सन्दर्भ: चीनमा सांस्कृतिक क्रान्तिको ५० औँ वर्ष/सांस्कृतिक क्रान्ति र आजको चीन

Anil sharma

अनिल शर्मा
माओ त्सेतुङद्वारा नेतृत्व गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति (सन् १९६६– सन् १९७६) विचारधारात्मक सङ्घर्षको उत्कर्ष थियो । सन् १९५८ मा नै माओ त्सेतुङले निरन्तर क्रान्तिको सिद्धान्तका विषयमा महत्वपूर्ण लेख लेख्नुभएको थियो । त्यसअगाडि नै ‘तीन गर, तीन नगर’ तथा ध्यान दिनुपर्ने कुरा लगायत निर्देशनहरू जारी गर्नुभएको थियो । पार्टीमा टाउको उठाउन खोजेको गैरसर्वहारा प्रवृत्ति र व्यवहारका विरुद्ध ती निर्देशनहरू भएका थिए । ‘रुढिवादी लेखनको विरोध गर’ जस्ता लेखहरू विचारधारात्मक सङ्घर्षकै अभिव्यक्ति थिए । एकातिर ल्यु साओ ची र अर्कोतिर लिन पियाओका गैरसर्वहारा आक्रमणका कारण माओ चिन्तित हुनुहुन्थ्यो । चीनका दक्षिणपन्थी चुनौती अनुभव भैरहेको समयमा चीनसँग सिमाना जोडिएको सोभियत सङ्घमा का. स्टालिनको मृत्युसँगै प्रतिक्रान्ति भयो । त्यसको प्रभाव विश्वभर फैलियो । चीन पनि त्यसबाट अछुतो रहन सक्दैनथ्यो । त्यसकारण राजनीतिक, आर्थिक, सांस्कृतिक तथा राजकीय निकायको नेतृत्वमा बसेका प्रतिक्रान्तिकारी शक्तिहरूलाई पराजित गर्न माओ त्सेतुङले आफूमा निहित प्राधिकारको प्रयोग गर्नुभयो ।

गृहयुद्ध र राष्ट्रिय मुक्तियुद्ध दुवैको नायक हुनुका नाताले माओ एक्लैले आह्वान गर्दा पनि चीन जुरुक्क उठ्ने स्थिति थियो । त्यसकारण सन् १९६६ मा माओको नेतृत्वमा केन्द्रीय समितिले सांस्कृतिक क्रान्तिको घोषणा ग¥यो । जेठ ३ अर्थात् मे १६ सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठ हो । सन् १९६५ मे ४ देखि ६ सम्म बेइजिङमा बसेको पोलिटब्युरो बैठकले सांस्कृतिक क्रान्तिको निर्णय गरेको थियो । पार्टी, सेना र सांस्कृतिक क्षेत्रको नेतृत्वमा बसेर समाजवादी सत्ता र जनताका विरुद्ध भूमिका खेलिरहेका प्रतिक्रियावादी तत्व र तिनका दलालको नाम सार्वजनिक गर्ने, उनीहरूलाई पदबाट राजीनामा दिन बाध्य पार्ने गरियो । ठूला पोस्टर, लेख, पर्चा, ब्रोसर, धर्ना, घेराउ, जनसभा आदिको माध्यमले जनपरिचालन गरियो । बेइजिङ, साङ्घाईजस्ता ठूला सहर र विश्वविद्यालयका लाखौँ युवाहरू लालरक्षकमा सङ्गठित भएर गाउँगाउँमा प्रवेश गरेका थिए । समाजवादी सत्ता र कम्युनिस्टका विरुद्ध प्रचार सामग्री, सञ्चार र हतियारसमेत भण्डारण गरेर बसेका ख्रचोब तथा अमेरिकी दलाल कथित भिक्षु–भिक्षुणी पक्राउ परे । त्यसका लागि प्रयोग गरिएका कतिपय गुम्बाहरू तोडफोड भए । त्यसैलाई साम्राज्यवादी सञ्चारले संस्कृति र आस्थामाथि आक्रमण भनेर दुस्प्रचार गरे ।

सांस्कृतिक क्रान्तिको क्रममा तिब्बतमा अध्यक्ष माओप्रति श्रद्धा गर्दै चिनियाँ नागरिक
सांस्कृतिक क्रान्तिको क्रममा तिब्बतमा अध्यक्ष माओप्रति श्रद्धा गर्दै चिनियाँ नागरिक

सांस्कृतिक क्रान्तिको समयमा तिब्बतजस्तो पिछडिएको क्षेत्रमा मात्र १४ सय प्रकारका १ लाख १० हजार प्रचारका सामग्री वितरण गरियो । विशाल जनसभा, जुलुस, लम्बे अभियानजस्तै अभियानहरू चलाइए । त्यसले चीनको सामाजिक चेतना उठाउन दूरगामी भूमिका निर्वाह ग¥यो । सांस्कृतिक क्रान्तिको अङ्गका रूपमा सहरबाट दक्ष प्रविधि र मेसिन गाउँतिर विस्तार गरियो । साङ्घाईबाट मेसिन र औजार ल्याएर सन् १९६७ मा तिब्बतमा धागो तथा कपडा कारखाना स्थापना गरियो । त्यसै वर्ष ल्हासामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु गरी एक वर्षभित्रै प्रयोगमा ल्याइएको थियो । विशाल नहर, सडक तथा पूर्वाधारहरू गाउँतिर विस्तार गरिएका थिए । रुसको दुर्दशा चीनमा दोहोरिन नदिनका लागि गरिएको निरन्तर क्रान्तिको नयाँ प्रयोगले चीनमा तत्काल प्रतिक्रान्ति हुनबाट रोक्यो । सन् १९७६ मा माओ, चाउ एन लाई र चु ते तीनैजना प्रमुख नेताहरूको एकै वर्ष मृत्यु भएपछि उदाएका देङ स्याओ पेङले सत्ता हत्याउनासाथ सांस्कृतिक क्रान्तिको निषेध गरे । सांस्कृतिक क्रान्तिको नेतृत्व गरिरहेकी चियाङ चिङलाई बैठकका लागि भनेर बोलाएर छलपूर्ण ढङ्गले पक्राउ गरियो । त्यसपछि क्रान्तिकारी हावा कमजोर हुँदै गयो र प्रतिक्रान्तिकारी हावा बहन थाल्यो । सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत वर्गसङ्घर्षलाई कसरी जारी राख्ने, समाजवादी सत्तालाई साम्यवादको दिशामा कसरी बढाउने भन्ने सन्दर्भको अग्रगामी र उत्कर्ष क्रान्ति थियो । यो मूलतः विश्वदृष्टिकोणको समस्या कसरी समाधान गर्ने ? भन्ने प्रश्न थियो । सन् १९५६ मा रुसमा प्रतिक्रान्ति भएको १० वर्षपछि चीनमा सांस्कृतिक क्रान्ति सुरु गरिएको थियो । यसको मूल जोड पुँजीवादको मुहान सुकाउनु थियो ।

देङ स्याओ पेङ सत्तामा आउनासाथ सांस्कृतिक क्रान्तिलाई ‘विनासका १० वर्ष’ भनेका थिए । त्यसको निरन्तरता आजसम्म कायम छ । तर पछिल्लो चरणमा चिनियाँ नेतृत्वको माओविरोधी स्वर घट्दै जान थालेको देखिन्छ । देङ र माओलाई सँगै हिँडाउन चाहेको हो ? माओको विकृतीकरण र देङको सौन्दर्यीकरण हो ? अथवा लेनिन र स्टालिनमाथिको हमलाबाट रसियाले भोगेको दुर्गति र पुटिनको पश्चातापबाट चीनको नयाँ नेतृत्वको पाठ सिक्न खोजेको हो ? यस्ता थुप्रै प्रश्न उठेका छन् । वर्तमान चीनका स्थायी समिति सदस्य क. ली जेङ्रु भन्छन्, ‘चिनियाँ जनता माओप्रति कहिल्यै पनि नकारात्मक हुन सक्दैनन् र उनलाई बिर्सने छैनन् ।’ उनले हरेक देशका आफ्नै राष्ट्रनायक हुन्छन् र माओ चीनका राष्ट्रनायक हुन् भनेका छन् । माओलाई एकातिर राष्ट्रनायक भनिरहने, अर्कोतिर उहाँले नै लामो, सचेत र गम्भीरतापूर्वक नेतृत्व गरेको आन्दोलनलाई ‘विनासका १० वर्ष’ भन्दै विदु्रपीकरण गर्ने वर्तमान चिनियाँ नेतृत्व विरोधाभासपूर्ण रहेको छ । मान्छेका कमजोरीहरू हुन्छन् र माओका पनि सीमा होलान् भनेर पन्छाउन मिल्ने विषय यो होइन ।

माओलाई अस्वीकार गर्दा चीनको जनमत विभाजित हुने त्रास, वैचारिक रूपमा अस्वीकारको द्वन्द्वमा चिनियाँ नेतृत्व फसेको देखिन्छ । त्यसैले उसले सार्वजनिक रूपमा न समर्थन न विरोधको नीति लिएको देखिन्छ भने सरकार निकटका सञ्चारले मधुरो स्वरमा विरोधको गीत गाए । माओलाई अघि नसारेसम्म चीनलाई केन्द्रीकृत गर्न नसक्ने, देङलाई राष्ट्रनायक देखाउने दमित इच्छा प्रकट भैरहने अन्तरविरोधी मानसिकता चिनियाँ नेतृत्वमा प्रकट भएको छ । ‘माओ ठीक, माओको विचार र कर्म बेठीक’ सही हुन सक्दैन । तर सांस्कृतिक क्रान्ति र माओ चीनको मात्र विषय होइन । विजय र जितको समयमा प्रतिक्रान्ति समर्थनको कोणबाट व्यक्त हुन्छ भनेझैँ सांस्कृतिक क्रान्तिकालमा पनि कमजोरीहरू भए होलान् । त्यसो त जनयुद्धकालमा पनि समस्याहरू नभएका होइनन् । अपवादलाई लिएर सांस्कृतिक क्रान्तिकै विरोध गलत छ । चीनको वर्तमान सत्तारूढ दलले सांस्कृतिक क्रान्तिलाई ‘बाइबाई’ गरेको सत्य हो तर विश्वका श्रमिक र चिनियाँ जनताले सधैँका लागि सांस्कृतिक क्रान्तिलाई ‘बाइबाई’ गरे भन्ने कुरा सत्य होइन । यद्यपि चिनियाँ नेतृत्वमा माओ र सांस्कृतिक क्रान्तिप्रतिको आक्रामकता घटाउँदै लग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :