नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । संसारभरीका श्रमजीवी महिलाहरुले आजको दिवसलाई ऐतिहासिक विजयउत्सवको रुपमा मनाउदै आएका छन् ।

सन् १८७५ मार्चमा अमेरिकाको गार्मेन्टमा कार्यरत श्रमिक महिलाहरूले आठ घन्टा काम, मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा र समान कामको माग गर्दै ठूलो हड्ताल गरेका थिए । श्रमजीवी महिलाहरुले गरेको उक्त आन्दोलनको सम्झना र उच्च मुल्याङन सहित सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलन भएको थियो । समाजवादी जुझारु महिला नेतृ क्लारा जेट्किनको अगुवाईमा भएको महिलाको उक्त दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चलाई संसारभरि नै विजयउत्सवको रुपमा मनाउने प्रस्ताव पारित गर्यो । त्यसपछि यो दिवस संसारभरी विजयउत्सवको रुपमा मनाउने गरिन्छ ।

नेपालमा सन् १९७५ देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको इतिहास छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ‘श्रमिक महिला मुक्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौँ, ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ भन्ने मूल नारा तय गरेर देशव्यापी रूपमा विविध कार्यक्रम गरिरहेको छ । महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिले आठ मार्चको सन्दर्भमा एक अपिल समेत जारी गर्दै वर्तमान दलाल राज्य व्यवस्थाबाट नेपाली महिला र उत्पीडित जनसमुदायको हक अधिकार स्थापित हुन नसक्ने भन्दै क्रान्तिकारी महिला संगठनले एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा अघि बढ्न सबैलाई अपिल गरेको छ । अखिल नेपाल महिला संघको केन्द्रीय समितिले श्रमिक महिला दिवस मनाईरहदा सो संगठनका केन्द्रीय अध्यक्ष बन्धु चन्द, महासचिव धीरेन्द्राकुमारी उपाध्याय लगायतका धेरै महिला नेताकार्यकर्ताहरु हाल जेल हिरासतमा छन् । महिला संगठनले ८ मार्चको अवसरमा जारी गरेको अपिलमा गिरफ्तार गरिएका महिला नेता कार्यकर्ताहरूलाई बिना–शर्त रिहाइ गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :