कोरोनाविरुद्ध युद्ध : लड्खडाउँदै पुँजीवाद

अहिले कोरोना भाइरस (कोभिड १९) का कारण विश्व आक्रान्त छ । लगभग सात अर्ब विश्व–जनसङ्ख्या प्रत्यक्ष–परोक्ष यस महामारीबाट प्रभावित भएको छ । धेरै सरकारहरूले आफ्ना नागरिकहरूमाथि आवतजावतमा प्रतिबन्ध लगाएका छन् र ११७ भन्दा बढी मुलुकहरूले त आफ्ना सीमानाकाहरू बन्द गरेका छन् । मानौँ अहिले विश्व नै आणविक युद्धको अवस्थाबाट अघि बढिरहेको छ । यसैबीच महामारीको निरन्तर फैलावट र नियन्त्रणका उपायहरूका सन्दर्भमा कतिपय वास्तविक र धेरै काल्पनिक समाचारहरूले बजार जमाएका छन् । तर यथार्थमा यस प्रकोपबाट मात्र धेरैले ज्यान गुमाइसकेका छन् । सुरुआती प्रकोप चीनको बुहान सहर भए पनि यसको निदान गर्ने अन्तिम सहर कुन हुने हो अहिले नै अनुमान लगाउन कठिन छ । सामान्य चिकित्सकीय निगरानीबाहेक महामारी नियन्त्रणका सबै प्रविधिहरू बेकाम देखिएको सन्दर्भमा मानिस–मानिसबीचको व्यक्तिगत सम्बन्ध, आचरण, जीवनशैली र उपभोगमा सामान्य परिवर्तन ल्याउन सकिएमा यसको प्रभावलाई न्यून बनाउन सकिने देखिन्छ । यसमा पनि व्यक्तिगत सावधानी प्रमुख कुरा हो । यस्तो सावधानी कि स्वतस्फूर्त व्यक्तिको सचेतनाबाट हुन्छ वा निर्देशित हुनुपर्ने हुन्छ, अहिलेको राज्य नियन्त्रित लकडाउनजस्तै ।

यस शताब्दीको प्रारम्भबाट नै मानिसहरूले स्थानीय र क्षेत्रीय गरेर विभिन्न भाइरल सङ्क्रमणसँग जुध्नुपरेको छ । एसियामा प्रकोपका रूपमा रहेको सार्स (२००३) एसियाबाहिर क्यानाडामा देखापरेको थियो तर युरोप सुरक्षित थियो । जिका भाइरस दक्षिण र उत्तरअमेरिकी केही देशमा सीमित रह्यो, यसपटक पनि युरोप सुरक्षित नै रह्यो । इबोला भाइरस (२०१३–१६) पश्चिम अफ्रिकी मुलुकहरूसहित कङ्गोसम्मको विस्तारले गरिबी, कुपोषण र कमजोर स्वास्थ्य भएको ४८ करोडको जनसङ्ख्या अत्यधिक प्रभावित बन्न पुग्यो । एभिएसन फ्लु मुख्यतः एसियाली मुलुकहरू र केही युरोपेली मुलुकहरूमा प्रकोपका रूपमा देखाप¥यो । तर कोरोना भाइरस (कोभिड १९) अहिले विश्वव्यापी महामारी भएको छ र चीनपछि अति प्रभावित मुलुकहरूमा इटाली, स्पेन, यूएस, यूकेलगायत विकसित मुलुकहरू पनि आक्रान्त भएका छन् र हताहतीको सङ्ख्या बढ्दै गएको छ ।

मानवजातिले यो विपद् भोगिरहँदा आलोचनात्मक हुँदाहुँदै पनि टीआर माल्थसजस्ता शास्त्रीय अर्थशास्त्रीहरूका दुई सय वर्षअघिका भविष्यवणीहरू सही भएको पुष्टि हुने गरी जनसङ्ख्या स्वतः न्यून हुन गई प्राकृतिक स्रोतहरूसँग सन्तुलन राख्न महामारी, भोकमरी, युद्ध अनिवार्य हुने गर्छ भन्ने कुरासँग आजको विपद्लाई जोड्न खोजिँदैछ । तसर्थ कोभिड १९ नाम दिइएको यो भाइरस प्रयोगशालमा विकसित जटिल भाइरसको परीक्षणमा मानवीय असावधानी भएको हो वा नियोजित हो वा अप्रत्याशित विपत्तिका रूपमा विकास भएको हो, केही शङ्का र अनुमानहरू सतहमा आएकाछन् । अप्रत्याशित महामारीको रूपमा विकसित भएको तर्कलाई आधारमान्ने हो भने यस अघिका अन्य भाइरल फ्लु जस्तै यो अर्को प्रकोप हो । आखिर मानवजातिसहित अन्य प्राणी, वनस्पति तथा ब्याक्टेरिया, भाइरस तथा अन्य जीवाणुहरूको साझा अस्तित्व नै पृथ्वी हो । मानिसहरूले बाँकी अरूमाथि नियन्त्रण राख्दासम्म मानिस हाबी हुने तर जतिवेला तापक्रम वा वातावरणमा आएका अल्पकालीन वा दीर्घकालीन परिवर्तनहरूले त्यस्ता जीवाणुहरूलाई मानिसमाथि अतिक्रमण गर्नसक्ने शक्तिमा विकास गरेको हुन्छ । त्यसले महामारी ल्याउँछ नै, बरु वातावरणमा पुगेको क्षतिले मानवजातिले भोकमरी वा बाढीपहिरो आदिबाट समेत जनधनको ठूलो क्षति बेहोर्नु परेको छ । यसप्रकारको तर्कले दोषी उम्कने खतरा बढी हुन्छ । अर्थात् विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरितगृह ग्याँसको अत्यधिक परिणाम, पारमाणविक हतियार परीक्षण, हानिकारक औद्यौगिक विसर्जन, रेडियोधर्मी पदार्थको विसर्जनजस्ता तत्वहरू वातावरण विनासका लागि कारक तत्वहरू हुन् । यो सबैका लागि पुँजीवाद जिम्मेवार रहेको छ । पुँजीवादमा मानवीयताभन्दा नाफा प्रधान हुने हुन्छ र त्यसको पहिलो सिकार विकासशील राष्ट्रका जनता नै हुन् । आज युरोप र अमेरिकाले विकासशील राष्ट्रहरूका लागि रोटीसँग सुनको कचौरा साट्नुपर्ने अघोषित वस्तु विनिमय प्रणालीको लाभ लिइरहेका छन् ।

अफ्रिकी भोकमरी, मध्यपूर्वका तेलकुवाहरूको सफाया, सिरियाली गृहयुद्ध, सुडान सङ्कट, अफगानिस्तान सङ्कटमा अमेरिकी साम्राज्यवाद र त्यसका युरापेली मतियारहरूद्वारा उत्पन्न सङ्कटबाट लाखौँ बालबालिका र वृद्धवृद्धाहरू भौकै बस्न बाध्य हुनुपरेको छ र मृत्यु कुरिरहेका छन् । युनिसेफको प्रतिवेदनअनुसार पनि अरब मुलुक यमनको हिंसामा विगत चार वर्षमा ८५ हजार बालबालिका भोकै मर्न विवश भए भने ३३ लाख बालबालिका र गर्भवती महिलाहरू कुपोषण र भोकमरीको सिकार भएका छन् । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो जहाँ मानवीय सङ्कटको कमै चर्चा हुने गर्छ किनकि त्यस हिंसामा पुँजीवादको लगानी छ ।

पुँजीवादमा गहिरिँदै गएको सङ्कटलाई विषयान्तर गर्ने अर्को बहाना हो– युद्ध । आन्तरिक वा बाह्य परिस्थितिका कारण अहिले प्रत्यक्ष युद्धको अवस्थामा रहेका तीन एसियाली राष्ट्रहरू अफगानिस्तान, सिरिया र यमनमा पश्चिमाहरूले युद्धसामग्रीको प्रदर्शन र बिक्री गरिरहेका छन् । सन् २००३ पछि अमेरिकी नेतृत्वको इराक युद्धमा ५ लाखभन्दा बढी मानिसको मृत्यु भयो भने अमेरिका र गठबन्धन युरोपेली मुलुकहरू संलग्न सन् २०११ पछिको सिरिया गृहयुद्धमा ४ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यसमा विस्थापन भएकाहरूको सङ्ख्या अझ ठूलो रहेको छ । विपन्न राष्ट्र अफगानिस्तान अमेरिकी गठबन्धनको युद्धउन्मादी क्रीडास्थल बनेको छ । पश्चिमा पुँजीवाद यसलाई व्यावसायिक प्रवद्र्धन र शक्तिको प्रदर्शन मात्र ठान्दछ जहाँ मानवताको कुनै मूल्य हुँदैन ।

यसरी पुँजीवाद एकतर्फ आफ्नो साख कायमै राख्न युद्धउन्मुख छ । त्यसैले त ऊ युद्धलाई सामान्य तर कोरोना भाइरस त्रासलाई असामान्य ठान्छ, जतिबेला यसले युरोपसहित शक्तिशाली भनिएको अमेरिकामा धेरैको ज्यान लिइसकेको थियो । सन् २०२० को जनवरीतिर चीनको बुहानमा कारोना भाइरस सङ्क्रमण भइरहेको समय पश्चिमाहरू ‘चमेरे’ भाइरस भनेर ठट्टा गर्दै थिए । अर्को महिनासम्म इरान, दक्षिणकोरियासहित केही एसियाली मुलुकहरूमा भाइरस सङ्क्रमण बढ्दै जाँदा यसलाई अमेरिकी राष्ट्रपतिले ‘चिनियाँ भाइरस’ सम्म भन्न भ्याए । स्पेन, इटाली, यूकेसहित यूएसमा समेत भाइरल सङ्क्रमण देखिएपछि त विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी नै घोषणा गर्यो । राष्ट्रपति ट्रम्पको ‘चिनियाँ भाइरस’ प्रकरणमा चीनले मुख खोल्दै यो भाइरस अमेरिकी सेनाले बुहानमा पहिलो सङ्क्रमण फैलाएको (पेसेन्ट जिरो) औपचारिक घोषणा गर्यो । प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ राजदूतसमक्ष स्पष्टीकरणसमेत लिएको थियो । द्विपक्षीय तनाव बढ्दै गएसँगै अमेरिकामा समेत सङ्क्रमणदर उच्च रहेपछि डब्लूएचओको नामकरण कोभिड १९ लाई अब ट्रम्पले ‘बुहान भाइरस’ सम्म भन्न भ्याए । यो उनको थोरै हारको परिणाम थियो । यो लेख तयार गर्दासम्म स्पेन र इटालीमा सङ्क्रमितहरूको मृत्युको सङ्ख्याले चिनियाँ सङ्क्रमितहरूको मृतक सङ्ख्यालाई उछिनेको छ । अमेरिकी सङ्क्रमित सङ्ख्याले चिनियाँ सङ्क्रमितको सङ्ख्या उछिनिरहँदा डोनाल्ड ट्रम्पले हतास मुद्रामा चिनियाँ समकक्षीसँग महामारी रोकथाम र नियन्त्रणका लागि सहकार्यको हात अघि बढाएका छन् । सन् १९८१ म विज्ञानसम्बन्धी मिथकका अमेरिकी लेखक डिन कुञ्जको ‘द आइज अफ डार्कनेस’ मा प्रकाशित चीनको बुहानबाट कोरोना भाइरस फैलने प्रक्षेपणसहितको भविष्यवाणीले ‘जैविक हतियार’ को नियोजित प्रयोग भएको शङ्कालाई बुहानमा आयोजित अमेरिकी सेनासमेत सम्मिलित विश्व सैन्य खेल प्रतियोगिता (१८–२१ अक्टुबर¬) पछि डिसेम्बर ३१, २०१९ मा चिनियाँ पक्षले बुहानमा घोषणा गरेको तथ्य र चिनियाँ पक्षको पेसेन्ट जिरोको सन्दर्भमा दिइएको सार्वजनिक अभिव्यक्तिलाई कोरोना भाइरस प्रकोपलाई षड्यन्त्रको सिद्धान्तबाट पनि अध्ययन गर्नुपर्ने हुन्छ । अमेरिकासँगको व्यापारयुद्धमा चीनको आर्थिक वृद्धिमा अपेक्षित ह्रास नआएको परिवेशमा अफ्रिकी तथा एसियाली राष्ट्रहरूमा चिनियाँ लगानी र पूर्वाधार विकासमा चिनियाँ योजना ‘बीआरआई’ को प्रभावलाई रोक्नसमेत नयाँ कोरोना भाइरसको प्रयोग जैविक अस्त्रका रूपमा विकास भएको हुनसक्ने अनुमान गरिएको छ ।

आकस्मिक वा नियोजित जेसुकै भए पनि अहिले कोभिड १९ को प्रकोपबाट सबैभन्दा नराम्रोसँग युरोप र अमेरिका प्रभावित भएका छन् । यसले युरोपियन अर्थव्यवस्थालाई साह्रै ठूलो धक्का दिने लगभग निश्चित छ । प्रकोपका कारण यूकेमा मात्र ८० प्रतिशत कामदारहरू रोजगारविहीन भएका छन् । अब उनीहरूको जीवनयापन कठिन हुने पक्का छ । अर्कोतर्फ महामारीविरुद्ध डोनाल्ड ट्रम्पले २० खर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेका छन् जुन अमेरिकी खर्च बजेटको लगभग आधा हिस्सा हो । सम्भवतः यो योजना जनताबाट उठाएको करले ठूला वित्तीय तथा व्यापारिक संस्थाहरूको नोक्सानको क्षतिपूर्ति (वेलआउट) मा प्रयोग हुनेछ किनकि राष्ट्रपति ट्रम्पका आफ्नै ठूला होटेल र व्यवसायहरू छन् । ब्रिटेनले ३४७ अर्ब पाउन्डको महामारी नियन्त्रण कोषको घोषणा गरेको छ जुन वित्तीय संस्थाहरूको वेलआउटका लागि सन् २००७–८ मा १३०० अर्ब पाउन्ड थियो । यही बेला युरोपका राष्ट्रहरूमा विपद् कोषको घोषणा गर्न प्रतिस्पर्धा नै चलेको छ । जर्मनीले १५० अर्ब डलरको महामारी नियन्त्रणका लागि घोषणा गरेको छ भने विश्वबैङ्कले १५० अर्ब डलर महामारीविरुद्ध ऋण सहयोग कोष घोषणा गरेको छ । यो कोष व्यवसायी र धनाढ्य वर्गको हितमा नै प्रयोग हुने अनुमान गर्न कुनै गाह्रो छैन जसलाई सन् २००८–९ सम्मको युरोप–अमेरिकी आर्थिक मन्दीमा प्रयोग भएको थियो । त्यति बेलै अर्थशास्त्रीहरूले पुँजीवादी सङ्कटमा समाजवादी उपचार भनेर राज्यकोषको प्रयोगलाई सङ्केत गरेका थिए । तसर्थ पुँजीवाद सधैँ नाफामा नै बस्नुपर्ने सिद्धान्त २१ औँ शताब्दीको पुँजीवादी भाष्यकारहरूले औँल्याएका छन् । यसको तात्पर्य हो युद्धबाट नाफा कमाउनुपर्ने, आर्थिक तेजीका बखत पनि नाफा कमाउनुपर्ने अनि वित्तीय सङ्कटका बेला पनि राज्यबाट क्षतिपूर्ति पाउने तर बदलामा नागरिकले महामारी, भोकमरी र युद्धबाट मारिनुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि अहिले कोभिड १९ बाट पुँजीवाद अत्तालिएको छ । समाजवादी चीन र क्युबाको सहयोग विश्व–मानवजगत्का लागि त्राण र प्राणका रूपमा उदाएको छ । चीनले कोरोना प्रभावित हुवे प्रान्तको ६ करोड जनसङ्ख्याका लागि औषधी र स्वास्थ्य व्यवस्थापन गर्न सक्यो र प्रकोप नियन्त्रणमा ल्याउने प्रयत्न गरिरहेको छ । अहिले चिनियाँ अनुभव र स्वास्थ्य उपकरण सबैभन्दा धेरै क्षति पुगेको मुलुक इटालीमा प्रयोग भइरहेको छ । क्युबाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू महामारीले आक्रान्त मुलुक इटाली, जमैकासहित ५९ देशमा जोखिमका साथ अहोरात्र खटिरहेका छन् । चिकित्सकीय सहयोगका लागि इटाली प्रस्थान गर्नुअघि हवाना विमानस्थलमा पत्रकारसँग कुरा गर्दै चिकित्सक लियोनार्दो फर्नान्डेजले भनेका थिए, ‘हामी पनि डराउँछौँ तर हामीले क्रान्तिकारी काम गर्नुछ, …जो डराउँदिनँ भन्छ ऊ सुपर हिरो हो तर हामी सुपर हिरो होइनौँ, हामी क्रान्तिकारी चिकित्सकहरू हौँ ।’ पुँजीवादले घातक हतियारको व्यापार गरेर मृत्युको खेती गरिरहेको बेला समाजवादी शिविरबाट आएको यो उद्घोषले मानवजातिमा आशा पलाएको छ । क्युबाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको समाजवादी विरासतलाई आज पनि क्युबाली क्रान्तिकारीहरूले उच्च सम्मान दिएको प्रस्ट छ । क्यास्ट्रोले भनेका थिए, ‘हाम्रो देश अरू मानिसहरूविरुद्ध बम खसाउँदैन, हजारौँ जहाजहरू सहरहरूमा बम खसाल्न पठाउँदैन, न त हाम्रो देशसँग आणविक, रासायनिक र जैविक हतियार नै छ, बरु जीवनरक्षाका लागि दसौँ हजार चिकित्सकहरूलाई प्रशिक्षित गरेका छौँ । …जीवनरक्षाका लागि सुदूर अँध्यारा बस्तीहरूसम्म । …बम होइन, चिकित्सकहरू । स्मार्ट बम पनि होइन, चिकित्सकहरू ।’ (ब्युनस आयर्स, मे २००३) ।

आज त्यही सपना पूरा गर्न क्युबाली अन्तर्राष्ट्रियतावादीहरू कोभिड १९ का विरुद्ध अन्य देशमा स्वास्थ्य विशेषज्ञ सेवा उपलब्ध गराउँदैछन् । त्यस्तै कोभिड १९ ले आक्रान्त सर्बियाले राखेको सहयोग प्रस्तावलाई युरोप गठबन्धनले वास्ता नगरेपछि चिनियाँ मित्र नै आपत्को साथी भनेर प्रशंसा पाउनुलाई चिनियाँ कूटनीतिक सफलता मात्र होइन, बरु पुँजीवादको सामथ्र्यहीन पराजय भनेर बुझ्नुपर्ने हुन्छ ।

अहिले उत्पादनको अन्त्यहीन वृद्धि भइरहेको छ । फेरि पनि पहिलेको भन्दा ठूलो जनसङ्ख्या अभावमा बाँच्न विवश छ । पुँजीको केन्द्रीकरणले अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी सुविधाविहीन वर्ग रोग, महामारी, अनिकाल, अशिक्षाजस्ता सम्भवतः सबै मानवजन्य विपद्बाट गुज्रिएको छ । आज स्वास्थ्य अधिकारको विषय भएन, बरु धनीहरूका लागि सुविधाको वस्तु बन्यो । अनि २६ अर्बपतिहरूसँग पृथ्वीका आधा मानिसहरूको भन्दा पनि बढी सम्पत्ति जम्मा हुनु पुँजीवादमा मानवीय विवेक होइन, नाफाले शासन गरेको स्पष्ट हुन्छ । तर समाजवादमा मानवले पुँजीमाथि शासन गर्छ अर्थात् उत्पादनका साधनमाथि शासन गर्छ ।

विश्व–महामारीका रूपमा रहेको कोभिड १९ लाई पुँजीवादी असफलता र समाजवादी विशेषताहरूको जितका रूपमा पनि लिन सकिने आधारहरू निर्माण भएका छन् । महामारीको निर्मम चपेटामा परेको स्पेनले सबै निजी अस्पतालहरूलाई राष्ट्रियकरण गरेको छ । यद्यपि महामारीपछि यो सम्भावना रहनेछैन तर पनि समाजवाद माहामारीविरुद्धको अस्त्र प्रमाणित भएको छ । हुवे प्रान्तमा प्रकोप नियन्त्रणका लागि कम्युनिस्ट पार्टीको सरकारले लकडाउन गरिरहँदा अमेरिकी छापाहरूले मानवअधिकार उल्लङ्घनको रटान लगाइरहेका थिए । यति नै बेला अमेरिकामा भाइरल सङ्क्रमणको सङ्ख्या बढिरहँदा राष्ट्रपति ट्रम्प अमेरिका लकडाउनका लागि होइन भन्दै डेमोक्रेसीको परिभाषा दिँदै थिए । तर नतिजामा न्युयोर्कमा मात्र चिनियाँ सङ्क्रमितको भन्दा दोब्बर सङ्क्रमित देखियो । अझ सर्वाधिक अर्बपति बिल गेट्सले त अमेरिकामा नै दुईदेखि ६ सातासम्मको लकडाउन गर्न सुझाव दिएका छन् । डब्लूएचओले समेत सामाजिक दूरी राख्न सिफारिस गरिरहँदा र महामारीविरुद्ध चीनको प्रयासको खुलेर प्रशंसा गरिरहँदा डब्लूएचओका निर्देशकहरूसँग अमेरिकी प्रशासक खुसी देखिँदैनन् र अब अमेरिकी कोपभाजनमा पर्नसक्ने सम्भावना रहन्छ ।

सामान्य मौसमी फ्लुबाट वार्षिक सरदर ५ लाख मानिसहरूले ज्यान गुमाउनुपरेको छ र त्यस्ता अधिकांश मानिसहरू तेस्रो विश्वमा पर्दछन् । एड्स, इबोला, डेङ्गु भाइरसको प्रकोपले वार्षिक लाखौँ मानिसहरूको ज्यान लिइरहेको छ । फेरि पनि रोकथामका कमै उपायहरू तेस्रो विश्वमा उपलब्ध छन् । कोरोना भाइरसले अहिलेसम्म झन्डै ५० हजारको ज्यान लिइसकेको छ । चीन, इरान, दक्षिणकोरियालगायत देशहरूमा प्रकोप नियन्त्रणमा आउँदै गरेको पाइन्छ । अर्थात् यस महामारीको तीव्रता अन्य घातक महामारीका तुलनामा कमजोर देखिँदा पनि पुँजीवाद अत्तालिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले त यही अवस्था जारी रहेमा विश्व–अर्थव्यवस्था इतिहासकै सर्वाधिक मन्दीमा जानसक्ने अनुमान गरेको छ र विश्व आर्थिक वृद्धिदर १ प्रतिशत र २ प्रतिशतको बीचमा रहने पूर्वानुमान गरेको छ । यो समय परिपक्व नहुँदै घोषणा गरिएको पुँजीवादी असफलताको उजागर हो ।

महामारीको बहानामा सरकारहरूले लकडाउन घोषणा गर्नुपूर्व नै ठूला कर्पोरेट हाउसहरूले आफ्नो व्यवसाय बन्द गरेका छन् । हलिउड, बलिउड, मनोरञ्जन हाउस, खेल प्रतिस्पर्धाहरू, उड्डयन व्यवसाय र ठूलाठूला मेलाहरू एवम् कारखानाहरूलाई व्यवसायीहरूले तत्काल रोकिदिएका छन् तर स्वास्थ्य उपकरण, दैनिक उपभोगका आपूर्तिकर्ता र दैनिक जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कामदारहरू कार्यक्षेत्रमा छन् । कामदारले आम्दानी र सुरक्षामध्ये कुनै एउटा मात्र रोज्नुपर्ने बाध्यता छ । धेरै कामदारहरू उद्योग, व्यवसाय र कारखानाबाट बेरोजगार बनाइएका छन् । यिनीहरूको तत्काल जीवन निर्वाह सङ्कटमा परेको छ । त्यसको क्षतिपूर्ति गर्न पुँजीवाद तयार छैन । पुँजीवादले राहत कोषको घोषणा गरे पनि पुँजीपतिहरूको नाफासुरक्षा र कामदारको जीवनरक्षा बराबरी हुन सक्दैन । विश्व–आर्थिक मञ्चको अध्ययनलाई मात्र ध्यान दिने हो भने विश्वले ५ करोड रोजगाहरू गुमाउँदैछ । यो पुँजीवादका लागि रोजगार खोस्ने बहाना पनि हुन सक्छ । भारतले लकडाउन अवधिमा नै रोजगारका लागि गएका दसौँ हजार नेपालीहरूलाई स्वदेश फिर्ता पठाएको छ । यो नेपाल र भारतबीच ऐतिहासिक सन्धिसम्झौताको प्रतिकूल छ । राज्यनिर्देशित लकडाउन अवधिभर व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्दछ । यो सबै एसियाली, अफ्रिकी, युरोपियन र अमेरिकी महादेशका कामदारहरूमा लागू हुनुपर्ने हो तर त्यसो गर्न पुँजीवाद तयार छैन ।

निजी अस्पतालहरूसमेत बन्द गरिएका छन् । नाफाका लागि बढी शुल्क लिन सकिने किड्नी प्रत्यारोपण, क्यान्सर, मुटुरोगी आदिको मात्र उपचार गरिन्छ तर शङ्कास्पद कोरोना सङ्क्रमितलाई निजी अस्पतालमा प्रवेश निषेध गरिएको छ । सामान्य बिरामीले पनि अनाहकमा रोग परीक्षण नै हुन नपाई मृत्यु वरण गर्नुपरेको छ ।

पुँजीवादले रक्षा बजेटमा औसत २५ प्रतिशत वृद्धि गरेको छ तर जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य बजेटमा २५ प्रतिशत कटौती गरेको छ । पुँजीवादको रक्षाका लागि हतियार र सुरक्षामा खर्च गर्ने बजेटको अंश प्रत्येक वर्ष वृद्धि हुँदैछ तर मानवीयता दिनानुदिन मर्दैछ । कोभिड १९ को त्रासदी भोगिरहेका अन्य मुलुकहरूमा साम्राज्यवादले क्रूर बन्दै नाकाबन्दी लगाइरहेको छ । इरान, भेनेजुएला, क्युबा र उत्तरकोरियामा लगाइएको नाकाबन्दी अझै कसिँदैछ । यत्रो प्रकोप बढिरहँदा पनि राजनीतिक आस्थाका आधारमा कैद गरिएका राजबन्दीहरू रिहा गर्न पुँजीवाद र यसका दलाल नोकरहरू तयार छैनन् । यो सन्दर्भ नेपाल, भारतलगायत अन्य मुलुकहरूमा समेत लागू हुन्छ ।

एउटा सानो प्रकोपको धक्काले कमजोर बनेको मानवताविरोधी पुँजीवादलाई विश्व–समाजवादी आन्दोलनको धक्काले अझ कमजोर बनाउँदैछ र सङ्कट समाधानका लागि त्यहीं पनि समाजवादी विशेषताहरूसहितको विकल्पको खोजी हुँदैछ । तेस्रो विश्वमा षड्यन्त्रपूर्वक गरिबी, महामारी र मृत्यु फैलाउन ओथारो बसेको पुँजीवादको जमिन अब भासिँदै गएको छ र विश्व–समाजवादी आन्दोलनले नयाँ उचाइ प्राप्त गर्दैछ । पूर्वसाभियत सङ्घको समाजवादी विरासत बोकेको रसियाले प्रकोपग्रस्त मुलुकमा पुर्याएको चिकित्सकीय सहयोग, समाजवादी चीनले कारोनाविरुद्ध लडेको दोस्रो जनयुद्ध र अन्तर्राष्ट्रिय भाइचाराको प्रदर्शन, समाजवादी क्युबाले कोरोना सङ्क्रमित भनिएको एक हजार यात्रु रहेको पानीजहाजका यात्रुलाई अमेरिकासहित क्यारिबियन राष्ट्रहरूले बन्दरगाह प्रवेशमा रोक लगाइरहँदा जहाजमा सवार ब्रिटिस नागरिकहरूको उद्धार गरेको विषय र प्रकोप नियन्त्रणका लागि निर्वाह गरेको अन्तर्राष्ट्रिय भूमिकाले समाजवादको अगाडि पुँजीवाद फिक्का भएको छ ।

नेपालका सन्दर्भमा दलाल पुँजीवादको दलदलमा फसेको सत्ता एकपछि अर्को जनविरोधी हर्कतका कीर्तिमानहरू तोड्दै अगाडि बढिरहेको छ । भारतीय रोजगारबाट लकडाउनको बहानामा विस्थापित नेपालीहरू सिमानामा भोकभोकै रोकिनुपर्ने तर आफ्नो मुलुक प्रवेशमा निषेध गरिनु निन्दनीय विषय हो । राज्यघोषित लकडाउन अवधिभरि बाटो तथा सिमानामा रोकिएका नेपाली नागरिकहरूको चासो र चिन्ता राज्यको हुनुपर्ने न्यूनतम मानवीय कर्तव्यलाई समेत बिर्सिएर महाकाली नदीमा जोखिम मोलेरै भए पनि पार गरेर आउने नेपालीलाई अर्धनग्न अवस्थामा गिरफ्तार गर्नु कत्तिको बहादुरी हो ? प्रकोप नियन्त्रणको बहानामा चीननिर्मित भाइरस परीक्षण कीट खरिदमा करोडौँ घोटाला भएको प्रमाणसमेत सार्वजनिक भइसक्दा पनि खरिद विधि र संलग्न विभागीय मन्त्रीहरूको बचाउ गर्नु डोकोले छोप्नुजस्तै हो, दुनियाँसामु छर्लङ्ग छ ।

शिखर बैठक स्थगन नै भए पनि सार्क राष्ट्रहरूको अध्यक्षको हैसियतले कोरोना भाइरस महामारीका बारेमा भिडियो कन्फरेन्स गरेर पहिलो बन्ने अवसर नेपालले गुमाएको छ । यो सत्ताको रुग्ण सोचाइ मात्र होइन, जनताको आत्मसम्मानमा समेत धक्का परेको महसुस भएको छ । भारतीय प्रधानमन्त्रीलाई नै आयोजक बन्न दिएर नेपालले कूटनीतिक पराजय भोग्नुप¥यो । महामारीविरुद्ध कोष खडा गर्नसमेत नेपालको आयोजनामा भारतले प्रस्ताव गर्न सक्थ्यो भने पाकिस्तानी प्रधानमन्त्रीको समेत सहभागिता हुन सक्थ्यो तर दलाल पुँजीवादीहरूबाट योभन्दा बढी के नै आशा गर्न सकिन्थ्यो र !

यसर्थ घरेलु दलाल पुँजीवादको पतन, विश्व–पुँजीवादीे दबदबाको अन्त्य र वैज्ञानिक समाजवादको निर्माणको आधार तयार भएको तथ्यलाई उत्पीडित राज्य, वर्ग र श्रमजीवीहरूले २१ औँ शताब्दीको दोस्रो दशकको अन्त्यसम्म आइपुग्दा प्रमाणित गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :