ठाउँठाउँमा भ्रष्टाचारीका फोटा टाँस्दै अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको छ । भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका स्वयम् प्रधानमन्त्री केपी शर्मा वलीले नै भ्रष्टाचारका दुई ठूला नाइके सरकारी जग्गा दलाल विष्णु पौडेल र सञ्चार क्षेत्रमा करोडौँ भ्रष्टाचारकाण्डमा मुछिएका गोकुल बास्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको भन्दै सङ्गठन आक्रोशित बनेको हो ।

सुरुमा विभिन्न नगर, गाउँ तथा वडा कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक स्थललगायत ठाउँमा साङ्केतिक रूपमा ठूला भ्रष्टाचारकाण्डमा मुछिएकाहरूको पम्प्लेट टाँसिएका छन् भने व्यङ्ग्यात्मक रूपमा विभिन्न जनावरहरूको शरीरमा टाँसेर पनि भ्रष्टाचारीको आमजनसमुदायलाई परिचित गराइएको उक्त सङ्गठनले जनाएको छ ।

‘सरकारले समृद्धिका नाउँमा करोडौँ खर्चेर पोलपोलमा आफ्नो तस्बिर टाँस्न हुने, हाम्रो सङ्गठनले भ्रष्टाचारबिरुद्ध बोल्न नहुने ?’, एक विद्यार्थी नेताले प्रश्न गरे । नेपालमा जग्गा दलालीको खेलोले एकातिर उत्पादनका क्षेत्रमा लगानी हुन सकिरहेको थिएन भने अर्कोतर्फ नेपालमा इन्टरनेट शुल्क महँगो भएका कारण आफूहरू आर्थिक रूपमा शोषित भएको भन्दै भ्रष्टाचारविरुद्धको उक्त कार्यमा विद्यार्थीले खुलेरै समर्थन जनाए । हाल विद्यार्थीको इन्टरनेटमा साताको कम्तीमा पनि सरदर एक सय रुपैयाँ डाटा खरिदमा खर्च हुन्छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिले पछिल्लो समय राजनीतिक तथा वैचारिक प्रशिक्षण, सङ्गठन विस्तार, कोरोनाविरुद्ध सचेतनालगायत कार्यक्रम गरिसकेको छ ।

यो कार्यक्रम लुम्बिनी ब्युरोका सबै जिल्लामा गरिएको ब्युरो संयोजक वीरेन्द्र विकले बताए । गुल्मीमा मुसिकोट नगरपालिका, अर्घाखाँचीमा शीतगङ्गा नगरपालिका र सन्धिखर्क नगरपालिका, कपिलवस्तुमा बाणगङ्गा नगरपालिका, नवलपुरमा विनयत्रिवेणी गाउँपालिका दर्जनौँ वडा कार्यालयमा पोस्टरहरू टाँसिएको छ । त्यस्तै जनज्योति मावि पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँची, आवासीय मावि, ज्योति मावि, कृषि क्याम्पस, पाणिनी बहुप्राविधिक शिक्षालय, सन्धिखर्क नगरपालिका, नगरपालिकाका वडा कार्यालहरू, छत्रदेप गाउँपालिकाको कार्यालय, शीतगङ्गा नगरपालिका कार्यालय, सार्वजनिक सूचना पाटीहरू, बजारका विभिन्न ठाउँ, नापी कार्यालयका विभिन्न सरकारी कार्यालयहरूमा पम्प्लेट टाँसिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :