कोरोनाविरुद्ध जनसुरक्षा नअपनाए स्थानीय सरकारलाई जनकारबाही गर्ने चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले कोरोना सङ्क्रमणविरुद्ध कथित स्थानीय सरकार गैरजिम्मेवार भएको भन्दै जनसुरक्षाका लागि काम नथाले जनकारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी प्रसिद्धले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

प्रसिद्धले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) ले उच्च महामारीको रूप लिएको छ । नेपाल पनि यो भाइरसका कारण पूर्ण रूपमा भयभीत बनेको छ भने जनताको जनजीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । हालसम्म सिन्धुली जिल्लामा यस भाइरसको सङ्क्रमित नदेखिए पनि देशका विभिन्न भूभाग तथा बाह्य मुलुकबाट आएका व्यक्तिहरूलाई सुरक्षित रूपमा क्वारेन्टाइन जोनमा राख्न यो नौटङ्की स्थानीय सरकार र यसका प्रशासन अक्षम भएका कारण जोखिम झन् बढ्दो छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘न्यूनतम् उपभोग्य वस्तुहरूमा भएको कालोबजारी तथा कृत्रिम अभावका कारण यस जिल्लाका दैनिक ज्यालादारी गर्ने मजदुर, सुकुमबासी, किसान तथा गरिब जनता प्रत्यक्ष मारमा परेका छन् । राहत वितरण प्रक्रियामा प्रभावकारी कदम नलिइएको र चरम ढिलासुस्ती तथा लापरबाही भैरहेको देखिन्छ । आमनागरिकले सामान्य उपचारबाट पनि वञ्चित हुनुपरेको छ । जिल्लाका स्वास्थ्य सेवामा कार्यरत कतिपय कर्मचारीहरू घरधनीका कारण अस्पतालमै बस्न बाध्य छन् भने कतिपय अवस्थामा स्थानीय प्रहरी प्रशासनबाट पनि लकडाउनका नाममा जनतालाई दुःख दिने काम भैरहेको छ । कुनै व्यक्ति वा सङ्घसंस्थाद्वारा आफ्नो निजी स्वार्थका लागि राहत वितरणका नाममा दुरुपयोग गर्ने कार्य भैरहेको देखिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा पनि कथित स्थानीय सरकार र जनप्रतिनिधि भनिनेहरूबाट राहत वितरण प्रक्रियामा चरम लापरबाही तथा ढिलासुस्ती गरिरहेको देखिन्छ । हाम्रो पार्टी जिल्लामा भैरहेका यस्ता रबैयाहरूप्रति चेतावनी दिँदै यस्ता हर्कतहरू अविलम्ब बन्द गरी तुरुन्त सहज तथा पारदर्शी रूपमा जनमुखी राहत वितरण गरी सुरक्षित व्यवस्थापन गर्न जोडदार माग गर्दछ । अन्यथा यस्ता हर्कतहरूका विरुद्घ जनताद्वारा जनकारबाही गरिनेछ र उत्पन्न परिस्थितिको जिम्मेवार कथित दलाल स्थानीय सरकार हुनेछ ।’

विज्ञप्तिको अन्त्यमा पार्टी कार्यकर्तालाई निर्देशन दिँदै भनिएको छ, ‘यस्तो सङ्कटको घडीमा हाम्रो जिल्ला पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू र जिल्ला जनसरकारलाई जनतामा परेका समस्याहरूका विरुद्घ डटेर लड्न निर्देशन गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :