कोरोनाले कोमामा पुगेको सार्क ब्युझियो

भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी ओली

काठमाडौँ : भारत–पाकिस्तान तनावका कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) करिब कोमामा पुगेको थियो । यस अघि २०७३ मा नै भैसक्नुपर्ने सार्क सम्मेलन भारत र पाकिस्तानबीचको तनावकै कारण सम्भव भएको थिएन । हालै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना प्रकोप पछि भारतीय प्रधानमन्त्रीको आग्रहमा सार्क राष्ट्रका प्रमुखहरुबीच भिडियो कन्फरेन्स भएको छ । कोरोना विरुद्धको लडाई साझा तरिकाले लडन सार्क राष्ट्रहरु एकैठाँउमा उभिनुपर्ने मोदीको प्रस्ताव पाकिस्तानले स्वीकार गरेसँगै आइतबार बेलुका भएको भिडियो कन्फरेन्स मार्फत सार्क राष्ट्रका प्रमुखहरु एकैसाथ संवाद गर्न सम्भव भएको हो । यद्यपी पाकिस्तानका राष्ट्रपति इमरान खान भिडियो कन्फरेन्समा आफै उपस्थित नभई त्यँहाका स्वास्थ्य मन्त्रीलाई सहभागी गराए । बाँकी सबै राष्ट्रका भने राष्ट्रप्रमुख नै भिडियो कन्फरेन्समा सहभागी भए । यसअघि एक आपसमा छलफल र संवादको लागि नजिक पर्न नचाहने भारत र पाकिस्तानकै कारण नेपालले विभिन्न समयमा गरेको प्रयास पनि सफल हुन सकेको थिएन । जसको कारण सार्क शिथिल बनेको थियो र शिखर सम्मेलन अलपत्र परेका थियो । तर कोभिड १९ ले भारतमा प्रवेश गरेर २ जनाको ज्यान समेत लिएको अवस्थामा मोदीले कोरोना विरुद्ध लड्न साझा कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेर  सार्क सम्झीएको कारण यो संवाद संभव भएको हो ।  कोरोना प्रकोप महामारीको कुनै सिमा नहुनेहुँदा यो मानवीय संमवेदना र निकै संमवेदनशिल विषय भएर पनि हुनसक्छ भारतको आग्रह पाकिस्तानले सजिलै स्वीकार गर्यो र सार्क राष्ट्रहरुको संवाद संभव भयो ।

भिडियो कन्फरेन्समा सार्क राष्ट्रका नेताहरु

सार्क राष्ट्रका प्रमुखहरुबीच भएको भिडियो संबादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन कोष प्रस्ताव गर्दै आफ्नो देशले १ करोड अमेरिकी डलर योगदान गर्ने घोषणा गरेका छन् । यस्तै नेपाल लगायत अन्य सार्क देशहरु अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंकाले पनि आवश्यक योगदान गर्ने बताएका छन् । भिडियो कन्फरेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो महामारीले भविश्यमा कस्तो रुप लिन्छ भन्ने कुरा थाहा नहुने भएकोले सबै मिलेर यसको सामना गर्नुपर्ने बताए । दक्षिण एसियामा महामारी नियन्त्रणका लागि साझा अनुसन्धान केन्द्र बनाउने प्रस्ताव गर्दै मोदीले कोरोना महामारी पहिलो र अन्तिम नभएको र महामारी विरुद्धको लडाई सबै मिलेर लडेर विश्वलाई उदाहरण देखाउनुपर्ने बताए ।

यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरु परम्परागत र प्राकृतिक औषधीहरुको धनी भएको भन्दै अभिवादनको सट्टा हात मिलाउनु पर्ने बताए । ओलीले नेपालमा अहिलेसम्म १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको भन्दै कोरोना विरुद्ध लड्न चालिएका कदमहरुको बारेमा जानकारी गराए । यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहाले २००३ को सार्स भाइरसको त्रासको बेला जस्तै सार्कका मन्त्रीहरुको बैठक बसेर रणनीति तर्जुमा गर्नुपर्ने बताए ।

यस्तै अफगानिस्तानका राष्ट्रपति असफल अलि घानीले आफ्नो देशको इरानसँगको खुला सिमाका कारण बढि जोखीम रहेको भन्दै कोरोना बिरुद्ध लड्न टेली मेडिसिनको भूमिका मुख्य हुने बताए । यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले कोरोना संकटसँग जुध्न विशेष किसिमको संयन्त्र निर्माण गर्नुपर्ने बताईन । यस्तै श्रीलंकाका राष्ट्रपति गोटभाया राजापक्षेले विशेष संयन्त्रको आवश्यकतामा जोड दिए । पाकिस्तानी स्वास्थ्य मन्त्रीले पनि क्षेत्रीय सहकार्यमा सार्कको भुमिका महत्वपुर्ण हुने भन्दै भारतले कश्मिरमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :