अखिल (क्रान्तिकारी) को राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज भीमले नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबीच प्रधान अन्तरविरोध रहेको बताएका छन् । उनले दलाल पुँजीवाद साम्राज्यवाद र सामन्तवादको अवैध सन्तान भएको भन्दै यसले जनतालाई शोषण र दोहन गरेको बताए ।

भीमले यसको विकल्पमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामार्फत प्राप्त हुने वैज्ञानिक समाजवादले मात्र जनतामा स्थायी शान्ति, समृद्धि, समानता र सभ्यतासहितको विकास गर्ने बताए । उनले नेपालमा साम्राज्यवादका दलालहरूले एमसीसी पारित गराउन खोजे पनि त्यो सफल नहुने धारणा राखे ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव तथा मध्यकमान्ड इन्चार्ज प्रकाश शाहीले अहिलेसम्मको विद्यार्थी आन्दोलन सम्झौतामा टुङ्गिएको भन्दै अबको विद्यार्थी आन्दोलन धोका नहुने गरी अघि बढ्ने बताए । उनले शिक्षा क्षेत्रमा भएको माफियाकरण, व्यापारीकरण र भ्रष्टीकरणविरुद्ध अखिल (क्रान्तिकारी) ले सम्झौताहीन सङ्घर्ष गर्ने बताउँदै वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरूको सुनौलो भविष्य सुनिश्चित गर्ने धारणा राखे । महासचिव शाहीले आजको पुँजीवादी शिक्षाले देशको विकराल अवस्थाको समाधान गर्न नसक्ने भन्दै यसका विरुद्ध सङ्घर्ष गर्न देशभक्त, प्रगतिशील विद्यार्थीहरूलाई सङ्गठनमा गोलबन्द गर्नुपर्ने दायित्व रहेको बताए ।

केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले सङ्गठनलाई सुदृढ गरी विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने भन्दै लुम्बिनीको विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाइने बताए ।

राजनीतिक–वैचारिक प्रशिक्षणमा अखिल (क्रान्तिकारी) को इतिहास, वर्तमान र भविष्य, वर्तमान शैक्षिक अवस्था र वैज्ञानिक समाजवादी शिक्षा, शिक्षा क्षेत्रमा देखिएको माफियाकरण, व्यापारीकरण र भ्रष्टीकरण, सङ्गठन, शिक्षा र कम्युनिस्ट आन्दोलन, एकीकृत जनक्रान्ति र वर्तमान अवस्था, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र समसामियक राजनीतिक, शैक्षिक अवस्थाका बारेमा प्रशिक्षण भएको जानकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले दिए । प्रशिक्षणमा लुम्बिनी क्षेत्रीय समन्वय समितिअन्तर्गत रहेका सबै जिल्लाबाट ५० जनाको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

कार्यक्रम लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्रको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज भीमको प्रमुख आतिथ्य, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रमेश गैरेको स्वागत र केन्द्रीय सदस्य रूपा बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवम् पाल्पा इन्चार्ज शारदा भण्डारीले परिपत्र वाचन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :