दलितमाथि विभेद गर्ने सरकारी कर्मचारीलाई सख्त कारबाही नगरिए सङ्घर्ष गर्ने दलित मुक्तिमोर्चाको चेतावनी


काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ तारकेश्वर नगरपालिका १० नेपालटारमा घरधनी सरकारी कर्मचारी श्रीकृष्ण बिडारीले उनको घरमा डेरा गरी बस्ने नेपाल ल क्याम्पसकी छात्रा दीपा नेपालीमाथि जातीय छुवाछूतको व्यवहार गरेको घटनाप्रति गम्भीर ध्याकर्षण भएको जनाउँदै पीडकहरुमाथि कारबाही गरी पीडितलाई न्याय दिलाउने माग गरेको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै पीडकहरुमाथि कारबाही नगरिए सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ तारकेश्वर नगरपालिका १० नेपालटार निवासी घरधनी सरकारी कर्मचारी श्रीकृष्ण बिडारीबाट उनको घरमा डेरा गरी बस्ने नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी दीपा नेपालीलाई जातीय छुवाछूतको व्यवहार गरेको भनी विभिन्न मिडियामा सार्वजनिक घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । देशको राजधानी काठमाडौँमा गृह मन्त्रालयका शिक्षित कर्मचारीबाट विद्यार्थीमाथि भएको यस घटनाले हाम्रो समाज र राज्यको सामाजिक, सांस्कृतिक चरित्र र व्यवहारमा कुनै फेरबदल नआएको पुनर्पुष्टि भएको छ । हाम्रो सङ्गठन यस घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

विश्वकर्माले विज्ञप्तिमा भनेका छन्, ‘राज्य मुठीभर दलाल पुँजीपति वर्गका पक्षमा रहेसम्म छुवाछूतमुक्त राष्ट्र घोषणा गर्दैमा, संविधानमा दलित अधिकार लेख्दैमा वा दण्डनीय कानुन बनाउँदैमा केही हुनेवाला छैन भन्ने कुरा फेरि एकपटक सबैले बुझ्ने गरी छर्लङ्ग भएको छ । यसअघि पनि यसप्रकारका घटना राजधानीलगायत देशका अन्य स्थानहरूमा समेत सार्वजनिक हुँदै आएका तर राज्यप्रशासनले उजुरी नै नलिने र दबाबमा उजुरी लिइहाले पनि केही ज्यान मुद्दाबाहेक अधिकांश घटनामा ठोस कारबाही नगरेको विगतको अनुभव छ । यस घटनामा पनि पीडितले पीडक दोलखा लामाबगरस्थित प्रशासन प्रमु्ख श्रीकृष्ण बिडारीविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा निजकी श्रीमती राधिका बिडारी, सँगै बस्ने डेरावाल जनक ढुङ्गाना र उनकी श्रीमती सन्तोषी ढुङ्गानासहित ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको सन्दर्भमा पीडकमाथि छानबिन गरी हदैसम्मको कारबाही गरी पीडितलाई न्याय प्रदान गर्न हामी सरकार र गृह प्रशासनसमक्ष जोडदार माग गर्दछौँ ।’

मोर्चाले यसप्रकारका घटना आगामी दिनमा दोहोरिन नदिने वातावरण सिर्जना गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । विश्वकर्माले भनेका छन्, ‘दलाल संसदीय व्यवस्था रहेसम्म छुवाछूतलगायत सबैखाले शोषण र विभेद नहट्ने हुँदा यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनार्थ विभिन्न राजनीतिक पार्टी, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार एवम् सरोकारवाला सबैमा एकताबद्ध भै हातेमालो गर्न हामी हार्दिक आह्वान गर्दछौँ ।’

अर्को सन्दर्भमा मोर्चाका अध्यक्ष विश्वकर्माले उक्त विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारले अहिले राष्ट्रिय जनगणनाको तयारी गरिरहेको छ । यस सन्दर्भमा विगतमा दलित समुदायसम्बन्धी तथ्याङ्कमा केही तलमाथि भएको वा अपुग रहेको गुनासो सरोकारवालाहरूको रहेको छ । प्रत्येक दस वर्षमा हुने यस्तो जनगणनालाई तथ्यपूर्ण बनाई सरोकारवाला सबैको विश्वास प्राप्त गर्ने वातावरण बनाउन सरोकारवाला समुदायको सुझाव लिन र समानुपातिक गणक र निर्णायक समिति निर्माणका लागि हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

मोर्चाको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अहिले विश्वभरि महामारीका रूपमा फैलिरहेको कोबिद १९ (कोरोना भाइरस) रोगबाट आम नेपाली जनतालाई सुरक्षित बनाउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ । उल्लिखित विषयमा सरकार जिम्मेवार नभएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :