नेकपामाथि प्रतिबन्ध लगाइएको फागुन २८ गते कालो दिन घोषित

आवश्यकताअनुसार राष्ट्रिय युद्धका लागि तयार हुन युवा सङ्गठनको आह्वान


काठमाडौँ : युवा सङ्गठन नेपालले नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको दिन फागुन २८ गतेलाई कालो दिन घोषणा गरेको छ । सङ्गठनको राप्ती ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध खारेजको घोषणा पनि गरेको छ । युवाहरुलाई आवश्यकताअनुसार राष्ट्रिय युद्धका लागि तयार हुन पनि सङ्गठनले आह्वान गरेको छ । ब्युरोका इन्चार्ज अनिलले विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । युवा सङ्गठन नेकपाको सहायक सङ्गठन हो ।

इन्चार्ज अनिलले जारी गरेको अपिल शैलीको विज्ञप्तिमा भनिएको छ, ‘आदरणीय जनसमुदायहरू, हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको एकीकृत जनक्रान्ति आफैँमा ऐतिहासिक र गौरवपूर्ण इतिहासले सज्जित छ । वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी उत्पीडित नेपाली जनताको मुक्तिको एक मात्र व्यवस्था वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादको परिकल्पना गरिएको छ । जनताको जनजीविका, नेपाली राष्ट्रको स्वाधीनतालगायत जनताको समानताका पक्षमा बोल्दै गर्दा गाउँ, सहर बस्ती, हिमाल, तराई, पहाड देशका सबै जनताका बीचमा पार्टी ऐतिहासिक अभियानहरू सञ्चालन र त्यसमा लाखौँ जनताको सहभागिताबाट आफ्नो लुटतन्त्र ध्वस्त हुने निश्चित देख्दै जनताको त्यो विचारलाई दलालहरू, माफियाहरू, भ्रष्टहरू, तस्करहरू, संसद्वादीहरू, राष्ट्रघातीहरूको तुच्छ झुण्डहरूको कथित मन्त्रीपरिषद्ले वैदेशिक साम्राज्यवादीहरूको बहकाउ र योजनामा २०७५ साल फागुन २८ गते जनताको गतिविधि र विचार राख्ने मौलिक अधिकारलाई नै प्रतिबन्ध लगाएको थियो । उक्त कदमप्रति पुनः घोर भत्र्सना गर्दै यसलाई पुनः खारेज पनि गर्दछौँ । साथै आजको युवा सङ्गठन नेपाल २८ फागुनलाई नेपाली जनताको कालो दिनमा चित्रण गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आज नेपाल र नेपाली जनता अत्यन्त गम्भीर सङ्कटमा छ । नेपाली जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । किसान, मजदुर, युवा, विद्यार्थी, उद्योगी, व्यापारी, कर्मचारी, बुद्धिजीवी, मानवअधिकारकर्मी सबैको भविष्यको सुनिश्चितता छैन । ७० लाख युवाहरू विदेशी भूमिमा आफ्नो रगतपसिना बगाइरहेका छन् भने नेपालका शासकहरू ती युवाहरूको खुनपसिना सञ्चित रेमिट्यान्सबाट लुटखसोट गर्ने ध्याउन्नमा छन् । नेपालमा रहने लाखौँ युवाहरू बेरोजगारका कारण लागूपदार्थ सेवनदेखि विकृति–विसङ्गतिपूर्ण जीवन जिउन बाध्य छन् । अर्कोतर्फ दिनानुदिन राष्ट्रघाती सम्झौता गर्न र साम्राज्यवादी मुलुकको गुलाम बनी आफ्नो शोभा बचाउन प्रयत्नशील छन् । अमेरिकी साम्राज्यवादी हिन्द–प्रशान्त रणनीतिअन्तर्गत मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) लाई जसरी पनि पास गर्ने र नेपाललाई दीर्घकालीन रूपमा सैन्य रणभूमि बनाउने कुचेष्टा गरिरहेका छन् । यी यस्ता सबै विषयहरूका विरुद्ध पार्टीको योजना र नेतृत्वमा जनताको बीचबाट प्रतिबन्धको बेवास्ता गरी जनतालाई सचेत गराउँदै जनताका तर्फबाट सङ्घर्ष गर्दागर्दै दाङ जिल्लालगायत दर्जनको हाराहारीमा बलिदानी भयो भने आदरणीय क. सुदर्शनलगायत सयौँ नेता–कार्यकर्ता अहिले पनि जेल र हिरासतमा यातनायुक्त दिनहरू बिताइरहेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनसमुदायहरू, दलाल पुँजीवादी संसदीय व्यवस्था र यसका सञ्चालक शासकहरू एकपछि अर्को गर्दै दर्जनौँ काण्डैकाण्डमा फस्दै जानु, नेपाली जनतालाई उत्पीडनको सिकार बनाउनु, राष्ट्रिय स्वाधीनता र राष्ट्रियतामाथि सङ्कट पैदा हुनु, जनता र सत्ताबीचको अन्तरविरोध अझै बढ्दै जानु र राष्ट्र र जनताको मुक्तिका आवाजहरू बोल्ने देशभक्त र क्रान्तिकारीहरूमाथि सामाजिक दलाल फासिवादीहरूले दमनको एकपछि अर्को षड्यन्त्रको तानाबाना बुन्दै जानु र यसको प्रतिरोध गर्दै क्रान्तिकारीहरू जनताका लागि आफ्नो जीवन नै बलिदान दिनु, जेल–हिरासतमा कमरेडहरू मोर्चाबद्ध, दृढ र आत्मविश्वासका साथ अविचलित भएर सङ्घर्ष गर्नु, आन्तरिक पार्टी जीवनमा सुदृढ र स्पातिला कम्युनिस्ट आचार, व्यवहार कायम रहनु, नेता कार्यकर्तामा आत्मबल, आत्मविश्वासका साथ उच्च मनोबल कायम रहनु, जनता र पार्टी, नेता–कार्यकर्ताबीच प्रगाढ सम्बन्ध तथा सङ्गठन निर्माण हुनु, नेपाली जनताको एक मात्र आशाको केन्द्र पार्टी र पार्टी नेतृत्व हुनुलगायत थुप्रै विषयले क्रान्तिकारी जनताका तर्फबाट फासिवादीहरूको कथित प्रतिबन्ध खारेज तथा अस्वीकृत भएको छ ।’

इन्चार्ज अनिलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः एकीकृत जनक्रान्तिको महान् यात्रामार्फत नेपाली जनता र राष्ट्रिय मुक्तिको महान् अभियानलाई पूरा गर्न फासिवादी दमन र कथित प्रतिबन्धलाई प्रतिरोध गर्दै आगामी दिनहरूमा पनि झन् लाल र निपुणताका साथ वैज्ञानिक समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसरलाई दृढताका साथ पकड्दै पार्टी सङ्गठनको जिम्मेवारीलाई सहज र सरल तरिकाले जटिलतालाई चिर्ने कार्यकौशल प्रदर्शन गर्न तथा आवश्यक परे राष्ट्रिय युद्धको नेतृत्व गर्न आमयुवाहरूलाई अपिल गर्दछु ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :