कोरोना सङ्क्रमण : खाली सहर र भरिभराउ गाउँ दुवै जोखिममा

हाम्रोपात्रोबाट

काठमाडौँ : विभिन्नखालका काम र अवसरहरूको खोजीमा सहरबजारमा हुने मानिसहरू यतिबेला गाउँघरतिर फर्केका छन् । सबैको गन्तव्य गाउँ बनेपछि काठमाडौँलगायत सहरहरूमा जनघनत्व घटेको छ । तर कोरोनाबाट सुरक्षित हुने विश्वाससहित हजारौँ मानिस गाउँ पसेपछि सहरसँगै गाउँ कति सुरक्षित छ भन्ने प्रश्नचिह्न लागेको छ किनकि प्रहरीका अनुसार लकडाउन हुनुभन्दा पहिले नै १० लाखभन्दा बढी मानिस काठमाडौँबाट बाहिरिइसकेका थिए ।

यता नेपालमा लकडाउन भएको र भारतमा पनि कोरोनाको सङ्क्रमण बढिहेको बेला भारतबाट करिब २ लाख मानिस नेपाल भित्रिएका छन् । खुला सिमाना रहेको नेपाल–भारतका मूल नाकाहरूमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको भनिए पनि भारतबाट सहायक बाटाहरू प्रयोग गरी करिब २ लाख नेपाली नेपाल भित्रिएको अनुमान गरिएको छ । तीमध्ये थोरैले मात्र सीमानाकामा रहेका स्वास्थ्य जाँच गरी नेपाल भित्रिएका छन् तर हजारौँ मानिस कुनै स्वास्थ्य जाँच नगरी नेपाल फर्किएका हुन् ।

खासगरी रोजीरोटीका लागि कालापहाड जाने गरेका तराई क्षेत्र र पश्चिम पहाडका मानिस भारतमा लकडाउन भएसँगै नेपाल भित्रिएका हुन् । स्वदेश फर्केदेखि आफ्नै घरमा १४ दिनसम्म ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने भए पनि भारतबाट नेपाल फर्केकाहरूमध्ये कतिपय क्वारेन्टाइनमा बसेका छन् । तर अधिकांश क्वारेन्टाइन बसेका छैनन् । स्थानीय निकायका जनप्रतिनिधिहरूले नै भारत वा तेस्रो मुलुकबाट आएकाहरूलाई होम क्वारेन्टाइनमा आग्रह गरे पनि उक्त नियम लागू नभएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :