८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न


प्रारम्भ

संसारभरिका महिलाहरूको ऐतिहासिक दिन ८ मार्च हामीमाझ आउँदैछ । यो महिलाहरूका लागि निकै खुसीको दिन हो । विजयको दिन हो । यो दिन (८ मार्च लाई संसारभरिका महिलाहरूले अधिकार प्राप्ति र विजयको प्रतीकका रूपमा मनाउँदै आइरहेका छन् । यो दिन (८ मार्च लाई वैज्ञानिक समाजवादी वा कम्युनिस्ट विचार राख्ने महिलाहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन, सङ्घर्षको दिशानिर्देशन र सङ्घर्षको दायित्वबोधसहित मनाउँछन् भने गैरकम्युनिस्ट विचार राख्ने महिलाहरू/विभिन्न एनजीओ/आईएनजीओहरूले यो दिनलाई नारी दिवसका रूपमा मनाउने गर्दछन् । विभिन्न नारीवादीहरू सङ्गठनहरू, बुर्जुवाहरू महिला सङ्घ/सङ्गठनहरू, गैरकम्युनिस्ट महिला सङ्घ/सङ्गठनहरू र विभिन्न एनजीओ/आईएनजीओहरू माक्र्सवादी दर्शनविरोधी, वर्गसङ्घर्षविरोधी, श्रमिक वर्गले सञ्चालन गर्ने सङ्घर्षविरोधी र श्रमजीवी वर्ग र पुँजीपतिवर्गबीच चल्ने सङ्घर्षलाई अस्वीकार गर्दै केवल फेसनका रूपमा नारी दिसवलाई मनाइरहेका हुन्छन् । तर हाम्रो महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरूसहित संयुक्त वा एकल रूपमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाइरहेको छ । यो लेखमा ८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्नसँग जोडिएका केही विषयहरूमा चर्चा गर्न खोजिएको छ ।

८ मार्चको ऐतिहासिक महत्व

‘महिलाहरू पहिले पुरुषको दास हुन्थे भने पछि रोजगार प्रबन्धकको दास हुन्छन् । त्यसैले पुँजीवादको ध्वंस र समाजवादको उदयबिना नारी जातिको मुक्ति सम्भव छैन ।’ – क्लारा जेट्किन

यो कुरा श्रमिक वर्गकी जुझारु महिलानेत्री, दार्शनिक र कुशल सिद्धान्त्कार एवम् विश्वसमाजवादी महिला आन्दोलनकी होनाहार संस्थापक तथा ८ मार्चकी संस्थापक क्लारा जेट्किनले बताउनुभएको हो । महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त नगर्दासम्म पुरुषहरूको दास हुन्छन् किनकि आर्थिक स्रोत पुरुषहरूको हातमा छ । पुँजीको केन्द्रीय भागमा पुरुषहरू छन् । पुँजीवादको केन्द्रीय महत्व श्रमिकसँग जोडिन्छ र त्यो असमान छ, विभेदकारी छ । त्यसो भएकाले नै पुँजीवादको ध्वंस र समाजवादको उदयबिना नारी जातिको मुक्ति सम्भव नहुने कुराको व्याख्या क्लारा जेट्किनले गर्नुभएको हो ।

८ मार्चको ऐतिहासिक सन्दर्भ र महत्व श्रमसँग जोडिएको छ । असमानतासँग सम्बन्धित छ । विभेदसँग सम्बन्धित छ । उत्पीडनसँग अन्तरसम्बन्धित छ । महिला अधिकारसँग जोडिएको छ । समग्रमा भन्नुपर्दा नारी जातिको मुक्तिसँग जोडिएको छ । श्रमिक वर्गसँग जोडिएको छ । श्रमिकवर्गको अन्तरविरोध पुँजीपतिहरूसँग नै मुख्य छ र हुन्छ । त्यसैले ८ मार्चको ऐतिहासिक महत्व वैज्ञानिक समाजवादसँग छ । श्रमिक महिला र वर्गसँग जोडिएको मूल प्रश्न भएकाले नै यसको महत्व वर्गसङ्घर्षसँग पनि त्यत्तिकै छ ।

श्रमिक महिलाहरूले समान कामको समान ज्याला, ८ घन्टा काम, मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा नीतिजस्ता दर्जनौँ विभेदकारी नीतिहरूको बन्धनलाई तोड्ने प्रक्रियासँग ८ मार्चको ऐतिहासिक विषय जोडिन आउँछ जुन विषयको केन्द्रीय भागमा पुँजीपतिहरू/साम्राज्यवादीहरू थिए र छन् । पुँजीपतिहरू/साम्राज्यवादीहरूविरुद्धको सङ्घर्षबिना उत्पीडनको अन्त्य हुन सक्दैनथ्यो र छैन । उनीहरूसँगको अन्तरर्विरोधको सही बाटो माक्र्सवादी दर्शनले देखायो । संसारभरका नारी जाति र श्रमिकहरूको वास्तविक मुक्ति पुँजीवादी वा साम्राज्यवादी व्यवस्थामा नहुने कुराको किटानी क्लारा जेट्किनले समेत गर्नुभयो । त्यसका लागि वैज्ञानिक समाजवाद र साम्यवादले मात्र वास्तविक मुक्ति दिलाउने कुराको सही मार्गदर्शन गर्नुभयो ।

‘सम्पूर्ण विश्व श्रमिक वर्गको शत्रु र मेरो पनि शत्रु घरमै छ र त्यो शत्रु हो पुँजीवाद ! जसले श्रमिक वर्गलाई दास बनाएको छ ।’

अलेक्जान्ड्रा कोलोन्ताई

यो भनाइ समाजवादी आन्दोलनकी अगुवा, महिलानेत्री अलेक्जान्ड्रा कोलोन्ताईले राख्नुभएको हो । अलेक्जान्ड्रा कोलोन्ताईले समेत पुँजीपति वर्गलाई मुख्य शत्रु भएको ठहर गर्दै त्यसका विरुद्ध सङ्घर्ष गर्ने कुरामा जोड दिनुभयो । त्यसको असर आफ्नै घरसम्म पनि रहेको सुन्दर भनाइ राख्नुभयो र श्रमिक वर्ग र महिला मुक्तिको प्रश्नलाई जोडेर हेर्नुपर्ने विषय प्रस्ट पार्नुभयो ।

८ मार्च सन् १९१० सम्म आइपुग्दा श्रमिक वर्ग र नारी जातिको मुक्तिका खातिर धेरै सङ्घर्षहरू भएका छन् । सन् १९०८ मै अमेरिकाको न्युयोर्क सहरमा १५ हजारभन्दा धेरै महिलाहरूको सहभागितामा राम्रो तलब, समान काम, मताधिकारको अधिकारलगायत माग राखेर महिलाहरूले जुलुस प्रदर्शन गरेका थिए । त्यसको १ वर्षपछि नै समाजवादी पार्टी अमेरिकाको नेतृत्वमा सन् १९०९ मा अमेरिकाले राष्ट्रिय महिला दिवसका रूपमा स्वीकार गरिसकेको थियो । सन् १९०५ मा रुसमा भएको समाजवादी क्रान्ति र संसारभर सङ्गठित हुँदै गरेको कम्युनिस्ट विचार र क्रान्ति तथा श्रमिक वर्गको आन्दोलन, लेनिनले भन्नुभएजस्तै उत्पीडित वर्ग र साम्राज्यवादबीच चलेको तीव्र वर्गसङ्घर्षको परिस्थिति र माक्र्सवादी दर्शनको दिशा–निर्देशको बलमा सन् १९१० मा समाजवादी महिलानेत्री क्लारा जेट्किनको अगुवाइमा डेनमार्कको कोपनहेगनमा भएको महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपामा मनाउने निर्णय गर्यो । त्यसै समयदेखि हरेक वर्ष ८ मार्चलाई संसारभरका श्रमिक महिलाहरूले आन्दोलनकै रूपमा मनाउँदै आएका छन् । त्यसैले ८ मार्चको सन्दर्भसँग श्रमिक वर्ग र पुँजीवादी राज्यसत्ता वा उत्तरसाम्राज्यवादी सत्तासँग चल्ने वर्गसङ्घर्षको विषय अनिवार्य जोडिन पुग्छ । यो मानवसमाजमा वर्ग रहुन्जेलसम्म चल्ने लडाइँ हो जुन श्रमिक वर्ग, राष्ट्रहरूको पुँजीवादी÷साम्राज्यवादी शक्ति र राष्ट्रहरूबीच केन्द्रित रहन्छ र छ । त्यो आज पनि निरन्तर छ र वैज्ञानिक समाजवाद तथा साम्यवादी समाजसम्म जारी रहन्छ । श्रमिक वर्गले आफ्नो अधिकार स्थापनाका लागि सङ्घर्ष गर्नु अनिवार्य छ भन्ने महत्वपूर्ण शिक्षा ८ मार्चले प्रदान गरेको छ ।

हाम्रो देशको वर्तमान अवस्था

आज संसारभर ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उत्सव, विजयका रूपमा मनाइरहँदा दुःखद् कुरा आजसम्म पनि महिलाहरूमाथि हरेक प्रकारका शोषण, दमन र उत्पीडनहरू भइरहेका छन् । हाम्रै देशको कुरा गर्दा श्रमजीवी महिलाहरूको अधिकार, जनताको अधिकार र वैज्ञानिक समाजवाद र साम्यवादको कुरा गर्दासमेत प्रतिबन्धित हुनुपर्ने अवस्था कायम छ । विगतको वर्ष ८ मार्च मनाउने सन्दर्भमै काठमाडौँको रत्नपार्क शान्तिवाटिकामा प्रहरीले महिलाहरूमाथि चरम हस्तक्षेप गरेर हाम्रो सङ्गठनका सयौँजना साथीहरू गिरफ्तारीमा पर्नुपर्यो । आफूलाई कम्युनिस्टको सरकार भन्ने, मानवअधिकारको दुहाइ दिने, कानुनी राज्यको वकालत गर्ने, गणतन्त्रको चर्का नारा लगाउने केपी सरकारले देशमा चरम मानवअधिकारविरोधी कार्य गरिरहेको छ । कानुनी राज्यको खिल्ली उडाइरहेको छ । कम्युनिस्टकै नाममा कम्युनिस्ट विचार र दर्शनलाई निर्लज्ज पारिरहेको छ । राष्ट्रघात र जनघात लादिरहेको छ । देशमा भ्रष्टाचार भयो– रोक ! कालो बजारियाको बिगबिगी भयो– कालोबजारिया अन्त्य गर ! मूल्य चरम रूपमा बढ्यो– घटाऊ ! कमिसनको जालोले देशलाई बर्बाद पार्यो– कमिसनको खेल बन्द गर ! विभिन्न काण्डैकाण्डले देश बर्बाद भयो– त्यसप्रकारका काण्ड घटाउन छोड ! महिला हिंसा, बलात्कार हत्या, चेली बेचबिखन– बन्द गर ! भन्ने माग राखेर शान्तिपूर्वक कार्यक्रम गर्दासमेत गिरफ्तार परेर जेल– हिरासत बस्नुपर्ने, झूट्टा मुद्दा बेहोर्नुपर्ने, चरम यातना र गोली खानुपर्ने परिस्थिति छ ।

हाम्रो जनप्रिय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष कमरेड बन्धु चन्द ‘शिला’ र महासचिव कमरेड धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ लाई विगत १ वर्षदेखि गिरफ्तार गरेर विभिन्न झूट्टा मुद्दामा फसाई जेल–हिरासतमा थुनिएको छ भने दर्जनाैँ महिला कमरेडहरू जेल–हिरासतको कहर काटेर हालै मुक्त हुनुभएको छ । देशभरका महिला कमरेडहरूलाई वारेन्ट जारी गर्ने, घर खानतलासी गर्नेजस्ता कार्य गर्दै आएको छ । श्रमिक वर्ग र सुकुमबासीहरूको घरमाथि डोजर चलाएर चिल्लीबिल्ली पारेको छ । लाखौँलाख युवाहरूलाई विदेश पठाएर त्यसैको रेमिट्यान्समा आफूले भुँडी भर्ने कार्य गरिरहेको अवस्था कायम छ । यसरी राज्यले जनतामाथि विभिन्नखाले षड्यन्त्र र तिकडम गर्दै आएको छ । यसो हुनुमा वर्तमान दलाल पुँजीवादी राज्यसत्ता मुख्य कारक बनेको कुरालाई सबैले छर्लङ्ग बुझ्नु पर्दछ ।

महिला मुक्तिको प्रश्न

८ मार्चको ऐतिहासिकता महिला मुक्तिसँग जोडिएको प्रश्न भएको कुरा माथि नै उल्लेख गरिसकिएको छ । त्योसँग एकातिर महिला वा श्रमिक महिलाको मुक्तिको प्रश्न छ भने अर्कोतिर राष्ट्रको मुक्तिको प्रश्न पनि सँगै जोडिएर आउँछ किनकि महिलाको मुक्तिबिना राष्ट्रको मुक्ति पनि सम्भव हुँदैन । त्यसैले मुलुकमा भैरहेको हत्या, हिंसा, बलात्कार, अपहरण, शोषण, दमन, उत्पीडनको अन्त्यका निम्ति हाम्रो जनप्रिय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले चरणबद्ध आन्दोलन गर्दै आएको छ भने देशमा भएको चरम भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोरी, विभिन्नखाले जनघात र राष्ट्रघाती गतिविधिका विरुद्ध सङ्घर्ष गर्दै आएको छ । वर्तमान दलाल राज्यसत्ताबाट नेपाली महिला र उत्पीडित जनसमुदायको हकअधिकार स्थापित हुन नसक्ने भएकाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रूपमा उठाएको हो । त्यसैले यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिसवलाई ‘श्रमिक महिलामुक्ति र वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढाैँ ! ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ !!’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउन लागिएको छ ।

आज पनि संसारभर र हाम्रो देशमा महिलाहरू उत्पीडनमा छन् । श्रमजीवी वर्गमाथि विभिन्न प्रकारका उत्पीडन लादिएको छ । त्यो उत्पीडनबाट मुक्त हुन एकातिर महिलाहरूलाई सही विचारको आवश्यकता छ । सङ्घर्षको सही कार्यदिशाको जरुरी पर्दछ र आजको सन्दर्भमा भन्नुपर्दा एकीकृत जनक्रान्तिले सही कार्यदिशाको प्रतिनिधित्व गर्दछ । सही नीति–निर्देश र दर्शनको खाँचो हुन्छ । त्यसले आफूमाथि लादिएको मुक्तिको बाटो देखाउँछ । हाम्रो दुस्मन को हो ? हाम्रो मित्र को हो ? भन्ने कुराको पहिचान गराउँछ भने अर्कोतिर यो दलाल पुँजीवादी राज्यसत्तालाई फाल्नुपर्दछ र त्यसको स्थानमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु अनिवार्य हुन्छ । त्यो सजिलै हुँदैन । त्यसका लागि सङ्घर्ष गर्नुपर्दछ । आगोका झिल्काहरूसँग खेल्न सक्नुपर्दछ । खाँचो परे बन्दुक बोक्न सक्नुपर्दछ । अनि मात्र हामीले खोजेको र श्रमिक वर्गले रोजेको व्यवस्थालाई स्वागत गर्न सक्नेछौँ । हामीमाथि लादिएका सबैखाले उत्पीडनलाई हाम्रो टाउकोबाट मिल्काउन सक्नेछाैँ । यसैको ऐतिहासिक दिशा–निर्देशनको महत्व छ ८ मार्चको ।

यिनै सन्दर्भहरूलाई आत्मसाथ गर्दै हाम्रो जनप्रिय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले श्रमजीवी महिलाको ऐतिहासिक खुसी र विजयको दिन ८ मार्च २०२० (२५ फागुन २०७६) लाई ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा भव्य ढङ्गले मनाउन लागिरहेको छ । त्यसैले ८ मार्चको ऐतिहासिक महत्व र त्यसको दिशा–निर्देशलाई आज पनि संसारभरिका श्रमिक महिला र श्रमजीवी वर्गले एउटा विजय उत्सवका रूपमा आत्मसाथ गरेका हुन् । यही शिक्षा र श्रमिक वर्ग र महिलाहरूका लागि ८ मार्चको ऐतिहासिक महत्व महिला मुक्तिको प्रश्नसँग जोडिएर आएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :