कोरोनाको सहज उपचार नगरे बीएन्डसीलगायत अस्पताललाई कारबाही गर्ने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले झापाको बीएन्डसीलगायत अन्य अस्पताललाई बिरामीको सहज उपचार नगरेमा भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।

नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै बीएन्डसी, मनमोहन, बिर्तासिटीलगायत अस्पताललाई बिरामीको सहज उपचार नगराए कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

श्रीजङ्गको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला विश्वभर कोरोना भाइरसका कारण लाखौँ मानिस सङ्क्रमित भएका छन् भने भन्डै साठी हजार मानिसहरूले ज्यान गुमाइसकेको अवस्था छ । दिनदिनै नेपालमा पनि यसका सङ्क्रमितको सङ्ख्या बढिरहेको छ भने नेपाली जनता यस महामारीको घडीमा त्रासको जीवन जिउन बाध्य छन् । देशमा कोरोनाको महामारी फैलिरहेको छ भने कथित कम्युनिस्ट सरकार र तिनका कारिन्दाहरू यही महामारीलाई कमाउ धन्दा बनाइरहेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमण भएका बिरामीहरूबाट बच्न विश्वभरिको आधा जनसङ्ख्या लकडाउनमा गइसकेको छ । अर्कोतिर लकडाउनले विश्वभरि गम्भीर आर्थिक सङ्कट, आमबेरोजगारी तथा भोकमरीको समस्या पैदा गरेको छ । यस्तो विकराल स्थितिमा विभिन्न देशका सरकारहरूले कोभिड १९ का विरुद्ध लड्न र लकडाउनले पैदा गरेका थप समस्याहरूको समाधान गर्नका लागि एकीकृत प्याकेज तयार पारेर त्यसलाई कार्यान्वयनमा लगेका छन् । तर विडम्बना, हाम्रो देशको सरकारले भने देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भएझैँ उल्टै स्वास्थ्य सामग्री खरिदमा चरम भ्रष्टाचार गरिरहेका तथ्य जनतामाझ स्पष्ट छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा यस महासङ्कटको घडीमा आमझापाली जनताको अवस्था पनि भयावह रहेको छ भने स्थानीय सरकार आपत्मा परेका गरिब, दलित, सुकुमबासी, किसान तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई उचित राहत उपलब्ध गराउनुको सट्टा लूटधन्दामा व्यस्त छ । कालाबजारियाहरूको बिगबिगी छ भने झापाका ठूला अस्पताल भनिने बीएन्डसी, बिर्तासिटी, मनमोहनलगायत अस्पतालहरूले सामान्य झाडापखाला लागेका बिरामीहरूलाई समेत गेटबाटै धपाएको खबरले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी हिजो, आज र भोलि निरन्तर जनताको माझमा रहेर नेतृत्व गरिरहेको र गरिरहने कुरा अवगत गराउँदै यस सङ्कटको घडीमा कालोबजारी गर्ने, जनताको स्वास्थ्य अधिकारलाई वञ्चित गराउँदै अस्पताल गेटबाटै बिरामी फर्काउने मेडिकल माफियाहरूलगायतलाई यस्ता घृणित कार्य तुरुन्तै बन्द गर्न, सहज उपचारको व्यवस्था गर्न र गरिब, मजदुर, किसानलगायत विपन्न वर्गलाई तुरुन्तै राहत उपलब्ध गराउन जोडदार माग गर्दछ । अन्यथा हाम्रो पार्टी कडाभन्दा कडा कारबाही गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

बिरामी मर्कामा परेको घटनाबारे प्रस्ट पार्दै भनिएको छ, ‘केही दिनअघि झापा अर्जुनधाराका एक बालकलाई बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्यायो तर डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो । त्यहाँबाट फर्किएपछि हामीले बीएन्डसी लग्यौँ । त्यहाँ त झन् गेटबाटै खेद्यो । पखाला लागेको छ र बच्चा सिकिस्त छ भनेर हारगुहार गर्दा पनि अस्पताल प्रशासनले भर्ना गर्न मानेन’, बिरामीका आफन्त कोषराज कटुवालको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘अहिले क्लिनिकबाट औषधी ल्याएर घरमै उपचार गरिरहेका छौँ तर सङ्कटको बेला बालबालिकापट्टि सामान्य दया पनि नराख्ने अस्पताललाई सरकारले किन कारबाही गर्दैन ? हामीले जस्तै अरू कतिले दुःख पाए होलान् । यो सोचेर हामी चिन्तित छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :