नेपाल कम्युनिस्ट पार्टीले जारी गर्यो लालपत्र


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले १३ बुँदे लालपत्र जारी गरेको छ । पार्टी इन्चार्ज समरले नेकपाको लक्ष्य र उदाउँदो अवस्था, सरकारको गिर्दो अवस्था, पार्टीयोजना, घोषणा र जनकारबाहीसमेतका विषय समेटेर सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पुगेकै दिन लालपत्र जारी गरेका हुन् ।

लालपत्रको पूर्ण अंश यसप्रकार रहेको छ :

आदरणीय जनसमुदाय,

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको विद्यमान संसदीय राज्यव्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनार्थ “एकीकृत जनक्रान्ति” को नवीनतम् कार्यदिशाको प्रयोगसहित अघि बढिरहेको छ । नेपाली राजनीतिक आन्दोलन र संसदीय व्यवस्थाको इतिहासमा केपी नेतृत्वको समाजिक दलाल सरकार सर्वाधिक सङ्कट र जनविरोधी हर्कतका कारण चौतर्फी आलोचना, घृणा र तिरस्कारको सिकार बनेको छ । आफ्ना विदेशी मालिकहरूको आशीर्वाद तथा सहयोगमा सम्पन्न गरिएको संसदीय तथा स्थानीय निर्वाचनको नौटङ्कीमार्फत अगाडि आएका संसदीय तथा स्थानीय कथित जनप्रतिनिधिहरू वैदेशिक शक्तिकेन्द्रका भाडाका टट्टु र आज्ञाकारी कारिन्दा बनेका छन् ।

आज देशको व्यापारघाटा र वैदेशिक ऋण निकै डरलाग्दो रूपमा वृद्धि भैरहेको छ । बेरोजगार युवाहरू विश्वका अधिकांश मुलुकमा सस्तो श्रम बेच्न बाध्य पारिएका छन् । स्वास्थ्य क्षेत्रमा निजीकरण र माफियाकरणका कारण सामान्य झाडापखाला र क्षयरोगका कारण वार्षिक ८–१० हजार मानिसहरूको मृत्यु भैरहेको छ । शैक्षिक संस्थाहरू बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा केन्द्रित हुन पुगेका छन् । लागूपदार्थ दुव्र्यसनीले सिङ्गो नेपाली समाजलाई गिजोल्दै लगिरहेको छ । सामाजिक विकृति र विसङ्गतिले सीमा नाघिसकेको छ । महँगी, हत्या, हिंसा तथा बेलगाम सबैतिर वृद्धि गरिएको करप्रणालीले जनतालाई आजित तुल्याएको छ । राज्यसत्ताअन्तर्गत सरकार समाल्न पुगेका कथित केन्द्रीय तथा स्थानीय जनप्रतिनिधिहरू यी समस्याहरूको समाधान गर्नु त परै जाओस्, बरु राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोरलगायत दर्जनौँ काण्डहरूमा मुछिन पुगेका छन् । कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपालका हजारौँ हेक्टर जमिन भारतीय साम्राज्यवादले आफ्नो देशको नक्सामा समावेश गर्दा मौसमी राष्ट्रवादको मुखुण्डोधारी केपी सरकार मुखमा पट्टी बाँधेर बसेको छ भने त्यसका विरुद्ध आन्दोलन गर्ने देशभक्त, क्रान्तिकारीहरूका विरुद्ध निर्ममतापूर्वक दमन सञ्चालन गरिरहेको छ । राष्ट्रको करोडौँ बजेट दुरूपयोग गर्दै वर्तमान प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहीकै शैलीमा आफ्नो फोटो प्रचार गर्ने, जन्मदिन मनाउने तथा विभिन्न शीर्षक–उपशीर्षकहरूमा आफ्ना नेता–कार्यकर्ताहरूलाई करोडौँ रकम वितरण गरिएको छ । “समृद्ध नेपाल सुखी नेपाली” को कागजी नारा “कङ्गाल नेपाल, दुःखी नेपाली” को तीतो सत्यको व्यावहारिक रूपमा अभिव्यक्त हुन पुगेको छ । आफूलाई कम्युनिस्ट बताउने सरकारको नेतृत्व गरिरहेका नेताहरूको न कम्युनिस्ट चरित्र छ, न त उनीहरूले सञ्चालन गरिरहेको सरकार नै कम्युनिस्ट भन्न लायक छ । उनीहरू आफ्ना विदेशी प्रभुसामु आफूहरू कम्युनिस्ट नभएको, प्रजातान्त्रिक पद्धतिमा आएको, संसदीय व्यवस्था स्वीकार गरेको र नाम मात्र कम्युनिस्ट भएको लाज–घिन पचाएर बयान गर्छन् भने यता जनतालाई आफूहरू कम्युनिस्ट भएको जामा भिरेर, भ्रम दिएर जनतामाथि शोषण र दमन थोपर्न पुगेका छन् । उनीहरूले चौतर्फी स्यालहुइयाँ चलाएका छन्– देश विकासमा कायापलट भयो । समाजवाद आयो । तर तथ्य र तथ्याङ्कहरूले के साबित गरेका छन् भने आर्थिक वर्ष ७६–७७ को साधारण खर्च बितेका ८ महिनामा १५–२० प्रतिशत मात्र खर्च भएको छ ।

आदरणीय जनसमुदाय,

राष्ट्र र जनताका यिनै विद्यमान विकराल समस्याको समाधानार्थ हाम्रो पार्टी विद्यमान राज्यसत्ताका विरुद्ध सङ्घर्षरत छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ– विद्यमान यी समस्याहरू संसदीय राज्य व्यवस्थाका उपज हुन् र यसको समाधान केवल वैज्ञानिक समाजवादी राज्यसत्ताद्वारा मात्र सम्भव छ । वैज्ञानिक समाजवादी राज्यसत्तामा जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन ग्यारेन्टी हुनेछ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध वैज्ञानिक समाजवादी राज्यसत्ताले कठोर र निर्मम कदम चाल्नेछ । राष्ट्र एवम् जनता वास्तविक शान्ति र स्वाधीनतासहित समृद्धिको पथमा लम्कनेछन् । हाम्रा छिमेकी मुलुक चीन र भारत क्रमशः जापान र बेलायतका उपनिवेश बनाइए तर हाम्रो मुलुक पितापुर्खाहरूको वीरताका कारण कसैको पनि उपनिवेश बनेन । आज हाम्रा छिमेकी मित्रराष्ट्रहरू विकासका दृष्टिले निकै अघि बढेका छन् तर हाम्रो अवस्था नवऔपनिवेशिक रहेको छ । सामाजिक दलालका प्रतिनिधिहरू हाम्रो देश गरिब र निर्धन छ तसर्थ वैदेशिक सहयोगबिना देशको विकास असम्भव छ भनिरहेका छन् । के यो कुरा साँचो हो त ? हाम्रो निष्कर्ष के छ भने देश विकासको पूर्वाधारका रूपमा रहेका जलस्रोत, बनजङ्गल, जडीबुटी, जमिन र जनशक्तिको सही सदुपयोग गर्न सक्दा हाम्रो देश छोटो समयमा समृद्ध मुलुकमा प्रवेश गर्नेछ र विकसित राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । हाम्रा यिनै विचार उद्देश्यहरू आमजनतामा पुर्याउन हाम्रो पार्टीले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । हाम्रो पार्टीको सचेततापूर्ण अभियान, पार्टीले दिनप्रतिदिन प्राप्त गर्दै गरेको लोकप्रियता, राजनीतिक उचाइ र जनप्रेमबाट आतङ्कित भएर अत्तालिएको केपी नेतृत्वको सामाजिक दलाल सरकारले हाम्रो पार्टीविरुद्ध थोपरेको कथित प्रतिबन्धले एक वर्ष पूरा गरेको छ । सामाजिक दलाल वर्गद्वारा नेतृत्व गरिएको सरकारले बितेका एक वर्षमा चौतर्फी आलोचना र घृणाको सामना गर्नुपरेको छ । प्रतिबन्धसँगै उनीहरूले घोषणा गरेका थिए– नेपाल कम्युनिस्ट पार्टीलाई एक महिनामा पत्तासाफ गरिनेछ । नेकपालाई सहयोग गर्ने सहयोगीहरूलाई समेत कारबाहीको दायरामा ल्याइनेछ । उनीहरूका जनविरोधी हर्कतका विरुद्ध नेकपाले सामाजिक दलाल सरकारविरुद्ध प्रतिबन्धको घोषणा ग¥यो । यसबीचमा उनीहरूले आफ्ना फौजी गतिविधिहरू व्यापक बनाए जसअन्तर्गत भोजपुरका क. निरकुमार राई र तीर्थराज घिमिरे तथा सर्लाहीमा कुमार पौडेललाई गोली हानी हत्या गरियो र दोहोरो भिडन्तको हल्ला चलाइयो । उहाँहरू क्रमशः सोलुखुम्बु सेक्रेटरी, युवा सङ्गठन नेपालका भोजपुर जिल्ला सदस्य र सर्लाही जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो । यसका साथै देशव्यापी रूपमा झन्डै २ हजार नेता–कार्यकर्ताको गिरफ्तारीका साथै दर्जनौँ अप्रेसन, अभियानहरू सञ्चालन गरियो । उनीहरूको दमनका विरुद्ध प्रतिरोध सङ्घर्षका साथै हाम्रो पार्टीका तर्फबाट मुख्यतः राजनीतिक तथा सङ्गठनात्मक अभियानमार्फत जनसम्बन्ध सुदृढ गर्ने अभियानहरू अगाडि बढाइयो । उक्त अभियानका क्रममा थुप्रै योद्धाहरू आन्तरिक दुर्घटनाका कारण सहादत र घाइते बन्न पुगेका छन् । प्रतिबन्धको कथित फौजी योजनाका विरुद्ध सञ्चालन गरिएका राजनीतिक तथा साहसिक प्रतिरोध अभियानहरूले हाम्रो पार्टीलाई एउटा शक्तिशाली र क्रान्तिकारी पार्टीका रूपमा स्थापित गर्न मद्दत गरेको छ ।

आदरणीय जनसमुदाय,

कथित प्रतिबन्धपछि सञ्चालन गरिएका दमन, प्रतिरोध र पुनः प्रतिबन्धका राष्ट्रिय राजनीतिक परिदृश्यमा राप्ती ब्युरोले पनि आफूलाई आजको सापेक्षतामा सङ्घर्षका विभिन्न मोर्चाहरूमा समाहित गर्न पुगेको छ । राप्ती क्षेत्रमा भएका विभिन्न प्रतिरोध सङ्घर्षहरूले केन्द्रीय र स्थानीय शासकहरूको निद्रा खतम पारिदिएको छ । यसबीचमा राप्ती क्षेत्रमा झन्डै १५० जना नेता–कार्यकर्ता गिरफ्तार गरिएका छन् । ती नेता–कार्यकर्ताहरू न्यायालयको क्षेत्रबाट मुक्त भई अधिकांश पार्टीको कामकाजमा जोडिएका छन् । राप्ती क्षेत्र जनयुद्धकालको केन्द्रीय आधारइलाका हो । यहाँका प्रत्येक गाउँबस्ती, खोलानाला र डाँडाकाँडाहरू सहिदहरूको रगतले सिञ्चित भएका छन् । आज राप्ती क्षेत्रले आफ्नै आँखाअगाडि देखिएको र भोगेको गद्दारी र प्रतिक्रान्तिलाई दुत्कार्दै पुनः एकीकृत जनक्रान्तिमा समर्पित बन्ने प्रक्रियाको थालनी गरेको छ । इतिहासका तथ्यहरूले साबित गरेको यो कुरामा हामी स्पष्ट र दृढ छौँ– कुनै पनि राजनीतिक क्रान्तिका विरुद्ध खडा हुने शासकहरू हरेक क्रान्तिको मशालले भष्मखरानी हुने गरेका छन् । तसर्थ दलाल संसदीय व्यवस्था, सामाजिक दलालहरूद्वारा नेतृत्व गरिएको केपी नेतृत्वको सरकारलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा अघि बढाइएको एकीकृत जनक्रान्तिले इतिहासमा नामोनिशान मेटिने गरी ध्वस्त पार्नेछ र नेपाल वैज्ञानिक समाजवादी मुलुकमा रूपान्तरण हुनेछ । केपी नेतृत्वको सरकारले हाम्रो पार्टीका विरुद्ध लगाएको कथित प्रतिबन्ध एक वर्ष पुगेको सन्दर्भमा सामाजिक दलाल सरकारका विरुद्ध प्रतिरोध र समाज सुधारका क्षेत्रमा आंशिक क्रान्तिका लागि राप्ती क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवाला सङ्घसंस्था आम जनसमुदाय र दलाल सरकारको प्रदेश तथा स्थानीय निकायहरूमा जानकारी एवम् कार्यान्वयनको लागि यो लालपत्र जारी गरिएको छ :

१. अर्बौं कर छली गर्ने लुटेरा दूरसञ्चार प्रदायक कम्पनी Ncell का सिम कार्ड र रिचार्ड कार्ड आयात–निर्यात र बिक्री–वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. कथित लघुवित्तीय संस्था र माइक्रो फाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पूर्ण संस्थाहरूलाई प्रतिबन्ध गर्दै आमकिसान मजदुरलाई ऋण (कर्जा) नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धित वित्तीय संस्थालाई हाम्रो पार्टी चेतावनीमूलक निर्देशन गर्दछ ।

३. लागूपदार्थ दुव्र्यसनले समाजलाई दिनप्रतिदिन विकृत, विघटित र अपराधीकरण पार्दै लगिरहेकाले लागूपदार्थको प्रयोग तथा बिक्रीवितरण नगर्न र नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।

४. सोझासीधा जनतालाई गरिबी, आर्थिक अभाव, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न प्रलोभन तथा झूटो आश्वासन दिएर networking व्यापारमा संलग्न गराई ठग्ने गरेकाले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रबैया बन्द गरी विविध कारण उक्त कार्यमा लागेका दाजुभाइ तथा दिदीबहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य (Member) बनाउने नाममा असुलिएको सम्पूर्ण रकम क्षतिपूर्तिसहित फिर्ता गर्न सम्बन्धित निकायलाई हाम्रो पार्टी निर्देशन गर्दछ ।

५. बाध्यतामा पारेर वा परेर चर्को ब्याजमा ऋण प्रवाह गरी बेघरबार बनाउने सूदखोर, मिटरब्याजी, साहूमहाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जोजसको छिनुवा पासका नाममा लिइएका घरजग्गा, धनसम्पत्ति अविलम्ब फिर्ता गर्न र चर्को ब्याजदरमा लिएको ऋण नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।

६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मतियारका रूपमा केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तिनका निर्माण कम्पनी, निर्माण सामग्री र उनीहरूद्वारा निर्दे्िशत उपभोक्ता समितिलाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारीसाधन तथा चलचित्रमा पूर्ण रूपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोलानाला तथा काठ चोरीपैठारी, तस्करी गर्नेलगायत अवैध कार्य गर्ने कथित उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई बहिष्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

९. विभिन्न नाममा धर्म, संस्कार, संस्कृति र समाजविरोधी व्यापारिक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्न र नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जनसत्ताको नीति–नियम र अनुमतिबेगर सञ्चालित NGO/INGO लाई प्रतिबन्धित गरिएको छ ।

११. गुण्डागर्दी, जुवातास, जाँडरक्सी, बाल तथा बहुविवाह, यौनव्यभिचार, मानवतस्करी, ढुकुटीलगायत सामाजिक अपराधका मूल कारक भएको हुँदा त्यस्ता कार्य नगर्न–नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

१२. ज्यानमारा विषालु रक्सी उत्पादन, बिक्रीवितरण तथा उपभोग नगर्न–नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणका विरुद्ध जग्गाजमिन खण्डीकरण गर्ने, शिक्षा, स्वास्थ्यजस्तो सेवाका क्षेत्रमा व्यापारीकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारीलगायत भूमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया, कमिसनखोरलाई जनपरिषद्को केन्द्रीय नीतिअनुरूप जनकारबाही गरिनेछ ।

समर
इन्चार्ज
२८ फागुन, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :