नेकपामाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको अन्त्येष्टि

प्रतिबन्धको एक वर्ष


काठमाडौँ : सरकारले नेकपामाथि कथित प्रतिबन्ध लादेको एक वर्ष भएको छ । यो एक वर्षमा नेकपाका दसजनाको बलिदान भएको छ भने सयौँजना जेल र हिरासतमा बन्दी अवस्थामा छन् । तर सरकारी प्रतिबन्ध हावा खुस्केको बेलुनजस्तो मात्र भएको छैन, सर्वत्र आलोचित, बदनाम हुनुका साथै काण्डैकाण्डका कारण सरकार नै विघटनको सँघारमा पुगेको छ । नकारात्मक रूपमा प्रतिबन्धले नेपाली जनता र विद्रोही शक्तिलाई शक्तिशाली र सरकार र सरकारी पार्टीलाई अत्यन्त कमजोर पारेको विश्लेषकहरूको ठम्याइ छ ।

यसै सन्दर्भमा नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालले राप्तीका सबै जिल्लामा ‘कथित प्रतिबन्ध खारेज गरौँ ! फासिवादी केपी सरकारको प्रतिरोध गरौँ !!’ मूल नाराका साथ कोणसभासहित नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने मन्त्रीपरिषद्को निर्णय घाटमा लगेर अन्त्येष्टि गरेको छ ।

२०७५ साल फागुन २८ गते केपी वली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको सन्दर्भ पारेर युवा सङ्गठन नेपालले मन्त्रीपरिषद्को निर्णय जलाएको हो ।

‘कथित प्रतिबन्ध खारेज गरौँ ! फासिवादी केपी सरकारको प्रतिरोध गरौँ !!’ नारा लगाउँदै युवाहरूले दाङको तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कालाखोला घाटमा विरोधसभासहित प्रतिबन्ध निर्णयको अन्त्येष्टि गरेको समाचारमा जनाइएको छ ।

विरोधसभामा सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्रले राष्ट्रियतामाथि साम्राज्यवादीहरूको हस्तक्षेप, देश र जनतामाथि दलाल संसदीय व्यवस्थाले गरेको अन्याय र दमनका विरुद्ध जनताको प्रतिनिधित्व गर्दै आवाज उठाएकाले नेपाल कम्युनिस्ट पार्टी र पार्टीका नेता–कार्यकर्तामाथि राज्यले गैरराजनीतिक तवरले प्रतिबन्ध लगाए पनि आफूहरूले राजनीतिक ढङ्गले दमनको उचित प्रतिवाद र प्रतिकार गरेको बताए ।

विगतका विभिन्न कालखण्डमा पनि राज्यले काङ्ग्रेसले कम्युनिस्टमाथि, राजा महेन्द्रले कम्युनिस्ट पार्टी र अन्य पार्टीमाथि र २०५८ सालमा माओवादी पार्टीका विरुद्ध राज्यले लगाएको राजनीतिक प्रतिबन्ध औचित्यहीन पुष्टि भएको इतिहास साक्षी रहेकाले अहिलेको प्रतिबन्ध पनि खारेज गर्दै जनताको शक्तिद्वारा पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना हुने धारणा उनले राखे ।

मन्त्रीपरिषद्को प्रतिबन्धको निर्णय घाटमा जलाएर अन्त्य गरेजस्तै दलाल संसदीय व्यवस्थाको पनि निकट भविष्यमै चिहान बन्ने निश्चित भएको उनको भनाइ थियो ।

उक्त कार्यक्रम सङ्गठनका जिल्ला अध्यक्ष विराटको अगुवाइमा गरिएको समाचारमा उल्लेख छ ।

यस्तै रोल्पाका दुई ठाउँमा पार्टी र पार्टीका नेता–कार्यकर्तामाथि लगाइएको प्रतिबन्ध खारेजीस्वरूप कोणसभासहित प्रतिबन्ध गर्ने निर्णयको अन्त्येष्टि गरिएको जानकारी युवा सङ्गठन नेपाल रोल्पाका अध्यक्ष पृथ्वीले दिएका छन् । यस्तै रुकुम, सल्यान र प्युठानमा पनि विरोधसभासहित प्रतिबन्ध निर्णयको अन्त्येष्टि गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :