कालोबजारी गर्नेको गोदाम फुटाउने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अनेरास्ववियु (क्रान्तिकारी)ले कोरोनाभाइरसबाट सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै सेवामा जुट्न विद्यार्थीलाई अपील गरेको छ । कोरोनाको आतंकबीच कालोबजारी बढ्नुको साथै कृतिम अभाव गरी मूल्यवृद्धि आकासिदा पनि सरकारले अनुगमनतिर नलागेर रमेत बनेको बताएको छ ।
 नेकपानिकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले विज्ञप्ति जारी गरेर कोरोनाको आशंका गरिएका नागरिकको स्वास्थ्य परीक्षण तथा उचित उपचारको व्यवस्था हुन नसकेको बताएको छ । परीक्षणको लागि स्वास्थ्य संस्था पुगेकाहरुलाई भर्ना नलिएर रिफर गर्ने गैरजिम्मेवार हर्कत बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
अखिल क्रान्तिकारीले कोरोनाभाइरस संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न माग गरेको छ । उसले कोरोनाका बिरामीको परीक्षणदेखि उपचार निः शूल्क गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उचित तालिम, प्रबन्ध मिलाउनुको साथै सेवा, सुविधा र सुरक्षाको प्रत्याभुत गर्दै थप जनशक्ति भर्ति गर्नुपर्ने माग गरेको छ । त्यसैगरी चैत्र महिनामा सबै शैक्षिक संस्था बन्द रहेकोले शूल्क फिर्ता वा समायोजना गर्नुपर्ने माग समेत राखेको छ ।
त्यसैगरी संकटको घडीमा नागरिकलाई सेवा दिनुको साटो कृतिम अभाव सिर्जना गर्ने र कालोबाजरी गरे गोदाम फोडेर नागरिकलाई बाड्ने अध्यक्ष विष्टले चेतावनी दिएका छन् ।
यस्ता छन् ९ बुँदे मागहरु
१.सबै जिल्लामा कोरोनाभाइरसको निःशूल्क परीक्षण तथा उचित रोकथाम गर्ने वातावरण मिलाई संक्रमित भेटिए राज्यको निगरानीमा निः शूल्क उपचार गरियोस् ।
२. स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको प्रबन्ध, सेवा–सुविधा तथा सुरक्षाको प्रत्याभूति गराई थप जनशक्ति भर्ति गरियोस् ।
३. कृतिम अभाव तथ कालोबजारीविरुद्ध कडा अनुगमन तथा निगरानी गरी मूल्यवृद्धि रोक्न तथा काठमाडौं उपत्यकालगायत देशैभरी (ग्यास, डिजेल, पेट्रोल र दैनिक उपभोग्य बस्तु) को सुपथ मूल्यमा पसल तत्काल संचालन गरियोस् ।
४. भारत तथा विदेशबाट भित्रिने नागरिकहरुको सीमा नाकामा उचित स्वास्थ्य परीक्षण गरियोस् ।
५.यातायात भाडा वृद्धि गर्ने व्यावसयीहरुलाई तत्काल कार्वाही गरी निःशूल्क यातायात सुविधा उपलब्ध गराइयोस् ।
६.चैत्र महिनामा सबै शैक्षिक संस्थाहरु बन्द रहेकोले उक्त महिनाको मासिक शूल्क फिर्ता वा समायोजन गर्न सबै निजि शैक्षिक संस्थाहरुसँग माग गरिन्छ ।
७.विश्वव्यापी संकटपूर्ण यो परिस्थितिमा एक महिनाको घरभाडा तथा व्यवसायीक भाडा मिनाहा गर्न माग गरिन्छ । यसको लागि सरकारलार्य विशेष पहल गर्न आग्रह गरिन्छ ।
८.काठमाडौँ उपत्यकालगायत देशैभरी सफा पानीको आपूर्तीमा पहल गर्न सरकारसँग माग गरिन्छ ।
९.देशैभरी गिरफ्तार गरिएका हाम्रो संगठनका नेता कार्यकर्ता, राजनीतिक आस्थाका आधारमा गिरफ्तार सम्पूर्ण राजबन्दीलगायत सामान्य घटनामा राज्यको नियन्त्रषमा रहेका आम नागरिकलाई तत्काल रिहा गरियोस् । संगठनमाथिको धरपकड, गिरफ्तारी बन्द गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :