हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड गर्दै आफ्नो निहित स्वार्थका लागि मनोरञ्जनको साधन बनाएका छन् । सर्वहारावर्गीय दृष्टिकोणबाट निर्देशित आमूल परिवर्तनका पक्षधर क्रान्तिकारी महिलाहरूले ‘वर्गिय मुक्तिसँगै महिला मुक्तिका लागि’ सङ्घर्षको साधनका रूपमा मनाउँदै आएका छन् । हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले पनि महिलाहरूमाथि पितृसत्ताद्वारा थोपरिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्पीडनका विरुद्ध सङ्घर्ष गर्दै ‘वर्गीय मुक्तिविना महिला मुक्ति सम्भव छैन’ भन्ने मान्यतालाई आत्मसात गर्दै उत्पीडनको क्षतिपूर्तिस्वरूप ‘विशेषाधिकार’ सहित राज्यसत्ताको समग्र क्षेत्रमा समान अधिकार कायम नहुन्जेल सङ्घर्षकै रूपमा यो दिवसलाई मनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो वर्ष भने कसैले जेल र हिरासतका बन्द पर्खालबाट कलम र कपीको संयोजनसँगै र अरू सबैले जहाँ छौँ त्यहीँबाट आन्दोलनकै रूपमा मनाउनुपर्ने विवशता हाम्रोअगाडि खडा भएको छ । देशमा समाजवादी हौँ भन्नेहरूको बहुमतको सरकार छ तर समाजवादी महिला नेत्रीहरूले स्थापित गरेको दिवसमा पनि वैज्ञानिक समाजवादका असल पहरेदार, वास्तविक कम्युनिस्ट सिद्धान्त र व्यवहारलाई अवलम्बन गरेका अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सङ्गठन, त्यसका नेता र कार्यकर्तामाथि प्रतिबन्ध लगाइएको छ । संविधानले दिएको नैसर्गिक अधिकार अभिव्यक्ति स्वतन्त्रतासमेत खोसिएको छ ।

कम्युनिस्ट पार्टीका सदस्य महिलाहरूका हातमा हतकडी, खुट्टामा नेल छ र मुखमा ताला लगाइएको छ । कहिले जेल त कहिले हिरासतका बन्द पर्खालहरूमा देशभर डुलाइएको छ । अनावश्यक झूट्टा मुद्दा थोपरिएको छ । मानसिक र भौतिक यातनाको सिकार बनाइएको छ । यिनको के दोष थियो ? न भ्रष्टाचार गरेर अकुल सम्पत्ति कमाएका थिए ? न राष्ट्रको सम्पत्ति, जल, जमिन र जङ्गलको दुरुपयोग गरेर विदेशीलाई सुम्पेका थिए ? न बलात्कारजस्ता जघन्य अपराध गरेर हजारौँ दिदीबहिनीको जीवन चौपट पारेका छन् ? न मानव तस्करी गरेर लाखौँ नेपाली युवकयुवतीलाई विदेशका गुलाम बनाएका छन् ? न सरकारी जग्गाजमिन आफ्ना नाममा गरेका छन् ? न आफ्नो शरीर बेचेर नैतिकता र इमान गुमाएका छन् ? बरु यो राष्ट्रको असल नागरिक हुनुको नाताले समाजमा भएको अन्याय, अत्याचार, शोषण र दमनको विरोध गरेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वकालत गरेका छन् । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले तड्पिरहेका गरिब जनताका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । पितृसत्तावादी राज्यव्यवस्थाले महिलाहरूमाथि गरेको उत्पीडनको अन्त्य र विशेषाधिकारसहित राज्यका समग्र क्षेत्रमा समान अधिकारका पक्षमा आन्दोलन गर्दै आएका छन् । समाजवादका गुलिया नारा जपिरहेका पुँजीवादी संसदीय कम्युनिस्ट पार्टीले सत्ताको शक्ति दुरुपयोग गरेर श्रमिक महिला दिवसको दिन पनि फासिवादी दमनको नीति अवलम्बन गरेको छ । गैरन्यायिक ढङ्गले गरेको दमनको भन्डाफोर गर्दै न्यायिक फैसलाका लागि सम्पूर्ण प्रगतिशील, देशभक्त, बुद्धिजीवी र समाजसेवी महिलाहरूको एकताबद्ध आवाजको जरुरी छ ।

समाजवादी महिला नेत्री रोजा लक्जेम्बर्ग र क्लारा जेट्किनले हिटलरको फासिवादी दमनको सामना गर्दै श्रमिक महिला दिवस जन्माउनु परेको थियो । यसको प्रारम्म्कि थालनी आन्दोलनकै गर्भबाट भएको छ । ८ मार्चकै दिन १८५७ मा अमेरिकाको सिकागो सहरमा सुती कपडा कारखानाका मजदुर महिलाहरूले कामको घन्टा घटाउनुपर्ने, समान कामको समान ज्याला हुनुपर्ने, सुत्केरी बिदाको व्यवस्था हुनुपर्ने, ट्रेड युनियनमा महिला मताधिकार सुनिश्चित हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरे । यो नै विश्वकै महिलाहरूको पहिलो एकताबद्ध विद्रोह थियो । यसपछि ८ मार्चकै दिन विश्वका विभिन्न ठाउँमा नाराजुलुस, प्रदर्शन, हडताल र आन्दोलन हुँदै आए । यसको संश्लेषित र सङ्गठित रूपमा व्यक्त गर्ने जिम्मा १९१० मा जर्मनीको कोपनहेगनमा समाजवादी महिलाहरूको दोस्रो विश्व सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्तावलाई सर्वसहमतिले पारित ग¥यो । त्यसको सेक्रेटरी क्लारा जेट्किन हुनुभयो । १९११ बाट विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन सुरु गरियो । ‘वर्गीय मुक्तिसँगै महिला मुक्ति प्राप्तिका लागि’ फासिवादी दमनको सामना गर्ने क्रममा रोजा लक्जेम्बर्गले बलिदान दिनुपरेको थियो ।

नेपालमा २०१६ सालबाट यो दिवस मनाउन सुरु गरियो । नेपाली महिलाले पनि परिवर्तनका लागि सुरु भएका आन्दोलनहरूमा त्याग, समर्पण र बलिदानका असङ्ख्य कीर्तिमान कायम गरे पनि सरकारमा पुग्ने पुलका रूपमा प्रयोग गरियो । पूर्ण अधिकार अझै प्राप्त हुनसकेको छैन । यसको ज्वलन्त उदाहरण १० बर्से जनयुद्धमा कर्णाली अञ्चलको विकट बस्तीबाट न्यायको आवाज उठाउने क्रममा निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाद्वारा सञ्चालन गरिएको फासिवादी दमनको सामना गर्ने अवस्थामा अतिरूपा बिष्ट, अस्मिता बराल, चरित्रा न्यौपानेलगायत देशभर हजारौँ नेपाली महिलाहरूले बलिदान दिनुपर्यो । तर विडम्बना भनौँ बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

यही परिस्थितिको गम्भीरतालाई आत्मसात गर्दै यो अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भनेको दलाल संसदीय पुँजीवादी व्यवस्थाले महिलाहरूलाई चुलोचौकोबाट बाहिर निस्केर सहरबजार र सडकमा बेरोजगार र श्रमविहीन अवस्थामा यत्रतत्र अलपत्र छोडिदिएको छ । यसैले ‘क्षमताअनुसारको काम र कामअनुसारको दाम’ को व्यवस्था सिर्जना गर्न जरुरी छ । दलाल पुँजीवादी संसदीय व्यवस्थामा पुँजी र पहुँच हुने व्यक्तिको मात्र हालीमुहाली हुन्छ । इमानदार, गरिब र दक्ष जनशक्तिको बेवास्ता हुन्छ । आमूल परिवर्तनबिना हाम्रो मुक्ति सम्भव छैन । यसका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ ।

त्यसैले नेपाली महिलाहरूले वर्गीय राज्यसत्ताबाहेक सबथोक भ्रम हो भन्ने मान्यतालाई आत्मसात गर्दै पितृसत्तावादी दलाल संसदीय व्यवस्थाका ठेकेदारहरूले शाहीशासनको झल्को आउने गरी चलाएको फासिवादी दमनको प्रतिरोध गर्दै राजनीतिक हिसाबले राज्यसत्ताका समग्र क्षेत्रमा विशेषाधिकारसहित समान अधिकार कायम गर्नु, आर्थिक क्षेत्रमा सम्पत्तिमा समान अधिकार कायम गर्नु, बेरोजगारीको अन्त्य गर्दै महिलाहरूलाई रोजगारी सिर्जना गर्नु, घरेलु कामको उचित मूल्याङ्कन गर्दै पारिश्रमिकको व्यवस्था गर्नु, उच्चशिक्षा, स्वास्थ्य र अध्ययन निःशुल्क गराउनु हाम्रो मुख्य माग रहको छ ।

यस्तै सामाजिक र सांस्कृतिक क्षेत्रमा महिलाहरूमाथि लादिएको घरेलु हिंसा, विभेदकारी संस्कार र संस्कृति अन्त्य गरी सम्मानित जीवन जिउने संस्कार र संस्कृतिको विकास गर्नु आवश्यक छ । उक्त अधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्थाबाहेक विद्यमान व्यवस्थाबाट सम्भव छैन । त्यसैले समाजवादी व्यवस्था र स्थापनाका लागि सङ्र्घष केन्द्रित गर्नु नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता हुन्छ ।

सम्पूर्ण दिदीबहिनीहरूलाई आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा केन्द्रित हुन अनुरोध गर्दै यसमा हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को अग्रणी भूमिका रहने प्रतिबद्धताका साथ कहिले जेल त कहिले हिरासतका बन्द कोठाबाट फासिवादी दमनको सामना गर्दै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’
महासचिव, अनेमसङ्घ (क्रान्तिकारी)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :