभूत दायित्व हो तर दुनियाँमा व्याप्त पुँजीवादी राजनीतिक प्रणालीले जनताको हकहित र अधिकारलाई व्यापारको वस्तु बनाइरहेको छ । बाहिर सडकमा जनहित र अधिकारको चर्को नारा लगाइन्छ तर अन्तर्यमा भने मुनाफा आर्जनको घटिया व्यवहार रहेको हुन्छ । कोरोना भाइरसका बिरुद्ध पत्तो लाग्ने एन्टीभाइरस पनि प्रतिव्यक्ति हजारौँ डलरका दरले व्यापार हुनसक्ने सम्भावनालाई नकार गर्न सकिँदैन ।

आजको पुँजीवादी राजनीतिक प्रणालीले बाँच्ने अवसर पनि बलिया राष्ट्र र सम्पन्न व्यक्तिहरूलाई मात्र प्रदान गरेको छ । हुनत यतिबेलासम्म बलिया मात्र होइन, अति महाशक्ति राष्ट्रहरूसमेत कोरोनाको उच्च जोखिममा रहेका छन् । त्यहाँ हजारौँ जनताको मृत्यु भइसकेका समाचारहरू प्रसारण भइरहेका छन् तर यत्रो क्षति हुँदाहुँदै पनि कोरोना भाइरसका विरुद्ध प्रयोग गर्न उत्पादन हुनसक्ने एन्टीभाइरस वा कुनै पनि औषधी उनीहरूले नै पत्तो लगाउनेछन् किनकि उनीहरूसँग उच्च प्रविधि र संसारभरका मानिसहरूको पसिना चुसेर थुपारिएको पुँजीको अथाह केन्द्रीकरण रहेको छ । कमजोर मुलुकहरूमा यसखाले पुँजीवादी अझ त दलाल पुँजीवादी राजनीतिक प्रणाली रहँदासम्म आमजनतामाथि पर्ने दर्जनौँ र सयौँ सङ्कटहरू कैयौँ ठूलो सङ्ख्यामा जीवनको बलिदानीबाट मात्र भुक्तानी हुने सर्वविदितै छ तर यिनै कमजोर भनिने देशका प्रधानमन्त्री र मन्त्रीहरू भने कुनै रोगको जोखिममा पर्दा उनीहरू राज्यको लाखौँ ढुकुटी रित्याएर बाँच्न सक्छन् । तर त्योभन्दा कम जोखिमका रोगहरूबाट पीडित उनीहरूकै देशका लाखौँ जनता मरिरहँदा राज्य बेखबर रहन्छ । यसप्रकारको असमान व्यवहार प्रदान गर्ने राजनीतिक प्रणालीको अन्त्य गरेर सम्पूर्ण जनतालाई समान अवसर प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीको रचना गर्नु कोरोना महासङ्कटको शिक्षा हो ।

४) प्रविधिको स्वामित्व समाजमा

आजको विश्व जतिजति उच्च प्रविधियुक्त भइरहेको छ त्यसको डरलाग्दो चुनौती भनेको प्रविधिको स्वामित्व निश्चित व्यक्तिमा केन्द्रित हुँदै जानु हो । प्रविधिमाथिको यो एकाधिकार यसरी निश्चित व्यक्तिमा केन्द्रित हुँदै जाने हो भने भोलिको विश्वले केही निश्चित पहुँचवाला मानिसहरूको गुलामीमा बाँच्नु पर्नेछ । यो खतरनाक सम्भावनालाई आजैका मितिदेखि मनन गर्न जरुरी छ । यही कोरोना भाइरसको विषयलाई लिएर कैयौँले अमेरिका वा चीनले व्यापार युद्धका रूपमा योजनाबद्ध उत्पादन गरेको भाइरस भनेर हल्ला गरिरहेका छन् । यद्यपि यो कुरा साँचो होइन तर विगत विश्वयुद्धमा थुप्रै जैविक हतियारको प्रयोग हुनुले, एक देशका विरुद्ध अर्को देशले अत्यन्त घातक जैविक र आणविक आक्रमण गर्नुले यसको सम्भावनालाई ठाडै इन्कार गर्न भने सकिँदैन । वास्तवमा प्रविधि भनेको केवल युद्ध–प्रविधि मात्र होइन, खाने अन्नको बिउमा समेत आज साम्राज्यवादी मुलुकका निश्चित एकाधिकारी संस्थाहरूको एकछत्र सिन्डिकेट छ । उनीहरूले नचाहेको अवस्थामा वा बदमासी गरेको अवस्थामा अरू प्रयोगकर्ता राष्ट्र वा व्यक्तिहरू त्यसको ठूलो जोखिममा पर्ने मात्र होइन, त्यो नै एक प्रकारको युद्ध हुनेछ र त्यसरी नै कमजोरहरूमाथि प्रभुत्व लादिनेछ ।

एकातिर कोरोनाजस्ता महामारीबाट बच्न मानिसहरूले एकापसमा भौतिक रूपमा नभेटेरै व्यापार गर्नुपर्ने, बैठक र सेमिनारहरू गर्नुपर्ने, ड्रोनहरूमार्फत कामधन्दा गर्नुपर्ने, घातक भाइरस र ब्याक्टेरिया रोक्नसक्ने लुगा–कपडाहरू बनाउनुपर्ने आवश्यकता बढिरहेको छ भने अर्कोतिर त्यसप्रकारको प्रविधिको मूल स्वामित्व समाज अर्थात् राज्यमा छैन । निजी कम्पनीहरू र तिनका मालिकहरू सर्वाधिकार अँठ्याएर ‘ठमठमाट’ बसिरहेका छन् । यो अवस्थामा हरकुनै प्रविधिलाई आमजनताको स्वामित्वमा रहने सामाजिक प्रणालीको स्थापना आगामी मानव अस्तित्वको अनिवार्य सर्त हो ।

५) साना सहरहरूको बस्तीप्रणाली

कोरोना आक्रमणबाट बच्न दुनियाँभर अवलम्बन गरिएको सबैभन्दा व्यावहारिक विधि भनेको एकान्तबास अर्थात् सेल्फ क्वारेन्टाइन रहन गयो । यो ठूलो आत्मरक्षाको रणनीति साबित भयो । साना सहर र गाउँको तुलनामा ठूला सहरहरू बढी जोखिमयुक्त साबित भए । यो कुरा ठूला अन्य प्राकृतिक प्रकोपको हकमा पनि त्यत्तिकै लागू हुने यथार्थ हो । प्रकृतिका विरुद्धको युद्धमा मात्र होइन, मानिसहरू स्वयम्ले लड्नसक्ने आमविनाशकारी आणविक युद्धबाट समेत क्षति कम गर्न साना सहरको बस्तीप्रणाली लागू गर्नु भविष्यको एक अत्यावश्यक सर्त बन्न गएको छ । यद्यपि एक–अर्को सहरबीचको अन्तरसम्बन्धलाई निरन्तरता दिन र सुव्यवस्थित गर्न थप अध्ययन–अनुसन्धान हुनु आवश्यक छ ।

६) स्वास्थ्यमा जनताको पहुँच

हुनत विश्वभर ठूलो सङ्ख्यामा मानिसहरू उत्पादनका साधनहरूबाट वञ्चित छन् । त्यसको परिणाम स्वास्थ्य, शिक्षा, गाँस, बास, रोजगारी, सुरक्षालगायत आधारभूत आवश्यकताको अवसरबाटसमेत उनीहरू वञ्चित छन् । त्यसको प्रत्यक्ष मार अहिले स्वास्थ्य क्षेत्रमा देखापरेको छ । स्वास्थ्यमा निजीकरणको नीतिले एकातिर आमजनतामा स्वास्थ्यको पहुँच निकै कमजोर छ भने अर्कोतिर गुणस्तरहीन स्वास्थ्य सेवाले हजारौँ जनताको जीवन त्यत्तिकै गुमिरहेका घटनाहरू बेलाबखत सार्वजनिक भइरहेका छन् । कोरोना महामारीको यो महासङ्कटको बेला कैयौँ निजी अस्पतालहरूले बिरामी भर्ना लिन नमानेको गुनासो व्यापक बनिरहेको छ । सरकारी अस्पतालकै कैयौँ डाक्टरहरूले उपचारमा संलग्न हुन मानिरहेका छैनन् । यी विषय लज्जाका विषय मात्र होइनन्, यी अपराधपूर्ण व्यवहारहरू हुन् । केही समयअघि चीनमा कोरोना महामारीविरुद्ध उपचाररत डाक्टरको निधन हुँदा त्यसलाई मजाकको विषय बनाइयो तर उनको त्यो समर्पण र उच्च जिम्मेवारीबोधको कतै चर्चा गरिएन । हामीसँग पहिलो कुरा त न डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित गर्नसक्ने उपकरणहरू छन्, न त त्यसप्रकारको प्रोत्साहन छ । यसका पछाडिको मूल कुरा भनेको स्वास्थ्य क्षेत्र केही निश्चित पहुँचवाला मानिसहरूको व्यापार गर्ने उद्योग बन्नु नै हो । यो प्रणालीको अन्त्य गर्नु नितान्त आवश्यक छ । स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रलाई निजीकरण गरेर व्यापारको वस्तु बनाउनुको साटो स्वास्थ्यमा आमजनताको पहुँच कायम गर्ने नीति स्थापित गर्न आवश्यक छ ।

कोरोना महासङ्कटबाट सिङ्गो विश्व नै आाक्रान्त भइरहेको बेला हाम्रो देशसमेत त्यसको लपेटामा परिसकेको छ । यो बेला सरकारले जुन प्रकारको सुरक्षात्मक पहलकदमी लिनुपर्ने हो त्यसको बिल्कुल अभाव भइरहेको छ । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् । सम्भावित लुटपाट र अराजकताबारे राज्य बेलैमा सजग हुनुपर्ने हो । राज्यको ध्यान त्यतापट्टि छैन । महासङ्कटको यो बेला सुरक्षाकर्मीहरूलाई उच्च मनोबलका साथ परिचालन गर्नुपर्नेमा उनीहरूका लागि न्यूनतम् आत्मरक्षाका साधनहरू पनि उपलब्ध देखिँदैनन् । सिङ्गै सरकार, कोरोनाको जिम्मेवारी लिएका रक्षामन्त्री र सुरक्षा क्षेत्रका उच्चपदस्थहरू नै भ्रष्टाचारमा संलग्न भएका घटनाहरू सर्वत्र भाइरल भइरहेका छन् । विदेशबाट आउन चाहने नागरिकहरूलाई निश्चित क्वारेन्टाइनमा राखेर ल्याउने व्यवस्था भएको छैन । अझ भन्ने हो भने भारतसँगको खुला सिमानाले नेपाली जनजीवनलाई जोखिममा पार्ने प्रशस्त सम्भावना बढिरहेको बेला सीमा व्यवस्थापन निकै फितलो भइरहेको छ । वास्तवमा नेपालले खुला सिमानाको निकै ठूलो मूल्य यो बेला चुक्ता गर्नुपर्ने देखिन्छ ।

विदेशबाट आउने रेमिट्यान्सले चलेको अर्थतन्त्र अब कसरी टिक्छ त ? राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता तमाम जनताले त महसुस गर्ने नै छन्, बरु हाम्रा घाघडान बौद्धिक मित्रहरू र राजनेताहरूले भने गर्ने हुन् वा होइनन् ?

वास्तवमा कोरोना महासङ्कट प्रकृति र मानवबीचको एक अप्रत्यासित तर एक अपरिहार्य महायुद्ध हो । मानव अस्तित्वका लागि यो लडाइँमा मानवजातिको विजय अत्यावश्क छ र यो सम्भव पनि छ किनकि संसारभरका वैज्ञानिकहरू यो युद्धको अग्रमोर्चामा डटिरहेका छन् तर यो महासङ्कट केवल प्राकृतिक मात्र होइन । यो मानव सिर्जित प्रकृतिको परिणाम पनि हो भन्नेमा आजको मानवले बोध गर्नैपर्छ । यसको महामारी जसरी विश्वभर व्यापक भइरहेको छ त्यो आजको उत्पादनप्रणाली र राजनीतिक व्यवस्थाको परिणाम पनि हो । आजको विश्वमा व्याप्त सामाजिक मूल्य र राजनीतिक प्रणाली रहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा भुक्तानी त्यति सामान्य हुने देखिँदैन । कोरोना महासङ्कटको अति महत्वपूर्ण शिक्षा भनेको नयाँ विश्व, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव हो । त्यसका लागि पुँजीवादसँगको सम्बन्धविच्छेद तथा साम्यवादको यात्राबाहेक अर्को कुनै पनि विकल्प छैन जुन साम्यवाद वास्तवमा मानव–मानवबीच युद्धको अन्त्य तथा सम्पूर्ण रूपले प्रकृति र मानवका बीच युद्धको आरम्भ हो । त्यो नै मानव जातिको सुन्दर भविष्यको प्रकाशमान दृष्टि क्षितिज हो ।

२२ चैत, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :