कोरोना प्रकोपले ज्यान जोखिममा परेको भन्दै कैदी–बन्दीले गुहारे प्रधानमन्त्री र राष्ट्रपतिलाई


काठमाडौँ : देशभर कोरोना सङ्क्रमण बढिरहेको र जेलमा नयाँ बन्दी आउने क्रम जारी रहेकाले आफूहरूको जीवन खतरामा रहेको भन्दै जेलका कैदीबन्दीहरूले जीवनरक्षाको माग राखेर जेलमुक्तिका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई गुहारेका छन् । उनीहरूले आफूहरूले जेलमै जीवन गुमाउनुपर्ने अवस्था आएको भन्दै जेलमुक्तिका लागि पहल गरिदिन मानवअधिकारकर्मीहरूको ध्यानाकर्षण पनि गराएका छन् ।

यसैक्रममा झापा कारागारमा रहेका कैदी–बन्दीहरूले आफूहरूको ज्यान जोखिममा परेको भन्दै कैद मुक्त गर्न माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका छन् । आफन्तजनहरूलाई भेटघाटमा प्रतिबन्ध लगाइएको भए पनि कारागारमा रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्न नलग्ने र कारागारमा नयाँ कैदीबन्दी थप्ने काम भइरहेकाले कैदी–बन्दीहरूले आफूहरूको ज्यान जोखिममा रहेको बताएका छन् । कैदी–बन्दीहरूले झापा कारागारमा कारागार व्यवस्थापनले कोरोना भाइरसबाट बच्न हातमा प्रयोग गरिने स्यानिटाइजर, मास्क, साबुनलगायत सामग्रीहरूको व्यवस्था नगरिएको, बरु सरकारबाट पाउनुपर्ने एक महिनाको सिदा पनि नदिइएको गुनासो गरेका छन् ।

प्रमुख जिलला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा कैदी–बन्दीहरूले कैयौँ निर्दोष व्यक्तिहरूले पनि बिनाकारण जेल सजाय भोग्नु परेको भन्दै उनीहरूको मानवअधिकार हनन भएको र न्यायालयले पनि निष्पक्ष न्याय नगरेको बरु न्यायालय कतैबाट प्रभावित हुने गरेको आरोप लगाएका छन् ।

कैदी–बन्दीहरूका तर्फबाट राष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख र गृहमन्त्रीलाई बोधार्थ दिई प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘खोटाङ घर भएका एउटा परिवारका बाबुछोरालाई स्थानीय एक व्यक्तिको हत्या गरी सुनकोसीमा फालेको भन्ने आरोपमा प्रहरीले पक्राउ ग¥यो र उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्यो । त्यसको ८ महिनापछि हत्या गरिएका भनिएका व्यक्ति भारतबाट फर्केर गाउँमा देखापरे र उनले भारतमा आफन्तकोमा गएको भनी बोले । यो कुरा मिडियामा आएपछि मिडियाकर्मी कारागारमा पुगेर अभियुक्त बाबुछोरालाई सोध्दा उनीहरूले आफूहरूले प्रहरीले दिएको यातना सहन नसकेर स्वीकार गरेको जबाफ दिए । हत्या गरिएका भनिएका व्यक्ति गाउँमा आएर मिडियामा बोल्दा पनि जीवितै रहेका व्यक्तिको हत्याको आरोपमा बाबुछोरा अहिले पनि कारागारमा छन् ।’

यस्तै उक्त कारागारमै एकजनाले आफू जन्मिएको भन्दा १५ वर्ष पहिलेको मुद्दामा जेल सजाय भोग्नुपरेको कुरा पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘महोत्तरीको मटीहानी १ का जुगल मल्लाहलाई प्रहरीले पक्राउ ग¥यो र उनी जन्मिनुभन्दा १५ वर्षपहिलेको मुद्दामा पुर्पक्षका लागि जेल चलान गरियो । २०१५ सालमा जन्मिएका मल्लाहलाई २००१ सालको डाँका मुद्दा लाग्यो । उनले २०१५ सालमा जन्मिएको प्रमाण पेस गरे तर ६ वर्ष कैद बस्नुप¥यो ।’

झापालगायत देशैभरिका कारागारहरूमा रहेका धेरै कैदी–बन्दीहरूमा केही दोषी भएपनि धेरै निर्दोष पनि रहेको र व्यवस्थापकीय पक्षमा भएको कमजोरीले गर्दा कोरोनाको मारमा आफूहरूको ज्यान मृत्युको मुखमा पुग्नसक्ने खतरा भएको भन्दै कैदी–बन्दीहरूले कैद मुक्त गर्न माग गरेका छन् । यसैबीच देशैभर जेलमा रहेका आस्थाका बन्दीहरूले आफूहरूलाई फरक राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेर जेल–हिरासत राखिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् । ज्ञापनपत्र ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :