नख्खु कारागारबाट नेकपा नेता सुदर्शनले भने–‘कोरोनाविरुद्धको युद्धमा समाजवादीहरू विजयी हुने सङ्केत’

काठमाडौँ : हाल नख्खु बन्दीगृहमा रहेका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले कोरोना भाइरसविरुद्धको लडाइँमा समाजवादीहरू विजयी हुने सङ्केत देखापरेको बताएका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा पनि दुई महाशक्ति राष्ट्रहरू चीन र अमेरिकाबीचको युद्ध प्रमुख बनेको पनि उनले बताए ।

नख्खु कारागार परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता सुदर्शनले भने, ‘चीनमा कोरोना भाइरसको महामारीले उग्र रूप लिइरहेको र चीनलाई आवश्यक सहयोग चाहिएको बेला पश्चिमाहरूले माओ त्सेतुङको मुखमा मास्क लगाएको तस्बिर छपाउँदै व्यङ्ग्य गरेका थिए । अमेरिका र युरोपमा चिनियाँ अनुहारका मानिसलाई घृणाको दृष्टिले हेरिएको थियो । जब भाइरस अमेरिका र युरोप छिर्यो त्यसले अवस्था कहालीलाग्दो बनाइदियो । महामारीले युरोप कहालिँदै गर्दा चीन बदलाभाव लिएर बसेन, बरु उसले विमान चार्टर गरेर मेडिकल टिम र डाक्टरहरूको टोली नै इटाली पठायो । हिङ नभए पनि हिङ बाँधेको टालो भनेजस्तो आफ्नै खालको समाजवादको अभ्यास गरेका चीन र जनगणतन्त्र कोरियाले कोरोनाविरुद्धको युद्धमा आफनो क्षमता प्रदर्शन गरे जुन पश्चिमा साम्राज्यवादीहरूले गर्न सकेनन् ।’

उनले अगाडि भने, ‘अर्को कुरा, समाजवादी मुलुकका जनता अनुशासित छन् भन्ने कुरा पनि यसमा देखापरेको छ । पूर्वसोभीयत सङ्घको रुस पनि कोरोयाविरुद्धको युद्धमा विजयी बनिरहेको छ । चीनको बुहान सहर पूरै लकडाउन हुँदा त्यहाँका स्वास्थ्यकर्मीहरूको टोली जीवनको कुनै परबाह नगरी सेवामा तल्लीन रहे र जनताले पनि साथ दिए । युरोपमा सङ्क्रमण फैलिएका सहरका हजारौँ मानिसहरू भागेर दर्जनौँ सहरमा पुगे र थेग्नै नसकिने अवस्था उत्पन्न भयो । आफूलाई विकसित र अब्बल ठान्ने पश्चिमाहरूभन्दा समाजवादी मुलुकका जनतामा एक प्रकारको चेतना र ज्ञान उच्च रहेको पाइयो ।’

नेकपा नेता सुदर्शनले अगाडि भने, ‘जहाँका जनता अनुशासित थिए त्यहाँका जनतालाई अहिलेसम्म केही भएको छैन । जस्तो हिजोका समाजवादी शिविर मानिने उत्तरकोरीया, क्युबालगायत देशमा केही भएको छैन । त्यसैले आफूलाई समाजवादी उन्मुख भन्ने यहाँको सरकारले चीन र कोरियाबाट सिक्न जरुरी छ ।’

हालै नख्खु कारागार परिसरमा आयोजित श्रमिक सम्मान कार्यक्रममा नेकपा नेता सुदर्शनले आफू सधैँ श्रमजीवीहरूका पक्षमा र वैज्ञानिक समाजवाद प्राप्तिका लागि लड्ने व्यक्ति भएकाले श्रमजीवीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘सर्वहारा, श्रमजीवी वर्ग र समाजवादका शत्रुहरूले मलाई जेलमा बन्द गरेका छन् ।’ कारागार प्रशासनले आयोजना गरेको उक्त कार्यक्रममा जेलर मोहन अधिकारी, डीएसपी जगतसिंह डाँगा अतिथिका रूपमा थिए ।

जेलका नाइके श्रीचन राय यादवले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट काम गर्ने श्रमिकहरूलाई पुरस्कृत गरिएको थियो । मुढा बुनाइमा उत्कृष्ट हुने दावा तामाङ, गलैँचा बुन्ने आले तामाङ, पोते मालामा राजु हुसेन र पोते बुनाइमा पारस थापा क्षेत्रीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :