कोरोनाविरुद्ध सचेतना जगाउँदै युवा सङ्गठनले वितरण गर्यो साबुन र मास्क


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले राप्तीका विभिन्न पिछडिएका परिवारमा कोरोनाविरुद्ध सचेतना अभियानका क्रममा सबुन र मास्क वितरण गरेको समाचार प्राप्त भएको छ ।

युवा सङ्गठन नेपाल राप्ती ब्युरोको आयोजनामा युवा सङ्गठन रुकुम पश्चिमले आठबिसकोट नगरपालिकाका विभिन्न ठाउँमा कोरोना भाइरसका लक्षण र बच्ने उपायबारे सचेतना जगाउँदै परिवारका सदस्यहरूलाई प्रतिपरिवार २–२ वटा साबुन र प्रत्येक व्यक्तिका लागि मास्क वितरण गरेको हो । चौरजहारीलगायत आठबिसकोटका ३०० घरधुरीमा कोरोना भाइरसबारे सचेतनासहित साबुन र मास्क वितरण गरिएको जानकारी युवा सङ्गठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले दिए ।

सचेतना अभियानका क्रममा नाफामुखी व्यवस्था होइन, मानवीय हितमुखी व्यवस्था निर्माणको बाटो एकीकृत जनक्रान्तिको सान्दर्भिकता र सहभागिताका लागि आह्वान गर्दै घरघरमा युवा सङ्गठनको कोरोनासम्बन्धी जानकारी भएको पम्पलेट टाँसिएको र रुकुम अभियानको नेतृत्व युवा सङ्गठन नेपाल रुकुम पश्चिमका अध्यक्ष लय साहनीले गरेको समाचारमा जनाइएको छ । यसअघि युवा सङ्गठन नेपाल राप्ती ब्युरोकै आयोजनामा दाङ जिल्ला युवा सङ्गठन नेपालले जिल्लाका विभिन्न ठाउँमा ४५० घरधुरीलाई मास्क, साबुन, डिजिटल थर्माेमिटर वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ वगेश्री थारू गाउँ टोल विकास संस्था, वडा नम्बर ३ आदर्श टोल विकास संस्था, सालघारी टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था र शान्तिनगर गाउँपालिकाको नवजागरण टोललगायत ८ ठाउँमा कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रमसहित ४५० घरधुरीलाई मास्क, साबुन डिजिटल थर्माेमिटर वितरण गरिएको बताइएको छ ।

राप्तीका बाँकी अरू जिल्लामा पनि सचेतना र सहयोग अभियान जारी रहेको जानकारी युवा सङ्गठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :