बन्धनको निराकरण

कविता

म केही लेखूँ कि नलेखूँ ?
लेखूँ भने
केही मानिस रिसाउने डर छ ।
नलेखूँ भने
धेरै मानिस खुसी नहुने डर छ
डरको भन्दा बढी मलाई आफ्नै भर छ ।
त्यसैले
धेरैसँग गाँसिएर लेख्ने अलिअलि रहर छ ।
प्रायः दिनहुँ म बुझ्छु
कहिले १/२, कहिले ५/१० पनि
आम्दानी राम्रै भइरहेको छ ।
खर्च भने एकदम न्यून छ ।
मानिसलाई चिन्ता छ आम्दानीको
तर यहाँ हामीलाई
खर्च नभएकोमा सुर्ता छ ।
आम्दानी धेरै तर भण्डारण साँगुरो छ ।
हिउँदमा त ठिकै छ
गर्मीमा पाकेर कुहिने खतरा छ ।
म नयाँ आम्दानीका रूपमा
आएका प्रत्येक मानिसलाई बुझ्छु ।
थाहा हुन्छ, तीमध्ये कति धेरै निर्दोष छन् ।
हो, बहुरूपी परिबन्धहरू छन् ।
अज्ञानता, गरिबी र भूलहरू छन् ।
नत्र कसको चाहना हुन्छ र
थुनुवा, कैदी र न्दी हुनलाई !
तर तिनै भूल, गरिबी र अज्ञानतामाथि
न्याय र कानुनका फूलहरू फुल्छन् ।
यो स्थितिमा लेखूँ कि नलेखूँ ?
लेखूँ भने
थुन्नेहरू रिसाउने डर छ
नलेखूँ भने
थुनिनेहरू खुसी नहुने डर छ ।
डरभन्दा मलाई आफ्नै भर छ
त्यसैले
कैदीसँग जोडिएर लेख्ने अलिअलि रहर छ ।
केही सय वर्षअघि
ज्याक रुसोले भनिदिए–
मानिस स्वतन्त्र जन्मिन्छ
तर जन्मेपछि ऊ सिक्रीले बाँधिन्छ
हो, त्यही सिक्री चुँडाउन
पुनर्जागरण चल्यो ।
लुई सोह्रौँको टाउको काटियो
क्रान्तिहरू भए, विश्वयुद्ध भए
हजारौँ–लाखौँ मानिसको बलिदान भयो
यो महाअभियानमा
मलाई लाग्छ मेरा पुर्खाको योगदान छ
साँच्चै भनौँ, मेरो त ठूलै बलिदान छ
अफसोच ! आज आफ्नै हातमा सिक्री छ ।
सिक्रीको साथमा बन्द कोठाभित्रबाट
साना छिद्रका प्रकाश केन्द्रित गरेर
विश्व–ब्रह्माण्ड नियाल्छु खुब
देख्दिनँ कतै रुसोको सिक्री चुँडिएको
बरु देख्छु रुसोले भन्न बिर्सेको
मान्छे जन्मिँदै कोही अपराधी हुँदैन
त्यसैले
अपराधका लागि दण्ड पर्याप्त हुँदैन
कारणको निराकरण जरुरी छ ।
जुकरबर्गको आविष्कारले
निस्फिक्री छौँ जस्तै लागे पनि
झन् कसिँदैछ त्यो बलियो सिक्री
मालको सिक्री, बजार र पुँजीको अनि राज्य र कानुनको
तर त्योभन्दा बलियो छ ।
सिक्री चुँडाउने मानवइच्छा
यो स्थितिमा लेखूँ कि नलेखूँ
लेखूँ भने
सिक्री सर्जक रिसाउने डर छ
नलेखूँ भने
स्वतन्त्रताप्रेमी खुसी नहुने डर छ
डरभन्दा बढी आफैँसँग भर छ
त्यसैले
स्वतन्त्र सेनानीसँग मिसिएर लेख्ने अलिअलि रहर छ ।
बाँच्नैका लागि जीवनभर
अविराम पसिनाका खोला–नदी तर्नेहरू
दिमागी डुङ्गा खियाएर
कहिल्यै आफ्नो गन्तव्यमा नपुग्नेहरू
किन कहिल्यै उन्मुक्त हाँसो हाँस्दैनन् ?
भौतिक र बौद्धिक श्रम एकमुष्ट पारेर
आर्जित आजको सगल सुख, समृद्धि र हाँसो
किन श्रमिकलाई नै दुर्लभ छ ?
यो स्थितिमा लेखूँ कि नलेखूँ ?
लेखूँ भने
धनीहरू रिसाउने डर छ
नलेखूँ भने
श्रमिकहरू खुसी नहुने डर छ
डरभन्दा बढी आफैँसँग भर छ
त्यसैले
श्रमिकसँग गाँसिएर लेख्ने अलिअलि रहर छ ।
आजका युवकयुवतीहरू
कति छन् कति तिनका रहरहरू
रहर पूरा गर्न पस्छन् सहरहरू
बढ्दैछन् अध्यागमन र विमानस्थलमा लावालस्करहरू
खुवाइँदैछ र खाइँदैछन् विषालु जहर
आउँदैछन् दैनिक राता कफिन
बाँचेकाहरू पनि विश्वबजारमा
बनेका छन् खुला कैदी
बढ्दैछन यहाँ थुनुवा र बन्दीहरू
यसरी कसरी पूरा गर्न सक्छन् ?
प्यारा बा–आमाका मीठा सपना
श्रीमती र प्रेमी–प्रेमिकाका इच्छा
कसरी रक्षा गर्छन् स्वाभिमानको
कालापानी र सुस्ताको ?
कसरी थुन्छन् भ्रष्टाचारको भेलबाढी
र बनाउँछन देश समृद्ध
यो स्थितिमा लेखूँ कि नलेखूँ ?
लेखूँ भने
‘समृद्धि’ वाहक रिसाउने डर छ
नलेखूँ भने
समृद्धि चाहनेहरू खुसी नहुने डर छ
डरभन्दा बढी आफैँमा भर छ
त्यसैले
जुकरबर्गको निस्फिक्रीको भ्रम च्यात्न
रुसोको विस्तारित सिक्री चुँडाउन
ज्युँदा युवाको उज्यालो भविष्यका खातिर
श्रमिकको नयाँ संसारका लागि
समृद्धि चाहनेसँग रहेर लेख्ने रहर छ ।

(नेकपाका नेता, लेखक एवम् कवि रणवीर हाल बर्दिया कारागारमा बन्दी अवस्थामा छन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :