मजदुर हकहितविरोधी कार्य सैह्य नहुने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ:अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना महामारी फैलिएर श्रमिकहरूको जीवनरक्षा कष्टकर बन्दै गएको समयमा विभिन्न बहाना गरी मजदुरको हकहितविरोधी गतिविधि बढेको पाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै एकातिर सरकार श्रमिकहरूप्रति अनुत्तरदायी बनिरहेको र अर्कातिर प्रकोप र महामारीका नाममा उद्योग, कलकारखानालगायत विभिन्न प्रतिष्ठानमा मजदुर हितविरोधी गतिविधि बढिरहेकाले यस्तो कार्य बन्द नभए महासङ्घ आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला विश्वका धेरै मुलुकमा भयावह रूपमा फैलँदै गरेको कोरोना भाइरस (कोभिड १९) का कारण अकल्पनीय जनधनको क्षति हुन पुगेको छ । यो रोगको सङ्क्रमण बिस्तारै चिन्ताजनक तवरले बढ्दै गएको छ । सङ्कटपूर्ण यो समयमा नेपालमा पनि यसको लक्षण र सङ्क्रमण देखिएको छ । सरकारले यसको नियन्त्रण, सुरक्षा र उपचारका निम्ति विभिन्न प्रचार र घोषणा गरे पनि नामअनुसार काम भनेझैँ सामाजिक दलाल सरकार जनताका निम्ति खास तत्पर एवम् प्रतिबद्ध यतिबेला पनि बनेको पाइन्न । दिनरात भय, त्रास र आतङ्कका बीचमा बाँच्न बाध्य उत्पीडित श्रमिकहरूले एकाएक आफ्नो दैनिकी कसरी चलाउने र जीवन धान्ने भन्नेबारे सोच्नुपरेको अर्को चिन्ताजनक तथ्य हाम्रो अगाडि सार्वजनिक भैसकेको छ ।’

महासङ्घको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकार र शासन व्यवस्थाभित्रको खराबीले गर्दा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव उत्पन्न गर्ने कालोबजारी, महँगीजस्ता अवाञ्छित गतिविधि राज्यको नियन्त्रणभन्दा बाहिर गैरहेको छ भने भ्रष्टाचारी, तस्कर र कालोबजारियाले अनुचित प्रश्रय पाइरहेका छन् । मानवीय संवेदनामा सलबलाउने तत्वहरू राज्यकै आडमा निस्फिक्री रूपमा हिँडिरहेका छन् । अर्कोतिर विभिन्न प्रकोप र महामारीका नाममा उद्योग, कलकारखानालगायत विभिन्न प्रतिष्ठानमा हुने गरेका मजदुर हितविरोधी गतिविधि यतिबेला अरू बढी बहानामा बढ्दै गरेका छन् । अस्वाभाविक श्रमिक कटौती, पारिश्रमिक र सेवासुविधामा अस्वीकार्य कटौती र अन्य विविध गरी परिस्थितिलाई मजदुर हितविरोधी कार्य र हर्कतका निम्ति प्रयोग गर्ने, न्यून ज्याला एवम् न्यून पारिश्रमिक प्रणालीलाई जोड दिने, असुरक्षित वैदेशिक रोजगारीका निम्ति न्यूनतम् सुधार एवम् सुरक्षाका निम्तिसमेत सोच्न तयार नरहने, बेरोजगारी समस्याप्रति देखावटी रूपमा मात्र चिन्ता व्यक्त गर्ने जेजति सरकारी रबैयाहरू छन् ती यथावत् राख्दै सरकार श्रमिक जनताका निम्ति कथित रूपमा चिन्ता प्रकट गर्न त चाहन्छ तर त्यो सब नौटङ्की मात्र रहेको घटनाक्रमहरूबाट प्रस्ट हुन्छ । अतः यो सङ्कटपूर्ण परिस्थितिलाई सत्ता बचाउ मात्रको अपेक्षित परिस्थिति ठान्दै मजदुर हितविरुद्ध हुने गरी देखिएका कुनै पनि हर्कत वा बहानाबाजीलाई स्वाभाविक रूपमा लिए हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ तत्काल सशक्त सङ्घर्षसहित मजदुर श्रमिकहरूका बीचमा जान बाध्य हुनेछ । त्यसपछिको परिस्थितिजन्य परिणामका निम्ति सरकार पूर्ण रूपले जिम्मेवार हुनेछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘पछिल्लोपटक चिन्ताको विषय बन्न पुगेको कोरोना भाइरस (कोभिड १९) महामारीसँग हरतरहले जुध्न र मानवजीवनको सम्पूर्ण रूपले रक्षा गर्न हातमा हात, काँधमा काँध मिलाएर निःसर्त अघि बढ्न न्यायप्रेमी श्रमिक जनता, सचेत नागरिक र सरोकारवाला तहसमक्ष विज्ञप्तिमार्फत सङ्गठन हार्दिक अनुरोध गर्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :