आज २२ औँ सांस्कृतिक प्रतिरोध दिवस

आज चैत ५ गते बुधबार देशभर सांस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ ।
जनयुद्धको समय २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले काभ्रेको अनेकोटमा निहत्था अवस्थामा रहेका जनसंस्कृतिकर्मी÷जनकलाकार च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा र डम्बर श्रेष्ठको अमानवीय, क्रूर र बीभत्स तरिकाले हत्या गरेको दिनलाई नेकपा (माओवादी) ले सांस्कृतिक प्रतिरोध दिवस घोषणा गरेको थियो । त्यसपछि चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउन आरम्भ गरिएको थियो । हाल नेपाल कम्युनिस्ट पार्टी र उसका जनवर्गीय सङ्गठनहरुले यो दिवस विविध कार्यक्रमसहित मनाउँदै आएका छन् ।
गतवर्ष फागुन २८ गते केपी वली सरकारले नेकपा र उसका जनवर्गीय सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएपछि नेकपा र उसको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले अभियान र आन्दोलनकै रूपमा देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् ।
जनयुद्धले फागुन १ लाई नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३१ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवसका रूपमा स्थापित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :