सम्पूर्ण युवा क्रान्तिमा जोडिनुपर्छ : प्रवीण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रामपुर नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सिर्जन सारुमगरको अध्यक्षतामा २१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा पाल्पाका इन्चार्ज प्रवीणले आजका युवाहरू राजनीतिक र सामाजिक विकृतिविरुद्ध सङ्घर्ष गर्न तयार हुनुपर्ने बताए । 

उनले दलाल पुँजीवादी व्यवस्थाका कारण युवाहरू कुलतमा फस्ने, तासजुवा खेल्ने, क्यारेमबोर्डमा भुल्नेजस्ता गलत संस्कृतिका कारण भविष्यविहीन भएर निराशामा डुब्नु परेको भन्दै यी सामाजिक विकृति–विसङ्गति र दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्तिमा जोडिनुपर्ने बताए । उनले युवाहरूको सुन्दर भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिको माध्यमद्वारा सङ्घर्ष जारी रहेको बताए । 

आजका युवाहरू आधुनिक दासका रूपमा विदेशी गल्लीहरूमा धाउन बाध्य पार्ने दलाल संसदीय व्यवस्थालाई ध्वस्त पार्न युवाहरू तयार हुनुपर्ने धारणा उनले राखे ।  

सम्मेलनमा जिल्ला सेक्रेटरी बीजीले युवाहरू क्रान्तिको भर्भराउँदो पुस्ता भएकाले क्रान्तिको झन्डामुनि गोलबन्द हुनुपर्ने बताए । जनपरिषद् पाल्पाका प्रमुख नेपाल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज शारदा भण्डारी, जिल्ला अध्यक्ष लङ्कलगायतले कार्यक्रममा बोलेका थिए । युवा सङ्गठन नेपालले नगरमा युवाहरूका पक्षमा सङ्घर्षलाई चर्काउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :