पुँजी र अतिरिक्त मूल्य

पुँजीपतिले मजदुरहरूको शोषण–उत्पीडन यसरी गर्दछन्

पुँजीवादी उत्पादन अतिरिक्त मूल्य बटुल्ने उद्देश्यबाट गरिएको माल उत्पादन हो । पुँजीवादी उत्पादनको प्रकृतिलाई बुझ्नका निम्ति हामीले माक्र्सको पुँजी र अतिरिक्त मूल्यको सिद्धान्तको अध्ययन गर्नु पर्नेछ । त्यस सिद्धान्तबाट आफूलाई लैस गरेपछि नै हामीले पुँजीवादको शोषणकारी सम्बन्धलाई बुझ्न सक्नेछौँ । पुँजीवादको अवश्यम्भाबी अन्त्य र समाजवादको अवश्यम्भाबी विजयको सत्यलाई महसुस गर्न सक्नेछौँ, सर्वहाराको ऐतिहासिक मिसनको महत्व पहिचान गर्न सक्नेछौँ र तब मात्र हामी सर्वहाराका सचेत क्रान्तिकारी सिपाही बन्न सक्नेछौँ ।

पुँजीपतिहरूद्वारा मजदुरहरूको शोषणको रहस्य श्रमशक्तिको मालहरूका रूपमा परिवर्तन अतिरिक्त मूल्य उत्पादनको पूर्वसर्त हो ।

पुरानो समाजका हरेक पुराना मजदुरहरूसँग दुःख र कठिनाइको एउटा पारिवारिक इतिहास छँदैछ । ‘पुरानो समाजमा मजदुरहरूले सुँगुरहरू र कुकुरहरूले सरह खान्थे र राँगाहरू र घोडाहरूसरह जोतेर काम गर्दथे । उनीहरूले वृद्ध हुँदासम्म काम गर्दथे । उनीहरुको हालत परालको एउटा त्यान्द्रोभन्दा पनि खराब थियो ।’ उनीहरू राजनीतिक रूपबाट पनि उत्पीडित थिए र उनीहरूको जीवन अनिश्चित रहन्थ्यो तर पुँजीपतिहरू कहिल्यै काम गर्दैनथे । मजदुरहरूमाथि हैकम जमाउँथे र विलासिताले भरिएको पतनशील जीवन जिउँथे । उनीहरूको सम्पत्ति हरसमय बढिरहन्थ्यो । आखिर किन ? माक्र्सको पुँजी र अतिरिक्त मूल्यको सिद्धान्तले यस रहस्यको पर्दा उठाइदियो र उपरोक्त प्रश्नहरूको वैज्ञानिक ढङ्गबाट उत्तर दियो ।

माक्र्सको पुँजी र अतिरिक्त मूल्यको सिद्धान्तले मजदुर हरूको पुँजीवादी शोषणको रहस्यको पर्दा कसरी हटाइदियो ? यो बुझ्नका निम्ति हामीले त्यस विशेष माल र श्रम शक्तिबाट सुरु गर्नेछौँ ।

श्रमशक्तिको अर्थ हो मानवीय कार्य । एउटा व्यक्तिको शारीरिक र मानसिक प्रयत्नहरूको कुल योग । कुनै पनि समाजमा श्रम शक्ति उत्पादनको मूल्य उपादान हुने गर्छ । तर पुँजीवादी समाजमा श्रमशक्ति एउटा माल मात्र हुने गर्छ । श्रमशक्ति दुईवटा परिस्थितिमा माल बन्दछ : पहिलो, श्रम गर्ने एक ‘मुक्त व्यक्ति’ हुन्छ । ऊ आफ्नो श्रमशक्तिलाई मालका रूपमा बेच्नका लागि स्वतन्त्र हुन्छ । दोस्रो, श्रम गर्नेसँग आफ्नो श्रमबाहेक अरू केही हुँदैन । ऊसँग उत्पादन वा आजीविकाका कुनै साधन छैनन् र उसलाई जीवित रहनका निम्ति आफ्नो श्रम शक्ति बिक्री गर्न आवश्यक छ । उपरोक्त २ वटा परिस्थितिहरू त्यतिबेला उत्पन्न भए जतिबेला सामन्ती समाजको पतन भयो र ससाना माल उत्पादकहरू र आदिम सञ्चयका बीचमा ध्रुवीकरण सुरु भयो । पुँजीपतिद्वारा मजदुरहरूलाई काममा राख्नु उनीहरूको श्रम शक्तिलाई किनेर उनीहरूलाई किरायाको दास बनाउनु नै हो ।

जब श्रम शक्ति माल बन्न जान्छ तब अन्य मालहरूसरह त्यसको पनि मूल्य र उपयोग हुने गर्दछ । श्रम शक्तिको मूल्य, अन्य मालहरूसरह त्यसको उत्पादन र पुनर्उत्पादनमा लाग्ने सामाजिक रूपबाट आवश्यक श्रमको परिमाणद्वारा निर्धारण हुने गर्दछ । पुँजीपतिले मजदुरले उसका निम्ति काम गरिरहोस् भन्ने चाहन्छ भने त उसलाई, उसको श्रम गर्नसक्ने क्षमता बनाइराख्नुपर्दछ । मजदुरलाई श्रम गर्नसक्ने क्षमता बनाइराख्नका निम्ति उसलाई गाँस, बास, कपास र उसका आजीविकाका साधनहरू उपलब्ध गराइदिनु आवश्यक हुने गर्दछ । त्यसकारण श्रम शक्तिको मूल्यमा सबभन्दा पहिले उसका आजीविकाका साधनहरूको मूल्य सम्मिलित हुनुपर्दछ । मजदुरहरूलाई अझ धेरै राम्रोसँग शोषण गर्नका निम्ति पुँजीपतिले चाहन्छ– ऊ सामान्य शिक्षा र प्रशिक्षणबाट केही सीप हासिल गरोस् । यसप्रकार श्रम शक्तिको मूल्यमा शिक्षा र प्रशिक्षणको खर्च पनि समावेश हुनु पर्दछ । परन्तु यी शीर्षकहरू त धेरै छोटा हुने गर्दछन् । सामान्यतः यो भन्न सकिन्छ– श्रम शक्तिको उत्पादनका निम्ति सामाजिक रूपबाट आवश्यक श्रम हुने गर्दछ । अर्को शब्दमा, श्रम शक्तिको मूल्य मजदुरलाई जिउँदै राख्न र उसका छोराछोरीहरूलाई बढाउँदै राख्नका निम्ति आवश्यक आजीविकाका साधनहरूको मूल्य हुने गर्दछ ।

जहाँसम्म श्रम शक्तिको उपयोगको मूल्यको कुरा छ, यो अन्य मालहरूको उपयोग मूल्यभन्दा भिन्न हुने गर्दछ । श्रम शक्ति एउटा विशेष माल हो । यसको उपयोग मूल्यमा एउटा खास विशिष्टता निहित हुने गर्दछ । अन्न वा कपडाजस्तै अन्य मालहरूको उपयोग मूल्यको उपभोग गर्नाले कुनै नयाँ उपयोग मूल्यको सिर्जना हुँदैन यद्यपि यो विशेष माल श्रम शक्ति अर्थात् मजदुरको कामको उपयोग, मूल्य सिर्जना गर्न सक्दछ । यसबाट पनि बढेर यति मूल्य सिर्जना गर्न सक्दछ जुन स्वयम् श्रम शक्तिको मूल्यभन्दा पनि धेरै हुन्छ । ‘जब पुँजीपतिले श्रम शक्तिलाई खरिद गर्दछ तब उसको चासो त्यही बढी हुने मूल्यमा नै हुने गर्दछ ।’१ श्रम शक्तिको मूल्य र उसद्वारा सिर्जित मूल्यको अन्तरलाई अतिरिक्त मूल्य भनिन्छ ।

पुँजीपतिद्वारा हड्पिने अतिरिक्त मूल्य मजदुरहरूको शोषणबाट आउने गर्दछ ।

यो अतिरिक्त मूल्य कसरी उत्पन्न हुने गर्दछ ? आउनुहोस्, हामी अतिरिक्त मूल्यको उत्पादन प्रक्रियाको ठोस विश्लेषण गरौँ । पुँजीपतिले श्रम शक्ति खरिद गरिसकेपछि मजदुरहरूलाई आफ्ना कारखानाहरूमा मालहरूको उत्पादन प्रक्रियाका दुईवटा पक्ष हुन्छन् : एउटा श्रम प्रक्रिया हुने गर्दछ । अर्को यो मूल्य संवद्र्धनको पनि प्रक्रिया हुने गर्दछ ।

श्रम प्रक्रिया एउटा यस्तो उद्देश्यपूर्ण प्रक्रिया हुने गर्दछ जसद्वारा मानिसले निश्चित श्रमको उपयोगबाट कुनै वस्तुलाई मानवीय आवश्यकताहरूको अनुकूल बनाउँछन् । पुँजीवादी श्रम प्रक्रियाको विशिष्टता हुन्छ– उत्पादनका साधनहरूमाथि पुँजीपतिको अधिकार हुन्छ । मजदुरले पुँजीपतिको हुकुममा ढाड भाँचिने गरी मेहनत गर्दछ जब कि उसको श्रमको उत्पादनहरूमाथि पुँजीपतिको हक हुने गर्दछ । पुँजीवादी श्रम प्रक्रियाको परिणाम केही निश्चित मानवीय आवश्यकताहरूलाई पूरा गर्न लायक उपयोग मूल्यको सिर्जना हुने गर्दछ । यद्यपि पुँजीवादी श्रम प्रक्रियाको उद्देश्य यो हुँदैन । पुँजीपति मजदुरलाई कुनै उपयोग मूल्य यसकारण पैदा गर्न दिन्छ, उपयोग मूल्य नै मूल्यको भौतिक माध्यम हुन्छ । उसले कुनै उपयोग मूल्य दिएन भने त उसका मालको कुनै माग नै हुँदैन र उत्पादित (अतिरिक्त मूल्यसहित) उसलाई प्राप्त हुँदैन ।

पुँजीवादी उत्पादन प्रक्रिया पनि एउटा मूल्य संवद्र्धक प्रक्रिया हो । जब मजदुरले उपयोग मूल्य उत्पादन गर्दछन् तब उनीहरूले आफ्नो सक्रिय श्रमको प्रयोग गरेर नयाँ मूल्य पनि सिर्जना गरिरहेका हुन्छन् । मजदुरले जुन नयाँ मूल्य सिर्जना गर्दछन् त्यो स्वयम् श्रम शक्तिको मूल्यभन्दा धेरै हुने गर्दछ । यसलाई मूल्य संवद्र्धन भन्दछन् । यही मूल्य संवद्र्धन नै पुँजीपतिको अन्तिम ध्येय हुने गर्दछ । मूल्य संवद्र्धन प्रक्रिया पुँजीवादी उत्पादन प्रक्रियाको मुख्य विषय हुने गर्दछ । धागोको उत्पादनको उदाहरण लिऊँ । पहिले पुँजीपतिको मजदुरको बाह्र घन्टाको कार्य दिवसका निम्ति पर्याप्त उत्पादनका साधन खरिद गर्दछ । मानिलिऊँ, यी उत्पादनका साधनहरूको मूल्य अठ्चालीस घन्टाको बराबर श्रम हो जसको मूल्य २४ युआन छ । उसले एउटा मजदुरबाट एक दिनको श्रम शक्ति खरिद गर्दछ । मानिलिऊँ एक दिनको श्रम शक्तिको मूल्य ६ घन्टाको श्रमबराबर हुन्छ जसको मूल्य तीन युआन हुन्छ । फेरि मजदुरलाई धागो कात्न लगाउने गरिन्छ । यद्यपि पुँजीपतिले एक दिनको श्रम शक्ति खरिद गरेको छ त्यसकारण उसले मजदुरहरूलाई ६ घन्टा मात्र काम गर्न त भन्दैन । मानौँ, मजदुरले प्रतिदिन १२ घन्टा मेहनत गर्दछ । यस्तोमा उत्पादित धागाको मूल्य ७० घन्टा श्रमको बराबर भयो जसको औसत मूल्य ३० युआन हुन्छ । यसबाट २४ युआन उत्पादनका साधनहरूलाई स्थानान्तरण गरियो र ७ युआन मजदुरद्वारा १२ घन्टाको श्रमबाट सिर्जित नयाँ मूल्य हो । यस श्रम प्रक्रियामा पुँजीपतिलाई ३० युआन प्राप्त हुन्छ जसमध्ये २४ युआन उत्पादनका साधन खरिद गर्न र ३ युआन ज्याला दिनका लागि खर्च हुन्छ । ३ युआन बचत हुने गर्दछ । यो मजदुरद्वारा सिर्जित संवद्र्धित मूल्य हो जसलाई पुँजीपतिले हडप्ने गर्दछ । मूल्य संवद्र्धनको प्रक्रिया अतिरिक्त मूल्यको उत्पादन प्रक्रिया हो ।

उपरोक्त प्रसङ्गमा जेजस्तो भयो त्यो विनिमयमा समरूपताको सिद्धान्तकै अनुसार भएको हो । तथापि मूल्यमा वृद्धि हुने गर्दछ र अतिरिक्त मूल्य उत्पादित हुने गर्दछ । यस प्रक्रियाको साँचो के हो भने पुँजीपतिले आफूद्वारा खरिदिएको श्रम शक्तिको प्रयोग गर्ने अधिकार प्राप्त गरेको हुन्छ । ‘बिक्री गर्ने व्यक्तिको श्रम शक्ति अर्थात् श्रमको उपयोग मूल्यमाथि त्यति नै हक हुने गर्दछ जति बिक्री भएको तेलको उपयोग मूल्यमाथि तेल बिक्रेताको हुन्छ । धनको मालिकले श्रम शक्तिलाई दैनिक मूल्य भुक्तान गरेको छ । परिणामस्वरूप दिनभरिको उसको उपयोग पूरै दिनको श्रममाथि उसको अधिकार हुन्छ । श्रम शक्तिलाई कायम राख्नका निम्ति दैनिक आवश्यकताहरूमाथि खर्च आधा दिनको कामबराबर हुन्छ । नतिजा, एक दिन श्रम शक्ति काम लागिरहनाले सिर्जना गर्ने मूल्य त्यसको आफ्नो दैनिक मूल्यभन्दा दुई गुणा बढी हुने गर्दछ ।’२ पुँजीपतिले ठूलाठूला कारखाना खडा गर्न र धेरैभन्दा धेरै सम्पत्ति बटुल्न यसकारण सक्षम हुने गर्दछन्, श्रमद्वारा सिर्जित मूल्य श्रम शक्तिको मूल्यभन्दा कैयौँ गुणा धेरै हुने गर्दछ र यो अन्तरलाई पुँजीपतिले हडप्ने गर्दछ ।

अतिरिक्त मूल्यको उत्पादन प्रक्रियाको विश्लेषणबाट यो स्पष्ट देखिन्छ, अतिरिक्त मूल्य मजदुरहरूद्वारा उत्पादन क्षेत्रमा सिर्जित गरिन्छ तर मजदुरहरूमाथिको शोषणलाई ढाक्नका लागि पुँजीपति र तिनका नोकर बुद्धिजीवीहरूले यस कुरामा जोड दिन्छन्– पुँजीपतिद्वारा प्राप्त गरिएको नयाँ मूल्य परिचालन (सर्कुलेसन) को क्षेत्रबाट आउने गर्दछ । हामीले यस्ता झूटहरूलाई पूर्ण रूपमा पर्दाफास गर्नुपर्दछ । अतिरिक्त मूल्यलाई यसो भनेर बुझाउन सकिँदैन– क्रेताले मालहरूलाई तिनको मूल्यभन्दा कममा खरिद गर्दछ वा बिक्रेताले मालहरूलाई तिनको मूल्यभन्दा धेरैमा बेच्छ किनभने क्रेता र बिक्रेताको भूमिकालाई बदलिने हो भने त व्यापारमा हुने घाटा वा नाफा बराबर हुन पुग्छ । अतिरिक्त मूल्यलाई धोकाका रूपमा पनि बुझाउन सकिँदैन किनभने धोकाधडीले एक पक्षलाई नोक्सान र अर्को पक्षलाई फाइदा त पुग्न सक्छ यद्यपि यसले दुवै पक्षहरूको कुल सम्पदामा वृद्धि गर्न सक्दैन । ‘कुनै देशका सबै पुँजीपति वर्ग एकअर्कालाई धोका दिएर अमीर बन्न सक्दैनन् ।’३ अतिरिक्त मूल्य र परिचालनका क्षेत्रमा कुनै सम्बन्ध छ त त्यो मात्र यत्ति नै हो– पुँजीपति श्रमलाई खरिद गर्न र माल बिक्री गर्नका निम्ति आफूलाई परिचालनको क्षेत्रबाट अलग गर्न सक्दैन । परिचालनका क्षेत्रमा पुँजीपतिले श्रम शक्तिलाई खरिद गर्दछ । अतिरिक्त मूल्यको उत्पादनका परि स्थितिहरू बनाउँछ र पुँजीपतिले आफ्नो माल बिक्री गरेर अतिरिक्त मूल्य प्राप्त गर्दछ । कुनै पनि तरहबाट अतिरिक्त मूल्य केवल उत्पादन प्रक्रियामा पुँजीपतिद्वारा मजदुरको शोषणबाट नै उत्पन्न हुन सक्दछ ।

एकपल्ट पुँजीवादी शोषणको रहस्य बुझिसकेपछि पुँजीको चरित्र र पुँजीवादका मातहत आधारभूत आर्थिक नियमलाई बुझ्न सकिन्छ । पुँजी एउटा यस्तो मूल्य हो जसले अतिरिक्त मूल्य उत्पन्न गर्ने परिस्थिति तयार गर्न सक्दछ । अर्थात् के भन्न सकिन्छ भने यो एउटा यस्तो मूल्य हो जसमा स्वतः मूल्य संवद्र्धनको क्षमता हुने गर्दछ । पुँजी कुनै सरल वस्तु होइन । यो पुँजीवादी उत्पादन प्रणाली अर्थात् त्यस्ता वर्गसम्बन्धहरूको अभिव्यक्ति गर्दछ जसअन्तर्गत पुँजीपति मजदुरहरूको शोषण गर्दछन् ।

पुँजीद्वारा अभिव्यक्त यो सम्बन्ध पुँजीवादी विकासको एउटा परिणाम हो । उत्पादनका साधनहरू र मुद्राको अतिरिक्त पुँजीवादी उत्पादन प्रणालीको उद्भवभन्दा पहिलेदेखि नै थिए । केवल पुँजीवादी उत्पादन प्रणालीअन्तर्गत जहाँ पुँजीमाथि पुँजीपतिको स्वामित्व हुन जान्छ र यसको प्रयोग मजदुरको अतिरिक्त मूल्यको शोषणका निम्ति हुने गर्दछ त्यो नै (उत्पादनका साधन र मुद्रा) पुँजी बन्न जान्छ । माक्र्सले भन्नुभएको थियो, ‘निग्रो मात्र एउटा निग्रो हो । केवल कुनै विशेष परिस्थितिमा ऊ एउटा दास बन्ने गर्दछ । कताइ मेसिन धागो कात्ने मेसिन हो । केवल कुनै परिस्थितिहरूमा त्यो पुँजी बन्ने गर्दछ ।’४ बुर्जुवा अर्थशास्त्रीहरूले यस कुरामा जोड दिने गर्दछन्– उत्पादनको साधन पुँजी हो । यो तर्कअनुसार त आदिम मानिसद्वारा प्रयोग गरिएका ढुङ्गाका औजार र काठका गदाहरू पनि पुँजी नै थिए । यस्ता भ्रमहरूको उद्देश्य मानिसहरूबीचका वर्गसम्बन्धहरूलाई वस्तुहरूका बीचका सम्बन्धले ढाक्नु थियो । पुँजीवादी शोषणको प्रकृतिलाई ढाक्नु थियो, यस तथ्यलाई अस्वीकार गर्नु थियो, पुँजीवाद एउटा ऐतिहासिक श्रेणी हो र पुँजीवादलाई शाश्वत् तथा अनन्तकालदेखि नै चलिआएको भनी सिद्ध गर्नुभयो ।

माक्र्सले पुँजीवादी उत्पादन प्रणालीको आफ्नो विश्लेषणमा बताउनुभएको थियो, ‘अतिरिक्त मूल्य उत्पन्न गर्नु र धन आर्जन गर्नु यस उत्पादन प्रणालीको सर्वोच्च नियम हो ।’५ अतिरिक्त मूल्यको यो नियम पुँजीवादको आधारभूत नियम पनि हो । यसले पुँजीवादको वस्तुगत उद्देश्य र प्रकृतिलाई दर्साउँछ । अतिरिक्त मूल्यको उत्पादन हुँदैन त्यो भने पुँजीवादी उत्पादन पनि हुन सक्दैन । पुँजीपतिहरूका सम्पूर्ण गतिविधिहरू मुनाफाका निम्ति मजदुरहरूको रगतपसिना निचोर्नमा केन्द्रित हुने गर्दछन् । धनको निम्ति पुँजीपतिको लोभलालच कहिल्लै सन्तुष्ट हुन सक्दैन र अतिरिक्त मूल्यको उसको तिर्खा कहिल्यै मेटिँदैन । यो पुँजीपतिको प्रकृति नै हो । ‘पुँजीको उद्देश्य आवश्यकताहरू पूरा गर्नु होइन, बरु मुनाफा आर्जन गर्नु हो ।’६ ‘पुँजी र यसको मूल्यमा वृद्धि उत्पादनको आदि र अन्त्य हुने गर्दछ र यही नै उत्पादनका साधन र लक्ष्य हुने गर्दछ ।’७ पूरै पुँजीवादी व्यवस्था पुँजीपतिद्वारा मजदुरहरूको क्रूर शोषणमा आधारित हुने गर्दछ । पुँजीवाद त्यस्तो सैतानी व्यवस्था हो जसले मनुष्यद्वारा मनुष्यको शोषण गर्दछ ।

पुँजीवादी व्यवस्थालाई कायम राख्न र पुँजीवादी शोषणको प्रकृतिलाई लुकाउने उद्देश्यले बुर्जुवा वर्ग र यसका प्रवक्ताहरूले जनतालाई धोका दिनका निम्ति विभिन्न प्रकारका भ्रमहरू सिर्जना गरे । उनीहरूले भन्ने गरे, मजदुर हरूका दुःख र अभावहरू उनीको ‘दुर्भाग्य’ का कारण हो र पुँजीपतिहरूको सम्पन्नता ‘अध्यवसाय र मितव्ययिता’ को परिणाम हो । यी सबै झूटा कुरा हुन् । पुँजीपतिले कहिल्यै काम गर्दैन ‘अध्यवसायी’ कसरी हुन सक्छ ? जसले ऐसआरामले भरिएको दुष्टतापूर्ण जीवन जिउने गर्दछ त्यो ‘मितव्ययी’ कसरी हुन सक्दछ ? पुरानो समाजमा (क्रान्तिपूर्वको समाजमा सं.) मजदुरहरूको दुःख र अभाव ‘दुर्भाग्यका कारण होइन, बरु यसकारणले हुन्थ्यो अधिकांश उत्पादित वस्तुहरू पुँजीपतिद्वारा हडप्ने गरिन्थ्यो । सङ्क्षेपमा, मजदुरहरूको गरिबी र पुँजीपतिहरूको सम्पन्नताको स्रोत एउटै थियो । त्यो थियो पुँजीपतिहरूको निजी स्वामित्वमा पुँजीवादी शोषक व्यवस्था ।’

ती निर्मम साधन छन् जसको माध्यमबाट पुँजीपतिले मजदुरहरूको शोषण उत्पीडन गर्दछ र अतिरिक्त मूल्यको दर पुँजीपतिद्वारा मजदुरहरूको शोषणको मात्रालाई प्रदर्शित गर्दछ ।

पुँजीपति छद्म भेषमा पुँजी हो । उसको आत्म पुँजीको आत्म हुने गर्दछ । पुँजीपति एउटा जुका हो । त्यो तबसम्म रुक्दैन जबसम्म मजदुरहरूमा अलिकति पनि निचोर्नका लागि बसेको होस् । अरू धेरै अतिरिक्त मूल्य प्राप्त गर्नका निम्ति पुँजीपतिले मजदुरमाथि शोषण बढाउन हरसम्भव प्रयास गर्दछ । मजदुरलाई पुँजीपतिद्वारा गरिने शोषणको मात्रालाई अतिरिक्त मूल्यको दरबाट नाप्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :